पोखरा/ १८ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनअन्तर्गत शनिबार भएको ह्विलचियर र दृष्टिविहीन दौडमा सुरेश गौलीले दुर्लभ कीर्तिमानी कायम गरेका छन् । उक्त प्रतियोगिताअन्तर्गत ह्विलचियर दौडको पुरुषतर्फ आठौंपटक च्याम्प्यिन बन्दै उने सो कीर्तिमानी बनाएका हुन् । १८ सय मिटर दूरी ७ मिनेट ४१.३ सेकेण्डमा पार गर्दा उनको नाममा सो रेकर्ड बनेको हो । दोश्रो भएका भरत अधिकारीले ७ मिनेट ५७.३ सेकेण्डमा दौड पुरा गर्दा तेश्रो स्थान प्राप्त गरेका परियारले ८ मिनेट २४.५ सेकेण्डमा पार गरे ।
लमजुङका २८ वर्षीय गौली १० वर्षको उमेरमा काफलको रुखबाट लड्दा मेरुदण्ड पक्षघातको सिकार भएका थिए । उनको कम्मरभन्दा तलको भाग चल्दैन । ह्विलचियरको माध्ययमबाट हिँड्डुल गर्ने उनी पोखराको हरियोखर्क अस्पतालमा कार्यरत छन् । साहसिक गतिविधिसँगै खेलकुदमा निकै चाख राख्ने सुरेशले प्याराग्लाइडिङ, बन्जी, जिपफ्लाइङ जस्ता साहसिक गतिविधि समेत गरिसकेका छन् ।
शनिबार प्रतियोगिता भयो । विजेतालाई पुरस्कार प्रदान गरियो र कार्यक्रम सकियो । तर, यो प्रतियोगितामा सुरेशको नाममा दुर्लभ कीर्तिमानी बारेमा कसैलाई चासो भएन । सफल पोखरा म्याराथनमा यो दुर्लभ कीर्तिमानी हो । न त आयोजकले नै त्यसको ख्याल गर्न भ्याए न त त्यहाँ रहेका अन्य व्यक्तिले नै । लगातार च्याम्पियन बन्दा खुसी सुरेश कीर्तिमानी बारेमा खासै कसैको चासो नदेख्दा भने केही निराश सुनिए । ‘यही म्याराथनको खुल्ला म्याराथन र महिला हाफ म्याराथनमा यस्तो भएको भए आज चारैतिर चर्चा हुने थियो । तर, हाम्रो रेसको चर्चा हुन सकेन,’ उनी भन्छन्, ‘आखिर हाम्रो पनि त इभेन्ट नै हो । यो इभेन्टलाई खुम्च्याएर मात्र राखियो । यसलाई अझ व्यापक बनाइदिएको भए राम्रो हुने थियो ।’
अघिल्ला संस्करणहरुभन्दा यसपटक आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले केही फरक ग¥यो । ह्विलचियर र दृष्टिविहीन दौडलाई प्राथमिकता दिँदै आएको मञ्चले सुरुमै यो प्रतियोगिताको तिथि तय ग¥यो
म्याराथनअन्तर्गत ह्विलचियर दौडमा सुरेशको सहभागिता लामो छ । सुरेशका अनुसार म्याराथनको ह्विलचियरमा एक दशकभन्दा बढी संस्करणमा दौडिइसके । ‘मैले धेरैपटक सहभागिता जनाइसकेको छु । बीचमा त म्याराथन नै भएन,’ उनले भने, ‘त्यसपछि भने म लगातार च्याम्पियन बनेको छु ।’ सुरेशले ह्विलचियर दौडमा सन् २०१७ देखि २०२४ सम्म लगातार स्वर्ण जितिरहेका छन् । कतिपटक जिते भनेर त उनले अघिल्ला संस्करणहरुमा जितेको प्रमाणपत्र नै हेर्नुपर्छ ।
