आज कुशे औशी अर्थात् बाबुको मुख हेर्ने दिन हो । आजको दिनलाई सनातन हिन्दु धर्मावलम्बीहरुको कुशको संग्रह गर्ने र बाबुलाई सम्मान गर्ने महत्वपूर्ण चाडका रुपमा मान्दछन् । हरेक सम्वत्सरमा भाद्र कृष्ण पक्षको औशी तिथिका दिन मनाइने यस पर्वमा देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याइन्छ । हिन्दु परम्परामा जन्मदेखि मृत्युपर्यन्त सञ्चालन हुने सोह्र संस्कार एवं नित्य, नैमित्तिक कार्यहरुमा कुश अत्यावश्यक मानिन्छ । कुशले वातावरण एवं वायुमण्डलमा भएका खराब विकिरणलाई निषेध गरि शुद्धीकरणको मार्ग प्रसस्त गर्दछ । तसर्थ कुश योग्य र पवित्र मानिन्छ । कुश र धार्मिक संस्कारहरुको पारस्परिक सम्बन्ध रहेको छ । कुशलाई हिन्दु धर्मका शुभाशुभ दुवै कर्मका लागि योग्य मानिएको छ । यस दिन गुरु पुरोहितहरु आफुलाई र आफ्ना यजमानहरुलाई आवश्यक पर्ने कुश संग्रह गर्ने दिनका रुपमा लिन्छन् ।
शास्त्रोक्त विधि अनुसार,
‘विरिन्चिना सहोत्पन्ना परमेष्ठीन्निसर्गतः ।
नुद सर्वाणी पापानि दर्भ स्वस्ति करो भव ।।’ हुं फट स्वाहा’
भनेर कुश छेदन गर्ने परम्परा एवं संस्कार रहिआएको छ । ब्रम्हाबाट जगत् शुद्धीकरण हेतुले उत्पत्ति भएको कुशलाई सबैको कल्याण गर्ने बहुउपयोगी वस्तुका रुपमा लिइन्छ ।
आफुलाई वर्षभर आवश्यक पर्ने कुश काट्ने, उखेल्ने वा छेदन गर्ने पवित्र दिनका रुपमा यो दिन रहेको छ । यसरी संग्रह गरिएको कुश गुरु पुरोहितद्वारा यजमानका घर घरमा पुर्याइन्छ भने कुश पुर्याउने गुरु पुरोहितलाई पितृका नाममा उठाइएको सिदा र दक्षिणाद्वारा यजमानहरुले सम्मान गर्ने प्रचलन रहेको छ ।
वैदिक समाजमा आफुलाई जन्म दिने मातापिता, गुरु र अतिथिलाई देवताको रूपमा मान्ने संस्कार थियो । त्यही मान्यता अनुरुप यस दिनलाई बाबुको मुख हेर्ने पुण्य दिनका रुपमा पनि लिइन्छ । त्यसैले यस दिन माता पिताप्रती सम्मान गर्ने परम्परा छ । बुबाहरुलाई श्रद्धा भावसहित सेवा, दर्शन र सम्मान गर्नु यस दिनको मुख्य कार्य मानिन्छ । वैदिक कालदेखि नै यो औंशी गोकर्णे औँसीका नामले चिनिन्छ । आजको दिन काठमाण्डौंस्थित गोकर्णेश्वरमा परलोक गमन भएका पितृहरुको नाममा श्राद्ध, तर्पण तथा सिदा दान गर्नु उत्तम मानिएको छ । यसप्रकारको धार्मिक उक्तिका आधारमा हरेक बुबा औंसीमा यहाँ पितृ कार्य गर्ने भक्तजनहरुको उल्लेख्य उपस्थिति रहन्छ । हिन्दू र बौद्ध धर्मावलम्बीहरू पितृलाई तर्पण दिन र श्राद्ध गर्न गोकर्णमा पुग्छन् । यस तिर्थलाई पितृहरुको उद्धार गर्ने प्रमुख तिर्थका रुपमा मान्ने गरिन्छ ।
कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणहरूद्वारा पूजा एवं मन्त्रोच्चारणसहित छेदन गरेर यजमानहरू कहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । औशीहरुमा सोमबारे औशीलाई शास्त्रले विशेष महत्व दिएको छ ।
