बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

स्वादिला नेता चित्रबहादुर केसी

स्वादिला नेता चित्रबहादुर केसी


  • माधव चापागाई
  • भाद्र १७ २०८०, आइतबार

महान मानिसहरुले आफ्नो छुट्टै दृष्टिकोण लिएर अगाडि बढ्छन् । सर्वहारावादी नेताहरु नातावाद कृपावादको चङ्गुलमा पर्नुलाई अभिशाप मान्छन् । उनीहरु धार्मिक अन्धविश्वासलाई रुढीबादी सोच मान्छन् । जनताको अभिमत नै जीवनको सार हो । त्यही अभिमतलाई कुल्चिनु भनेको जन्मभूमिप्रती गद्दारी गर्नु हो । त्यसैले उनीहरु जनता सापेक्षित कार्य गर्नु आफ्नो प्रमुख कर्तव्य ठान्छन् । नेपालको वामपन्थी राजनीतिमा समर्पित भएका शान्त, धैर्यशिल र निडर नेताका रूपमा चित्रबहादुर केसीलाई लिइन्छ । उनी प्रतिनिधि सभाको बैठकमा सांसद हुन्छन् भने साँझ बिहान सर्वसाधारणको परिचय पाउँछन् । आफ्नो उन्नति मात्रै चाहने स्वार्थले व्यक्तिवादको संघारमा पुर्याउछ भन्दै सर्वहारा वर्गको उन्नयनमा लाग्न सबैलाई प्रेरित गर्छन् ।

नेपालको राजनैतिक इतिहासमा संघीयताको प्रखर विरोधी राजनीतिज्ञका रूपमा केसीलाई लिइन्छ । उनी वि.सं. १९९७ सालमा बागलुङमा जन्मिएका पुराना कम्युनिष्ट नेता हुन् । उनको जीवन सबैका लागि अनुकरणीय छ । सरल जीवन शैली, मिलनसार स्वभाव, ठट्यौली लवजसंगैको मिठासपुर्ण बोली उनको परिचय नै बनेको छ । उनले सत् कर्मबाटै जीवनको उत्तरार्ध उमेर काटिरहेका छन् । गरिब परिवारमा जन्मिएका केसीको जीवन बाल्यकालदेखि नै संघर्षशिल बनेको थियो । राजनीति शास्त्रमा स्नातकसम्मको अध्ययन गरेका उनीसंग शिक्षकको अनुभव पनि छ । अहिलेका कम्युनिष्ट नेताहरू आफ्नै बाबुआमाको समेत काजक्रिया नगरेर धार्मिक विसङ्गती निम्त्याइरहेका छन् । तर केसी भौतिकवाद र द्वन्दवादसंग नजिकिए पनि आफ्नो धर्म संस्कृतिको विरोध गर्दैनन् । प्रारम्भिक शिक्षा गाउँमै लिएका उनले नित्य पुजापाठ जप र ध्यान गर्छन् । शिक्षण पेशाको दौरानमा एक जना कम्युनिष्ट विचारधारामा विश्वास गर्ने शिक्षकको प्रेरणाबाट यस आन्दोलनमा आबद्ध भएको केसी बताउँछन् । नेपालको कम्युनिष्ट इतिहासमा केसी प्रारम्भकालिन होनहार जीवन यथार्थ हुन् । उमेरले साढे आठ दशक नजिकको यात्रामा रहेका केसीले आफ्नो सग्लो जीवन कम्युनिष्ट आन्दोलनमा समर्पित गरेका छन् ।

२०१४ सालदेखि राजनीतिमा होमिएका केसी राष्ट्रहितका मुद्दामा खरो रूपमा उपस्थिति जनाउछन् । जुन स्वभावले उनलाई जनतामाझ लोकप्रिय बनाएको छ । नेपालको राजनीतिमा उनलाई पृथक विचार, पृथक पहिचान अनि पृथक जीवन चरित्र प्रस्तुत गर्ने पृथक नेताका रुपमा लिइन्छ । यिनै विचार र परिचयलाई संस्थागत गर्न उनी निरन्तर कम्युनिष्ट आन्दोलनमा सरिक भएका छन् । यो बीचमा उनले शिक्षक, भुमिगत जीवन, जेलहुँदै संविधान सभा र उपप्रधानमन्त्रीसम्मको यात्रा गरेका छन् ।

