नवलपुर/ देवचुली नगरपालिकाले दलदले मुण्डे कुमसोत खण्डको सडक २० मिटर कायम गर्ने भएको छ । सडक पूर्वाधार बिकासको मापदण्ड बमोजिम कायम गरी सडक स्तरोन्नति गर्न २० मिटर कायम गर्ने प्रक्रियामा लागेको नगरपालिकाले जनाएको छ । तर, बजार क्षेत्रका जग्गाधनी र दलदले, कैलाशचोक, धारापानी, यसमोड, मुण्डे, कुमसोत क्षेत्रमा ब्यवसाय गर्दै आएका ब्यवसायीले पूर्जावाला घर–जग्गाधनीसँग कुनै छलफल नै नगरी भौतिक संरचनामा क्षति र जमिन समेत अधिग्रहण गर्ने मनसायले नगरपालिकाले यस्तो कदम चालेको भन्दै आलोचनासहित विरोध गरेका छन् ।
सडक बिकासको मापदण्ड, भौतिक पुर्वाधार मन्त्रालय गण्डकी प्रदेशको निर्देशन अनुसार स्थानीय सडक उपभोक्ता समिति, वजार ब्यवस्थापन समितिका पदाधिकारी प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधिसहितको सर्वदलीय–सर्वपक्षीय भेलाबाट निस्किएको निष्कर्ष अनुसार विकासका लागि सडक चौडा गर्न लागिएको देवचुली नगरपालिकाले जनाएको छ ।
२० मिटर मापदण्डभित्र रहेका घर टहरा, भौतिक संरचना हटाउने सूचनाको अवधि फेसवुकमार्फत् सार्वजनिक गरेको नगरपालिकाले १०० दिन पनि गुजारिसकेकोे छ । सूचना जारी गर्ने तर कार्यान्वयन नगर्ने खालका प्रतिक्रिया फेसबुकमै आउन थालेपछि नैतिकताका लागि पनि कार्यान्वयन गर्न नगरपालिकालाई दवाव सृजना भएको जानकारको भनाई छ ।
यता, प्रत्यक्ष सरोकारवाला पक्ष अर्थात सडकका दायाँ–बायाँ घर जग्गा भएका र व्यवसाय गरेका व्यापारीले आफुहरुलाई विस्थापित पार्न खोजिएको बताएका छन् । नगरपालिकाले गत असोज ७ गते सुचना जारी गरेलगतै असोज ३० मा नगरप्रमुख समक्ष घर–जग्गा धनी र व्यावसायीको एक टोलीले बुझाएको ध्यानाकर्षण पत्र सहितको निवेदनमा समेत कुनै सुनुवाई, छलफल नगरी नगरपालिका पेलेरै अगाडी बढेको निवेदकहरुको सामुहिक गुनासो छ ।
प्रदेशले विनियोजन गरेको चालु वर्षको साढे २ करोड रुपैयाको दुई वर्षसम्ममा योजनामा लैजानुपर्ने बहुवर्षीय वजेट कार्यान्वयन गर्नुपर्ने भएकाले. सडक मापदण्ड कायम गर्नु परेको नगरपालिका स्रोतको स्पष्टोक्ति छ । तर, मुण्डे कुमसोतको साँघुरो बाटो फराकिलो पार्न परेको वजेट ई आई ए÷आइ ई ई गर्न झण्झटिलो मानेर बजार तहस नहस पार्न स्वयं नगरपालिका तम्सिएको घर–जग्गाधनीदेव बसेल बताउछन् ।
२०६७ सालमा तत्कालीन प्रयोजनका लागि २० मिटर बाटो कायम गर्ने सहमति भएको कुरा धेरैलाई थाहा नभएको र ७२ सालमा सडक मापदण्ड ऐन फेरिएको सन्दर्भमा तत्कालिन अवस्थामा भएको निर्णय लागु हुनै नसक्ने घरजग्गा तथा ब्यवसाय संरक्षण समितिका संयोजक श्याम श्रेष्ठ बताउँछन् ।
