बागलुङ/बालबालिकालाई जीवन उपयोगी सीप सिकाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । अभिभावकले बालबालिकालाई पढाई र खेल क्षेत्रमा मात्रै जोड दिँदा दैनिक जीवनका क्रियाकलाप समेत गर्न नसक्ने जनशक्ति उत्पादन हुनेमा उनीहरुले चिन्ता व्यक्त गरे ।
बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले घरायसी काममा बालबालिकालाई अभ्यस्त बनाउन आग्रह गरे । खाना पकाउने, लुगा धुने, सरसफाई गर्ने जस्ता कामहरु बालबालिकालाई सिकाउनुपर्ने उनको धारणा थियो । व्यवहारीक ज्ञान नहुने मानिसलाई किताबी ज्ञानले मात्रै पूर्ण नबनाउने उनले बताए ।
ढोरपाटन दैनिकका सम्पादक हरिनारायण गौतमले युग सुहाउँदो प्रबिधिको प्रयोग र दैनिक आवश्यकता पूर्तीका लागि आवश्यक सीप विद्यार्थीका लागि आवश्यक भएको बताए । उनले घरदेखि संसारभर योग्य हुनसक्ने जनशक्ति उत्पादन अहिलेको आवश्यकता भएको बताए ।
बागलुङ नगरपालिका १ रामरेखामा रहेको न्यू एभरेष्ट एकेडेमीले आयोजना गरेको स्वागत तथा पुरस्कार वितरण कार्यक्रममा बक्ताहरुले शिक्षा क्षेत्रका चुनौती र अहिलेको आवश्यकता बिषयमा बोलेका थिए । कार्यक्रममा एकेडेमीका संस्थापक थानेश्वर सुवेदी, पत्रकार तारानाथ आचार्य, शिक्षक भुमीराज शर्मा लगायतले बोलेका थिए ।
विद्यालयले मतदान प्रक्रियाद्धारा छनोट भएका विद्यालय क्याप्टेन, उप–क्याप्टेन, सदनहरुका क्याप्टेन र उप–क्याप्टेनहरुलाई पद तथा गोपनियताको सपथ खुवाएको थियो । निर्वाचन र व्यवस्थाका विषयमा विद्यार्थीलाई अभ्यासद्धारा सिकाउनका लागि निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनोट गरिएको प्रिन्सिपल कृष्ण अधिकारीले बताए ।
कार्यक्रममा बार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । चालु शैक्षिक सत्रमा विद्यालयमा नयाँ प्रबेश गरेका विद्यार्थीलाई स्वागत गरिएको थियो । विद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीको अध्यक्षता र शिक्षक माधव शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले आफ्ना धारणा राखेका थिए । शुक्रबारनै भएको अभिभावक भेलाले हरिनारायण गौतमको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति र राजु केसीको अध्यक्षतामा ९ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरेको छ ।





