नवलपुर/कावासोती खानेपानी संस्थाले ‘एक घरः एक धारा’ नीतिलाई आगामी नीति तथा कार्यक्रममा समावेश गरेको छ । संस्थाको २३ औ साधारण सभाले पारित गरेको नीति तथा कार्यक्रममार्फत् दिइएको जानकारी अनुसार सेवा क्षेत्रभित्र रहेका ३९० घरमा धारा जडान गर्न बाँकी रहेको जनाइएको छ ।
जिल्ला सदरमुकामको सबैभन्दा ठूलो र धेरै उपभोक्तासमेत रहेको कावासोती खानेपानी आयोजनाको लाभान्वित सेवा क्षेत्र वडा नं. २,३,५,६, ८, ९ का साथै वडा नं १ को आंशिक क्षेत्र रहेको छ । आयोजनाको सेवाक्षेत्र भित्र ९ हजार ९२ घरधुरी रहेको पछिल्लो विवरण अनुसार ८ हजार ७ सय २ धारा छन् ।
गत वर्ष निशुल्क रूपमा २० घर विपन्नलाई धारा जडान गरेको र अब जडान हुन बाँकी ३ सय ९० धरमा सहुलियत सहित धारा जडान गरी एक घर एक धाराको नीतिलाई खानेपानी संस्थाले पूर्णता दिने अध्यक्ष दीपकराज लम्सालले स्पष्ट पारे ।
यस्तै, आउँदो अशोज महिनादेखिको खानेपानीको न्यूनतम महसुल प्रति १० हजार लिटर (१ यूनिट) मा २० रुपैया घटाएर एक सय रूपैया प्रति युनिट कायम गरिएको जनाइएको छ ।साधारण सभाले खानेपानी तथा सरसफाई अन्तर्गत स्नातक तहमा इञ्जिनियरिङ अध्ययन गर्ने सेवा क्षेत्र भित्रका २ जना विद्यार्थीलाई ५० हजार रुपैया छात्रवृत्ति प्रदान गर्ने प्रस्तावलाई नीति तथा कार्यक्रममा समेटेको छ ।
यसअधि सामुदायिक विद्यालयहरूले पूर्ण महसुल भुक्तान गर्दै आएकामा अबदेखि ती विद्यालयको महसुलमा ५० प्रतिसत अनुदान संस्थाले अपनत्व लिने भएको छ ।संस्थालाई थप सुदृढ, क्षेत्र विस्तार र एकीकृत रूपमा गुणस्तरीय र पर्याप्त पानी प्रवाहको ब्यवस्था मिलाउँदै लैजानका निम्ति छिमेकी खानेपानी संस्था–आयोजनासँग एकिकरण गर्न सकिने गरी नीति तथा कार्यक्रम पारित गरेको छ ।यो आयोजनामा हाल भूमिगत स्रोत ६० प्रतिशत र ४० प्रतिसत सतह स्रोतवाट पानीको माग आपूर्ति भएको छ । यहाँ अहिले १८३ लिटर प्रतिसेकेण्ड पानी आपूर्ति र प्रवाह रहेको छ ।





