बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कुपोषण र भिटामिनको महत्व

कुपोषण र भिटामिनको महत्व


  • कृष्णकुमार सैजु
  • माघ ६ २०७९, शुक्रबार

खानामा पोषणको मात्रा बढी वा कम दुवै भएको अवस्थामा कुपोषण हुन सक्छ । पोषणको मात्रा प्रशस्त भएका खानेकुरा उपलब्ध ठाउँ र अवस्थामा समेत अज्ञानताका कारण कुपोषण हुन सक्छ ।
सामान्यतया हामी कुपोषण भन्नाले खानामा पोषणको कमी हुने अवस्थालाई बुझ्ने गर्छौं । खानामा पोषणको कमी भएर हुने कुपोषणलाई सामान्य रूपमै लिने गरिन्छ । तर, खानाको पहुँच हुँदाहुँदै पनि कतिपय अवस्थामा अज्ञानताका कारण कुपोषण हुने गर्छ, जुन असामान्य पक्ष हो ।

मानव शरीरलाई दैनिक रूपमा खनिज, प्रोटिन, मिनरल्स, क्याल्सियमलगायत सम्पूर्ण पौष्टिक तत्वहरूको आवश्यकता पर्छ । कतिपय अवस्थामा साँस्कृतिक तथा परम्परागत विश्वासका कारण पनि बच्चालाई आवश्यक मात्रामा पौष्टिक तत्व भएको खानेकुरा नदिने गरिएको छ । उदाहरणका लागि नेपालको तराइ क्षेत्रका केही ठाउँमा बच्चालाई सागपात, फलफूल खुवाए चिसो लाग्छ भन्ने गलत विश्वास छ । जसका कारण पौष्टिक तत्वयुक्त खानेकुरामा पहुँच हुँदाहुँदै पनि बच्चामा आवश्यक पौष्टिक तत्वको अभाव हुन गई कुपोषण हुने गर्छ ।

पछिल्लो तथ्यांकका अनुसार नेपालमा बालबालिकाहरूलाई हुने रोगको प्रमुख कारण कुपोषण नै हो । मुख्यतयाः जब खानामा पर्याप्त मात्रामा पौष्टिक आहार प्राप्त हुँदैन, तब कुपोषणको समस्या देखिने गर्छ । यसरी कुपोषणको सिकार हुनेमा दुई वर्षमुनिका बालबालिकाहरूको संख्या सबैभन्दा बढी देखिएको छ ।

बालबालिकाहरू कुपोषणको सिकार हुनु भनेको निकट भविष्यमा कुनै पनि मुलुकले प्राप्त गर्ने जनशक्ति शारीरिक, मानसिक र बौद्विक रूपमा रोगग्रस्त हुनु हो । विश्वकै विकराल समस्याको कारण मानिने कुपोषणको दीर्घकालीन समाधान नेपालका ग्रामीण भेगमा पाइने रैथाने अन्नबाली र गेडागुडी भएतापनि त्यतातिर कसैको ध्यान नजाँदा विपन्न हजारौँ बालबालिकाहरू कुपोषणका कारण मृत्युको शिकार भएका छन् ।

कुपोषणका लक्षण ?
पाचन तन्त्रको समस्या

हामी जे खान्छौ, त्यसैबाट हाम्रो पाचनतन्त्र निर्धारण हुन्छ । कमजोर पाचनतन्त्रका कारण कब्जियत, पेट फुल्ने, पखाला लगायतका समस्या निम्तने गर्छ । यी सबै समस्या भिटामिन बी ११, बी ८, बी १२, सी, डी, ई, के, आइरन, सेलेनियम । मैग्नेसियम, जिंकलगायतका स्वस्थ पोषण तत्वको कमीसित सम्बन्धित हुने गर्छ ।

छालाको समस्या

कयौं मानिस छाला सम्बन्धि समस्याबाट धैरै प्रभावित हुने गर्छन् । उनीहरुमा चाउरीपना, दण्डीफोर, दाग लगायतका समस्या बढी हुनेगर्छ । यस्ता समस्या भएमा मानिसहरु छालाको डाक्टरका जाने गर्छन् । जबकी भिटामिन ए, बी ३, सी, ई, बायोटिन, ओमेगा ३ फैट, कपर, सेलेनियम, जिंक लगायतको तत्वलाई खानामा सामेल गरेमा मात्र पनि यस्ता समस्याबाट स्वत छुटकारा पाउन सकिन्छ ।

