गलकोट नगरपालिकाका उप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगर सभाका सदस्यहरु !
१. गलकोट नगरपालिकाको नगर प्रमुखको हैसियतले सम्मानित नगर सभाको पन्ध्रौं अधिवेशनमा आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेको छु ।
२. यस अवसरमा सर्वप्रथम म मुलुकको राष्ट्रिय एकता र अखण्डता, सार्वभौमिकताको रक्षा तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्तिको खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । साथै विभिन्न कालखण्डका लोकतान्त्रिक आन्दोलन, सशस्त्र विद्रोह, मधेश, थारु आन्दोलनका घाइते, योद्धा, बेपत्ता नागरिक र तिनका परिवारप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
३. नेपालको संविधानले परिकल्पना गरेको सामाजिक न्याय सहितको लोकतान्त्रिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न तीन तहका सरकार बीच सहकारिता, सह–अस्तित्व र समन्वयको मूल मर्मलाई आत्मसाथ गर्दै यहाँका नागरिकको सुख र समृद्धिको चाहना पूरा गर्न गलकोट नगरपालिका दृढ संकल्पित छ ।
४. गलकोट नगरपालिकाले भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको माध्यमबाट नागरिकको सहज र सुलभ सार्वजनिक सेवा प्राप्तिको चाहनालाई केन्द्र बिन्दुमा राखी स्थानीय नागरिकले देख्ने, सुन्ने र अनुभूत गर्ने सरकारको रुपमा आफूलाई स्थापित गर्दै लगेको छ ।
५. नेपालको संविधानले स्थानीय तहलाई प्रदान गरेको अधिकार, दिगो विकास लक्ष्य, नेपाल सरकारको सोह्रौं पञ्चवर्षिय योजना, गण्डकी प्रदेश सरकारको दोस्रो पञ्चवर्षिय योजना, गलकोट नगरपालिकाको दोस्रो पञ्चवर्षिय योजना, नेपाललाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने तैयारी, २०८७ सम्ममा मध्यम आय भएको राष्ट्रमा स्तरोन्नति गर्ने आकांक्षा र यहाँका स्थानीय नागरिकको चाहनालाई दृष्टिगत गरी नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम केन्द्रित गर्दै आएको छ ।
नगर सभाका सदस्यहरु !
अब म गलकोट नगरपालिकाले चालु आ.व. २०८०÷८१ मा हासिल गरेका मुख्य–मुख्य उपलब्धीहरु संक्षिप्तमा प्रस्तुत गर्दछु ।
६. गलकोट नगरपालिका कृषि पेशाको लागि उर्वर भूमि हो । यद्यपि परम्परागत कृषि प्रविधिमा आधारित रहेर मात्रै कृषि पेशामा संलग्न नागरिकको जीवनस्तर उकास्न त्यति सहज छैन । किसानलाई प्रोत्साहित गरी व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित गर्न, कृषि पेशामा युवाहरुको आकर्षण बढाउन तथा नगरपालिकामा हुने तरकारी आयातलाई प्रतिस्थापन गरी स्थानीय उत्पादनको खपत बढाउन गौमुखी कृषि सहकारी संस्था लि.सँगको साझेदारीमा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्पादन सिधै उपभोक्ताले खरिद गर्न सकून् भन्ने हेतुले प्रत्येक शनिबार कृषि हाटबजार सञ्चालन गरी कृषि उपजको बजारलाई चलायमान बनाइएको छ । यसका अतिरिक्त सोही सहकारीसँग सम्झौता गरी सहकारीसँगको समन्वयमा किसानलाई उत्पादनमा आधारित अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
