बागलुङका मुकुन्द ढकाल दुधको कारोबारमा अब्बल बन्दै गएका छन् । बा.न.पा १२ अमलाचौरमा स्थापना भएको बलेवा एकीकृत पशुपालन फर्मले पाँच वर्ष पूरा गर्दै गर्दा सञ्चालक मुकुन्द व्यावसायिक पशुपालनमा अब्बल बनेका हुन् । यतिबेला उनी विगतका वर्षझै बर्खायामका लागि आवश्यक स्रोत साधनको तयारीमा जुटेका छन् । मलेसियाको पन्ध्र वर्षे बसाइबाट सन्तुष्ट बन्न नसकेपछि उनले गाउँबाटै दुधको कारोबार गर्न थालेका हुन् । बलेवाबाट पर्वतको सदरमुकाम कुस्मामा दूध बिक्री गर्दै आएका ढकाल अहिले यो पेशामा आफुलाई गर्भिलो महशुस गर्न थालेको बताउँछन् । प्रारम्भिक चरणमा सुक्ष्म आकार अर्थात् ३ गाई र २ भैसीबाट उत्पादन सुरु गरेका ढकालले अहिले आधुनिक गोठभरी गाइभैसी पालेका छन् । नगरपालिकाबाट अनुदानमा पाएको १ लाख ५ हजारले गोठ निर्माणमा केही सहज भएको उनी बताउँछन् । सुरुवातमा २५ लाख लगानीमा पशुपालन सुरु गरेका उनको व्यवसायले निरन्तरता पाएपछि अहिले ४० लाख लगानी यस क्षेत्रमा लगाएका छन् ।
‘पशुपालनबाट कृषिमा सम्भावना देखेपछि उनले व्यवसाय विस्तार गर्दै आएको बताउँछन् । अहिले दुधका अलावा तरकारी खेतीलाई पनि जोड दिदै आएका उनले ‘आत्मसन्तुष्टिका लागि रोजेको पेशामा पनि टिक्न सक्यो भने राम्रो फाइदा हुँदो रहेछ’ भन्ने गरेका छन् । पशुपालनमा उदाहरणीय बन्दै गएका २० वटासम्म भैँसी पाल्ने ढकालको लक्ष्य छ । वर्षौं विदेशी भुमिमा परिवारको खुशी खोज्न रुमलिएका ढकाल अहिले आफ्नै जन्मभुमिको कृषि र पशुपालनमा रमाइरहेका छन् । आफू विदेश वृद्दावस्थाका आमाबुबा र हजुरआमाको जिम्मेवारीभित्र दुई छोराको सर्वेसर्वा श्रीमतीलाई बनाएँ । निडर र आटिलोपनकै कारण आफुलाई परिचालन गर्न सिपालु श्रीमती दुर्गा नै आफ्नो सफलताको पर्याय रहेको उनी बताउँछन् । नेपालीहरुको विवशता स्वदेशको कमाइले परिवार चलाउन असमर्थ युवाहरुको भिडमा परेका ढकालले करिब डेढ दशक मलेसियामा पसिना बगाए । जीवनले ४ दशक उकाली लाएपछि घर फर्किए । आखिर विदेशी भुमिमा जति दुख गरे पनि जन्मभुमिको हार्दिकलाई स्वीकार गर्नै पर्दोरहेछ । विदेशी भुमिले क्षणिक सुखको अनुभुति दिलाए पनि जन्मभुमिको स्वागतका अगाडि सबै फिक्का हुने ढकालको ठम्म्याइ छ ।
