बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

आत्मसन्तुष्टिको पेशाले बद्लिएका ‘मुकुन्द ढकाल’

आत्मसन्तुष्टिको पेशाले बद्लिएका ‘मुकुन्द ढकाल’

परन्तु निश्चित वस्तुको आत्मसात् गरे अवश्य सफल बन्न सकिन्छ भन्ने बुझेका मुकुन्दले छोटो समयमै त्यहाँका व्यअपारीसंग सामिप्यता बढाए र बजारका मानिसहरूलाई ग्राहकको सुचिमा सुचिकृत गर्न सफल भए ।


  • माधव चापागाई
  • बैशाख २५ २०८१, मंगलबार

बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको बलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्ष पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनी विगतका वर्षझै बर्खायामका लागि आवश्यक स्रोत साधनको तयारीमा जुटेका छन् । मलेसियाको पन्ध्र वर्षे बसाइबाट सन्तुष्ट बन्न नसकेपछि उनले गाउँबाटै दुधको कारोबार गर्न थालेका हुन् । बलेवाबाट पर्वतको सदरमुकाम कुस्मामा दूध बिक्री गर्दै आएका ढकाल अहिले यो पेशामा आफुलाई गर्भिलो महशुस गर्न थालेको बताउँछन् । प्रारम्भिक चरणमा सुक्ष्म आकार अर्थात् ३ गाई र २ भैसीबाट उत्पादन सुरु गरेका ढकालले अहिले आधुनिक गोठभरी गाइभैसी पालेका छन् । नगरपालिकाबाट अनुदानमा पाएको १ लाख ५ हजारले गोठ निर्माणमा केही सहज भएको उनी बताउँछन् । सुरुवातमा २५ लाख लगानीमा पशुपालन सुरु गरेका उनको व्यवसायले निरन्तरता पाएपछि अहिले ४० लाख लगानी यस क्षेत्रमा लगाएका छन् ।

‘पशुपालनबाट कृषिमा सम्भावना देखेपछि उनले व्यवसाय विस्तार गर्दै आएको बताउँछन् । अहिले दुधका अलावा तरकारी खेतीलाई पनि जोड दिदै आएका उनले ‘आत्मसन्तुष्टिका लागि रोजेको पेशामा पनि टिक्न सक्यो भने राम्रो फाइदा हुँदो रहेछ’ भन्ने गरेका छन् । पशुपालनमा उदाहरणीय बन्दै गएका २० वटासम्म भैँसी पाल्ने ढकालको लक्ष्य छ । वर्षौं विदेशी भुमिमा परिवारको खुशी खोज्न रुमलिएका ढकाल अहिले आफ्नै जन्मभुमिको कृषि र पशुपालनमा रमाइरहेका छन् । आफू विदेश वृद्दावस्थाका आमाबुबा र हजुरआमाको जिम्मेवारीभित्र दुई छोराको सर्वेसर्वा श्रीमतीलाई बनाएँ । निडर र आटिलोपनकै कारण आफुलाई परिचालन गर्न सिपालु श्रीमती दुर्गा नै आफ्नो सफलताको पर्याय रहेको उनी बताउँछन् । नेपालीहरुको विवशता स्वदेशको कमाइले परिवार चलाउन असमर्थ युवाहरुको भिडमा परेका ढकालले करिब डेढ दशक मलेसियामा पसिना बगाए । जीवनले ४ दशक उकाली लाएपछि घर फर्किए । आखिर विदेशी भुमिमा जति दुख गरे पनि जन्मभुमिको हार्दिकलाई स्वीकार गर्नै पर्दोरहेछ । विदेशी भुमिले क्षणिक सुखको अनुभुति दिलाए पनि जन्मभुमिको स्वागतका अगाडि सबै फिक्का हुने ढकालको ठम्म्याइ छ ।

