पोखरा /लामाचौरमा जारी राष्ट्रि महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको खेलमा गलकोट भलिबल क्लब बागलुङ अंकविहीन हुँदै बाहिरिएको छ ।
नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा इन्द्र राज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताबाट गलकोट एक खेल अगावै बाहिरिएको हो । लगातार तीन खेलमा हार व्यहोरेको गल्कोट अंकविहीन छ ।
राउन्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगिताको अन्य खेल भने रोमाञ्चक बनेको छ । शनिबार बिहान नेपाल पुलिसले एपिएफलाई ३–२ को सेटमा हराउँदै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । पुलिसले २३–२५, २५–२२, २५–२०, २३–२५ र १५–१३ को जित निकालेको हो । यस्तै मणिमुकुन्दले गल्कोटलाई सोझो सेटमा हराउँदै थप तीन अंक जोड्न सफल भएको छ । मणिमुकुन्दले गल्कोटलाई २५–२३, २९–२७ र २५–२० ले हरायो ।
मणिमुकुन्दले कुल ३ खेलबाट दुई जित र एक हार व्यहोर्दै समान पाँच अंक बटुलेको छ । उता दुई खेल खेलेका गण्डकी र एपिएफको भने समान चार–चार अंक रहेको छ । दुवै टिमले एक जित र एक हार व्यहोरेको छ । मणिमुकुन्दलाई शीर्ष दुइईभित्र पर्न अब जित्नै पर्ने दबाब छ । गण्डकी, पुलिस र एपिएफको भने अबका खेलले निर्धारण गर्नेछन् । गण्डकी र एपिएफको शनिबारको खेल प्रकाशका कारण हुन नसक्दा तालिका रोमाञ्चक बनेको हो ।
आज (आइतबार) गण्डकीले एपिएफको सामना गर्दैछ । यस्तै एपिएफले मणिमुकुन्दको र गण्डकीले पुलिसको सामना पनि आजै गर्नेछ । लामाचौर कपको फाइनलको टुंगो आजै लाग्ने प्रवल सम्भावना रहेको छ ।
महिलातर्फको पहिलो खेलमा चन्दागिरी नगरपालिका न्यु डायमण्डले एभरेष्ट भलिबल क्लबलाई सोझो सेटमा हराउन सफल भयो । डायमण्डले २५–११, २५–१५ र २५–१६ को सहज जित निकालेको हो ।
नेपाल पुलिसले एभरेष्टलाई सोझो सेटमा हरायो । पुलिसले २५–१८, २५–१८ र २५–२० को सहज जित निकालेको हो ।अन्तिम खेलमा न्यु डायमण्डले एपिएफमाथि ३–२ को जित हासिल ग¥यो । डायमण्डले २५–२०, २५–१८, १८–२५, २२–२५ र १५–५ को जित निकालेको हो । योसंगै महिलातर्र्फ डामण्डले दुई खेलबाट पाँच अंक जोड्दै शीर्षस्थानमा छ । एक खेल खेलेको पुलिस तीन अंकका साथ दोस्रो र समान खेलबाट हार व्यहोरेको एपिएफको एक अंक छ । दुई खेलमा दुई हार व्यहोरेको एभरेष्ट अंकविहीन हुँदै तालिकाको पुछारमा छ । महिला तर्फपनि आज तीन खेल हुनेछन् ।