कीर्तिमानी बनाउँदै गर्दा निकै खुसी भएको उनले बताए । अपाङ्गता भएका व्यक्तिहरुका लागि खेलकुद हुनुपर्नेमा उनको कुनै दुईमत छैन् । सुरेश बास्केटबलका राष्ट्रिय खेलाडीसमेत हुन् । उनले ह्विलचियर बास्केटबलमा देशकै प्रतिनिधित्व गरिसकेका छन् । ‘त्यो बेला जित्दा धेरै खुसी थिएँ । सानै थिएँ ।नेपाल प्राकृतिक हिसाबले स्वर्ग हो, तर त्यो हामी ह्विलचियरमा हिड्नेका लागि अभिषाप जस्तै छ,’ उनी थप्छन्, ‘यहाँको भूगोल अनुसार हामी जहाँ पनि पुग्न सक्दैनौँ र त्यो अनुसारको सडक पनि छैन । यसरी खेलकुद हुँदा हामीलाई प्रतिस्पर्धात्मक भावनाको विकास पनि हुन्छ ।’
गण्डकीमा एकादुई संस्थाले कहिले काँही आयोजना गरे पनि त्यो निरन्तर नहुने गरेको उनको गुनासो छ । विदेशमा हुने प्रतियोगिताका लागि ह्विलचियर नै फरक हुने उनको भनाइ छ । खेलकुदले अपाङ्गता भएकाहरुलाई शारीरिक, मानसिक रुपमा बलियो बनाउने उनी सुनाउँछन ।
यस्तै महिलातर्फ पहिलोपटक च्याम्पियन बनेकी ऐश्वर्यकुमारी कुमालले पनि यस्ता प्रतियोगिता भइरहेमा पीडा भुलाउने बाटो हुने सुनाइ । चार वर्षअघि दशैंको समयमा माटो खन्ने क्रममा उनको आधा शरीर पुरिएको थियो । अहिले त्यस्तो समस्या छैन अलिकति खुट्टा चल्दैन त्यही हो ।
‘हामी पाँच छ जना गएका थियौं । दुई जनालाई लागेको । दुई जनालाइ मात्र लागेको थियो, मेरो साथीको टाउकोमा थोरै लाग्यो मलाई पु¥यो । पहिला सानो थिएँ, यस्तो हुँदा वास्ता भएन तर अहिले ठूलो हुँदै जाँदा नराम्रो लाग्दै गयो,’ उनले सुनाइन्, ‘पछिपछि मजस्तै अन्य साथीहरुसँग बस्दा केही जस्तो लाग्दैन् । खेल हुँदा केहि सोचिन् । रेसको मात्र ध्यान आयो । क्रस लाइन कति बेला पार गर्ने भन्ने मात्रै आयो दिमागमा,’ उनले भनिन् । पोखरामा पहिलोपटक विजेता बनेकी उनले काठमाडौंमा विआइएकी, आईनएन, बागमती युवा क्लब लगायतको आयोजनामा भएको ह्विलचियर दौडहरुमा समेत पदक जितिसकेकी छिन् । ‘हामीलाई गेम खेल्दा शारीरिक र मानसिक रुपमा सहयोग पुग्छ । बितेको पललाई समेत बिर्सिन्छौं ।’
उनीहरुको आयोजकप्रति एउटा सुझाव भने रहेको छ । त्यो हो– प्रतियोगितालाई समेत सडक दौड गर्ने र पुरस्कार राशीमा समेत वृद्धि गर्ने । लामो समयदेखि पुरस्कार राशी एकैनाशको रहेको उनीहरु सुनाउँछन् ।
उनीहरु विश्वमा हुने ठूलो खेलकुद प्रतियोगितामा पारा खेलकुद समावेश हुने तर नेपालमा भने त्यसो नहुँदा दुःख लाग्ने गरेको सुनाउँछन् । राज्यले नै अपाङ्गता भएका व्यक्तिलाई खेलकुदतर्फ आकर्षित गराउन नसकेको उनीहरुको भनाइ छ ।





