बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल

आफूलाई बचाइदिन दुवै मिर्गौला फेल भएका राजेन्द्रको अपिल


  • ढोरपाटन संवाददाता
  • कार्तिक १० २०८०, शुक्रबार

पर्वत / आमा बितेको १४/१५ वर्ष भयो भने हृदयाघातका कारण बाबु बितेको पाँच वर्ष भयो । १६ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत छिरेका बागलुङको बागलुङ नगरपालिका–१३ पैयूँपाटाका ३२ वर्षीय राजेन्द्र परियार आफै पनि जीवन र मरणको दोसाँधमा छन् । १६ वर्षसम्म भारको चेन्नईमा सवारी चालकको काम गर्दै आएका परियार विगत छ महिनादेखि पर्वतको कुश्मा नगरपालिका–४ मा रहेका आफन्तहरूको घरमा सहारा लिएर बसिरहेका छन् ।

चालककै वेतनबाट परिवार पाल्दै आएका राजेन्द्रले चेन्नइमा श्रीमती आसादेवी, दुई छोरी र एक छोरालाई पाल्दै आइरहेका थिए । तर बिस्तारै उनी दुब्लाउँदै गए, एकाएक स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षणको क्रममा दुवै मिर्गौलाले काम गर्न छाडेको पुष्टि भयो । मिर्गौलाले काम गर्न छाडेपछि तीन महिनासम्म स्थानीय पनिमालर हस्पिटलमा उपचार गर्दा उनले अहिलेसम्म कमाएको सबै पैसा सकियो । आफन्त नभएको देश बाहिरको अस्पतालमा थप उपचार गर्न नसक्ने अवस्था आएपछि आफन्त र स्वदेशीको सहयोगमा बाँच्न सकिन्छ की भन्ने आसा बोकेर श्रीमती आसादेवीसँग सल्लाह गरेर उनी नेपाल फर्किने भए ।

दक्षिण भारतको स्थानीय विद्यालयमा अध्ययनरत उनका बाबु नानी सोही ठाउँको स्थानीय भाषामा विद्यालय शिक्षा लिँदै छन् । उनीहरूलाई नेपाल ल्याउँदा यहाँको वातावरणमा ‘एडजस्ट’ हुन सकस अनि सबै परिवारलाई ल्याएर पाल्न उपाय पनि भएन । पैयूँपाटामा रहेको सामान्य घर पनि छाडेकाले बस्न नहुने अवस्था छ, सम्पत्तिको रूपमा जग्गा छैन । यसै त बिरामी मान्छे आफन्तकोमा बस्नुपर्ने बाध्यताकाबीच परिवारका सदस्यलाई पनि आफन्तकोमा राख्दा पर्न जाने बोझले उनको परिवार चेन्नइमा नै बस्ने भयो । जसोतसो ऋण धन गरेर आसादेवीले राजेन्द्रलाई कुश्मामा रहेका आफन्तकोमा ल्याएर छाडिन ।

‘सानैबाट रोजगारीको लागि भारत गएँ। १६ वर्ष भारतमा बिताएँ अहिले बिरामी भएँ । अर्काको देशमा मलाई कसले पो माया मानेर उपचार गरिदिने ? जे नि नेपालकै आफन्त र नेपालीले जसोतसो बचाउँछन् भनेर यहाँ आएर बसेको छु’, राजेन्द्र भन्छन्, ‘अहिले पानी खाँदा पनि समस्या हुन्छ । मुखमा केही हाल्नै हुँदैन यहाँ पनि उपचारमा समस्या भोगिरहेको छु । डायलिसिसको पालो नपाउँदा कहिले कुश्माबाट बागलुङ जान्छु, कहिले बागलुङबाट कुश्मा पठाउँछन् ।’

भारतमा उपचार पाउन नसकेर आफन्तको आश्रयमा बसेका राजेन्द्रलाई अहिले पनि उपचारमा आर्थिक समस्या भएपछि उनका आफन्तले राजेन्द्रलाई बचाइदिन भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् । अहिले पर्वत सदरमुकाम कुश्मामा रहेको पर्वत अस्पतालमा हप्तामा कम्तीमा पनि तीन पटक ‘डायलिसिस’ गर्नुपर्ने बाध्यता छ । औषधि सहितको ‘डायलिसिस’ को लागि एक पटकमा ४५ सय देखि पाँच हजार रुपैयाँसम्म लाग्ने भएपछि राजेन्द्रको उपचारमा समस्या भएको उनकी दिदी दुर्गादेवी परियारले बताइन् ।

‘एक पटक औषधि सहित करिब पाँच हजार रुपैयाँ डायलाइसिसमा खर्च हुने रहेछ । हामीहरू पनि जसोतसो दैनिकी गुजारिरहेको बेलामा भाइको उपचारको लागि सम्भव भएसम्मको ऋण खोजेर अहिलेसम्म बचाएका छौँ । अबका दिनमा उसलाई कसरी बचाउने होला ?’ उनले भनिन, ‘ऋण पत्याउने ठाउँबाट लिइसक्यौँ, हामीसँग भएको पैसा पनि उपचारमा खर्चियो । अलिकति गाह्रो हुँदासाथ डायलिसिसको लागि दौडाइहाल्नुपर्छ । उसको अवस्था हेर्दा हामी पनि रोएर बस्नुको विकल्प भएन ।’

दुई वटै मिर्गौलाले काम नगरेको बेलामा उनको रक्तचाप पनि निकै उच्च हुने भएकाले समस्या भइरहेको भन्दै दुर्गादेवीले अहिलेसम्म करिब पाँच लाख रुपैयाँ खर्च भइसकेको सुनाइन् । आफन्तहरूकै आर्थिक अवस्था पनि कष्टपूर्ण रहेको बेलामा उनीहरूले सकेसम्मको सहयोग गरे पनि अब भने सहयोग आउने बाटो नहुँदा एउटा व्यक्तिको प्राण बचाउन सबैले धेरथोरै सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

आफ्ना बुबाको अवस्थाको बारेमा जानकार जेठी राजेन्द्रकी जेठी छोरी अस्मिताले आफूलाई टुहुरो बन्न नदिन सबैमा सहयोगको अपिल गरेकी छिन् । नेपाल र नेपाल बाहिर रहेका नेपालीहरूको सहयोगमा धेरै बिरामीहरू बाँच्दै आएको बारेमा आफूले थाहा पाएको भन्दै उनले आफ्नो बाबुलाई पनि सबैले बचाइदिनेमा आसावादी रहेको उनको भनाइ छ ।

राजेन्द्र सहित उनको परिवारमा तीन दाजुभाइ छन् । उनीहरू पनि रोजगारीको सिलसिलामा भारतमा नै रहँदै आएका छन् । चेन्नइको पनिमालर हस्पिटलमा उपचार गर्न तथा राजेन्द्रलाई नेपाल ल्याउनको लागि दाजुभाइको सहयोग रहेको भए पनि अब उनीहरू पनि आर्थिक समस्यामा रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->