छोराबुहारीले बाल्टीका बाल्टी दूध दुहुन्छन् । नातीहरु मोटरसाइकल लिएर वरिपरि घुम्छन् । आफुले पैदल हिंडेर नुनतेल गर्ने गरेको बजारमा पुगेर क्षणभरमा फर्किन्छन् । आफुले देख्दाको केही रहेन, बाटोघाटो र संरचना पुरै फेरिएको देखेर नौ दशक निकट उमेर काट्दै गरेकी डम्बरकुमारी पुलकित हुनुहुन्छ । दुई छोरीपछि जन्मिएको छोरो विवाह पछि दुई नाति जन्मिए, एकको दुई दुइको चार भए भनेर खुशी थिँए । परिवार चलाउन विदेशको बाटो रोज्यो । यहीँ ठाउँमा दुख गरे नि ज्यान पाल्न सक्छस् भन्दा अटेर गर्यो । १५ वर्षसम्म बाहिर देश बसो, ‘कहाँ जालास् मछली मेरै ढडिया’ भन्याझै अहिले आफ्नै घरमा आएर इलम गरेको छ । छेउमै बसेका चण्डीप्रसादले थप्नुहुन्छ । हामीले यहि छोरालाई दुई मुठी सेतो खुवाउन रातदिन दुख गर्यौँ । अहिले उस्ले सारा गाउँलाई दूध पुर्याएको छ । आफ्नै जन्मभूमिमा पसिना बगाएको छ । गौ माताको सेवा गर्न पाउनु पनि ठुलै पुण्यको कुरा हो । पैसाले बेचे पनि समाजमा हुने धार्मिक अनुष्ठानहरुमा अमृतरुपी दूध पु¥याएको छ । पुरानो समयमा पुण्य प्राप्तिका लागि भए गाइको सेवा गर्नु नभए मेवा रोप्नु भन्थे । छोराले व्यवसायिक फर्ममार्फत दुधको कारोबारमा बलियो बनेकोमा उहाँ हर्षित हुनुहुन्छ ।

अमलाचौरको माझघरस्थित ढकाल परिवारमा २०३४ सालमा जन्मिएका मुकुन्दले पृथ्वी मा.वि बाट कक्षा १० सम्म अध्ययन गरे । बाबुको पुख्र्याैली कृषि पेशा परिवारको बढ्दो महत्वाकांक्षा र बिदेशीने युवाहरुको भिडका बिच विदेश जाने सपना बुने । घरायसी काम र कृषि पेशाबाट उम्किएर विदेश पुगिहाल्ने र पैसा कमाउने उनको उद्देश्य पूरा हुन सकेन । एकपछि अर्को गरेर उत्पन्न हुने पारिवारिक आर्थिक समस्याले जरजर अवस्थामा पुर्यायो । यसबिचमा सामाजिक परम्परा र वृद्धावस्थाका बुबाआमाको इच्छा अनुसार छिमेकी पैयुपाट निवासी गोविन्द लम्सालकी १९ वर्षीय छोरी दुर्गासंग विवाह भयो । उमेरले एक बीस समय पार गर्दै गरेका मुकुन्द एकबाट दुई भए । बाबुआमाले छोराको विवाह गरिदिएपछि आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका थिए । यता मुकुन्द नयाँ जीवनको कसिभित्र बाँधिनुका साथै वर्तमान परिवारको आर्थिक बोझ र आगामी आर्थिक जटिलताले पुर्ण काल्पनिकताभित्र विछिप्त बन्दै गएका थिए । त्यतिकैमा मुकुन्द छरछिमेकी सहपाठी साथीहरु, दाजुभाइको शैक्षिक उन्नति र सफा जीवन चरित्रभित्र आफ्नो पनि उदाउँदो व्यक्तित्व खोज्न थाले ।