कमजोर प्रतिरक्षा प्रणाली

मजबुत प्रतिरक्षा प्रणालीले विभिन्न बैक्टेरिया, भाइरसका कारण हुनसक्ने संक्रमणबाट शरीरलाई बचाउँछ । मजबुत प्रतिरक्षा प्रणालीले शरीरको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । तर, जब शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, शरीरले विभिन्न रोगसित लड्न सक्दैन, जसका कारण हामी बारम्बार विरामी हुने गर्छौ । यस हिसाबले कमजोर प्रतिरक्षा प्रणाली पनि पोषणसित सम्बन्धित हुने गर्छ । भिटामिन ए, सी, डी, ई, क्रोमियम, सेलेनियम, मैग्नेसियम, जिंक लगायतका आवश्यक पोषक तत्वको कमीका कारण यस्तो समस्या निम्तने गर्दछ ।

कमजोर कपाल

के तपाईंको कपाल, रुखो तथा सुख्खा छ ? यस्ता समस्या सदैव धुलो, धुँवा, प्रदूषण, गलत स्याम्पूको प्रयोगका कारण मात्र पनि नहुन सक्छ । शरीरमा आवश्यक पौष्टिक तत्वको कमीका कारण शरीर मात्र नभइ कपालसमेत प्रभावित हुने गर्छ । पोषण तत्वकै कमीका कारण कपाल रुखो तथा कमजोर हुने गर्छ । र, झर्ने गर्छ । खानामा भिटामिन बी ५, बी ६, बी १२, बायोटिन, क्लोरिन लगायतको पोषक तत्वका कमीका कारण यस्ता समस्या हुने भएकोले यी खानेकुरालाई बेलैमा खाफ्नौ दैनिक खानेकुरामा समावेश गर्न जरुरी छ ।

कमजोर हड्डी

शरीरमा भिटामिन ए, भिटामिन डसी, डी, क्रोमियम, कैल्सियम, मैग्नेसिय, जिंक, मोलिब्डेनम लगायतको आवश्यक पोषण तत्वको कमीका कारण हड्डी कमजोर हुने गर्छ । हड्डी कमजोर भएमा बालबालिकामा रिकेट्स हुन्छ भने वयष्कहरुमा ओस्टियोमेलेसिया हुने गर्छ । हड्डी कमजोर हुन नदिन, दूध, दहीलगायतका पोषण तत्वको सेवन गर्न जरुरी छ ।

लगातार ऐठन र खुट्टा बाउँडिनु

कयौं मानिसमा खुट्टा बाउँडिने, मांसपेशी फर्किने समस्या हुने गर्छ । यस्ता समस्या धेरैजसो शरीरमा पोषणतत्वको कमीका कारण हुने गर्छ । शरीरमा मैग्नेसियम, कैल्सियम, पोटासियमलगायतको पोषण तत्वको कमीका कारण यस्ता समस्या निम्तने गर्छ । यस्ता तत्वले मांसपेशीको विकास तथा शरीरीक विकासमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्छ । यस्ता तत्वको कमीका कारण मांसपेशी फर्कने, तथा खुट्टा तथा पैताला बाउँडिने गर्छ ।

नङको समस्या

नङमा हुने समस्या पनि पोषण तत्वसित सम्बन्धित हुने गर्छ । विशेषगरी मैग्नेसियम नामक तत्वको कमीका रण नङ आपसे आप टुट्ने गर्छ । त्यस्तै, नङ सेतो हुने, नङमा दाग लाग्नु, नङ चिरा पर्नु, कमलो नङ, रुखो नङले पनि शरीरमा पोषक तत्व कमी भएको संकेत गर्छ । यसको पुर्तीका लागि जिंक, मैग्नेसियम लगायतका तत्वको सेवन आवश्यक छ ।