छोराबुहारीले बाल्टीका बाल्टी दूध दुहुन्छन् । नातीहरु मोटरसाइकल लिएर वरिपरि घुम्छन् । आफुले पैदल हिंडेर नुनतेल गर्ने गरेको बजारमा पुगेर क्षणभरमा फर्किन्छन् । आफुले देख्दाको केही रहेन, बाटोघाटो र संरचना पुरै फेरिएको देखेर नौ दशक निकट उमेर काट्दै गरेकी डम्बरकुमारी पुलकित हुनुहुन्छ । दुई छोरीपछि जन्मिएको छोरो विवाह पछि दुई नाति जन्मिए, एकको दुई दुइको चार भए भनेर खुशी थिँए । परिवार चलाउन विदेशको बाटो रोज्यो । यहीँ ठाउँमा दुख गरे नि ज्यान पाल्न सक्छस् भन्दा अटेर गर्यो । १५ वर्षसम्म बाहिर देश बसो, ‘कहाँ जालास् मछली मेरै ढडिया’ भन्याझै अहिले आफ्नै घरमा आएर इलम गरेको छ । छेउमै बसेका चण्डीप्रसादले थप्नुहुन्छ । हामीले यहि छोरालाई दुई मुठी सेतो खुवाउन रातदिन दुख गर्यौँ । अहिले उस्ले सारा गाउँलाई दूध पुर्याएको छ । आफ्नै जन्मभूमिमा पसिना बगाएको छ । गौ माताको सेवा गर्न पाउनु पनि ठुलै पुण्यको कुरा हो । पैसाले बेचे पनि समाजमा हुने धार्मिक अनुष्ठानहरुमा अमृतरुपी दूध पु¥याएको छ । पुरानो समयमा पुण्य प्राप्तिका लागि भए गाइको सेवा गर्नु नभए मेवा रोप्नु भन्थे । छोराले व्यवसायिक फर्ममार्फत दुधको कारोबारमा बलियो बनेकोमा उहाँ हर्षित हुनुहुन्छ ।
अमलाचौरको माझघरस्थित ढकाल परिवारमा २०३४ सालमा जन्मिएका मुकुन्दले पृथ्वी मा.वि बाट कक्षा १० सम्म अध्ययन गरे । बाबुको पुख्र्याैली कृषि पेशा परिवारको बढ्दो महत्वाकांक्षा र बिदेशीने युवाहरुको भिडका बिच विदेश जाने सपना बुने । घरायसी काम र कृषि पेशाबाट उम्किएर विदेश पुगिहाल्ने र पैसा कमाउने उनको उद्देश्य पूरा हुन सकेन । एकपछि अर्को गरेर उत्पन्न हुने पारिवारिक आर्थिक समस्याले जरजर अवस्थामा पुर्यायो । यसबिचमा सामाजिक परम्परा र वृद्धावस्थाका बुबाआमाको इच्छा अनुसार छिमेकी पैयुपाट निवासी गोविन्द लम्सालकी १९ वर्षीय छोरी दुर्गासंग विवाह भयो । उमेरले एक बीस समय पार गर्दै गरेका मुकुन्द एकबाट दुई भए । बाबुआमाले छोराको विवाह गरिदिएपछि आफ्नो कर्तव्य पूरा भएको ठानिरहेका थिए । यता मुकुन्द नयाँ जीवनको कसिभित्र बाँधिनुका साथै वर्तमान परिवारको आर्थिक बोझ र आगामी आर्थिक जटिलताले पुर्ण काल्पनिकताभित्र विछिप्त बन्दै गएका थिए । त्यतिकैमा मुकुन्द छरछिमेकी सहपाठी साथीहरु, दाजुभाइको शैक्षिक उन्नति र सफा जीवन चरित्रभित्र आफ्नो पनि उदाउँदो व्यक्तित्व खोज्न थाले ।

लेखक
तत्कालीन समयमा मध्यमवर्गिय आर्थिक अवस्थाको परिवारमा जन्मिएका उनले आफूलाई व्यवहारिक जीवनका अतिरिक्त आर्थिक रुपमा सम्पन्न गराउनु थियो । समयको पाबन्दी दुई छोराको जन्म भयो । जेठो छोरो स्वअस्तित्व खोदै थियो भने वर्षीको कान्छो छोरोले बाबाको परिचय खोज्ने तरखरमा थियो । त्यत्तिकैमा आफ्नो जीवनको यात्रालाई २०६१ सालको अन्त्यतिर मलेसियातर्फ मोडे । १५ वर्षको बसाई पश्चात् एकैपटक घर फर्किएका उनले तत्कालीन समयको सम्पुर्ण आम्दानी पशुपालनमा खर्चिएका थिए ।
