पोखरा / पाँचौ युनिप्स खेल महोत्सव बिहीबार औपचारिक उद्घाटन गरिएको छ । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा दुई दिनअघिबाट सुरु भएको उक्त खेल महोत्सवको गण्डकी प्रदेश सभाका सदस्य प्रकाश बरालले उद्घाटन गरेका हुन् ।
सो अवसरमा बोल्दै सांसद बरालले शिक्षाको गुणस्तर वृद्धिसँगै विदेशमा हुने पलायन रोक्न सबै सरोकारवालाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।
युनिप्स कास्कीका अध्यक्ष शान्तबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, एनप्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, युनिप्स कास्कीका संस्थापक अध्यक्ष ध्रुव गिरी, युनिप्सका द्वितीय उपाध्यक्ष एवं खेलकुद उपसमिति संयोजक विनोद कुमार नेपालीले आ–आफ्ना भनाई राख्दै निजी क्षेत्रले शिक्षामा गरेको योगदानलाई सबैले सकारात्मक रुपमा बुझ्नु पर्ने कुरामा जोड दिएका थिए ।
उद्घाटन कार्यक्रममा युनिप्स कास्कीका आवद्ध विभिन्न विद्यालयका छात्र–छात्राहरुले मार्चपास गरेका थिए । उक्त मार्चपासमा स्माइल स्मल हेभेन प्रथम भएको छ भने वेलनन एकेडेमी दोश्रो, जन कल्याणकारी वोर्डिङ स्कुल तेश्रो र कालिका इङलिश वोर्डिङ स्कुलले चौथो स्थान हासिल गरेको छ ।
त्यस्तै बिहीबारबाट सुरु भएको एथलेटिक्सतर्फको ट्रयाक एण्ड फिल्ड छात्र ४०० मिटर दौडमा कालिकाका आकाश त्रिपाठी, गेफका दिपेश सिंह ठकुरी, होली एन्जलका रोशन वर्देवा र शिलसिलाका सुजन दाहाल क्रमश, पहिलो, दोश्रो, तेश्रो र चौथो भए । त्यस्तै छात्रातर्फ ४०० मिटर दौडमा एकता आवाशियकी बबिता पौडेल प्रथम, कालिकाकी प्रतिक्षा त्रिपाठी द्वितिय, वेलननकी मिनाक्षी कुंवर तृतीय र शलिसिलाकी स्मृती ढकाल चौथो भएकी छन् ।
पाँचौ युनिप्स खेलकुद महोत्सव अन्तर्गत आधारभूत तह (कक्षा १–५) छात्र÷छात्रा कवड्डी अन्तर्गतका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । कवड्डीमा कुल २४ टिमको सहभागिता रहेकोमा छात्रतर्फ पञ्चासे वोर्डिङ स्कुलले पिनाकल एकेडेमीलाई ४६–३५ अंकले पराजित गर्दै प्रथम भएको छ भने एकता आवासीय तेश्रो र स्माइल स्मल हेभेन चौथो भएको छ । त्यस्तै छात्रातर्फ वेलननलाई पिनाकललाई ४६–३५ को अंकमा पराजित गरि प्रथम हुँदा राइजिङ सन तेश्रो र स्माइल स्मल हेभेनले चौथो स्थानमा चित्त बुझाएको छ ।
फुटबल मावितहतर्फ वेलनन र एकता आवासीय मावि फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल समापनका अवसरमा १६ गते हुने युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए ।प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका छन् ।





