बागलुङ / बिद्यामन्दिर पुस्तकालयले आयोजना गरेको पुस्तकालय दिवशको तेस्रो दिन बुधवार पुस्तकालय र पुस्तकबारे अन्तरसंबाद सम्पन्न भएका छन् । किन पढ्ने पुस्तक ? र पुस्तकालय अब इतिहास की आबस्यकता बिषयक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । बुधबार भएको कार्यक्रममा पहिलो सत्रमा पत्रकार तथा अभियानकर्मी आर के अदिप्त गिरीसँग लेखक गनेस पौडेलको प्रस्तुतीमा किन पढ्ने पुस्तक बिषयक सम्बाद सम्पन्न भएको हो ।
उक्त सम्बादमा पौडेलले मानिसको आनीबानी नै पुस्तक पढ्ने भयो भने समाज पढ्न, बुझ्न र आगामी विकासलाई गति दिन सहज हुने बताए । पैतला उपन्यासका लेखक पौडेलले लेखक बन्नकै लागि लेख्ने, विद्वान बन्नकै लागि पढ्ने भन्दा पनि पठन संस्कृति जीवनको अंग बन्नुपर्ने बताए । उनको भनाइमा खाना खानुजस्तै पुस्तक पढ्नु पनि जीवनको नियमितता बन्नुपर्नेछ ।
उनले चरा र जनावरले पुस्तक नपढ्ने भएकोले मान्छे बन्न किताब पढ्नुपर्ने तर्क राखेका थिए । अर्थात् मानिस हुनुको कारण बौद्धिक क्षमता बढाउनुपर्छ त्यसका लागि पढ्नु पर्छ भन्ने उनको तर्क थियो । २००३ सालमा स्थापित बागलुङको बिद्यामन्दिर पुस्तकालयले ५ दिने पुस्तकालय दिवश मनाइरहेको छ । यो क्रममा बुधबार पठन संस्कृति, पुस्तक र पुस्तकालयबारे बहस र छलफल भएको हो ।
दोश्रो चरणमा पत्रकार दिल शिरीषसँग बरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठ र अर्का पत्रकार मुकेशचन्द्र राजभण्डारीबीच पनि अन्तरसम्बाद भयो । पुस्तकालयको इतिहास सकियो भन्ने नपढ्नेहरुको बाहना मात्र भएको श्रेष्ठको दाबी गरे । बरु हरेक क्षेत्रको बिषयगत अध्ययन गर्नैपर्ने बाध्यता बढ्दै गएकोले पुस्तकालय इतिहास नभई निरन्तर चल्नुपर्ने बताए ।
पत्रकार मुकेशचन्द्र राजभण्डारीले पुस्तकबाट नै संसारभरका परिवर्तन, क्रान्ति र शान्ति प्रक्रियाबारे थाहा पाइएकोले पुस्तक र पुस्तकालयको महत्व झनै बढेर गएको बताए । पुस्तकबिना कुनैपनि क्षेत्र चल्नै नसक्ने श्रेष्ठको दावी थियो । बिद्यामन्दिर पुस्तकालयमा २००९ सालमा प्रकाशित हस्तलिखित पत्रिकादेखि अहिले सम्मका पत्रपत्रिका संग्रहित छन् । पुस्तकालयका अध्यक्ष राम थापा अविरलका अनुसार यहाँ १७ हजार भौतिक अबस्थाका पुस्तक र ९ हजार डिजिटल पुस्तक संग्रहित छन् ।
अन्तर सम्बादपछि प्रस्तुतकर्ता, लेखक र पाठकले बजारमा गुणस्तरहिन पुस्तक बढेको निष्कर्ष समेत निकालेका थिए । ‘बरु थोरै किताब आउनुपर्छ, गुणस्तरीय आउनु पर्छ’ पौडेलले भने, ‘ती किताबले अहिलेको युवा र किसोर समूहलाई पढौंपढौं झै लाग्ने, केही गरौ झैं बनाउनु पर्छ ।’ पढ्नै मन नलाग्ने किताबबाट किताब प्रति नकारात्मक धारणा बढेको उनको तर्क थियो ।
बागलुङमा पुस्तक र पठन संस्कृतिबारे पहिलो पटक सार्वजनिक सम्बाद कार्यक्रम भएको हो । यस्तो सम्बादले युवा र बिद्यार्थीमा पनि पुस्तकबारे कौतुहलता जगाएको बालुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । उनले बिद्यामन्दिर पुस्तकालय बागलुङ विकासको खड्कीलो भएको भन्दै यस्ता अभियानले उचाइमा पुग्न बल पुग्ने धारणा राखेका थिए । कार्यक्रममा साहित्यकार, लेखक, शिक्षक, बिद्यार्थी र शिक्षा क्षेत्रका अगुवाहरुको सहभागिता थियो । पुस्तकालयले पठन सँस्कृति बढाउन रचनात्मक क्रियाकलाप चलाइरहेको थापाले बताए ।





