बागलुङ/ बागलुङ नगरपालिका-१ रामरेखाका भुवन बोहराको बगैचामा थरीथरीका फुल फुलेका छन् । तिहार पर्खेर बसेका फुल भुवनले व्यवसायीक रुपमा उत्पादन गरेका हुन् ।
बजार र धार्मिक तिर्थस्थलहरु नजिकै रहेकाले तिहारका लागि मात्रै नभएर अन्य समयमा समेत बिक्री हुने अपेक्षाका साथ बोहराले फुलको व्यवसायीक उत्पादन थालेका हुन् । तर बागलुङमा व्यवसायीक रुपमा फुलको उत्पादन गर्नेहरु भने निकै कम छन् ।
तिहार नजिकिँदै गर्दा बोहराले उत्पादन गरेका फुलले बजार नपाउलाकी भन्ने चिन्ता छैन् । किनभने बागलुङ बजारमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिईने छ । बागलुङ नगरपालिकाले स्थानीय उत्पादनको खपतलाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरेकाले फुलको बिक्रीमा समस्या नआउने भएको हो ।
तिहारका लागि स्थानीय रुपमा उत्पादन हुने फुल पर्याप्त हुन्छ । जिल्लाका हरेक ठाउँमा घर घरमा थरीथरीका फुल फुल्छन् । तर पछिल्लो समय गाउँघरमा प्राकृतिक रुपमा फुल्ने फुलहरु प्रयोग भने कम हुन थालेको छ ।
बजारमा बिदेशी बजारबाट आउने फुल र प्लाष्टिकका फुलहरुले गाउँघरका फुलहरुको महत्व बिर्साएका थिए । प्लाष्टिक र आयातित फुलकै कारण पुष्प व्यवसायमा कसैले हात हाल्नै हिच्किचाउने गरेका छन् ।
यहाँका गाउँको तुलनामा सदरमुकाम बागलुङ बजार आसापासमा प्लाष्टिकका फुलको बढी खपत हुने गरेको थियो । तर यो बर्ष भने बागलुङ नगरपालिकाले प्लाष्टिकका फुल निशेध गरेको छ । प्लास्टिकका फूलमाला बिक्री वितरणमा रोक लगाएको बागलुङ नगरपालिकामा स्थानीय व्यवसायीले उत्पादन गरेका फुल र घर घरमा फुलेका फुलको उपयोग हुने नगर उपप्रमुख राजु खड्काले बताए । नगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको बैठकले बागलुङ नगरभित्र प्लाष्टिकजन्य फुलहरुको कारोवारमै रोक लगाउने निर्णय गरेको थियो ।
‘जिल्ला प्रशासन, उपभोक्ता मञ्चलगायत सरोकारवालासँग मिलेर निर्णय कार्यान्वयनका लागि अनुगमन समेत सुरु गरेका छौं’ खड्काले भने ‘हामीले आयात रोक्ने र प्राकृतिक बस्तुको उपयोग बढाउन यो निर्णयमा पुग्यौं ।’ प्लाष्टिकका फुलको खरिदमा बाहिरीने गरेको ठुलो रकम रोकिने खड्काले बताए ।
प्लास्टिकजन्य फूूलमालाका कारण वातावरणमा पार्ने असर रोक्नुका साथै स्थानीय फूूल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्यका साथ बिक्री वितरणमा रोक लगाइएको उनको भनाई थियो । बजारमा प्लाष्टिकका फुलको कारोवार भएको भेटिए कारवाही समेत गरिने नगरपालिकाले जनाएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग समितिले निर्णय गरेको थियो ।