अनगिन्ती विशेषताले सम्बोधन गर्न सकिने एउटा अनुहारभित्र केसीलाई लिन सकिन्छ । उनले नेपाली राजनीतिमा बरु एक्लो वृहस्पति बनूँला तर संघियताको पक्षमा उभिन नसक्ने अभिव्यक्ति दिदै आएका थिए । अन्ततः संविधान सभामा संघीयताको विरोधी दल उनको मात्रै बन्यो । उनले हाम्रो देशमा संघीयता आवश्यक छैन । यसले विखण्डन ल्याउछ । खर्च धान्न गाह्रो हुन्छ भन्ने दीर्घकालीन विचार राख्दै आएका छन् । फलतः उनको विचार सत्य सावित पनि भएको छ । नेपालको सन्दर्भमा संघीयता अव्यवहारिक छ । यसले देशको राष्ट्रियता र सार्वभौमिकता टुक्र्याउछ । जातीय, क्षेत्रीय र सांँस्कृतिक विखण्डन ल्याउछ । यो सामाजिक सद्भाव ध्वस्त पार्न, नेपाली नेपालीका बिचमा वैमनस्यता ल्याउन रचिएको एउटा खेल हो । थाम्नै नसक्ने आर्थिक बोझ देशलाई बोकाएर आर्थिक समस्या ल्याउने कुतर्क हो । यसको विरोध वा समर्थन गर्नुभन्दा पनि कत्तिको व्यवहारिक छ भन्ने पहिचान गर्नु बुद्धिमानी हुन्छ । भन्ने दीर्घकालीन सोच भएका पाका नेता केसी हुन् ।

वर्तमान राजनीतिलाई नेताहरूले पेशा र व्यवसाय बनाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने थलो बनाएका छन् । राजनीति जनताको निम्ति गरिने त्याग, तपस्या र संघर्ष हो तर अहिले निहित स्वार्थपुर्तिको थलो भएको छ । यसमा सुधार हुनुपर्ने उनको बुझाइ छ । राजनीति गर्ने मानिसले आफुले गरेको काम सर्वहारा जनताको पक्षमा होस् भन्ने चाहानु पर्छ भन्ने विचारले उनी सम्पन्न छन् ।

केसीको निजी जीवन

कम्युनिष्ट नेता हुन् त यस्ता हुन् । कम्युनिष्टहरुले आफ्नो सुख चिन्दैनन् । चिन्छन् त केवल जनताको दुख अनि मेटाउन हिड्छन् तिनै दुखका डोबहरु भन्ने भाव उनको जीवनबाट सिक्नुपर्छ । एक्काइसौं शताब्दीका नेताहरुको तामझाम र साखका अगाडि केसी फगत भुइँ मान्छेको भूमिकामा छन् । आफ्नो सोख र भोक पूरा गर्न हजारौंतिर हात फैलाउने परचक्री नेताका अगाडि उनी सन्त नेता हुन् । उनले राम्रो लाउन, मीठो खान र महंगो रुप धारण गर्न जानेनन् होला । तर देशका लागि के सहि, के गलत र के उत्तम हुन्छ भन्ने विषय अवश्य बोध भएको हुनुपर्छ । किनकी उनले सोचे जत्ती परिवर्तन गर्न नसके पनि नराम्रो कर्म गर्नु नपरेकोमा आफू खुशी रहेको अभिव्यक्ति दिदै आएका छ ।

नेपालको राजनैतिक इतिहासमा सार्वजनिक यातायात चढेर संसद भवन पुग्ने नेता उनी मात्रै हुन् । फेरि उनको यो देखावटी कर्म होइन नै किनकी उनले शरीरलाई सुख दिने बास समेत बनाउन सकिरहेका छैनन् । उनी सांसद भएर होइन सर्वसाधारणको जीवनसंग सहयात्री बन्दै भान्सादेखी जुठेल्नासम्मको काम आफै गर्नुपर्छ । केसी दम्पती बिहान मर्निङ वाकमा निस्किन्छन् । नजिकैको पसलबाट तरकारी लगायतका आवश्यक सामग्री खरिद गर्छन् । दुवै जनाले मिलेर खाना बनाउँछन् । जुठा भाडा माझ्नु, लत्ताकपडा धुनु, आफ्नो स्वामित्वभित्रको घर सफा गर्नुजस्ता कामहरु उनको दैनिकीमा पर्छन् । यतिका काम सकेर संसद चल्दाको दिन समयमै संसद भवन पुग्छन् ।

विगत २० वर्षदेखि डेरामा लिएको कोठामा श्रीमान श्रीमती बस्दै आएका थिए । तर पछिल्लो समय अर्धाङ्गिनीको स्वास्थ्यमा थप जटिलता थपिदै गएपछि पार्टी कार्यालयमै बस्न पुगेका केसीलाई अहिले घरायसी कामले १ मिनेट फुर्सद हुँदैन । कतिले उनको जीवन यथार्थलाई नबुझेर त कतिले अरु नेताहरुको तामझाम र रवाफ देखेर । मानिसहरु छक्क पर्छन् । उपप्रधानमन्त्री भइसकेका र तत्कालीन समयमा पनि सुरक्षाकर्मीको आवश्यकता नदेखेका नेतालाई बाटोमा एक्लै पैदल हिडेको र सार्वजनिक यातायातमा चडेको देखेर मानिसहरु अनौठो मानेर हेर्छन् । जसका कारण उनलाई कोहि कसैको डर नभएका एवं कसैको केही नबिगारेका नेता, जनताका नेता मान्न सकिन्छ । किनकी जनताको पक्षमा उभिने नेतालाई जनताको भय हुँदैन । भय हुन्छ त त्यस्ता नेतालाई जसले अनेकौं सपना बाढेर तिनै सपनादेखि भागीरहेका हुन्छन् । केसी नेपाली राजनीतिमा यस्ता चरित्र हुन् जस्ले ‘नबिराउनु नडराउनुको सिद्धान्तमा दृढ’ छन् । जुन सिद्धान्तले तमाम सुरक्षाकर्मीको घेराभित्र हिंड्ने हाम्रा नेताहरुमाथी प्रश्नचिन्ह खडा गरेको छ ।

