नवलपुर/ नवलपुरमा चुनावी रौनक तातेको छ । उम्मेदवारहरुलाई घरदैलो गर्न, कोणसभा गर्न भ्याईनभ्याई छ । कार्यकर्ता उतार्न सक्ने राजनैतिक दलले टोल वडा गाउँ र चोक चोकमा कोणसभा गरेका छन् भने स्वतन्त्र उम्मेदवार पनि सकेसम्म कोणसभा नसके घरदैलोमै आफ्ना एजेण्डा लिएर पुगेका छन् ।
यद्यपि, नवलपुरे मतदाताले यसपटक कसलाई चुन्ने हुन् भन्ने पूर्वानुमान लगाउनै गाह्रो छ ।
निर्वाचनको मिति नजिकिदै गर्दा नवलपुरमा प्रतिस्पर्धा रोचक हुने देखिएको छ । बहुदल प्राप्तिपछि भएका सवै आम निर्वाचनमा नवलपुरको अनौठो नतिजालाई उल्लेख गर्नैपर्छ । अहिले कायम रहेका प्रतिनिधि सभातर्फका २ वटा निर्वाचन क्षेत्रमा साविकको सिंगो नवलपरासी जिल्ला विभाजन हुँदा केही पालिकामा पर्ने वडा र गाउँहरु फेरबदल भएपनि अरु भूगोल भने यी दुई क्षेत्रमै कायम छ ।
अनौठो र रोचक प्रसंग के छ भने नवलपुर १ मा अहिलेसम्म नेपाली कांग्रेसले जित निकालिरहेको छ भने क्षेत्र नं. २ मा नेकपा एमालेले जितिरहेको छ । अहिले यी दुई क्षेत्रमा बिभिन्न अड्कलबाजी आउन थालेका छन् । एकथरी नवलपुरमा प्रतिनिधि सभातर्फको नतिजामा परिवर्तन नहुने विश्लेषण गर्छन् भने अर्कोथरीले नवलपुरमा विगतदेखिको नतिजा उल्टने सम्भावना रहेको चर्चा हुने गरेको छ ।
यतिले मात्रै परिणामको अनुमानका बहस रोकिएका छैनन् । यहाँ संगठनका हिसावले ठूलो दल मानिएका एमाले र काँग्रेसमध्ये कुनै एक दलले एउटालाई क्लीन स्वीप पार्न सक्ने सम्भावना रहेको चर्चा पनि सुन्न सकिन्छ ।
त्यसो त विगतका चुनावमा उम्मेदवार बाहिरबाट खोजेर उठाउनुपरेको ईतिहास रहेको राप्रपाले अहिले प्रतिनिधि र प्रदेशसभा सदस्यमा सवै क्षेत्रमा स्थानीय क्षेत्रकै उम्मेदवार खडा गरेको छ । जिल्लाबाट प्रतिनिधि सभातर्फका दुवै क्षेत्रमा रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिएको छ । यहाँ बालेन ब्राण्डलाई प्रचार गर्दै दुवै क्षेत्रमा हाम्रो नेपाली पार्टीका उम्मेदवार समेत छन् । यहाँ क्षेत्र नं. १ मा चुनाव चिन्ह प्राप्त गरेका १५ जना उम्मेदवार छन् भने क्षेत्र नं. २ मा १२ जना उम्मेदवार छन् ।
पछिल्लो समय क्षेत्र नम्वर १ मा संगठनको भरमा अभियानमा होमिएको एमाले र गठबन्धनको भरमा दौडिएको वाम लोकतान्त्रिकलाई आफ्नो पोल्टामा नतिजा पार्न राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती थपिदिएका छन् । तीन पटकसम्म लगातार निर्वाचन जितेर कामै नगरेको आरोप काग्रेसका उम्मेदवार डा. शशांक कोइरालालाई छ । त्यसबाहेक डाक्टरले पर्यटक उम्मेदवारको समेत सामना गर्नुपरेको छ । त्यसो त शशांकलाई टक्कर दिने भनेर मानिएका एमालेका उम्मेदवार कृष्ण पौडेललाई पनि चुनाव जित्न थुप्रै चुनौती पार गर्नुपर्ने राजनैतिक बृत्तमा चर्चा छ । स्थानीय नेता भएपनि कार्यकर्तालाई नै संरक्षण गर्न नसक्ने पार्टी भित्रैका पौडेलकै शुभेच्छुकहरुको भनाई छ । अवसर र भागका लागि जस्तोसुकै सम्झौता गर्नसक्ने अस्थिर स्वभाव र एक कार्यकाल संविधान सभाको सदस्य हुँदा गरेका सामान्य बिकासको अनुभूति पनि नदिलाएको सन्दर्भको जवाफ कार्यकर्तादेखि मतदाताले खोजेका छन् ।
