शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

झलक सुवेदी लेख्छन् ‘राजनीतिमा पुस्ताका कुरा’

झलक सुवेदी लेख्छन् ‘राजनीतिमा पुस्ताका कुरा’


  • झलक सु्वेदी
  • भाद्र ४ २०७९, शनिबार

पुरानो राजनीतिक नेतृत्वबाट नेपाली जनताले आशा गरेको जस्तो विकास र सुधारको सम्भावना क्षीण हुँदै गएको साँचो हो । सबै एउटै क्षमताका, सबै उस्तै असक्षम र असफल पनि होइनन् । यता, हाम्रो युवा मानिएको ६० मुनिको पुस्ता अहिलेको बेथिथि र अविकासका लागि कम जिम्मेवार भने छैन ।

पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न तप्काका नेपालीहरुले अहिले देशको नेतृत्व गरिरहेका नेताहरुलाई लक्षित गरेर तिनलाई आगामी निर्वाचनबाट बिदा दिनुपर्ने कुरा जोडतोडले उठाउँदै आएका छन् । उनीहरुको माग अब ७० कटेका या आसपासका नेताहरुले देशलाई नेतृत्व गर्न नसक्ने भएकाले नयाँ पुस्ताका युवाहरुले देश हाँकून् भन्ने रहेको छ । वर्तमान नेतृत्वमा रहेका सबैभन्दा बृद्ध शेरबहादुर देउवा र रामचन्द्र पौडेल, झलनाथ खनाल, केपी शर्मा ओली र ७० पनि नपुगेका माधव नेपाल, प्रचण्ड र बाबुराम विदा हुनुपर्ने माग यो पंक्तिको छ । यसमा उमेर लक्षित आक्रोस भन्दा पनि लामो सयम देशको नेतृत्व गरेर पनि समाजलाई गतिशिलतातिर लान नसकेका पुराना अनुहार तारोमा परेको देखिन्छ । यद्यपि, बहस भने बुढाहरुलाई विदा गर भन्ने आवाजले निम्त्याएको छ । यहाँ ८० पुग्न लागेका देउवा र ७० आसपासका नेताहरु सामेल छन् ।

नेपाली राजनीतिका लागि यो नयाँ नौलो विषय भने होइन । नेकपा एमालेले आफ्नो विधानमा नै ७० वर्ष पछि नेताहरुलाई दलभित्र कार्यकारी भूमिका नदिने व्यवस्था गरेको छ ।

युवा को हो र कसलाई मान्ने भन्ने विषय राजनीतिमा लामो सयमदेखि चलिरहेको एउटा नसुल्झिएको मुद्धा हो । युवा हुनुका जैविक र सामाजिक दुवै अर्थहरु हुन्छन् । स्वास्थ्य विज्ञानले कुनै पनि मानिस ३० वर्षको होउञ्जेल उसको सम्पूर्ण शारीरिक तथा मानसिक विकास भइसक्ने र त्यसपछिको उमेरमा नयाँ विकास नहुने बरु क्रमशः सेलहरु बुढो हुन्छ भनेको छ । बुद्धिबंगारो आउने समयलाई यस्तो अवस्था मान्ने हो भने पनि त्यो ३० वर्ष भित्रै आउँछ । एउटा अध्ययनले २५ वर्षमा मात्र मानिसको दिमाग पूर्ण विकसित हुन्छ भनेर मानेको छ । यता आर्य वैदिक परम्परामा २५ वर्षसम्म अध्ययन, बाँकी वर्षसम्म घर–गृहस्थी र ६० पछि तीथर्, व्रत र दान धर्मसहित वानप्रस्थको व्यवस्था थियो । अर्थात् २५ वर्षमा मात्र मानिस पारिवारिक जिम्मेवारी पुरा गर्न सक्ने हुन्छ भनेर मानिन्थ्यो । महिलाहरुको प्रजनन क्षमता ४५ वर्ष वरपर पुगेपछि रोकिन्छ । यसले उनको प्रकृतिले निर्धारण गरेको युवापन ५० वर्ष पुग्दा–नपुग्दा सकिन्छ भन्ने संकेत गर्छ ।

यी जैविक तथा सामाजिक अवस्थालाई ध्यान दियो भने कोही पनि मानिस ३० वर्षको हुँदा ऊ पूर्ण रुपमा परिपक्व हुन्छ भन्ने मान्नुपर्छ । सामाजिक रुपमा युवाको परिभाषा वंश वृद्धि या पुनरुत्पादनको काम गर्न आवश्यक पारिवारिक जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्थाको, सामाजिक क्षेत्रमा नेतृत्व गर्ने क्षमता भएको भनेर मानिन्छ ।पछिल्लो समय धेरैजसो विद्यार्थीहरु ३० वर्षको नहुँदै पिएचडी सकेर आफ्नो कार्यक्षेत्रमा लागेका हुन्छन् । करियर थालेका हुन्छन् ।

