नवलपुर/ प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदका उम्मेदवार रहेका नवलपुरका ५२ जनाको जमानत जफत हुने भएको छ । एमाले, सत्तारुढ गठबन्धनका सबै र राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपाका केही उम्मेदवार गरी कुल (१६ जना) बाहेकका राजनीतिक दल तथा सबै स्वतन्त्र उम्मेदवारको धरौटी जफत हुने भएको हो ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारले १० हजार र प्रदेश सभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नको लागि ५ हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशत मत पाएमा धरौटी फिर्ता हुने भनिएको छ । सदर मतको १० प्रतिशत मत पाउन नसके धरौटी जफत हुने नियम छ । यो नियम अनुसार नवलपुर जिल्लाबाट प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदमा उम्मेदवार रहेका ५२ उम्मेदवारको धरौटी जफत हुने भएको हो ।
प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र रहेको नवलपुरको क्षेत्र नं. १ मा काँग्रेस, एमाले र रास्वपाका उम्मेदवार क्रमशः डा. शशांक कोइराला, कृष्ण पौडेल र राजन गौतमबाहेकका अन्य १२ उम्मेदवारले सदरको १० प्रतिशत मत पाएका छैनन् ।
मतपरिणाम अनुसार राप्रपाका डा. मोहनीलाल भुसाल, राष्ट्रिय जनमुक्ति पार्टीका टकबहादुर थापा मगर, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीका तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीका रुक्मागत चापागाई, जसपाका भुमबहादुर राई, नागरिक उन्मुक्ति पार्टीका कमल महतो तथा स्वतन्त्रहरु एकनाथ पोख्रेल, सूर्यप्रसाद सापकोटा, विन्दु भटराई, विष्णु भट्ट, र चित्रध्वज जिसीले जमानत जोगाउन सकेनन् ।
यस्तै, क्षेत्र नं. २ तर्फ कांग्रेसका विष्णुकुमार कार्की र एमालेका तिलक महतबाहेक १० उम्मेदवारको जमानत जफत भएको छ । जसमा राप्रपाका विष्णु प्रसाद शर्मा, रास्वपाका शालिकराम न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, मंगोल नेशनलका ज्ञान बहादुर कुमाल, हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी तथा स्वतन्त्रहरु राम प्रसाद आचार्य, बालकृष्ण कवर जोगी र मुक्तिप्रसाद पाण्डेयले सदर मतको १० प्रतिसत कटाउन सकेनन् ।
यस्तै प्रदेशतर्फ १ को ‘क’ मा कांग्रेस, एमाले र राप्रपाका क्रमशः महेन्द्रध्वज जिसी, रवीन्द्र अधिकारी र सन्तोष थापाबाहेक ६ जनाको जमानत जफत भएको छ । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका बिना आले, मंगोल नेशनल अर्गनाइजेशनका कुमार गुरुङ, जसपाका अनु बुढाथोकी, नेपाली काग्रेस विपीका यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री कापृ र स्वतन्त्र राजेन्द्र प्रसाद उपाध्यायले जमानत सुरक्षित गर्न नसकेका हुन् ।
१ कै ‘ख’ मा एमाले, माओवादी केन्द्र र राप्रपाका क्रमशः रोशन गाहा, लोकप्रसाद भुर्तेल र रामनाथ उप्रेती बाहेकका ८ जनाको धरौटी फिर्ता नहुने भएको छ । धरौटी जोगाउन नसक्नेमा राष्ट्रिय जनमुक्ति पार्टीका शिबकुमार बुढा, मंगोल नेशनलका टम बहादुर थापा मगर, कांग्रेस विपीका गणेशप्रसाद पोखरेल, नेपालका लागि नेपाली पार्टीका खिम बहादुर सुनार, जनता समाजबादी पार्टीका छविलाल मगर, नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो र स्वतन्त्र चोकनारायण काफ्ले र इश्वरजंग थापा मगर छन् ।
क्षेत्र नं. २ को ‘क’ मा एमालेकी पद्मा जिसी र माओवादी केन्द्रका सौगमकुमार सिरपाली बिकबाहेक ९ जनाको जमानत जफत भएको हो । जसमा राप्रपाका नूनबहादुर आले, राष्ट्रिय जनमुक्ति पार्टीका थामबहादुर गाहा, मंगोल नेशनलका हर्कबहादुर डिसुवा मगर, हाम्रोनेपाली पार्टीका यदुनाथ सिग्देल, मौलिक जरोकिलो पार्टीका लक्ष्मीकान्त रिमाल, जसपाका निकिता श्रेष्ठ, नेपाली काग्रेस बिपीका हेमराज गुरौ र स्वतन्त्र प्रेमनारायण पाण्डे र योग मल्ल ठकुरी रहेका छन् ।
यस्तै २ कै ‘ख’ मा एमाले, एकिकृत समाजवादी र राप्रपाका क्रमशः लक्ष्मणबहादुर पाण्डे, गोपालप्रसाद खनाल र भोजबहादुर थापा बाहेक उम्मेदवारी दिएका ७ जनाको जमानत जफत भएको छ । जमानत जफत हुनेमा राष्ट्रिय जनमुक्ति पार्टीका मोहनसिंह बाकवल, मंगोल नेशनलका लालबहादुर गुरुङ, विपी काँग्रेसका रामचन्द्र भण्डारी, नागरिक उन्मुक्ति पार्टीका युवराज कुमाल र स्वतन्त्रहरु दामोदर न्यौपाने, सुरेश कुमाल र रोशन केसी छन् ।
जिल्ला निर्वाचन कार्यालयका नवलपुरका प्रमुख लालप्रसाद शर्मा भुसालका अनुसार सदर मतको १० प्रतिशत मत पाएका उम्मेदवारले तीन महिना भित्रमा जिल्ला निर्वाचन कार्यालयमा ‘धरौटी फिर्ता पाऊँ’ भनी निवेदन दिएपछि मात्र फिर्ता पाउने छन् । तर १० प्रतिशत मत प्राप्त नगरेकाहरूले धरौटीको रूपमा राखेको रकम तीन महिना कटेपछि राजस्वमा दाखिला गरिनेछ ।





