नवलपुर/सरकारी अनुगमन टोलीले देवचुलीमा स्वास्थ्य क्षेत्रको अनुगमन गरेको छ । देवचुलीका केही बजार क्षेत्रका निजी तथा ब्यवसायिक औषधि पसल, पोलिक्लिनिकमा आज बुधवार अनुगमन गरेको हो ।
जिल्लास्थित तालुकदार कार्यालयका प्रमुख, प्रतिनिधि, सम्वन्धित पालिकाको स्वास्थ्य शाखाका प्रतिनिधि, पत्रकारसमेतको संयुक्त टोलीले देवचुली ११ को धारापानी, १५ को प्रगतिनगर र १६ र १७ को रजहरका आधा दर्जन निजी स्वास्थ्य संस्थामा चेकजाँच गर्यो ।
अनुगमनका क्रममा सञ्चालित स्वास्थ्य सेवा प्रदायक व्यावसायिक संस्थाहरुको दर्तालगायतका मापदण्ड रहे पनि अन्य धेरै शर्तहरु पालना नभएको पाईएको छ । औषधि पसल प्राय एक ब्यक्तिका नाममा दर्ता रहको अर्को ब्यक्तिले सञ्चालन गरेको, खरिद बिक्री खाता नरहेको, भएकोमा पनि अपारदर्शी, कमै मात्र विल काट्ने गरेको, औषधि र चिकित्सकीय सेवाको विल एउटैमा काटिएको भेटिएको, पोलिक्लिनिकमा विशेषज्ञ डाक्टर आउने ठूला फ्लेक्स टाँगेर राखिएको तर डाक्टर नरहेको पाईएको स्वास्थ्य कार्यालय नवलपुरका सूचना अधिकारी मुक्तिनाथ भटराईले बताए ।
अनुगमन टोली औषधि पसल तथा पोलिक्लिनिकमा पुग्दा फर्म स्वयं सञ्चालक नै भेटिएका थिए । टोलीले पूरा गर्नुपर्ने मापदण्डका बारेमा प्रश्न गर्दा धेरै कुरा थाहा नभएको, अनविज्ञ रहेको आशयको अलमले जवाफ दिएका थिए ।
पोलिक्लिनिक सञ्चालनको अनुमति लिँदा पालना गर्नुपर्ने पहिलो बुँदामै उल्लेख भएको कम्तीमा आफ्नो स्वास्थ्य संस्थावाट प्रवाह भएको सेवाबाट भएको आम्दानी रकमको १० प्रतिसत रकम बरावरको सेवा गरीब, विपन्न र उपचार गर्न नसकेका नागरिकमा खर्च गर्नुपर्ने भन्ने शर्त कुनै पनि संस्थाले नदिएकाले त्यस्ता सेवाग्राही विरामीलाई चिकित्सकीय सेवा निशुल्क गर्न स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले निर्देशन गरे ।
अनुगमनमा परेका निजी स्वास्थ्य संस्थालाई तीन दिनभित्र बैधानिक कागजात, खरिद बिक्री र विल भरपाईबाट प्रमाणित भएको अडिट रिपोर्ट र उल्लेख भएका कैफियतका सम्वन्धमा स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन भनिएको छ । समाजलाई नै प्रभाव पार्ने गरी फैलिएको रोग र संक्रमणको न्यूनीकरण र सचेतना जगाउन निजी स्वास्थ्य संस्थाको समेत उत्तिकै भूमिका हुने र दायित्व समेत भएकाले तत्कालका लागि डेंगु र आँखा पाक्ने रोगबिरुद्धको सचेतनामूलक सामग्री र प्रवाह हुने सेवाका बारेमा स्पष्ट खुल्ने गरी नागरिक वडापत्र समेत देख्ने गरी टाँस्न सुझाव दिईएको चापागाईले बताए ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईको नेतृत्वमा भएको अनुगमन टोलीमा सूचना अधिकारी मुक्तिप्रसाद भटराई, मध्यविन्दु जिल्ला अस्पतालका कन्सल्ट्याण्ट फिजिसियन डाक्टर कमलराज न्यौपाने, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नासु राजेन्द्रप्रसाद शर्मा, स्वास्थ्य शाखा देवचुलीका प्रतिनिधि पिताम्वर भुर्तेल, पत्रकारलगायतको सहभागिता रहेको थियो ।





