नवलपुर/ गैंडाकोट नगरपालिकाले ६० वर्ष उमेर पूरा भएका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानसहित सेवाबाट विदाई गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी ५ जना उमेर पूरा भएका र १ जनालाई मरणोपरान्त सम्मान गरेको हो ।
स्वास्थ्य स्वयंसेविका कार्यक्रम लागू भएको २०४७/४८ सालदेखि निरन्तर सेवारत उनीहरुलाई नगरपालिकाका तर्फबाट सेवा अवधिको आधारमा जनही ८० हजारदेखि १ लाख रुपैंया प्रोत्साहन रकम उपलब्ध गरायो ।
५ जनामध्ये वडा नं. ५ की स्वर्गीय पार्वती भण्डारीलाई मरणोपरान्त सम्मान र परिवारलाई १ लाख रुपैंया हस्तान्तरण गरिएको थियो भने वडा नं. १८ की लालमति आले, वडा नं. १२ की सुशीला सापकोटा र वडा नं. १७ की तारा सुवेदीलाई १–१ लाख, वडा नं. ५ की श्रीमाया तिवारीलाई ८० हजार रुपैंया प्रोत्साहन राशी र सम्मान पत्रसहित विदाई गरिएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य अधिकृत झलकराज पौडेलले जनाए ।
यस्तै, वडा नंं १७ की मानकुमारी सापकोटा सम्मानपत्रले सम्मानित भइन् । जनप्रतिनिधि समेत रहेकी सापकोटालाई प्रोत्साहन राशी उपलब्ध गराउन नीतिगत रुपमा नमिलेको नगरपालिकाले जनाएको छ । श्रीमायाको सेवा अवधि १६ वर्ष मात्रै भएकाले ८० हजार प्रदान गरिएको हो ।
६० वर्ष उमेर र १० वर्ष सेवा अवधि पूरा गरेका स्वयंसेविकालाई स्थानीय सरकार बाहेक स्वास्थ्य कार्यालयमार्फत् थप २० हजार रुपैंया प्रोत्साहन रकम प्रदान गरिने स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईं बताउँछन् ।
उमेर पुगेका उनीहरुका भूमिकामा यसअघि नै सम्बन्धित वडा तथा टोलका आमा समूहको सहमति र सिफारिसमा नयाँ सामुदायिक महिला स्वास्थ्य स्वयं सेविका छनौट गरिसकिएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा भएको सम्मान तथा बिदाई कार्यत्रममा नगर प्रमुख अधिकारीले स्वयंसेविकाको सेवा सुविधालाई क्रमशः बृद्धि गर्दै लैजाने आश्वासन ब्यक्त गरे । उनले स्वयंसेविकाले घर–घरमा पुगेर स्वास्थ्य सन्देश प्रवाह र सेवाको भूमिकामा उल्लेख्य योगदान पु¥याएको स्मरण गरे । गैंडाकोट नगरपालिकाले आगामी आर्थिक वर्षदेखि स्वास्थ्य स्वयं सेविकाको सेवाको मुल्यांकन गर्दै मासिक ३ हजार रुपैंया प्रोत्साहन र २ सय रुपैंया सञ्चार खर्च बापत उपलब्ध गराउने नीति पारित गरेको छ । यसअघि उनीहरुले नगरपालिकाबाट मासिक १ हजार रुपैयाँ पाउँथे । यसबाहेक उनीहरुले केन्द्रमार्फत् मासिक १ हजार र पोशाक बापत वार्षिक १० हजार रुपैंयाँ पाउँछन् ।





