बागलुङ / बागलुङ क्रिकेट संघको आयोजनामा बागलुङमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बागलुङ कप’ टी-२० क्रिकेट प्रतियोगिता शुरु भएको छ।
कात्तिक २१ गतेदेखि २५ गतेसम्म बागलुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने गरि प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले गरेका थिए ।
सो अवसरमा बोल्दै खड्काले खेलकुद क्षेत्रको सम्मृद्धि र बिकासका लागि स्थानिय तहहरुले पनि ध्यानदिनुपर्ने बताए । पछिल्लो समय क्रिकेट खेल सवैको आकषर्ण बढ्दै गएकाले खेलको बिकास र खेलाडिको मनोवल उचो राख्ने गरि काम गनुपर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कुमार खड्काले पनि शुभकामना मंतव्य व्यक्त गरे । कार्यक्रम बागलुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यको अध्यक्षता, सदस्य अभिषेक कटुवाल क्षेत्रीको स्वागत र उपाध्यक्ष कमल पन्तको संचालनमा सम्पन्न भएको थियो ।
पर्वत र स्याङ्जा क्रिकेट संघको विजयी सुरुवात
क्रिकेट प्रतियोगितामा पर्वत र स्याङ्जा क्रिकेट संघले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा आयोजक बागलुङलाई पर्वतले १८ रनले हराएको छ ।
जितको लागि ९८ रनको विजयी लक्ष्य पछ्याएको बागलुङ १४ ओभर ३ बलमा ७९ रनमा अलआउट भयो । बागलुङका सन्देश खड्काले २५ बलमा २३ रन र रमेश बस्नेतले ११ बलमा ११ रन बनाएर आउट भए । बागलुङका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
खेलको म्यान अफदी म्याच घोषित भएका पर्वतका सुरेश भट्टराईले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । अमृत गुरुङ र विनोद नेपालीले २–२ विकेट लिए ।
त्यसअघि बाङ्गेचौर खेल मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको पर्वतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । पर्वतको जितको लागि सरोज केसीले ९ बलमा १७ रन, विकास क्षेत्रीले १७ बलमा १५ रन र ऋतिक थापाले २२ बलमा १४ रन बनाए ।
बागलुङका सन्देश खड्काले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । सन्चार निउँरे र विमल विक्रम खत्रीले २-२ विकेट लिए । यस्तै मंगलबार नै भएको दोस्रो खेलमा स्याङ्जाले तनहुँलाई ७७ रनले पराजित गरेको छ । जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको तनहुँ १२ ओभर २ बलमा ३९ रनमा अलआउट भयो । तनहुँको लागि इसान श्रेष्ठले १२ रन बनाउनु बाहेक अन्य व्याटरको सम्झना लायक प्रदर्शन रहेन ।
स्याङ्जाका तुलसीराम भण्डारीले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए । उनी खेलको म्यान अफदि म्याच घोषित भए । स्याङ्जाका अंकित न्यौपाने र सन्दिप खत्री क्षेत्रीले २–२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला व्याटिङ रोजेको स्याङ्जा १७ ओभर ३ बलमा १ सय १६ रनमा अलआउट भएको थियो । स्याङ्जाको लागि सन्दिप खत्री क्षेत्रीले १३ बलमा १८ रन, करण पंगेनीले १२ बलमा १७ रन र मिलन क्षेत्रीले १६ रन बनाए ।
तनहुँका सिके पौडेलले ३ ओभर ३ बलमा २७ रन खर्चेर ३ विकेट लिए । दिनेश बुढा मगर र सन्दिप पराजुलीले २-२ विकेट लिए ।
प्रतियोगितामा कास्की, तनहुँ, स्याङजा, पर्वत, बागलुङ र नवलपुर गरी ६ जिल्लाले उपाधिको लागि प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष आचार्यले जानकारी दिए । लिगकम नकआउटका आधारमा खेलाइने खेलमा समुह ‘ए’ मा बागलुङ, पर्वत र कास्की रहेका छन्भने समुह ‘बि’मा तनहुँ, स्याङ्जा र नवलपुर समुह ‘बि’मा रहेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ, उपविजेताले ५० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । यस्तै विधागत तर्फ म्यान अफ दि सिरिजले १० हजार रुपैयाँ, वेष्ट व्याट्सम्यान र वेष्ट बलरले ५-५ हजार रुपैयाँ र प्रत्येक खेलको म्यान अफ दि म्याच विजेताले १ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए ।
नेपाल क्रिकेट संघ (क्यान)को सदस्यता प्राप्त गरेपछि बागलुङ क्रिकेट संघले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो । म्याटमा खेलाइने सम्पूर्ण खेल आइसिसिको नियमानुसार नै खेलाइने आचार्यको भनाई छ ।





