बागलुङ/बागलुङ जिल्ला क्रिकेट संघको आयोजनामा हुने ‘बागलुङ कप टि–२० क्रिकेट प्रतियोगिता–२०८०’ को ट्रफी सार्वजनिक भएको छ । शनिबार बागलुङ बजारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत् प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको हो ।
जिल्ला क्रिकेट संघले दशैं र तिहार जस्ता पर्वहरुको अवसर पारेर कात्तिक २१ गतेदेखि २५ गतेसम्म प्रतियोगिता आयोजना गरेको छ । खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्काले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा खड्काले देशका तीन तहकै सरकारको ध्यान खेलकुदको क्षेत्रमा कम रहेको बताए । गाउँ, जिल्ला, प्रदेश र देशको परिचय खेलकुदले दिनसक्ने भएपनि खेलकुदको क्षेत्रमा लगानी नहुने गरेको उनको गुनासो थियो ।
‘देश चिनाउनकै लागि भएपनि खेलकुदमा लगानी आवश्यक छ, खेलकुदको माध्यामबाट जस्तो अरु कुनै माध्यमबाट देश चिनाउन सकिँदैन्,’ खड्काले भने ‘खेलाडी पलायन भैरहेका छन्, बिना खर्च खेलेर गुजारा चल्दैन्, तर राज्यको ध्यान गएन् ।’
बाङ्गेचौर खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपाल क्रिकेटसंघबाट मान्यता पाएका गण्डकी प्रदेशका छ जिल्लाका क्रिकेट संघ सहभागी हुनेछन् । बागलुङ, पर्वत, कास्की, स्याङ्जा, नवलपुर र तनहुँ जिल्ला खेलमा सहभागी हुने संघका अध्यक्ष विष्णु आचार्यले जानकारी दिए ।
प्रतियोगितामा विजेताले एक लाख एक हजार र उपबिजेताले ५० हजार ५५५ पाउनेछन् । म्यान अफ दि सिरिजलाई दश हजार, बेष्ट व्याट्समेनलाई पाँच हजार, बेष्ट बलरलाई पाँच हजार र म्यान अफ दि
म्याच हुनेलाई दश हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आचार्यले बताए । प्रतियोगितामा सहभागि पर्वतको समूहलाई दश हजार र अन्य जिल्लाका सहभागि समुहलाई २५ हजार रुपैयाँ खेलभत्ता प्रदान गरिने छ । लिग कम नकआउन बिधिमा खेल सञ्चालन हुने छ ।
‘पुराना खेलाडीको स्तरबृद्धि र नयाँ खेलाडी आकर्षणका लागि प्रतियोगिता आयोजना गरिएको हो,’ आचार्यले भने ‘बागलुङमा पनि क्रिकेटको सम्भावना दर्शाउन प्रतियोगिताले सहयोग गर्ने छ ।’ प्रतियोगिता सञ्चालनका लागि झण्डै १२ लाख खर्च हुने आयोजकले जनाएको छ । बागलुङ नगरपालिकाले एक लाख ५० हजार सहयोग गर्नेछ ।





