बागलुङ/ठेक्का पाएको दुइ बर्ष भयो । तर काम गर्नुको साटो भएको सडक पनि भत्काइएको छ । कालोपत्रे भत्काएर सडक छेवैमा थुप्रो बनाएपछि मध्यपहाडी लोकमार्गको बागलुङस्थित बडिगाड गाउँपालिकाको खण्ड झन् जोखिम बनेको छ ।
सडक मर्मतको ठेक्का लिएको ढोरपाटन निर्माण कम्पनीले काम अलपत्र छाडेको हो । ठेकेदार दिपक अदैले यहाँ काम अलपत्र छाड्दा दुर्घटनाको जोखिम बढेको छ भने लामो दुरीका सवारी साधनले दोहोरो गुड्न पनि पाएका छैनन् । ‘काम राम्रो होलाभन्दा झन् बिग्रियो’ गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले भने, ‘यो अबस्था आउने हो भने कामै नथालेको भए हुन्थ्यो ।’ गाउँपालिकाको काम बिशेषले हिंड्ने उपभोक्ता, बिद्यार्थी र राजमार्गका यात्रीले समेत दुःख पाएको उनले बताए ।
लोकमार्ग संचालनमा आएपछि रुकुम पूर्व र पश्चिम, जाजरकोट र रोल्पा देखिका मानिस र सवारी बागलुङको बाटो हिंड्छन् । दुरी छोटो भएकोले यो बाटो प्रयोगमा आएको हो । तर बागलुङको बडिगाड खण्डमा ठूला र रात्री बसले साइड समेत नपाएको स्थानीय र चालकहरुले पनि गुनासो गर्छन् ।
ठेकेदारको लापरबाहीले बडिगाड गाउँपालिकाभित्र पर्ने २९ किमी सडकमा थप जोखिम भएको हो । भएको कालोपत्रे समेत कोतरेर फालेपछि अरु काम नहुँदा सडक झन् जोखिम भएको हो । ‘भएको कालोपत्रे समेत कोतरेर छेवैमा थुप्रो बनाइएपछि सडक एकतर्फी बनेको छ’ उनले भने, ‘दोहोरो गाडी त हिंड्न पाएनन्, दैनिक हिंड्ने बिद्यार्थीले पनि जोखिम मोलेका छन् ।’ सडक कोतरेर छाडेको स्थानमा गतबर्ष ट्रकलाई साइट दिन खोज्दा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको थियो । कैयौं दुर्घटना भैरहेको उनले बताए ।
५ बर्ष अघि खसेको तुरतुरे पहिलो अझै जस्ताको त्यस्तै छ । सामान्य ट्रयाक मात्रै खुलाएर सडक गुडेका छन् । पहिरोले थुनिएर बडिगाड खोलामा बनेको ताल भत्केपछि यहाँ कुनै मर्मत भएको छैन । बेलाबेला अझै ढुंगा खसेर जोखिम भैरहेपनि आयोजनाले यो खण्डको कुनै स्टिमेट समेत नगरेको हो । ‘यो पहिरोको भौगार्भिक अध्ययन गर्नुपर्ने भएकोले हाम्रो स्टिमेटमा केही पनि बनाइएको छैन’ इन्जिनियर उज्वल शर्माले भने, ‘बिभागबाटै सम्बोधन भएपछि मात्रै केही काम हुनेछ ।’ यो पहिरो १ सय मीटर चौडा र ५ सयमीटर माथीदेखि खसेको छ । दुइ सातासम्म यातायात अबरुद्ध हुँदा ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाले लगानी गरेर सडकको ट्रयाक खोलेका थिए ।
गौरवको आयोजना भनेपनि बागलुङ खण्डको कुनै पनि स्थानमा दोहोरो बस वा ट्रक सहजै आउजाउ गर्ने सडक बनेको छैन । कालोपत्रे भएकै स्थानमा पनि नाली नहुँदा सडकमै बाढी पस्ने गरेको छ । दुइबर्ष अघि गलकोट नगरपालिका–१ को काफल ठूटा र चौराहामा बाढी पसेर सडक भाँसियो । महिनौंसम्म सवारीले जोखिम मोलेर गुडेपछि नगरपालिकाले ५ लाख खर्चेर निर्माणाधिन लोकमार्गमा खाल्डा पुर्ने र छेउको ग्याबिन बुन्ने काम ग¥यो । ‘लोकमार्गले ठेक्का लगाएर अलपत्र छ, गुनासो हामीलाई आइरहेको छ’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘सडक मर्मत गर्दा दोहोरोपनको समस्या आयो ।’ आयोजनाको कार्यक्षेत्रमा लगानी गर्दा केही रकम बेरुजु देखिएको समेत उनले बताए ।
लोकमार्ग आयोजना कार्यालयका प्रमुख कल्पना अधिकारीले ठेकेदारहरुले समयमा काम नगर्दा आयोजनालाई दोष आएको बताइन् । उनले लामो समय काम नगरेका ठेकेदारको ठेक्का तोड्ने चेतावनी दिइन् ।
समन्वय गरेर काम गर्छु भन्नुपर्नेमा ठेक्का तोड्नु मात्रै समस्याको समाधान नभएको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बताए । ‘सडकका सबै खण्डमा समस्या छ । तर बडिगाड खण्डमा ठेकेदारले नै समस्या थपेको देखियो’ थापाले भने, ‘काम लागाउने संस्था निष्कृय र बिबादरहित बन्न खोज्दा काम नभएको हो ।’ ठेकेदारका गैरकानूनी कामलाई आयोजनाले आँखा चिम्लेको देखिएको उनले बताए ।
बडिगाडकै नुवार खोलामा भाँसिएको सडक उकास्न नुवारखोलाकै छेउको जमिन भत्काइएको छ । ढुंगाका लागि खोला किनारकै जमिन भत्काउँदा सडक र पुल नै जोखिममा परेको छ । उपाध्यक्ष वनले पटक पटक ठेकेदार कम्पनीका प्रतिनिधिलाई कुरा गर्दा अटेर गरेको बताए ।
राष्ट्रिय गौरवको आयोजना भएपनि मापदण्डबारे स्पष्ट उल्लेख नभएको भन्दै आयोजना कार्यालयले यस्ता बिषयमा कुनैपनि कारवाही प्रकृया नथालेको हो । तर प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आयोजनाको मापदण्ड स्पष्ट नभएपनि सडक ऐन र सडक मापदण्ड आकर्षित हुने बताए । ‘कसैले सडक अतिक्रमण गर्न खोजेको छ भने सडक ऐन आकर्षित हुन्छ, कारवाही गर्न सकिन्छ’ रिजालले भने, ‘आयोजनाले त्यसको अनुगमन गरेर कारवाही गर्न सक्छ ।’