आँखासम्बन्धी समस्या

कम उमेर चश्मा लगाउनु अहिले सामान्य भैसकेको छ । आँखाका लागि आवश्यक पोषक तत्वको कमीका कारण पनि यस्ता समस्या आउने गर्छ । आँखा कमजोर हुनु, मोतियाविन्दु, आँखा सुन्निनुले पनि शरीरमा पोषण तत्व कमी भएको संकत गर्दछ । यी कमी पूरा गर्नका लागि क्रोमियम, जिंक, भिटामिन बी ६, बी १२, ओमेगा ३ लगायतका तत्व आवश्यक छ ।

गिँजाबाट रगत आउनु

गिँजाबाट रगत आउनु सामान्य समस्या हो । तर यो समस्या ३५ वर्षको उमेरपछि पनि बढेमा भने विशेष सजग हुन आवश्यक छ । किनकी पोषण तत्वको कमीका कारण पनि गिजाबाट रगत निस्कन सक्छ । यस्ता समस्या विशेषगरी, जिंजिभाइटिस, पायरिया, पेरियोडोटाइटिस, भिटामिन सी, क्यू १०, फोलिक एसिड, प्रोटिनको कमीका कारण हुने गर्छ ।

कसरी बच्ने त कुपोषणबाट ?

कुपोषणको कु–प्रभावको मुख्य कारण भनौ या जड असन्तुतिल भोजन नै हो । सन्तुलित भोजनको वा पौष्कटिक कमीका कारण हुनसक्ने कुपोषणबाट बच्नको लागि खानामा पौष्टिक आहार समावेश गर्न जरुरी छ । विशेषगरी, बदाम, हरियो सागसब्जी, मेवा, सोयामिल्क, मसरुम, गेडागुडी, दाल, मटर, आलस, अन्न, ब्रोकाउनी, मासु, माछा, अण्डा, दूध तथा दूधबाट बनेका परिकार, टुसा उम्रेको (अंकुरीत) खानेकुरा, रङ्गीविरङ्गी फलफूललगायतमा भरपूर मात्रा पोषण तत्व पाइने हुँदा यस्ता खानेकुरालाई दैनिक आहारमा समावेश गर्न जरुरी छ ।

भिटामिनको महत्व

हाम्रो शरीरको अन्तरदहन र प्रतिदहन कामको लागि नभइ नहुने वस्तु हो । शरीरको वृद्धि, विकास तथा सामान्य स्वास्थ्यका लागि आवश्यक जैविक मिश्रण नै भिटामिन हो । भिटामिनले रोगबाट बच्न मद्दत गर्छ । यिनीहरु अत्यन्तै कम मात्रामा आवश्यक भएपनि शरीरलाई सक्षम कार्यसंचालन गर्न अति आवश्यक पर्छ । भिटामिनहरु मुख्य दुई भागमा बाँड्न सकिन्छ ।

१. पानीमा घोलिने भिटामिनहरु ः यिनीहरु पानीमा घोलिन्छन् तर चिल्लोमा घोलिदैनन् । भिटामिन बी कम्प्लेक्स र भिटामिन सी ।
२. चिल्लोमा घोलिने भिटामिनहरु ः यी चिल्लो पदार्थमा मात्र घोलिने भिटामिन हुन र शरीरमा छ महिनासम्म स्टक रहन सक्छन । भिटामिन ए,बी र इ यो समूहमा पर्छन । पहिले–पहिले भिटामिनलाई अंग्रेजी वर्णमालाको अक्षरबाट ए,बी,सी,डी,इ भनेर बोलाइन्थ्यो । आजकल हरेक भिटामिनको वैज्ञानिक नाम दिइएको छ ।

भिटामिन ‘ए’

भिटामिन ‘ए’ आँखाको भाग रेटिनामा महत्वपूर्ण काम गर्ने हुनाले त्यसको नाम रेटिनोल राखिएको हो । यसले मधुरो प्रकाशलाई छर्लङ हेर्न मद्दत गर्दछ । भिटामिन ‘ए’ ले छालालाई ठीक अवस्थामा राख्छ । यसले हाड कडा बनाउने काम पनि गर्दछ । भिटामिन ‘ए’ को कमी भएमा रतन्धो, जरोसिस सफ्ट केराटोमलेसिया आदि हुन्छ । भिटामिन ‘ए’ माछाको तेल, माछा, नौनी, अण्डाको पहेंलो भाग, घिउ आदिमा पाइन्छ । क्यारोटिन गाजर, हरियो सागपात, आँप, फर्सी, पालुङोमा पाइन्छ ।

