बागलुङ/ दशै तिहारलगायतका चाडपर्व लक्षित गरेर जिल्ला ट्राफिक प्रहरी कार्यालयले नागरिक सहायता कक्ष संचालनमा ल्याएको छ ।
विशेषगरी यात्रुहरु समस्यामा पर्ने, ठगिने, हिंसामा पर्ने लगायतका समस्याबाट जोगाउन यो कार्यक्रम ल्याइएको हो । शुक्रवार बिहान बागलुङको समीक्षालय चोकमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले यात्रु सहायता कक्षको उद्घाटन गरे । उनले हरेक यात्रीले पैसा तिरेपछि तोकिएकै समयमा गन्तव्यमा पुग्न पाउनुपर्ने बताए । पछिल्लो समय सार्वजनिक यातायातमा यात्री घट्नुमा पनि यात्रीलाई गरिने व्यवहारकै कारण हुन सक्ने बताए ।
कार्यक्रममा प्रहरी उपरिक्षक योगेन्द्रकुमार खड्काले आम नागरिकको सुरक्षामा प्रहरीसँगै यातायात व्यवसायीले पनि साथ दिनुपर्ने बताए । कार्यक्रममा यातायात व्यवसायी, यातायात मजदुर र सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको सहभागिता थियो । ट्राफिकले तत्कालकालागि बागलुङ बजार, मालढुंगा, गलकोट र बुर्तिवाङ लगायतका स्थानमा सहायता कक्ष राख्ने तयारी गरेको हो ।