कुशे औशीका दिन सोमबार परेको अवस्थामा सुरक्षित गरिएको कुश १२ वर्ष उपयोगमा ल्याउन सकिन्छ भने अन्य बार परेको बेलामा भण्डारण गरिएको कुशले एक वर्षको शुद्धता पाउँछ । बिशेष कारण यस दिन कुश घरमा भित्र्याउन नपाएको खण्डमा शास्त्रले विभिन्न समयलाई शुद्ध मानेको छ । प्रतिपदा तिथिले स्पर्श गरेको औंशीमा कुश उखेलेर भित्र्याएको अवस्थामा त्यस्तो कुशमा एकमास शुद्धता रहन्छ । अभावका कारण जुन दिन चाहियो त्यहि दिन उखेलिएको कुश त्यहि दिन मात्र काम लाग्ने हुन्छ र भाद्र कृष्ण औंशीको दिन काटेको, उखालेको वा छेदन गरेको कुश बर्ष भरी नै काममा लगाउन सकिन्छ । वैज्ञानिक दृष्टिकोणमा कुशले प्राणवायु अर्थात् अक्सिजन फैलाउन सबैभन्दा महत्वपूर्ण कार्य गर्छ । वैज्ञानिक रूपमा हेर्दा कुशले वातावरणमा रहेका विभिन्न नकारात्मक विकिरणहरुलाई नियन्त्रण गर्ने भएकोले कुशलाई पवित्र मान्ने गरिएको छ । वर्तमान अत्याधुनिक समयमा चिकित्सकले एक्स–सरे कक्षबाट उत्पन्न हुने विकिरणलाई नियन्त्रण गर्ने तथ्य सार्वजनिक गरेका छन् ।
सनातन हिन्दू परम्परामा यस औँसीलाई पिताजीको मुख हेर्ने औशीका रुपमा पनि मानिन्छ । जसलाई आधुनिक भाषामा बुवा दिवसको रूपमा मान्न थालिएको छ । बुवालाई विशेष सम्मान गर्ने दिन भएकाले यो पर्व संसारभर छरिएर रहेका हिन्दुहरुले मनाउने पर्व हो । यस दिन साक्षात बाबू हुनेले पिताको मुख हेरी मिष्ठान्न परिकारहरु भोजन गराई दान दक्षिणा, वस्त्र आदिले प्रसन्न बनाएर आशीर्वाद लिने प्रचलन छ ।
आफुलाई जन्म दिने बुबाआमालाई प्रसन्नताका साथ धर्तीमा राख्न सके सन्तानहरुलाई सुख मिल्ने कल्याणकारी नीति हाम्रो धर्ममा रहेको छ । यहि मान्यताले समाजलाई प्रदान गरेका निर्दिष्ट नीतिहरुका आधारमा नै हाम्रो समाजले नैतिक मार्गदर्शन पाएको छ । सन्तानले बुबा आमाद्वारा आफुहरुप्रती प्रकट गरेका सदाशयता र दुख कष्टको ऋण कटानी गर्ने उपयुक्त समय उत्तरार्धकालिन समय हो । जुन उमेरमा उनीहरुले आश्रय एवं समसाथको अपेक्षा राख्दछन् ।
त्यहीँ समयमा आफ्नो दायित्व स्वरुप सेवा र सम्मान गर्नुपर्ने धार्मिक मान्यता छ । परन्तु धर्मकै आडमा पापको हाउगुजीले मात्र सेवा गर्ने नीति नकारात्मक ठहर गर्दै सन्तानले आफ्नो कर्तव्य पुर्ण गर्नुपर्ने मान्यता धर्मले राख्दछ । विषेशतः अघिपछिका सामान्य दिनमा भन्दा यस दिन थप खुशीका भाव पिताको मुहारमा देख्न चाहने प्रचलन छ । बाबु परलोक भइ साक्षात जगतबाट गुमाएका सन्तानहरुले सत् पात्रलाई सिदादान गर्ने प्रचलन छ । जुन पुण्यले आफ्नो कुल पितृहरु खुशी हुने धार्मिक विश्वास छ ।




