पोखरा / शनिबार पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले खेलकुदमा राजनीति हुँदा ठूला परियोजना सम्पन्न हुन नसकेको अभिव्यक्ति दिए ।
कास्कीको माछापुच्छे« गाउँपालिका भिंडाबारीमा निर्माण गरिने भनिएको दक्षिण एसियाकै नमूना परियोजनालाई संकेत गर्दै मुख्यमन्त्रीले राजनीतिकरण नगर्न अनुरोधसँगै उक्त विषयमा चासो देखाएका थिए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ पनि उपस्थिति थिए । मुख्यमन्त्रीको अभिव्यक्तिपछि सदस्य सचिव घिसिङले आइतबार उक्त परियोजना निर्माणस्थलको अवलोकन गरेका छन् । निर्माण रोकिएको प्रस्तावित एन्फा एकेडेमी ड्रिम प्रोजेक्टको अवलोकन गर्दै उनले एन्फासँग छलफल गर्ने बताएका छन् ।
८५ करोडको लागतमा २०७७ सालमा निर्माण कार्य सुरु गरिने भनिए पनि हालसम्म शिलान्यास समेत हुन सकेको छैन् । एक कार्यक्रमका लागि कास्कीको ल्वाङ पुगेका सदस्य सचिव घिसिङले भिंडावारी पुगेर परियोजनास्थलको अवलोकन गरेका हुन् । एन्फाले दुई वर्षअघि नै लागि आन्तरिक कार्य सके पनि निर्माण कार्य अघि बढेको छैन ।
अवलोकनका क्रममा उनले स्थानियहरुसँग भेट गरी निर्माण रोकिएको बारे चासो व्यक्त गरे । ‘म यसबारे एकदमै चिन्तित छु । प्रस्तावित टेक्निकल सेन्टर रोकिनु कदापि राम्रो होइन । यस प्रकारका परियोजनाले नेपाली खेलकुदको विकासमा भूमिका खेल्छ ।’
उक्त परियोजना ल्याउँदै गर्दा एन्फाका वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले व्यापक विरोध गरेका थिए । उनले परियोजना रोक्न तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पालाई आफ्नो समूह नै लगेर विरोध गरेका थिए । तिनै विरोधी अध्यक्षसँग सदस्य सचिव घिसिङले काठमाडौं पुगेर छलफल गर्ने भएका हुन् । ‘एन्फालाई यसबारे सोध्ने र सजग गराउने कार्यमा मेरो चासो रहने छ । निर्माण कार्यलाई यथाशीघ्र सुरु गराउन राखेपले पहल गर्नेमा म विश्वास दिलाउन चाहन्छु,’ उनले भने । उनले निर्माण कार्यमा देखिएका
सबै समस्या हल गर्न राखेप तयार रहेको स्थानिय प्रतिवद्धता व्यक्त गरेका छन् ।
फिफाले नै टेक्निकल सेन्टर निर्माणका लागि अध्ययन टोली समेत पठाएको थियो ।
एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले दुई वर्षअघि नै उक्त ड्रिम प्रोजेक्टको निर्माण कार्य रोक्न केहीले नकारात्मक प्रचार गरिरहेको भन्दै असन्तुष्टि जनाएका थिए ।
भिंडावारी ड्रिम प्रोजेक्टबारे वर्तमान एन्फा नेतृत्व सकारात्मक नभएको विषय समेत उठ्दै आएको छ । यसबारे गाउँपालिकाले समेत चासो देखाएर एन्फालाई पटक–पटक पत्रचार गरेरै स्पष्टीकरण माग गरेको थियो । परियोजनाका लागि गाउँपालिकाले करिव ३ सय रोपनी भन्द बढी जग्गा समेत उपलव्ध गराइसकेको छ ।
यस्तो छ रोकिनुअघि सम्मको गतिविधि
यो एक फुटबलको बहुउदेश्यीय परियोजना हो । विश्व फुटबल महासंघ (फिफा) ले दक्षिण एसियाकै ड्रिम प्रोजेक्ट नेपाललाई दिएको हो । फिफाअन्तगर्तको यो एसियाकै सबैभन्दा ठूलो लगानी हो जुन, एन्फालाई दिइएको छ । एन्फाले उक्त प्रोजेक्ट कास्कीको भिंडाबारीमा बनाउने योजना अघि बढायो ।
मिनी रंगशालासहितको एन्फा टेक्निकल सेन्टरका लागि डीपीआर तयार भइसकेको छ । स्थानीय सरोकारवालासँग सार्वजनिक सुनुवाईसमेत गरियो । एन्फाको टेक्निकल टिमले स्थलगत निरीक्षणसमेत ग¥यो । उक्त स्थल प्रोजेक्टका लागि योग्य ठहरियो ।
२०७७ सालमा उक्त प्रोजेक्टको शिलान्यास गरिने बताए पनि कोरोना महामारीका कारण योजना अघि बढ्न सकेन् । योजनाको चौथो वर्ष अर्थात २०७९ सालमा आएर बल्ल बोलपत्र आह्वान भएको छ ।
फुटबलको मात्र नभइ सो क्षेत्रको विकासमा कोषेढुंगा सावित हुने तथाअन्तर्राष्ट्रिय क्षेत्रसँग जोडिने उक्त प्रोजेक्टको सपना देखेका स्थानीय पनि कहिले बन्छ भन्ने आशामा बसिरहेका छन् । फिफाको आर्थिक सहयोगमा बन्ने परियोजनाको लागत निकै ठूलोे छ । पहिलो चरणमा १७ करोड ५५ लाख रुपैयाँ छुट्टिएको छ । एन्फाले ४ चरणमा काम सक्नेछ । ३५२ रोपनी जग्गामा बन्ने परियोजनाको पहिलो चरणअन्तर्गत अभ्यास मैदान, छात्रवास, अभ्यास ब्लक, कार्यकारी क्वार्टर ब्लक, अतिथि क्वार्टर ब्लक, ओपन फुट कोर्ट, सुरक्षा गार्ड भवन, शौचालय तथा चौतर्फी बार लगाउने काम रहेको छ । टेक्निकल सेन्टरमा ५ हजार दर्शक क्षमतासहितको प्यारापिटयुक्त मुख्य फुटबल मैदान, प्राकृतिक मैदान, दुई कृतिम मैदान, दुई बालुवा मैदान, स्विमिङपुल, रेष्टुरेण्ट,पुस्तकालय, जिमहल तथा सभाहल रहने योजनामा रहेको छ । पाँच सय रोपनी जग्गा २० वर्षका लागि भोगचलान लिएको उक्त योजना पूरा गर्न ८० देखि ९० करोडसम्म लाग्ने अनुमान छ ।
प्रोजेक्टको शिलान्यास नभएतापनि माछापुच्छे« गाउँपालिकाले भने खोलाले कटान हुन सक्ने क्षेत्रमा २ सय मिटरसम्म बाँध लगाइदिएको छ भने, प्रदेश सरकारले पनि उक्त परियोजनाका लागि आवश्यक बजेटको विनियोजन गरेको थियो ।