विश्वमा धेरै देशहरुले चैं १८ वर्ष पुगेकाले मतदाता बन्न सक्ने, १६ वर्षमा नै नागरिकता लिन सक्ने, १८ वर्षमा सावारी साधन चलाउने अनुमति पत्र पाउन सक्ने, १८ वर्षमा विहे गर्न र सन्तान उत्पादनको कामका लागि योग्य हुने, १८ वर्ष पुगेपछि सेना र प्रहरीमा भर्ना हुन पाउने, विभिन्न सार्वजनिक सेवामा प्रवेश पाउने जस्ता प्रावधान ऐनमा समेटेका हुन्छन् । यसरी सामाजिक र जैविक रुपमा युवा हुनु एउटा प्रक्रिया हुन्छ । अर्कोतिर नेपालले ६० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक मानेको छ । सार्वजनिक सेवामा ५८, ६०, ६३ र ६५ वर्षको उमेरसम्म काम गर्न पाउने गरि विभिन्न सेवामा उमेर हद तोकिएको छ । हालै ६८ वर्ष पुगेकाले सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था गरिएको छ । यो अवकाश उमेरका सम्बन्धमा पनि विश्वमा नयाँ नयाँ बहस आरम्भ भएका छन् । सरदर आयुमा भएको बृद्धि र घट्दो जन्मदरका कारण काम गर्ने उमेर समूहको जनसंख्या घट्न थालेपछि खासगरि युरोपमा ६५ देखि ६७ वर्षसम्म मानिसले काम गर्न सक्ने नयाँ प्रावधान राख्न बहस थालिएको छ । यसरी युवा हुनु या वयस्क र बृद्ध हुनु आफैमा प्रकृति र समाजबाट निर्धारित मानकबाट निर्देशित हुन्छ ।

लेखक : झलक सु्वेदी

राजनीति एकल कर्म होइन । यो सामुहिकतामा आधारित हुन्छ । कुनै नेताले निर्वाचिन जित्ने कुरा उसको लहडले होइन बरु उसले नेतृत्व गरिरहेको दलको ठूलो पंक्तिले उसलाई विश्वास गरेर, मतदाताको बहुमतले जिताएर मात्र उ चयन हुन्छ र राज्य सञ्चालन गर्ने ठाउँमा पुग्छ । राज्य सञ्चालन आफैमा एकल नेतृत्वको विषय होइन । कुनैपनि नेताले राज्यको स्रोत र सामथ्र्य केलाएर त्यसका आधारमा समाजलाई अघि बढाउन निर्णय गर्छ भने त्यसको कार्यान्वयन गर्ने एउटा राज्य संयन्त्र हुन्छ । यस्तो संयन्त्रमा टेक्नोक्र्याटहरु, कर्मचारीहरु र तिनको तह हुन्छ जस मार्फत् नेताले गरेको निर्णय कार्यान्वयनमा जान्छ । यसरी नेताको काम सही नीति बनाउने र यस्तो संयन्त्रको सही परिचालनमार्फत् त्यसलाई कार्यान्वयनमा लाने हो । यसका लागि नेताको उमेर कतिसम्म हुनु योग्य हो भन्ने विषय उसको स्वास्थ्यको अवस्था, उसले आफ्नो दलको र मतदाताको विश्वास जित्न सक्ने आधार र जनताको विश्वास नै हो । शक्तिको अभ्यासमार्फत् प्राप्त गरेको शक्ति सम्भ्रान्तको सुविधा, त्यसमार्फत् दल र समाजमा स्थापित गरिने विचार सत्ता, अनुभव र ज्ञान त्यस्ता तत्व हुन जसले कसैलाई बृद्ध होउञ्जेल समाजको नेतृत्वकर्ता बनाउने सामथ्र्य दिन्छ ।

अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिञ्जरले आफ्नो ९९ वर्षको आयूमा पछिल्लो पुस्तक प्रकाशित गरेका छन् । यी उमेरले बृद्ध भएपनि सम्पूर्ण चेतनासहित कुनै पनि युवासंग वर्तमान विश्व मामिलामा प्रभावशाली र प्रामाणिक विचार दिन सक्षम छन् । एकप्रकारले उनी विश्व कुटनीतिक स्कुलका प्राधिकार जस्ता देखिन्छन् ।

