सदरमुकाम बागलुङ बजारबाट दुरीका हिसाबले नजिकै रहेपनि काठेखोला गाउँपालिका संघीयताको कार्यान्वयन पछि मात्रै विकासको गतिमा अघि बढेको छ । उत्पादन, रोजगारी र बजारीकरणमा अब्बल नागरिक रहेको पालिकाको परिचय बनाएको काठेखोला जिल्लाका अन्य स्थानीय तहको तुलनमा कम बसाईसराई हुने गाउँपालिकाको रुपमा पनि चिनिन्छ । सिमित स्रोत साधन, आन्तरीक राजश्वका क्षेत्र कम भएको पालिकाले संघ र प्रदेश सरकारको अनुदान र थोरै भएपनि आन्तरिक स्रोतको परिचालनबाट आफ्ना गतिबिधि अघि बढाइरहेको छ । वडा अनुसारका उत्पादन, पर्यटनमा आफ्नै आयाम भएको गाउँपालिकाले कसरी काम गरिरहेको छ ? कस्ता नीति बन्दैछन् ? कसरी कार्यक्रम कार्यान्वयन हुन्छन् ? यी र यस्तै बिषयमा ढोरपाटनकर्मी तारानाथ आचार्यले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमसँग गरेको कुराकानीको सम्पादित अंश ।
गाउँपालिकाको चालु आर्थिक वर्षका नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन कसरी भइहेको छ ?
गाउँपालिकाले तयार गरेको नीति तथा कार्यक्रम र बजेटको अधिनमा रहेर हामीले काम गरिरहेका छौं । समग्र काठेखोला गाउँपालिकाका सर्वसाधारणको मागमा आधारित रहेर बनेका योजनाहरुको कार्यान्वयन समेत सोही तरिकाबाट भैरहेका छन् ।
चालु आर्थिक वर्षमा काठेखोला गाउँपालिकाको कुल वजेट ५६ करोड ७४ लाख ५४ हजार विनियोजन भएकोमा हातसम्म कुल बजेटको ६१ प्रतिशत खर्च गर्न सफल भएका छांै । यो पालिकाका लागि सुखद पक्ष मान्नुपर्छ । कतिपय भौतिक प्रगति भैसकेका योजनाको समेत वित्तिय प्रगति भइनसकेकाले प्रतिशतमा कमी भएको हुनसक्छ । जम्मा खर्चमध्ये चालुतर्फ ६८ प्रतिशत र पूँजीगततर्फ ५३ प्रतिशत वित्तिय प्रगति भएको छ । सम्झौता भएका निर्माणसम्बन्धी योजनाहरु सम्पन्न हुने चरणमा रहेकोले असार मसान्तसम्म करिब ९० प्रतिशत बजेट कार्यान्वयन हुने अपेक्षा गरिएको छ ।
समयमा काम सक्न काठेखोलाले अपनाएका विधिहरु के के हुन् ?
गाउँपालिकाको बहुआयामिक कार्यक्षेत्र हुने हँुदा हरेक दिन सेवा प्रवाह गर्ने जिम्मेवारी हामीलाई छ । त्यसमा पनि विकास बजेटलाई समयमै कार्यसम्पादन गर्न सकियो भने भएको विकासले दिगोपना पाउन सक्छ । त्यसैले गाँउपालिकाले पूँजीगततर्फ रहेको बजेटलाई समयमै कार्यसम्पन्न गर्नको लागि योजना सम्झौता शिविर सन्चालन गर्ने, सम्झौता तथा फरफारकको लागि समयसिमा तोक्ने, कागजपत्रको झन्झटलाई.सरल बनाउन योजना पुस्तिका बनाइ उपभोक्ता समितिलाई लागू गर्ने जस्ता विधिहरु अपानाइको छ । यीबाहेक उपभोक्ता समितिले गर्न नमिल्ने प्रकृतिका कार्यलाई समयमै ठेक्का आह्वान गर्ने, सम्झौता र फरफारक गर्ने गरिएको छ । उपभोक्ता समितिको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको छ । प्रविधिमैत्री प्रशासन हुँदा कामको कार्यान्वयनमा निकै सहज हुने गरेको अनुभव हामीलाई छ । उपभोक्ता समितिलाई अनुशिक्षण र योजना सम्झौतादेखि फरफारकसम्मको कार्यतालिका निर्माणले पनि सहयोग गरेको छ ।
कुनै एउटा उदाहरण छ, जसले कार्ययोजना अनुसार काम नगरेका कारण सम्झौता नभएको वा फर्काइएको ?
हामीले सकभर काम गरौं भन्ने मान्यता राख्नै पर्छ । त्यसरी उपभोक्त समितिलाई फर्काइएको उदाहरण छैन तर कहिलेकाहिँ लागत अनुमान अनुसार कार्य नहुँदा मूल्यांकन कम भएको कारणले उपभोक्ता समितिलाई घाटा लाग्यो भन्ने गुनासो आउँछ । तर, सेवा लिन आएका सेवाग्राहीलाई त्यस्तो कुनै समस्या परेमा फर्काउनेभन्दा पनि आवश्यक कागजपत्रको बारेमा जानकारी दिने र सकेसम्म सहजीकरण गर्ने गरिएको छ । तोकिएको समयमा उपभोक्ता आँफै सम्झौता र फरफारकका लागि सचेत हुनुहुन्छ, त्यसैले पनि हामीलाई काम गर्न सजिलो छ ।
चालु आर्थिक वर्षका कार्यक्रमहरु कुन चाहिँ शीर्षकमा केन्द्रीत छन् ?