भिटामिन ‘डी’

धेरै समयअघि बेलायतमा भिटामिन ‘डी’ को अभावमा रिकेट्स भन्ने रोग लागेको हुनाले यसलाई दी इङ्लिस डिजिज पनि भन्छन् । भिटामिन ‘डी’ को अर्को नाम क्याल्सिफेरोल हो । यो स्टेरोलहरुबाट पनि बन्दछ । भिटामिन ‘ए’ मा पाइने खाद्य स्रोतमा यो भिटामिन पनि प्रायः पाइन्छ । भिटामिन ‘डी’ सेतो, गन्धहिन र स्वादबिहीन क्रिस्टल हो । यो चिल्लो पदार्थमा घोलिन सक्छ र ताप, अक्सिजन, अम्ल तथा क्षारले कुनै असर पार्न सक्दैन । यसमा कार्बन, हाइड्रोजन, अक्सिजनका अणु समागम भएका हुन्छन् ।

भिटामिन ‘डी’को कामहरु ः हाडको वृद्धि र क्याल्सियम र फोस्फरसले भिटामिन ‘डी’ नभई हाड बनाउन सक्दैनन् ।
भिटामिन ‘डी’को कमीबाट हुने रोग ः रिकेट्स ः हाड नरम हुने, खुट्टा बाउँडिने, जोर्नीहरु सुनिएको देखिने हुन्छ । रिकेट्स रोजरीः छातीको करङको टुप्पोमा डल्लो जस्तो देखिन्छ । अष्टियो मलेसिया ः यो वयस्कमा हुन्छ र हाड कमलो बन्छ । भिटामिन ‘डी’को साथै क्याल्सियम र फस्फरस कम भएमा पनि यस्तो हुन्छ ।

यी तीनै अवस्थामा हाडहरु दुख्ने, भ¥याङ उक्लन, ओर्लन नसक्ने तथा विरामी कमजोर हुने गर्छन् । यो थाहा हुनासाथ भिटामिन डी प्रशस्त मात्रामा खुवाएमा ४–८ हप्तामा निको हुन्छ । घाम लाग्ने देशमा त खास समस्या पर्दैन तर घाम कम लाग्ने मुलुकमा र सबै शरीर ढाक्नु पर्ने बाध्यता भएकोमा यो रोग बढी पाइन्छ । घाममा बस्दा शरीर खुला गरेर बस्नुपर्छ ।

भिटामिन ‘इ’

सन्तानोत्पतिका लागि आवश्यक भिटामिन ‘इ’ चिल्लोमा घोलिने, पहेंलो, तेलजस्तो झोल हो । शरीरमा यसले भिटामिन ‘ए’ र क्यारेटिनलाई अक्सीकरण हुनबाट जोगाउँछ । साथै, रगतमा प्राणवायुसँग मिसिएर रातो रक्त कणिकालाई अन्य हानिकारक तत्वबाट जोगाउँदछ । घ्यू वा तेलको ठूला ठूला उद्योगमा यो भिटामिन घयू तेल जोगाउन प्रयोग गरिन्छ ।
भिटामिन ‘इ’ को कमी भएमा :

१) लोग्ने मानिस वा स्वास्नी मानिस सन्तान उत्पत्तिमा अवरोध हुनु ।
२) रातो रक्तकोष नष्ट हुँदै जानुः भविष्यमा प्रोटिन पनि कम हुँदैगएका कलेजोमा न्यूरेसिस हुनसक्छ ।

भिटामिन ‘इ’ के–केमा पाइन्छ ?