कुनै मानिस सक्षम छ कि छैन भन्ने बारे कसरी निर्णय गर्ने ? एकजना रसियाली प्रधानमन्त्री थिए अलेक्सेइ कोसिगिन । उनी ७० वर्षका आसपासमा रहेकै समयमा एकपटक उत्तर भियतनामको भ्रमणमा आएका थिए । त्यहाँबाट उनी भारतीय आकासको प्रयोग गरेर मस्को फर्कदै थिए । तर, भारतीय आकास आउनु अघि उनलाई तत्काल पेकिङ भ्रमण नजाँदा भियतनामी युद्धमा आफ्नो देशको कुटनीति असफल होला जस्तो लागेछ । उनी आकासबाटै जहाज मोड्न लगाएर पेकिङतिर लागेछन् । भियतनाम युद्धमा अमेरिकी योजना असफल बनाउन यो भ्रमणको अर्थपूर्ण भूमिका रहेको मानिन्छ । यसैले को कुन उमेरमा बुढो हुन्छ र को कुन उमेरमा तन्नेरी रहन्छ भन्ने विषय उसको निर्णय क्षमतामा भर पर्ने कुरा हो । यसको सामाजिक राजनीतिक परिवेश र मापदण्डहरुबाट पनि निर्णय हुन्छ । बाराक ओबामा ५५ नपुग्दै राजनीतिक भूमिकाबाट पछि हटे तर उनकै दलबाट जो वाइडेन ७९ वर्षमा राष्ट्रपति भए । महाथिर मोहमदले ९२ वर्षमा निर्वाचन लडेर जिते र मलेसीयाको प्रधानमन्त्री बने । दुवै जनताको विश्वासमा आधारित छन् ।

अब हाम्रो सन्दर्भमा जाउँ । हाम्रो आधुनिक राजनीतिको इतिहास त युवाहरुले अघि बढाएका आन्दोलनबाटै बनेको हो । बीपी कोइराला र पुष्पालाल श्रेष्ठ, सिपी मैनाली र केपी ओली, मदन भण्डारी या मोदनाथ प्रश्रित, प्रचण्ड या बाबुराम जसलाई हेरे पनि हाम्रो आधुनिक कालको सम्पूर्ण राजनीतिको थालनी र नेतृत्व युवाहरुले नै गरेका छन् । यता ०४६ को आन्दोलनको नेतृत्व गर्दै गर्दा गणेशमान सिंह, ०४७ को संविधान निर्माणको कालखण्डको नेता कृष्णप्रसाद भट्टराई, ०५१ मा प्रधानमन्त्री बनेका मनमोहन अधिकारी, ०६३ मा शान्ती प्रक्रिया र गणतन्त्र स्थापनाको नेतृत्वकर्ता गिरिजाप्रसाद कोइराला आफ्नो जीवनको उत्तरार्धमा नै थिए । यसैले हाम्रो निकट विगतको इतिहासले राजनीतिक नेतृत्वका लागि उमेर होइन, उसको शाररिक मानसिक स्वास्थ्य महत्वपूर्ण हो भन्नेतिर संकेत गर्छ ।

अहिलेको हाम्रो देशको राजनीतिक नेतृत्व उमेरका कारणले असक्षम भएको या नेतृत्व गर्न नसक्ने भएको कत्तिपनि होइन । यो नेतृत्व पंक्तिको दोष चाहिँ २०७२ पछि देशको नेतृत्व गर्दा राज्यबाट गरिने निर्णयहरुमा रहेको अपरिपक्वता, दल या व्यक्तिगत हितहरुलाई प्राथमिकतामा राख्ने तिनको नियत र सेवा प्रवाहमा राज्य संयन्त्रलाई परिचालन गर्न नसक्दा भ्रष्टाचार बढेको हो । यही राजनीतिक नेतृत्वको एउटा सिंढीमा यो पनि बसेको छ । मुख्यमन्त्री र मन्त्री भएको छ, सांसद भएको छ, पार्टीको नीति निर्णय गर्ने तहका विभिन्न आसनमा विराजमान छ, उच्च तहको प्रशासक भएको छ, ठूलो व्यापारिक घरानाको छ, विकासे परामर्शदाता छ तर उसले काम गरिरहेको ठाउँमा पनि नतिजा सन्तोषजनक छैन । औंलामा गन्न सकिने सीमित युवाहरुका सकारात्मक प्रयासलाई छाड्ने हो भने युवाबाटै पनि आशा गर्न सकिने कमै ठाउँ छ । यसरी हेर्दा उमेरभन्दा पनि उसको नियत र क्षमता हेरेर हरेकका अलग–अलग मुल्याङ्कन प्रोफाइल बनाएर कसलाई राख्ने र कसलाई विदा गर्ने भन्ने निर्णयमा पुग्न सके मात्र समयलाई न्याय गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->