लेखक

तत्कालीन समयमा मध्यमवर्गिय आर्थिक अवस्थाको परिवारमा जन्मिएका उनले आफूलाई व्यवहारिक जीवनका अतिरिक्त आर्थिक रुपमा सम्पन्न गराउनु थियो । समयको पाबन्दी दुई छोराको जन्म भयो । जेठो छोरो स्वअस्तित्व खोदै थियो भने वर्षीको कान्छो छोरोले बाबाको परिचय खोज्ने तरखरमा थियो । त्यत्तिकैमा आफ्नो जीवनको यात्रालाई २०६१ सालको अन्त्यतिर मलेसियातर्फ मोडे । १५ वर्षको बसाई पश्चात् एकैपटक घर फर्किएका उनले तत्कालीन समयको सम्पुर्ण आम्दानी पशुपालनमा खर्चिएका थिए ।

प्रारम्भमा चौतर्फी आश्वासन, माया र सद्भाव प्राप्त गरेपनि बिस्तारै एक्लै यो पेशामा भिड्नुको विकल्प थिएन । गाउँमा स्थापना भएको नव नमुना दुग्ध उत्पादक सहकारीको सहकार्यमा दूध बेचेर आम्दानी गर्ने सपना मुकुन्दले बुनेका थिए । विडम्बना स्थानीय धनीमानी र ठुलाबढाहरुको बोलवालाका अगाडि उनले आफ्नै दुधको मूल्य पाएनन् । जिल्ला दुग्ध व्यवसायी समितिले प्रतिलिटर ९० रुपैयाँ बिक्री दर तोकेको तत्कालीन परिवेशमा आफ्नो दुधलाई सहकारीले ३८ रुपैयाँ लिटरमा सिमीत गरायो । त्यही मूल्यको भुक्तानी पनि महिनौं दिनपछि आउथ्यो । त्यसपछि दोस्रो बजार खोज्न थालेका मुकुन्दलाई बागलुङतर्फ जान दब्ल्याङ्को पहिरो बाधक बन्यो । आफ्नो चर्को लगानीबीच उत्पादित दुधले स्थानीय बजारमा मुल्य पाएन । बाह्रैमास बागलुङ दूध पुर्याउन सकस थियो । कुनै दुग्धजन्य वस्तुको उद्योग खोल्न र उत्पादित दुध पुर्ण रुपमा खपत गर्न आफुसंग लागत थिएन । जस्का कारण उनले आफ्नो लक्ष्य नै विफल भएको महशुस गरे । तर परिवारको साथ, दरिलो सोचका कारण उनी यो समस्याबाट विचलित बनेनन् । केही समयको आरोह अवरोहलाई क्षणिक विपत्तिको संज्ञा दिदै छिमेकी जिल्ला कुस्मा बजार पुगे । अनिश्चित वस्तुको सेवाबाट मानव जीवनले उचित गन्तव्य पाउदैन । परन्तु निश्चित वस्तुको आत्मसात् गरे अवश्य सफल बन्न सकिन्छ भन्ने बुझेका मुकुन्दले छोटो समयमै त्यहाँका व्यपारीसंग सामिप्यता बढाए र बजारका मानिसहरूलाई ग्राहकको सुचिमा सुचिकृत गर्न सफल भए ।

अहिले बजारमा स्वस्थ र बिना कैफियतको दूध बिक्रीकर्ताको परिचय नै बनाएका ढकालले यहीँ बजारमा दुधको कारोबार गर्न र आफ्नो सपना पूरा गर्न अन्ततः कान्छो छोरा सागरलाई मोटरसाइकल नै सिकाउने निर्णय गरेका थिए । सुरुवाती चरणमा केही असहज भए पनि बाबुछोराको दृढ इच्छाशक्ति र आत्मविश्वासले बिस्तारै दुधको कारोबार सहज भएको उनी स्मरण गर्छन् । स्थानीय बजारको तुलनामा करिब ११/१२ किलोमीटरको दुरी टाढा भए पनि दोब्बर बढी मूल्य पाएको छु । उपभोक्ताको घरमै दूध पुर्याउछु । आफुसंग कारोबार गर्ने सबै उपभोक्ता सन्तुष्ट छन् । गुणस्तर दिन सके यो व्यवसायबाट पलायन हुनु पर्दैन भन्दै बजारमा आफ्नो दुधको माग चर्को रहेकोमा उनी प्रफुल्लित छन् ।