कांग्रेस, माओवादी र एमालेदेखि दिक्क भएका अधिकांश मतदाताको रोजाइले यसपालि बैकल्पिक शक्तिलाई फाइदा पुग्ने निश्चित छ तर त्यो फाइदा विजयसम्म पुग्ने कि वैकल्पिक शक्तिको अस्तित्व स्वीकार्ने भन्नेसम्म थाहा हुन मंसीर ४ पछिको परिणाम कुर्नैपर्छ । यो क्षेत्रमा बैकल्पिक शक्तिका रुपमा ठूला २ दललाई राप्रापाका डा. मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम, हाम्रो नेपाली पार्टीका तुलसीराम भुसाल र स्वतन्त्र उम्मेदवार चित्रध्वज जिसीले असर पार्न सक्ने सम्भावना देखा परेको छ । डा. भुसाल बैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मुखमा काँग्रेस परित्याग गरी राप्रपामा प्रवेश गरेका यस क्षेत्रकै शैक्षिक क्षेत्रमा कहलिएका ब्यक्ति हुन् भने गौतम स्थानीय निर्वाचनपछि माओवादी केन्द्र त्यागेर रवि लामिछाने समर्थक बनेका हुन् ।
स्पष्टबक्ता प्रतिनिधि सभातर्फ उम्मेदवार दिनेमध्ये सबैभन्दा कान्छा, युवा र फुर्तिला गौतम पनि शैक्षिक संस्थाको नेतृत्व सम्हाल्दा सम्हाल्दै क्याम्पस प्रमुखको पद छोडेर राजनीतिमा होमिएका ब्यक्ति हुन् । अर्का उम्मेदवार तुलसीराम भुसाल २०६४ सालमा माओवादी पार्टी परित्याग गरी स्वतन्त्र बस्दै आएका कृषि र पर्यटनकर्मी हुन् भने जिसी नेपाली काँग्रेस त्यागेर स्वतन्त्र उम्मेदवार बनेका हुन् । उनी पनि यस क्षेत्रका उदीयमान तथा सफल युवा ब्यवसायी हुन् ।
यस्तै, नवलपुर क्षेत्र नं. २ मा पनि यसपालि एमालेका तिलक महतलाई विरासत जोगाउन पापड पेल्न परिरहेको छ । २०४८ सालको निर्वाचनमा ६ जिल्ला रहेको लुम्बिनी विकासक्षेत्रबाट एमालेका मझिलाल थारु थनेत एकजना मात्रले जित निकाल्दै संसद भवन छिर्दा लुम्बिनी टाइगरको नाम र विरासत अहिलेसम्म कायम रहँदा यहाँको विकास र जनताको अवस्थामा परिवर्तन नआउँदा मतदातामा निराशा छाएको छ ।
मिठा भाषण गर्ने, जनतालाई मोहित पार्ने, अरुले गरेका कामको पनि जस आफैले गरेको भनेर भ्रम फैलाउने, हुन नसकेका कामको फेहरिस्त सुनाएर अरुले गरेनन् भनेर आरोप लगाउने र आफू पन्छिने जस्ता आफ्नै अभिब्यक्ति महतका लागि भारी पर्ने सम्भावना छ । त्यसो त एमालेका तिलक महतलाई पछार्न कांग्रेसका विष्णु कार्कीलाई सहजै भने देखिदैन । राप्रपाका जिल्ला अध्यक्ष विष्णु अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टी का शालिकराम न्यौपानेले प्रभाव पार्न सक्ने कार्यकर्ता स्तरभन्दा तल्लो र तरल मतभारले निर्णायक भूमिका खेल्ने अनुमानलाई भने नकार्न सकिदैन ।





