बागलुङको जटिल भूगोल समावेश गरेर बनेको तमानखोला गाउँपालिका विकासमा अगाडि बढ्दै छ । पालिका आएपछि गाउँमै धेरै विकासका योजना भित्रिए । विकासलाई आफ्नो सम्झेका तमानखोलाबासीलाई खुसी बनाउने र समृद्व तमानको योजना सफल बनाउन कस्ता काम भएका छन् त ? गाउँपालिकाका अध्यक्ष जोकलाल बुढासंग ढोरपाटनकर्मीले गरेको कुराकानीको सम्पादित अंश ः
तपाईले अध्यक्षको रुपमा दोश्रो कार्यकालको दुई वर्ष पनि बिताइसक्नुभयो, यो अवधिमा गाउँपालिकामा विकास के के गर्नुभयो ?
हामीले सबैभन्दा जटिल भूगोलको गाउँपालिका भएर पनि केही नमुनायोग्य काम गर्न सफल भयौं । त्यसमा केही पालिकाको आफ्नै लगानीका योजना छन् भने केही प्रदेशबाट ल्याइएका छन् । बिशेषगरी तमानखोलालाई आधारभूत स्वास्थ्य सेवा पुगेको पालिकाको रुपमा काम अगाडि बढायौं, केही हदसम्म सफल पनि भएका छौं । बोङगादोभान स्वास्थ्य चौकीलाई आधारभूत अस्पतालको रुपमा विकास गर्न सकेका छौं । जहाँ हामीले एकजना मेडिकल अधिकृत सहितको दरबन्दी व्यवस्थापन गरेर सुरक्षित सुत्केरी, आधारभूत तहको सबै उपचार सेवा पनि संचालन गर्न सकेका छौं ।
त्यस बाहेक अन्य स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाइमा पनि स्वास्थ्यको भरपर्दो सेवा प्रवाह गरेका छौं । पालिकाले दायित्व बहन गरेर वडा नं. ६ को २, वडा ४ को एक स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सोही अनुसारको सेवा प्रवाह पनि गरेका छौं । पोषणमैत्री पालिका बनाउने अभियानमा पनि छौं ।
आफ्नै पाठ्यक्रम बनाएर लागू गर्ने पहिलो पालिका तमानखोला हो । सबै विद्यालयमा अंग्रेजी माध्यममा पढाउने व्यवस्था गर्ने, कम्प्युटर शिक्षा र त्यसका लागि दरबन्दीको व्यवस्थापन गर्ने काम पनि पालिकाले गरेको हो । त्यस बाहेक प्रदेशको साझेदारीमा रणनीतिक सडक निर्माण भएको छ । पालिका मुकामदेखि वडा नं. ४ को सोलेडाँडा सम्मको सडकले छिमेकी जिल्ला म्याग्दी जोड्छ । यो सडकलाई स्तरीय बनाएर बाहै्र महिना आउजाउको व्यवस्थापन गर्ने लक्ष छ । सडकले तमान र लामेलाका किसानले आफ्नो उत्पादनलाई सजिलै बजार पठाउन सक्नेछन् ।
पालिकाले राजश्व संकलन गर्ने आधारहरु के के तय गरेको छ ?
ग्रामीण क्षेत्र भएकोले उद्योग व्यवसाय चलाएर राजश्व संकलन गर्ने संभावना निकै कम छ । तर हामीले कृषि उत्पादनको अब्बल क्षेत्र बनाउन सकेमा हरेक घरले कमाइ गर्छन् । जनता धनी भएभने पालिका स्वभाविक रुपमा समृद्व बन्छ । वडा नं. ४ मा कृषि संकलन केन्द्र तथा कोल्डस्टोर पनि बनाएका छौं । प्राविधिक कारणले संचालनमा छैन । विद्युतीकरण पुगेपछि संचालनमा ल्याउनेछौं ।
त्यस बाहेक सोलेडाँडामा जडिबुटी संकलन तथा प्रदर्शनी केन्द्र बनाउने योजना छ । काम पनि शुरु भैसकेको छ । गाउँपालिकामा पाइने जडिबुटीको सूचिकृत गर्ने, संरक्षण गर्ने र भोलीका दिनमा अध्ययन अनुसन्धान गर्न चाहने जो–कोहीका लागि श्रोत केन्द्रको रुपमा विकास गर्ने लक्ष छ । अहिले जडिवुटी संकलन र बिक्रीमा कानूनी जटिलता छ । पालिकाले कानून बनाएर त्यसको सहजीकरण गर्ने र राष्ट्रिय तहमा पनि यो अवधारणा प्रचार गर्ने लक्ष छ ।
पर्यटन प्रवद्र्धनमा तमानखोलाले के गरेको छ ?
भौगोलिक रुपमा पनि तमानखोलाले पर्यटकीय गन्तव्य बनाएरै आम्दानी गर्ने हो । सोलेडाँडा, बराहताल लगायतका केही स्थानको डिपिआर बनाएर कतिपय काम समेत थालिएका छन् । दुवै स्थानबाट हिमाली श्रृंखला देख्न सकिन्छ । हिउँ पर्ने स्थान भएकोले हिउँ खेल्ने गरी पर्यटक आउने अवस्था छ । सडक सहज बन्दा पर्यटकलाई भित्राउन सकिन्छ । त्यस बाहेक तमानमा प्रसस्त भेडीगोडहरु छन् । ती भेडीगोठको अबलोकन, ग्रामीण पर्यटनबाट पनि आम्दानीका श्रोत निकाल्न सकिन्छ । परम्परागत पोशाकहरुको उत्पादन गर्दा बजारीकरणमा पनि सहयोग पुग्नेछ । कृषि, पशुपालनबाट आत्मनिर्भर मात्र हैन पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्छ ।
विकासका चुनौती के देख्नुभयो ?
तमानखोलाको भौगोलिक विविधता निकै राम्रो छ । तर सिमीत साधन र श्रोतलाई परिचालन गरेर लक्ष्य पुरा गर्न भने चुनौती छ । यो अवस्थालाई हामीले बुझ्ने र बुझाउने गर्नुपर्छ । सडक संजालले ढोरपाटन जोड्ने योजना आरक्षको कारण पुरा भएको छैन । शिकार आरक्ष संघिय सरकारको मातहतमा हुने भएकोले प्रक्रिया लामो र झन्झटले बोङगादोभानहुँदै खुंखानी, गुर्जाघाट ढोरपाटन सडक पुरा हुन नसकेको हो । झण्डै ६ किमी सडक नखुल्दा ढोरपाटन जोड्न नसकिएको हो । एकीकृत बस्ती बनाउने योजना त झनै चुनौती बन्यो । छरिएको बस्तीमा विकासका योजना लैजाने काम दुस्साहस जस्तै छ । तर पनि धेरै काममा सफलता पाएका छौं । चुनौती सामना गर्दै गए अझै सफल भइनेरहेछ ।
नयाँ जनप्रतिनिधिलाई कस्तो तमानखोला हस्तान्तरण गर्ने योजना छ ?
समुन्नत समाज बनेको, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा पुगेको, सडक पुर्वाधारले पर्यटकको रोजाइमा परेको र अनुसन्धान केन्द्र बनेको पालिका हस्तान्तरण गर्ने लक्ष छ । त्यसका लागि भैरहेका कामलाई व्यवस्थित बनाउने हो भने संभावना पनि नजिक छ ।