प्रारम्भमा चौतर्फी आश्वासन, माया र सद्भाव प्राप्त गरेपनि बिस्तारै एक्लै यो पेशामा भिड्नुको विकल्प थिएन । गाउँमा स्थापना भएको नव नमुना दुग्ध उत्पादक सहकारीको सहकार्यमा दूध बेचेर आम्दानी गर्ने सपना मुकुन्दले बुनेका थिए । विडम्बना स्थानीय धनीमानी र ठुलाबढाहरुको बोलवालाका अगाडि उनले आफ्नै दुधको मूल्य पाएनन् । जिल्ला दुग्ध व्यवसायी समितिले प्रतिलिटर ९० रुपैयाँ बिक्री दर तोकेको तत्कालीन परिवेशमा आफ्नो दुधलाई सहकारीले ३८ रुपैयाँ लिटरमा सिमीत गरायो । त्यही मूल्यको भुक्तानी पनि महिनौं दिनपछि आउथ्यो । त्यसपछि दोस्रो बजार खोज्न थालेका मुकुन्दलाई बागलुङतर्फ जान दब्ल्याङ्को पहिरो बाधक बन्यो । आफ्नो चर्को लगानीबीच उत्पादित दुधले स्थानीय बजारमा मुल्य पाएन । बाह्रैमास बागलुङ दूध पुर्याउन सकस थियो । कुनै दुग्धजन्य वस्तुको उद्योग खोल्न र उत्पादित दुध पुर्ण रुपमा खपत गर्न आफुसंग लागत थिएन । जस्का कारण उनले आफ्नो लक्ष्य नै विफल भएको महशुस गरे । तर परिवारको साथ, दरिलो सोचका कारण उनी यो समस्याबाट विचलित बनेनन् । केही समयको आरोह अवरोहलाई क्षणिक विपत्तिको संज्ञा दिदै छिमेकी जिल्ला कुस्मा बजार पुगे । अनिश्चित वस्तुको सेवाबाट मानव जीवनले उचित गन्तव्य पाउदैन । परन्तु निश्चित वस्तुको आत्मसात् गरे अवश्य सफल बन्न सकिन्छ भन्ने बुझेका मुकुन्दले छोटो समयमै त्यहाँका व्यपारीसंग सामिप्यता बढाए र बजारका मानिसहरूलाई ग्राहकको सुचिमा सुचिकृत गर्न सफल भए ।
अहिले बजारमा स्वस्थ र बिना कैफियतको दूध बिक्रीकर्ताको परिचय नै बनाएका ढकालले यहीँ बजारमा दुधको कारोबार गर्न र आफ्नो सपना पूरा गर्न अन्ततः कान्छो छोरा सागरलाई मोटरसाइकल नै सिकाउने निर्णय गरेका थिए । सुरुवाती चरणमा केही असहज भए पनि बाबुछोराको दृढ इच्छाशक्ति र आत्मविश्वासले बिस्तारै दुधको कारोबार सहज भएको उनी स्मरण गर्छन् । स्थानीय बजारको तुलनामा करिब ११/१२ किलोमीटरको दुरी टाढा भए पनि दोब्बर बढी मूल्य पाएको छु । उपभोक्ताको घरमै दूध पुर्याउछु । आफुसंग कारोबार गर्ने सबै उपभोक्ता सन्तुष्ट छन् । गुणस्तर दिन सके यो व्यवसायबाट पलायन हुनु पर्दैन भन्दै बजारमा आफ्नो दुधको माग चर्को रहेकोमा उनी प्रफुल्लित छन् ।
