सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओली कप : उत्कृष्ट प्रदर्शनीमा प्रदेशका टिम

केपी ओली कप : उत्कृष्ट प्रदर्शनीमा प्रदेशका टिम


  • ढोरपाटन संवाददाता
  • मंसिर १४ २०८०, बिहिबार

पोखरा/ पोखरामा लामो समयपछि क्रिकेट प्रतियोगिताको आयोजना भइरहेको छ । पोखरामा मात्र नभई नेपालमै यसरी प्रतियोगिता कमै राष्ट्रिय स्तरका क्रिकेट प्रतियोगिता भएको छ । अझ त्यसमा पनि सिनियर खेलाडी सम्मिलित टिमसहितको प्रतियोगिता त पोखरामा नभएको बर्षौ बितिसक्यो । पोखरामा पछिल्लो समय भएको प्रतियोगिता भनेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हो ।

नवौंको महिला क्रिकेट भएको थियो । पोखरा क्रिकेट मैदानमा स्थानीय तथा प्रदेशस्तरीय प्रतियोगिता हुने गरेपनि टि२० को ठूलो प्रतियोगिता भनेको पोखरा प्रिमियर लिग थियो । ०७५ र ०७६ मा गरी दुई संस्करण भयो त्यसपछि हरायो ।

भदन भण्डारी स्पोट्र्स एकेडेमीले पोखरामा टि२० क्रिकेट आयोजना गर्दै गर्दा १२ टिमलाई चार समुहमा विभाजन गरी सार्वजानिक गरेको थियो । टाइसिट पश्चात प्रत्येक टिमले नाम सार्वजानिक गर्दा त्रिभुवन आर्मी क्लब, पुलिस क्लब र एपिएफ क्लबमा राष्ट्रिय सिनियर टिमका खेलाडीले भरिएका थिए । यी ती विभागीय क्लबमा आधादर्जन बढी सिनियर र अनुभवी खेलाडी छन् ।

प्रदेशतर्फ बागमती बाहेक अन्य प्रदेशमा कुनै पनि राष्ट्रिय सिनियर खेलाडी छैनन् । बागमतीमा भने सन्दिप लामिछाने, प्रतिस जिसी, रित गौतम, इशान पाण्डेलगायतका खेलाडी समावेश छन् ।

तर, सिनियर खेलाडीले भरिएको विभागीय टोलीहरुलाई समुह चरणमा प्रदेशको टिमले राम्रै प्रतिस्पर्धा दिए । समुह ‘बि’ मा रहेको गण्डकीले एपिएफलाई ४ विकेटले हराएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ १८.४ ओभरमा एक सय १ रनमा अलआउट हुन पुगेको थियो । एक सय २ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको गण्डकीले १९.४ ओभरमा एक सय चार रन बनाउँदै जित हासिल गरेको थियो ।

एपिएफमा प्रदिप ऐरी, आसिफ शेख, सन्दिप जोरा, लोकेश बम, अभिनाष बोहोरा लगायतका खेलाडी थिए । भने, गण्डकीको स्थानीय टिम थियो । गण्डकीले एपिएफलाई हराएपनि लुम्बिनीसँग ५ रनको हार व्यहोर्दा एपिएफलाई फाइदा भयो । एपिएफले लुम्बिनीलाई ८४ रनले हराएको थियो ।

प्रतियोगिताको समुह ‘सी’ को खेलमा सुदुरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई ४ विकेटले हरायो । जितका लागि एक सय ५८ रनको विशाल विजयी लक्ष्य पछ्याएको सुदुरले १८.४ ओभरमा ६ विकेट गुमाउँदै एक सय ६२ रन बनाएको थियो । उक्त खेलमा पुलिसले टस जितेर पहिला ब्याटिङ थालेको थियो । २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ५८ रनको योगफल तयार गरेको थियो ।