यदि बाटो २० मिटर कायम गर्ने हो भने दायाँवाया ३–३ मिटर सेटब्याक र २–२ मिटर सेफ्टी जोन छोड्दा बाटोपट्टी एकातर्फकै ब्यक्तिको १० मिटर र पश्चिम तर्फ रहेको भाग्यपुरी घोलतर्फ समेत ३ मिटर सेटव्याक छोड्दा कुल १३ मिटर पुर्जावाल जमिन दिदा अधिकांश ३० देखी ३५ हातको पिछाड मात्रै रहेका घर–घडेरीहरु रहँदै नरहने ब्यवसायी तथा घर–जग्गाधनी अनिल आचार्य बताउछन् ।
तत्कालिन अवस्थामा ७ मिटर बाटो पिच गर्नुपर्ने भएकाले मुण्डेदेखि माथी मोडसम्मका २१ जना जग्गा धनीले दायाँ बायाँ ५–५ मिटर पुर्जाको जग्गा बाटोलाई राजीनामा पास नै गरिदिएकोले पटक पटक बाटोलाई पुर्जाको जमिन दिएर उठीबास हुन आफ्नै खुट्टामा बञ्चरो हान्न कदापि नसकिने मुण्डेका राजु भण्डारी बताउछन् ।
दलदलेमा ब्यवसाय गर्दै आएका राजन रानाभाटका अनुसार ब्यक्तिगत सम्पत्ति बाहेक यहाँ थुप्रै सार्वजनिक भौतिक सम्पत्ति समेतमा क्षति पुग्दा अरबौंको क्षति पुग्ने वताउँछन् । उनका अनुसार नगरपालिकाले गत आर्थिक वर्षमै बनाएको दलदलेको प्रवेशद्धारसँगै एक–दुई वर्षभित्रैमा पुराना संरचना भत्काएर निर्माण गरिएका वाटोसँगै जोडिएका विद्यालय, नगरपालिका, स्वास्थ्य संस्था, मन्दिर लगायतका प्रवेशद्वार, भवन, पर्खाल ध्वस्त हुनेछन् । यस्तै, गतवर्ष मात्रै विद्युतीकरण गरिएको पहाडी क्षेत्रको सवस्टेशन लाईनका ८७ वटा पोलसमेत हटाउनुपर्ने हुँदा राज्यको अरवौंको सम्पत्ति प्रभावित हुने अवस्था आउने रानाभाटको भनाई छ ।
घर जग्गा तथा व्यवसाय संरक्षण समिति समेत निमार्ण गरेका सरोकारवालाका अनुसार सडक पूर्वाधारले निर्दिष्ट गरेको दुई लेनको १० मिटर बाटो कायम रहेको अवस्थामा पनि आफुहरुले पुर्जाकै जग्गाबाट यस अघि नै दलदलेमा ४ मिटर, धारापानी क्षेत्रदेखी उत्तरतर्फ मुण्डेसम्म २ देखि ३ मिटरसम्म जमिन छोडेकाले दलदलेमा १४ मिटर र धारापानीदेखि उत्तर तर्फ १२–१३ मिटरको फराकिलो ढल नाला सहितको पूर्वाधार रहेको छ ।
सडक तथा पूर्वाधार विभागमा जिल्लास्तरको सडकका रुपमा अभिलेखीकरण भएको यो खण्ड नवलपुरको पहाडी क्षेत्र प्रवेश गर्ने मुख्य ग्रामीण सडक समेत हो । यो बाटो नवलपुरका बुलिङटार, बौदीकाली, हुप्सेकोटका पहाडी ईलाका हुँदै कालीगण्डकी करिडोर सडकसँग जोडिन्छ । त्यसपछि कालीगण्डकी नदी पार गरी तनहँुु हुँदै पोखरा, पश्चिमतर्फ पाल्पाको रामपुर हुँदै सिद्धार्थ राजमार्गको पाल्पा पिपलडाडा, गुल्मीत्यस्तै रामपुरबाट कालीगण्डकी पार गरी स्याङ्जा, पर्वत पुग्न सकिने बैकल्पिक र छोटो दूरीको बाटोको रुपमा परिचित छ ।