‘परम्परागत खेतीपातीका अतिरिक्त तरकारी खेती गरेको छु । साँझ बिहान घरमा दूध लिने मानिसहरुको भिड लाग्छ । बड्दो शहरीकरण र सौखिन जीवनयापनका बिच मेरो संघर्षले औचित्य पाएको छ । शहरमा बस्ने छोराबुहारी र गाउँमा बस्ने वृद्ध आमाबुबाहरु दुवैलाई दूध पुर्याएको छु । भूगोलले केही टाढा भएकाले बर्खाको समयमा समस्या हुन्छ’ ढकाल भन्छन् । कृषि र पशुपालनमा लागेका युवाहरुलाई वडा र पालिकाबाट केही राहत अनि हौसला दिनुपर्ने महशुस हुन्छ तर राज्यको नीति त्यस्तै होला । बाहिर बोलिएका सबै कुरा भित्र लागू हुँदैनन् । बाहिर औपचारिकतामा त कृषि, कृषक र पशुपालनमा लागेकाहरुलाई सहयोग गर्छौं भन्छन् तर परिणाम केही आउँदैन । केही महिना अघि ४/५ वटा गाई भैंसी गुमाउँदा इन्स्योरेन्स कम्पनीबाट केही राहतको महशुस गरे पनि वडा र पालिकाबाट सान्त्वना समेत नपाएको उनको गुनासो छ ।
स्थानीय स्तरमा हुने राजनैतिक चलखेलका कारण वास्तविक किसान र व्यवसायमा लागेका उद्यमीहरु निरन्तर ओझेलमा परिरहेका छन् । उत्पादित वस्तुले उचित मूल्यसहित बजार नपाउनु दुखको कुरा छ । बाह्य बजारका वस्तुहरुको बिक्री वितरणलाई रोकेर भए पनि स्थानीय उत्पादनलाई बढावा दिनुपर्छ । उनी थप्छन्, ‘कृषकको उत्पादनले सहज रूपमा बजार पाए म जस्ता कृषक युवाहरुलाई सहज हुन्थ्यो । यद्यपि यतिका चुनौती र समस्याका बिच ढकाल दुधको कारोबारमा सन्तुष्ट नै छन् । करिब नौ दशक उमेर बिताउनु भएका आमाबुबाको साथमा खुशी छु । लगानी गरेर पछुताउनु परेको छैन ।’ आफ्नो पेशामा अभ्यस्त बन्दै गएका मुकुन्द कृषि र पशुपालनमा लागेका युवाहरूलाई प्रदेश, पालिका र वडास्तरबाट केही मात्रामा सहयोग मिले समग्र देश नै कृषिमा आत्मनिर्भर बन्ने बताउँछन् । एकीकृत पशुपालनमा स्थानीय तहले समन्वय गरेर भरपुर सहयोग दिन सके कुनै पनि युवा आफ्नो परिवार पाल्न कै लागि खाडी मुलुक जान नपर्ने उनको ठम्याइ छ । पशुपालन व्यवसाय फस्टाउँदो छ । परिवारका सदस्यले मात्रै वर्तमान माग धान्न सकस भइरहेको छ । केही समयमा दुहुना गाइको संख्या थपेर दुई जना कामदार राख्ने योजना रहेको उनी बताउँछन् । पढेलेखेका, पढ्दै गरेका, दक्ष, अर्धदक्ष र अदक्ष सबै नेपालीहरु विदेशको मोहमा परेको बेला ढकाल जस्ता पौरखी युवालाई सरकारले सहयोग र हौसला प्रदान गर्नै पर्छ । अन्यथा विदेश पलायन हुने नेपालीहरुको बहिर्गमनले देशलाई क्षती हुने निश्चित छ ।