तेल, घ्यू, जनावरी खाद्यवस्तु, गहुँ र मकैको आँख्ला पेलेर निकालेको तेलमा यो पाइन्छ । यो शरीरमा ६ महिनासम्म सञ्चित हुन्छ । भिटामिन ‘के’ सामान्य पहेंलो तेल जस्तो, चिल्लो पदार्थमा घोलिने क्षार, अम्लतथा अक्सीकरणबाट नष्ट हुने भिटामिन हो र रगत थाम्ने प्रक्रियामा प्रयोग गरिन्छ । प्रकृतिमा यो भिटामिन ‘के’ सागपातमा र जीवाणुको प्रक्रियाबाट तयार गरिन्छ ।
कामहरु ः भिटामिन ‘के’ रगत जमाउन र कलेजोको काम सुचारु रुपले सञ्चालन गर्नमा प्रयोग हुन्छ ।

भिटामिन ‘के’को कमी हुनाको कारण ः भोजनमा कम हुनु, राम्रोसँग पाचनक्रियाबाट शोषण गर्न नसक्नु, कलेजोको गडबडीले प्रोथीम्बिन बन्न नसक्नु ।

भिटामिन ‘के’ के–केमा पाइन्छ ?

भिटामिन ‘के’ पालुंगो, बन्दाकोभी, काउली तथा वनस्पति भोजनमा पाइन्छ । माछा, मासुमा पाइँदैन । भिटामिन सी सुन्तला, कागती, अमला आदि ताजा फलफूलमा पाइने भिटामिन हो । यो अति सुलभ र आवश्यक भिटामिन हो । यसको कमी भएमा दाँतबाट रगत बग्ने स्कर्भी र छाला खस्रो हुने रोग हुन्छ ।

भिटामिन ‘सी’ का कार्यहरुः कोल्याजेन बनाउनु हाम्रा शरीरका अनेकौ. जीवकोषलाई एकै ठाँउमा मिलाएर राख्नु, एकै ढीक्का पारेर राख्नु धागाको जाली जस्तै कोल्याजेनको ठूलो महत्व हुन्छ र यो बनाउने काम कोल्याजेनले गर्दछ । भिटामिन ‘सी’को कमीले दाँतको जरा हल्लिन्छन्, रगत बग्छ तथा लामा हाडहरु सुनिने पनि हुन्छ । लोह तत्वको शोषणमा मद्दत गर्नु । टाइरोसिन एमिनो एसिडमा प्रतिवद्र्धन गर्न काम गर्नु र घाउ निको पार्नमा सहयोग गर्दछ ।

भिटामिन ‘सी’ को कमी :

१) स्कर्भी ः बालकमा वृद्धि राम्रो नहुनु, हात र खुट्टा दुख्नु, लामो हाड सुनिनु, बच्चा सुस्त हुनु, गिजा सुनिनु, वयस्कमा गिजाबाट रगत बग्नु, दाँतको जरा कमजोर हुनु, हल्लिनु, दुख्ने हुन्छ । भिटामिन ‘सी’ बच्चालाई २५–३० मि.ग्रा. र ठूलोलाई ५०–६० मि.ग्रा. दिनुपर्छ । भिटामिन ‘सी’ शाकाहारी भोजनमा पाइन्छ । तर यो चाँडै नै नष्ट हुने हुनाले हामीले चाहिनेभन्दा ३ दोब्बर खानुपर्छ । प्रेसर कुकरमा पकाउँदा भिटामिन ‘सी’ नष्ट हुन्छ । काटेर धेरै बेरसम्म राखेमा, तरकारी काटेर पखालेमा, पकाउँदाको पानी फालेमा भिटामिन ‘सी’ नष्ट हुन्छ । ताजा तरकारी र फलफूल खाएमा भिटामिन ‘सी’ बढी पाइन्छ ।

भिटामिन ‘बी’ कम्प्लेक्सः

यो पानीमा घोलिने भिटामिन भएको हुनाले शरीमा संचित रहँदैन । त्यसैले यसको दैनिक आपूर्ति हुन जरुरी हुन्छ । विभिन्न प्रकारका भिटामिन ‘बी’का जातहरुलाई भिटामिन ‘बी’ कम्प्लेक्स भन्ने चलन छ । यिनीहरुको बनावटमा निकटम सम्बन्ध छ । खास गरेर हामीले खाने खाद्य पदार्थको मेटाबोलिज्म प्रक्रियाको लागि यो महत्वपूर्ण हुन्छ ।

