नवलपुर/ हाइवे केन्द्रित नवलपुरकै पुरानो र ऐतिहासिक बजार प्रगतिनगर बजार ओझेलमा पर्दै गएको प्रति स्थानीयले चासो र चिन्ता ब्यक्त गरेका छन् । प्रगतिनगर बजार व्यवस्थापन समितिले आयोजना गरेको अन्तरक्रिया तथा गोष्ठीमा सहभागी ब्यवसायी, स्थानीयले वजार प्रवर्द्धनसँगै यहाँ व्यवसाय गर्ने ब्यवसायी र वजार लक्षित सबै वर्ग–क्षेत्रको उत्थानमा चिन्ता व्यक्त गरेका हुन् ।
अन्तरक्रियामा सहभागीका तर्फबाट आफ्ना धारणा राख्ने क्रममा स्थानीय ईन्द्रप्रसाद घिमिरेले सबैभन्दा पुरानो वजारलाई कसरी थप विकासका माध्यमवाट अगाडी लैजाने भन्दा पनि राजनैतिक खिचातानी र लडाईको शिकार भइरहनु परेको गुनासो पोखे ।
अर्का सहभागी शोभाकान्त रेग्मीले उदेश्य केन्द्रित कार्यक्रमले उपलब्धि र उत्पादन दिनुपर्ने भन्दै बजारको अवस्था, व्यवसायीका समस्या ति समस्या लाई स्वयं व्यवसायीको हितमा क्रियाशील संघसंस्था र राज्यका सरकारी तह र निकायको भूमिका नजरमा पर्दै नपरेको आक्रोश पोखे ।
सहभागीकै तर्फवाट वोलेका वलराम खनालले व्यवसायीहरुमा कर शिक्षा सम्बन्धी पूर्ण जानकारी नहुँदा खरिद विक्री खाता अद्यावधिक झञ्झटिलो र समस्याका रूपमा रहेको बताए ।
नवप्रगति युवा क्लवका अध्यक्ष सुरजकान्त सुवेदीले सवै प्रकृतिका व्यवसाय बन्द हुने स्थिति सृजना भएको प्रति चिन्तित हुँदै व्यवसायी पलायन हुने अवस्था रोक्न सबै पक्षले योजना बनाउनुपर्ने औँल्याए ।
संघसंस्थाका तर्फबाट बोल्दै जनज्योति क्याम्पसका अध्यक्ष दयाराज तिवारीले ब्यवस्थापन समितिले स्वायत्त रुपमा काम गर्ने बातावरण हुनुपर्ने बताउँदै फोहोर, पार्किङ ब्यवस्थापन, हरियाली र सरसफाईमा चासो राख्नुपर्ने बताए ।
वडा नं. १५ का पूर्व वडाध्यक्ष हरिभक्त भटराईले दीर्घकालीन सोच र योजना नहुँदा राज्यको सरकारी ढुकुटी भौतिक पूर्वाधारमा खेर गइरहेको बताए ।
देवचुली उद्योग बाणिज्य संघका अध्यक्ष सूर्य प्रसाद दवाडीले राष्ट्रिय समस्या र चुनौतीका रुपमा देखा परेको अहिलेको आर्थिक तरलता र ब्यवसायिक संकटको परिस्थितिमा ब्यवसायीलाई ब्यवसाय धान्न र निरन्तरता दिन निल्नु न ओकल्नुको स्थिति रहेको बताए ।
समाजसेवी होमनाथ जैसीले वजारको क्षेत्रको किटानी, वजार समिति गठनको प्रक्रिया, सदस्यको भूमिका र क्रियाशीलता, सवारी साधनको पार्किङ व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सरसफाई, व्यापारमा स्वस्थ प्रतिस्पर्धा, हाटबजारको व्यवस्थापनसँगै उपभोक्तामैत्री व्यवसाय बनाउनमा बजार समितिले उत्तरदायित्व सँगै पहलकदमी लिनुपर्ने सुझाए ।.
देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले संघीयतापछि धेरै सेवा प्रवाहहरू पालिका केन्द्रित हुदा प्रत्यक्ष रूपमा पुराना ब्यवसायिक बजारहरूको ब्यवसाय घटेको यथार्थता सुनाए । प्रशासकीय प्रमुख मरासिनीले व्यवसायीले लगानी गर्दा जोखिम रकम छुट्याएर लगानी गर्नुपर्ने बताए ।
देवचुली – १५ का वडाअध्यक्ष सुरेशकुमार रानाभाटले स्तरोन्नतिका क्रममा रहेको राजमार्गको प्रगतिनगर वजारको पहुचसंग युटर्नको निकास रोकिनु दुर्भाग्य रहेको भन्दै यसले वजार झन् सुक्ने भएकाले पुरानो वजारको भविष्यप्रति चिन्ता ब्यक्त गरे ।.
प्रगतिनगर वजार ब्यवस्थापन समितिका अध्यक्ष शिवलाल गैरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद गौतमले गरेका थिए ।