‘परम्परागत खेतीपातीका अतिरिक्त तरकारी खेती गरेको छु । साँझ बिहान घरमा दूध लिने मानिसहरुको भिड लाग्छ । बड्दो शहरीकरण र सौखिन जीवनयापनका बिच मेरो संघर्षले औचित्य पाएको छ । शहरमा बस्ने छोराबुहारी र गाउँमा बस्ने वृद्ध आमाबुबाहरु दुवैलाई दूध पुर्याएको छु । भूगोलले केही टाढा भएकाले बर्खाको समयमा समस्या हुन्छ’ ढकाल भन्छन् । कृषि र पशुपालनमा लागेका युवाहरुलाई वडा र पालिकाबाट केही राहत अनि हौसला दिनुपर्ने महशुस हुन्छ तर राज्यको नीति त्यस्तै होला । बाहिर बोलिएका सबै कुरा भित्र लागू हुँदैनन् । बाहिर औपचारिकतामा त कृषि, कृषक र पशुपालनमा लागेकाहरुलाई सहयोग गर्छौं भन्छन् तर परिणाम केही आउँदैन । केही महिना अघि ४/५ वटा गाई भैंसी गुमाउँदा इन्स्योरेन्स कम्पनीबाट केही राहतको महशुस गरे पनि वडा र पालिकाबाट सान्त्वना समेत नपाएको उनको गुनासो छ ।

स्थानीय स्तरमा हुने राजनैतिक चलखेलका कारण वास्तविक किसान र व्यवसायमा लागेका उद्यमीहरु निरन्तर ओझेलमा परिरहेका छन् । उत्पादित वस्तुले उचित मूल्यसहित बजार नपाउनु दुखको कुरा छ । बाह्य बजारका वस्तुहरुको बिक्री वितरणलाई रोकेर भए पनि स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ । उनी थप्छन्, ‘कृषकको उत्पादनले सहज रूपमा बजार पाए म जस्ता कृषक युवाहरुलाई सहज हुन्थ्यो । यद्यपि यतिका चुनौती र समस्याका बिच ढकाल दुधको कारोबारमा सन्तुष्ट नै छन् । करिब नौ दशक उमेर बिताउनु भएका आमाबुबाको साथमा खुशी छु । लगानी गरेर पछुताउनु परेको छैन ।’ आफ्नो पेशामा अभ्यस्त बन्दै गएका मुकुन्द कृषि र पशुपालनमा लागेका युवाहरूलाई प्रदेश, पालिका र वडास्तरबाट केही मात्रामा सहयोग मिले समग्र देश नै कृषिमा आत्मनिर्भर बन्ने बताउँछन् । एकीकृत पशुपालनमा स्थानीय तहले समन्वय गरेर भरपुर सहयोग दिन सके कुनै पनि युवा आफ्नो परिवार पाल्न कै लागि खाडी मुलुक जान नपर्ने उनको ठम्याइ छ । पशुपालन व्यवसाय फस्टाउँदो छ । परिवारका सदस्यले मात्रै वर्तमान माग धान्न सकस भइरहेको छ । केही समयमा दुहुना गाइको संख्या थपेर दुई जना कामदार राख्ने योजना रहेको उनी बताउँछन् । पढेलेखेका, पढ्दै गरेका, दक्ष, अर्धदक्ष र अदक्ष सबै नेपालीहरु विदेशको मोहमा परेको बेला ढकाल जस्ता पौरखी युवालाई सरकारले सहयोग र हौसला प्रदान गर्नै पर्छ । अन्यथा विदेश पलायन हुने नेपालीहरुको बहिर्गमनले देशलाई क्षती हुने निश्चित छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->