पुलिसमा नेपालका चर्चिक खेलाडीहरु आरिफ शेख, कुशल भुर्तेल, करण केसी, सुनिल धमला, रसिद खान, सागर ढकाल ललित राजवंशी लगायतका खेलाडी थिए । उता सुदुरको टिममा स्थानीय खेलाडीहरु थिए । सुदुरसँग हारेसँगै पुलिस क्लब समूह चरणबाटै बाहिरियो भने सोही समूहमा रहेको मधेश प्रदेश रनरेटको आधारमा सेमिफाइनलमा प्रवेश ग¥यो ।
यस्तै कोशी प्रदेशले समेत त्रिभुवन आर्मी क्लबलाई निकै चुनौती दिएको थियो ।

कोशी प्रदेश आर्मीसँग ३९ रनले पराजित भएपनि खेल भने सम्झन लाएक थियो । टस जितेर ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ८६ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कोशीले १८.२ ओभरमा एक सय ४७ रन बनाउन सफल भएको थियो । हारका बाबजुत कोशीको खेल निकै सानदार थियो । आर्मीको टिममा राष्ट्रिय टिमका कप्तान रोहित पौडेल, सोमपाल कार्मी, विनोद भण्डारी, भीम सार्की, कुशल मल्ल, वसिर अहमद, सहाव आलम, जितेन्द्र मुखियालगायतका खेलाडी थिए भने स्थानीय खेलाडीहरु थिए ।

प्रतियोगितामा प्रदेशको टिम देखेर पुर्व राष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक शक्ति गौचनले नेपाली टिमका लागि ब्याकअप टिमको भविष्य देखेको बताए । उनले प्रदेशका टिममा सबै युवा खेलाडी रहेको र सिनियर खेलाडीसँग खेल्दा समेत उच्च प्रदर्शनी देखाउँदा खुसी लागेको सुनाए ।

‘यसमा सिनियर खेलाडीहरु (राष्ट्रिय टिमका खेलाडी) कुनैपनि विभागीय टिममा समावेश भएका छन् भने, प्रदेशका टिमहरुमा युवा खेलाडीहरु छन् । यो एउटा अवसर पनि हो । नयाँ खेलाडीमा पनि एउटा किसिमको जोश र जागर छ । सिनियर खेलाडीसँग भिड्ने भनेको सामान्य कुरा होइन्’ उनले भने, ‘५÷६ वर्ष भइसक्यो मैले यसरी रेगुलर नहेरेको । अहिले आएर हेर्दा ब्याटिङको स्ट्यान्डर्ड बढेको छ । यो नेपाली क्रिकेटको लागि राम्रो सन्देश हो की विभागीय बाहेक अन्य प्रदेशले पनि राम्रो प्रदर्शन गरिरहेको छ र आउँदो दिनहरुमा पनि नेपाली क्रिकेट टिमको ब्याकअप हुने आशा देखिएको छ ।’

उनले पिएम कप (प्रधानमन्त्री टि२० र फ्रेन्चाइज बाहेक अन्य प्रतियोगिता नभएको समेत बताए । यसरी नै प्रतियोगिताहरु भइराखेमा नेपालको टिम अझ बलियो हुने उनको भनाई छ ।
यस्तै गण्डकी प्रदेशका प्रशिक्षक रिजन प्रजुले पहिलाको भन्दा अहिले प्रदेशको टिम निकै राम्रो भएको बताए । ‘पिचको अवस्थाले पनि धेरै कुरा हुन्छ । विभागीय टिममा सबै नेशनल खेलाडीहरु छन् । उनीहरु राम्रो पिचमा खेलिरहेका हुन्छन् ।

प्रदेशहरुमा विकेट अलि लो बसेको हुनाले उनीहरुलाई गाह्रो हुन्छ’ उनले भने, ‘तर प्रदेशका खेलाडीहरु यही पिचमा खेलिरहेका हुनाले आफ्नो होम कन्डीसन सजिलो पनि हुन्छ र पर्फम गर्न पनि सजिलो हुन्छ । प्रदेशको टिम पहिलाको दाजोँमा अहिले निकै राम्रो भएको छ । पोखरामा जारी प्रतियोगितामा आज फाइनल प्रवेशका लागि बागमती प्रदेशले आर्मी र मधेश प्रदेशले एपिएफको सामना गर्दैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->