चालु आर्थिक वर्षका कार्यक्रमहरु समानुपातिक रुपमा सबै क्षेत्रमा केन्द्रीत छन् । गाउँपालिकाले कृषि उत्पादनलाई बढवा दिन विभिन्न कृषकलाई सिपमुलक तालिम प्रदान गर्ने, उत्पादनमा आधारित अनुदान कार्यक्रम लागू गर्ने, कृषकहरुलाई विभिन्न कृषि क्षेत्रको भ्रमण गराउने जस्ता कार्यक्रम सञ्चालन गरेको छ । साथै आदिवासी, दलित, महिला, अपांगलगायतका लक्षित वर्गको लागि पनि पर्याप्त बजेट विनियोजन गरि लागु गरेको छ । यसका साथै पूर्वाधार विकास, आर्थिक विकास, क्षमता विकासको क्षेत्रमा चालु आवका कार्यक्रमहरु केन्द्रीत छन । हामीले आर्थिक, पूर्वाधार र सामाजिक विकास सँगै लैजाने भनेका छौं । सबै क्षेत्रको समानुपातिक विकासले मात्रै समृद्ध समाज निर्माण हुन्छ भन्ने मान्यता काठेखोला गाउँपालिकामा छ ।
नीति तथा कार्यक्रम र वजेट कार्यान्वयनमा कठिनाइ के के छन् ?
गाउँपालिका आफैमा एउटा सरकार भएको हिसाबले पनि यसको जिम्मेवारि धेरै क्षेत्रमा रहेको छ । विकास निर्माणदेखि जनतालाई कल्याणकारी राज्यको आभास दिलाउन गाउँपालिकाले कार्य गर्नुपर्ने हँुदा नीति तथा कार्यक्रमा र बजेट कार्यन्वयनमा विभिन्न कठिनाइहरु देखा परेका हुन्छन् । खास गरेर न्यून आन्तरिक आय भएको हुँदा सबैभन्दा ठुलो समस्या भनेको वित्तिय साधन स्रोतकै हुने रहेछ । सीमित स्रोत साधनबाट धेरै क्षेत्रमा काम गर्नुपर्ने भएकोले सबै जनताका आकांक्षाहरुलाई सम्बोधन गर्न नसकिने नै हुन्छ । संघीयता लागु भइसकेपछि संघ, प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रको विषयमा स्पष्ट कानूनहरु बन्नमा ढिलाइ हँुदा पनि कार्य गर्ने क्रममा विभिन्न कानूनी बाधा अड्चनहरु रहेका छन् ।
जनशक्तिको व्यवस्थापनमा कत्तिको मजबुत छ, काठेखोला गाउँपालिका ?
जनशक्ति व्यवस्थापनमा काठेखोला मजबुत नै छ भन्नुपर्छ । गाउँपालिकाका विभिन्न शाखामा पर्याप्त जनशक्तिको व्यवस्था गरिएको छ । स्वास्थ्य चौकीहरुमा केही समय थोरै समस्या भए पनि हाल सो समस्या पनि समाधान गरिएको छ । जिल्ला सदरमुकामबाट नजिकको गाउँपालिका भएको हुनाले पनि कर्मचारीहरुको लागि सुगम हुने हुँदा लोकसेवाबाट सिफारिस भएर आउने कर्मचारीको रोजाइमा काठेखोला गाउँपालिका पनि पर्ने हुँदा अरु विकटका पालिकामा जस्तो जनशक्तिको समस्या छैन । प्राविधिक जनशक्तिको पनि पदपूर्ति करारमार्फत गरिएको छ । स्वास्थ्यका केही दरबन्दी रिक्त रहेकोमा प्रदेश लोकसेवा आयोगमा माग फारम भरेर पठाइएको छ । अब केही समयमै स्वास्थ्यमा पनि दरबन्दी अनुसारकै पर्याप्त कर्मचारी व्यवस्थापन गरि सेवा प्रवाह हुने छ । समयसमयमा कर्मचारीको क्षमता अभिबृद्धि गर्न विभिन्न तालिमहरुको आयोजना गरिएको छ । साथै, क्षमता विकास योजना बनाइ कार्यान्वयन गरिएको छ ।
अझै प्रभावकारी कामका लागि भावी योजना के छ ?
विकास समृद्धि र सुशासन कायम गर्नको लागि गाउपालिकाले विभिन्न योजनाहरु अगाडि सारेको छ । साधन स्रोतको उच्चतम् प्रयोग गरि थोरै साधन स्रोतमै धेरै जनताको आकांक्षा परिपुर्ति गर्न गाउँपालिका प्रयासरत छ । आन्तरिक आय बढाउनको लागि काठेखोला गाउँपालिकाले राजस्व सुधार कार्ययोजना निर्माण गरि आव २०८१ बाट कार्यान्वयन गर्ने योजनामा रहेको छ । गाउँपालिकाले उत्पाादनमा आधारित अनुदान कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अनुदान रकममा बृद्धि गरेको छ । नदिजन्य पदार्थको बिक्री वितरणको लागि काठेखोलाभित्र रहेका विभिन्न खोलाहरुको वातावरणीय प्रभाव मूल्यांकन गरि नदिजन्य पदार्थहरुलाई गाउँपालिकाको आम्दानीको स्रोतको रुपमा विकास गर्र्र्ने योजनामा गाउँपालिका रहेको छ । स्रोत साधानको असमान वितरण अन्त्य गरी सकारात्मक विभेदको माध्यमबाट पिछडिएका वर्गको उत्थान र विकास गर्ने गाउँपालिकाको योजना छ ।