भिटामिन ‘बी १’ मा थायामिन ः यो धेरैजसो सेतो फलेको चामलभन्दा नफलेको चामलमा पाइन्छ र यसको कमीबाट बेरी बेरी भन्ने रोग लाग्छ । यो प्रकृतिमा पाइने सबैजसो वनस्पतिहरुमा पाइन्छ । उसिनेको चामल र ढिकीमा कुटेको चामलमा बढी पाइन्छ । माछामासुमा केही मात्रामा थायमिन पाइन्छ । थायमिन पानीमा घोलिन सक्ने, तातोबाट तत्काल नष्ट हुने भिटामिन भएकाले तरकारी, फलफूल काट्दा, पखाल्दा, पकाउँदाको पानी झिकेर फाल्नु हुँदैन । थायमिन कार्बोहाइडेट मेटाबोलिज्मको लागि आवश्यक हुन्छ तथा स्नायुप्रणालीको कार्यसञ्चालनमा समेत यसले राम्रो भूमिका खेल्छ । यसको कमीबाट सुख्खा बेरीबेरी, पानी भरिएको बेरीबेरी र इन्फेन्टाइल बेरीबेरी हुनसक्छ । बेरीबेरीमा सामान्य लक्षणमा हातखुट्टा झमझमाउने, लट्टिएका जस्ता हुने तथा हिंड्न नसक्ने हुन्छ ।

भिटामिन बी २ ः यो शरीरमा कार्बोहाइड्रेट, प्रोटिन र बोसोको भेटाबोलिज्म काममा इन्जाइमको काम गर्दछ । छाला र आँखा स्वस्थ राख्न, जनावर, वनस्पति सबैको वृद्धिको लागि तथा श्वासप्रश्वास क्रियामा पनि यो काम लाग्छ । यसको अभावमा जिभ्रोमा खटिरा आउने मुखको दुवै कुनामा खटिरा आउने, कान र नाक वरिपरि कत्ला जम्ने, आँखा चिलाउने, भतभत पोल्ने, आँसु बगिरहने, अनुहारमा घाउ आउने र आँखा रातो हुन्छ । यो दूध, कलेजो, माछामास,ु फुल आदिबाट प्राप्त हुन्छ ।

भिटामिन बी ६

यो पानीमा घोलिने, प्रकाशबाट नष्ट हुने आवश्य भिटामिन हो । यो खासगरी मगजका स्नायुबाट सामान्य स्थितिमा राख्छ र एमिनोएसीड (प्रोटिन)को मेटाबोलिज्ममा कोइन्जाइमको काम गर्दछ । यसको कमीबाट स्नायु कमजोर हुन्छ र बच्चाहरु रुन्चे स्वभावका हुन्छन् । बच्चाहरुलाई मूर्छा पर्ने रोग पनि हुनसक्छ । वयस्कमा मुखमा, दाँतको जरा, गिजामा घाउ आउनु, निद्रा नपर्नु, झम्म पर्नु, चर्म रोग आदि पनि हुन्छ । सामान्यतयाः १–२० एमजि दैनिक पर्याप्त हुने हुँदा धेरै नै कमी नभइकन यो रोगका लक्षण देखा पर्दैनन् । दूध बढी खाने, खाद्यवस्तु कम खानेलाई पनि यो हुनसक्छ । वनस्पति तथा आद्यवस्तु दुवैमा यो पर्यात पाइन्छ । त्यसैले शाकाहारी वा मांसाहारी दुवैमायो रोग कम मात्रामा देखा पर्छ ।

