बागलुङको जटिल भूगोल समावेश गरेर बनेको तमानखोला गाउँपालिका विकासमा अगाडि बढ्दै छ । पालिका आएपछि गाउँमै धेरै विकासका योजना भित्रिए । विकासलाई आफ्नो सम्झेका तमानखोलाबासीलाई खुसी बनाउने र समृद्व तमानको योजना सफल बनाउन कस्ता काम भएका छन् त ? गाउँपालिकाका उपाध्यक्ष हिराकुमारी छन्त्यालसंग ढोरपाटनकर्मीले गरेको कुराकानीको सम्पादित अंश :
दुइ वर्षको अवधिमा न्यायिक समितिको कार्यसम्पादन कस्तो छ ?
गाउँपालिकामै न्यायिक समिति बन्नु, मेलमिलाप केन्द्र गठन गर्न पाउने व्यवस्था हुनुले पीडित गाउँलेलाई ठूलो राहत मिलेको छ । विशेषगरी न्याय नपाएकाहरुले न्याय पाएका छन् । खर्चका हिसाबले न्याय खोज्दै सदरमुकाम पुग्न नसक्नेका लागि न्यायिक समिति बढी उपयोगी रहेछ ।
न्यायिक समितिमा मुद्दाको रुपमा आएपनि हामीले अधिकांस मेलमिलाप गराउन सफल भएका छौं । केही मात्रै फैसलाको रुपमा गएका छन् । पतिपत्निको सम्बन्धको बिषय, झैझगडा, गाली बेइज्जती लगायतका बिषय बढी न्यायिक समितिमा आएका छन् । ती अधिकांस बिषयलाई सम्झाउने, बुझाउने र मेलमिलाप गराएर दिगो समाधान खोजीएको छ ।
कतिपयले बहुबिबाह र सम्बन्ध बिच्छेदका मुद्दा ल्याएर पनि अप्ठ्यारो पारेका छन् । तर हामीले सुझबुझपुर्ण रुपमा कतिपय बिषयलाई सम्झाएर पठाएका छौं । मेलमिलापमा जाने प्रकृतिका सबै बिबाद गाउँमै समाधान भएका छन् । तर अदालतमै जाने खालका मुद्दामा हामी अलमलिएका छैनौं । त्यसैले न्यायिक समितिले सकेसम्मको काम सहजै बनाएको छ । तर न्यायिक समितिमा कानून अधिकृत वा कानून जानेको कर्मचारी आवस्यक छ । सबै जनप्रतिनिधि धेरै पढेका नहुन पनि सक्छन् । त्यतिबेला कानूनी प्रक्रियाबारे सल्लाह लिने साथी चाहिन्छ ।
उपाध्यक्षको नाताले अनुगमनको पाटो कसरी सम्हाल्नु भएको छ ?
हामीले ५ लाख सम्मका योजनाको अनुगमन वडा अनुगमन समितिबाट गराउने निर्णय र अभ्यास गरेका छौं । त्यसभन्दा धेरै रकमको योजना भएमा गाउँपालिका स्तरीय समितिले अनुगमन गर्ने व्यवस्था छ । काम बिशेषले पुग्दा साना योजना पनि पालिका स्तरीय अनुगमन भएकै छन् । तर सबैखालका योजनाको फरफारक गर्दा योजनाको नागरिक सुनुवाइ गरेको तस्बिर पनि समावेश गर्न भनेका छौं । अधिकांस योजनाका उपभोक्ता समितिले सोही प्रकारको निर्देशन पालना पनि गर्नुभएको छ ।
तमानमा कस्ता प्रकारका योजना कार्यान्वयन भएका छन् ?
हाम्रो भूगोल सुहाउने खालका योजनाहरुनै चलेका छन् । ग्रामीण सडक, पदमार्ग, पर्यटकीय क्षेत्रका पूर्वाधार निर्माण, विद्यालय भवन, स्वास्थ्य संस्था र खोलाखोल्सीमा कल्भर्ट र पुल बनाइएका छन् । बजेटको राम्रो सदुपयोग गर्दा वडा र पालिकाको बजेटबाट पनि सवारी साधन चल्ने पुल बन्ने रहेछन् भन्ने हामीले गरेको कामबाटै देखिएका छन् । त्यसैले सानो रकमले उपभोक्ताको समेत लगानीबाट धेरै काम भएको छ । त्यो तमानखोलाको उदाहरण हो । अनुगमनको क्रममा त्रुटीभन्दा जनताको लगानी बढी देखिन्छ ।
अनुगमनमा जटिलता के के छन् ? चुनौती के भेटियो ?
बिशेषगरी पालिका तहको भन्दा संघ र प्रदेशले गरेका योजनाले अनुगमनमा समस्या ल्याएको छ । एउटै भूगोलमा पालिकाले गरेको योजना प्रभावकारी देखिने, संघ र प्रदेशका प्रभावहिन देखिए । पालिकाबाट २ लाख लगानी गर्दा १ सय २५ मीटरको रेलिङ बनेकोमा प्रदेशको १२ लाख बजेटले ४ सय मीटर पनि नबनेको भेटियो । वडामा समेत जानकारी नदिई कतिपय काम गरेको भेटियो । यो अवस्थाले जनताले विकास भनेको दुइथरी बुझेका छन् । साथै अनियमितता भएको पनि स्पष्ट देखिन्छ ।