हामीले एक पटक सडकपेटीमा हिडिरहेका बेला केसीलाई भेटेका थियौं । सयौं मानिसहरूको भिडमा हृष्टपुष्ट शरीर, खैरो कोट, रातो गल्बन्दी, घुमाउरो शैलीमा शिरमा सजाइएको ढाका टोपी र प्रसन्न अनुहारमा चस्मा लगाएर हिडिरहेका उनलाई एक्लै देख्दा उस्तै मानिसको संज्ञा दिएका थियौं । हामी दुई जना साथीसाथीले चित्रबहादुर नै हुन् होइनन् हुन् होइनन् भनेर चिन्नै समय लगायौँ अन्ततः छिनोफानो गर्न बाध्य भयौं र नजिकै पुगेर बोलायौं । उहाँले हाम्रा सबै उत्सुकता मेटाउनु भएको थियो । जुन भेटले आज उहाँको जीवनलाई यहाँ प्रस्तुत गर्ने प्रेरणा मिल्यो र मनमा नयाँ किसिमको भाव उत्पन्न गरायो । म आफूले कति चुनावमा भोट दिए तर मैले भोट दिएको नेता कहाँ छन् ? कस्ता छन् ? को हुन् ? देख्न, बोल्न र चिन्न सकिरहेको थिइन । न उनले चिन्छन् न मैले ? कसरी हामी एउटै विचारका भयौं ? यी बुढाको स्वभाव कति मिलनसार, कति सरल, कति उदार आहा ! नेता त यस्तो हुनुपर्छ मेरो मनमा नयाँ तरङ्ग पैदा भएको थियो ।

विगतले जन्माएर वर्तमानले नयाँ चरित्रका साथ कम्युनिष्ट आन्दोलनको जग बनाएको सत् पात्र नेपाली राजनीतिले पाइरहोस् । पद र प्रतिष्ठा कमाएका तमाम युवा नेताहरूले उनको विचारको प्रशंसा गरिरहेका हुन्छन्÷गरिरहुन् । वास्तवमै केसीको साधकिय जीवनले उनैको शैलीका नेताको परिकल्पना गरिरहेको महशुस हुन्छ । केसीको राजनैतिक यात्रा जारी छ । उनी रचनात्मक शैलीमा उखान टुक्काको प्रयोग गरेर मीठो भाषण गर्ने स्वादिला नेता हुन् । उनको विचारबाट नेपालका राजनैतिक दल र नेताहरूले पाठ सिक्न जरुरी छ ।

राजनैतिक विरासत

२०१४ सालबाट राजनैतिक यात्रा प्रारम्भ गरेका केसी २०१५ सालको आम निर्वाचनमा पुष्पलालको पक्षमा स्पष्ट देखिएका थिए । उनको राजनैतिक पृष्ठभुमि यहीँबाट सुरु भएको मानिन्छ । २०१७ सालमा राजा महेन्द्रले पन्चायती व्यवस्था लागू गरिपछि उनमा थप राजनैती चेत जागृत भयो । फलस्वरूप २०२१ सालमा उनले गृह जिल्ला बागलुङमा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको सुखद अनुभुति गर्ने सौभाग्य पाए । त्यसपछि २०३१ सालको चौथो महाधिवेशनबाट केन्द्रिय सदस्य भए । त्यही महाधिवेशनबाट कम्युनिष्ट पार्टीले टुटफुटको सामना गर्यो । २०४० सालमा नेपाल कम्युनिष्ट पार्टी मसाल नाम राखेर कम्युनिष्ट आन्दोलन अगाडि बढाइयो । २०४४ सालमा अखिल नेपाल राष्ट्रिय जनमोर्चाको स्थापना भयो । २०५१ मा किसान संघको नामबाट चुनावमा भाग लिए भने २०५६ मा राष्ट्रिय जनमोर्चाको नामले चुनावमा भाग लिएका थिए ।

२०६२ मा राष्ट्रिय जनमोर्चा र संयुक्त जनमोर्चा एकीकरण भएर जनमोर्चा नेपाल गठन भयो । चित्रबहादुर केसी जनमोर्चा नेपालको सदस्य भए । २०६५ मा जनमोर्चा नेपाल बिभाजित भयो, र उनी जनमोर्चा नेपालको मूल पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र मसाल)को पक्षमा नेतृत्व गर्न पुगे । उनी कम्युनिष्टहरुको सात दलीय गठबन्धनमा सहभागी नहुने पक्षमा उभिए भने केसी संघीयता र विकेन्द्रीकरणका विपक्षमा आफ्ना विरोधी विचार राख्दै आएका छन् । वर्तमानमा पनि राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी प्रतिनिधि सभा सदस्य छन् । उनी २०७९ सालमा सम्पन्न निर्वाचनमा बागलुङ क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->