नायसिन ः यो छाला, आन्द्रा र मगजमा अत्वाश्यक भएको हुनाले यसको अभावमा यी अंगका रोगहरु लाग्न सक्छ । खास गरेर यो भिटामिनको कमीबाट पेलेग्रा भन्ने रोग लाग्छ । पेलेग्रामा ३ वटा डी छालाको कत्ला उठ्ने, खस्रो हुने, चिलाउने, पखाला लाग्ने तथा मगज सुस्त हुने हुन्छ । पछि गएर वाकवाकी लाग्ने, भोक नलाग्ने, वान्ता हुने पनि हुन्छ । अन्तिममा विरामी बेहोस हुने तथा बहुलापन पनि हुने गर्दछ । यो शरीरभित्र बन्न सक्छ, त्यसैले यसको बेग्लै आपूर्ति नहुँदा पनि रोग लाग्दैन । थायमिन बी १ र राइबोफलाइबिन बी २ पाइने खाद्यवस्तुहरुमा यो पाइन्छ । वयस्कबाट दैनिक २० मि.ग्रा. जरुरत पर्छ । खाना पकाउँदा प्रायः २५ प्रतिशत भिटामिन नष्ट हुन्छ ।

भिटामिन बी १२

यो शरीरमा आवश्यक पर्ने साइनाकोवालामिन समूहको भिटामिन हो र कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फोरस र कोबाल्ट खनिज पदार्थ मिलेर बनेको हुन्छ । पौष्टिक तत्व राम्रोसँग अवशोषण नभएमा रक्तकोषिकाहरु सामान्य अवस्थाभन्दा ठूलो मेगातोब्लास्ट हुन्छ । यसले पर्नेसियम एनेमिया बनाउँछ । मेथिओनिन एमिनो एसिड बनाउनमा मद्दत गर्छ । यसले श्वेत रक्तकणिका र प्लेटलेट्स बनाउनमा मद्दत गर्छ । भिटामिन बी १२ को कमीले हुने रोगमा खास गरेर पर्निसियम एनिमिया हो । यसमा राता र रक्तकोषहरुको संख्या घट्नु तथा आकारमा ठूलो हुन्छ । खास गरेर परीक्षण गर्दा फियो बढ्ने, कलेजा, फियो र मृगौलामा लौहतत्व जम्मा हुनु, हेमोग्लोबिन घट्नु, जिब्रोमा घाउ आउनु, हातखुट्टा झमझमाउने, विरामी फुस्रो देखिने हुन्छ । भिटामिन बी १२ दैनिक माछाको १००० ग्राम दिनको २ पटक १५ दिनसम्म र त्यसपछि ५०० ग्राम प्रतिहप्ता र २५० मा. ग्रा. प्रतिहप्ता दिए पुग्छ । भिटामिन बी १२ जनावरी खाद्यस्रोतमा मात्र पाइन्छ, त्यसैले शाकाहारी व्यक्तिहरुमा बढी पाइन्छ । जसले दूध पनि खाँदैन, उनीहरुलाई बढी देखिन्छ । शाकाहारी व्यक्तिले दूधबाट आपूर्ति हुन्छ भने मांसाहारी व्यक्तिलाई खास समस्या पर्दैन । गर्भवती अवस्थामा बढी एनिमिया देखिनु हुँदा माछा, मासु, फलफूल, दूध, अण्डा खाएमा कुनै समस्या पर्दैन ।

खनिजतत्व

सामान्यतः सम्पूर्ण शरीरका तन्तुहरु तथा तरल पदार्थमा पाइने जैविकभन्दा बाहेकका तत्वहरु नै खनिज तत्व हुन् । शारीरिक प्रक्रियाहरु नियमित गर्न आवश्यक पोषण तत्व नै खनिज तत्व हो । यसअन्तर्गत सोडियम, पोटासियम, क्याल्सियम, फोसफोरस, फलाम तत्व आदि पर्दछन् । स्वस्थ दाँत तथा बलियो हड्डीका लागि क्याल्सियम र फोसफोरस आवश्यक छन् । फलाम तत्व रगतका लागि आवश्यक हुन्छ । शरीरमा इलेक्ट्रोलाइट सन्तुलन तथा तरल पदार्थको नियन्त्रणका लागि सोडियम तथा पोटासियमको उचित अनुपात आवश्यक हुन्छ ।

कुपोषणबाट बच्नको लागि भिटमान सम्बन्धि जानकारी पनि अति आवस्याक पर्ने हुनाले यि विभिन्न भिटामिनबारे जानी राख्नु अति आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->