एक ८० वर्षीय वृद्ध निकै स्वस्थ र फुर्तिला देखिन्थे । मानिसहरू उनको स्वस्थ जीवनको रहस्य जान्न प्रश्न सोधिरहन्थे । तर, उनी भने मुसुक्क हाँसेरै टारिदिन्थे । उनको स्वास्थ्यस्थितिको चर्चा राजाले पनि सुने । उनले आफ्ना गुप्तचरलाई वृद्धका गतिविधिमाथि निगरानी गर्न लगाए ।
एक बिहान गुप्तचरहरूले वृद्ध घरबाट निस्किएर कतै जाँदै गरेको देखे । उनीहरू पनि पछि लागे । वृद्ध छिटोछिटो हिँडिरहे । कैयौँ माइलको यात्रापछि वृद्ध एक पहाड चढ्न थाले । गुप्तचरहरू त्यहीँ बसेर उनको प्रतीक्षा गर्न थाले । केही बेरमा वृद्ध फर्किए । वृद्ध गोलो आकारका ससाना रातो रङका फल खाँदै थिए । गुप्तचरले राजालाई यही सूचना दिए ।
राजाले भने– ‘हामीलाई पनि पहाडमा लगेर त्यो रहस्यमयी फल देखाउनुहोस् न त ।’ वृद्धले सहमति जनाए । सबै उनको पछि लागे । पहाडको टुप्पामा पुगेपछि उनले एक फललाई देखाउँदै भने– ‘महाराज, म नित्य यही फल सेवन गर्छु ।’ उनले रुखबाट टिपेर राजालाई पनि एक मुठी फल दिए । यथार्थमा त्यो कुनै रहस्यमयी फल थिएन, मामुली बयर थियो ।
राजाले क्रोधित हुँदै भने– ‘तपाईं हामीलाई मूर्ख सम्झिँदै हुनुहुन्छ ? यस्तो मामुली बयर पनि रहस्यमयी फल हुन्छ ? दुनियाँले यसलाई सेवन गर्दै आएका छन्, तर ती तपाईंजस्ता स्वस्थ छैनन् त ?’ वृद्धले विनम्रतापूर्व भने– ‘महाराज, मानिसले हरेक दिन बयर खान्छन्, तर म बयर खान हरेक दिन १० माइल पैदलयात्रा गर्छु । यहाँको स्वच्छ हावापानीले मेरो स्वास्थ्य बिग्रिन दिँदैन र म स्वस्थ रहन्छु ।’ वृद्धको कुरा सुनिसकेपछि राजाले उनलाई सम्मानित गरे र देशका जनतालाई शारीरिक श्रम गरी स्वस्थ रहन सल्लाह दिए ।