७. कृषि क्षेत्रको बहुआयामिक विकासको लागि व्यवसायिक कृषि फर्मलाई पूँजीगत अनुदान प्रदान गर्ने, साना सिंचाई प्रवर्द्धन गर्ने, विभिन्न बालीहरु जस्तैः आलु, सुन्तला, अदुवा, बेसार, किवी आदिको पकेट तथा ब्लक स्थापना र विस्तार गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइएको छ । यसले गर्दा परम्परागत कृषिलाई आधुनिकतातर्फ रुपान्तरण गर्दै कृषिमा व्यवसायिकरण र विशिष्टिकरण हुँदै गएको छ ।
८. पशुपंक्षीमा महामारी रोगहरु विरुद्ध खोप कार्यक्रम सञ्चालन भएका छन् । पशुपालन व्यवसायलाई बढी प्रतिफलमुखी बनाई व्यवसायिक पशुपालनलाई प्रोत्साहन गर्न घाँसको उन्नत वीउ वितरण गरी घाँस खेतीको विस्तार गरिएको छ । गाई, भैंसी, बाख्रा लगायतको पाकेट कार्यक्रम, पशुमा नश्न सुधार कार्यक्रम, पशुमा लाग्ने विभिन्न रोग विरुद्धको खोप कार्यक्रम, दुध चिस्यान केन्द्रहरुको स्थापना लगायतका कार्यक्रमको कार्यान्वयनबाट दुध र मासुजन्य पदार्थको उत्पादनमा उल्लेखनीय बृद्धि भएको छ । साथै, असला माछाले फुल पार्ने समयमा दरमखोलाको माछा मार्न रोक लगाइएकोले माछा संरक्षण भई खोलामा माछाको उत्पादन बढेको छ ।
९. किसानको उत्पादन खेर जान नदिन कृषि उपजको न्यूनतम समर्थन मूल्य तोकी बजारमा बिक्री नभएको उत्पादन न्यूनतम समर्थन मूल्यमा नगरपालिकाले सहकारीमार्फत खरिद गरिदिने व्यवस्थाको शुरुवात गरिएको छ । यसले गर्दा व्यवसायिक किसानलाई बजारको चिन्ता नगरी निरन्तर उत्पादन र उत्पादकत्व बढाउने दिशामा ध्यान केन्द्रित गर्ने वातावरण सिर्जना भएको छ ।
१०. नगरपालिका भित्रका किसानहरुको पहिचान गरी बास्तविक किसानलाई अनुदान र उत्पादनसँग जोड्न तथा किसानको क्षमता अभिवृद्धि गर्न सहज होस् भन्ने उद्देश्यले यस अघिको आ.व.मा सूचीकरण हुन छुट भएका किसानहरुलाई वडा वडामा पुगेर सूचीकरण गरिएको छ । यसबाट किसानहरुको बास्तविक तथ्याङ्क नगरपालिकाले प्राप्त गरेको छ ।
११. नगरका महत्वपूर्ण पुरातात्विक तथा पर्यटकीय गन्तव्यहरु कोतघर र टेउवामा पूर्वाधार निर्माण गरिएको छ । उक्त स्थानहरुसम्म पुग्ने पहूँचमार्ग स्तरोन्नति गर्ने कार्य भईरहेको छ । कोतघर पुननिर्माणको कार्य नगरपालिका र नेपाली सेनाको साझेदारीमा गरिएको छ ।
१२. नगर मातहतका छ वटा सहकारीको छनौट गरी विज्ञको सहभागितामा सघन अनुगमन गरिएको छ । अनुगमनबाट देखिएका कैफियतहरुको सूधार गर्न समयसीमासहित सुधार गर्न सहकारीलाई निर्देशन गरिएको छ ।
१३. महिलाहरुमा उद्यमशीलता विकास गर्दै आय आर्जनसँग जोड्ने उद्देश्यले एकल, अति विपन्न, दलित, जनजाति लगायतका महिलाहरुलाई होजियारी, मुढा बनाउने, बाँसबाट हस्तकलाका सामान, चप्पल, अचार, आलुचिप्स लगायतका सामाग्री तथा खानेकुरा बनाउने विषयसँग सम्बन्धित आधारभूत र स्तरोन्नति तालिम प्रदान गरी चालु आ.व.मा १०० जना उद्यमी उत्पादन गरिएको छ । समूदायको २० प्रतिशत लागत साझेदारीमा सो विषयसँग सम्बन्धित मेसिन तथा औजार हस्तान्तरण गरी व्यवसायिक उत्पादनमा जोड दिइएको छ ।
१४. रोजगार सेवा केन्द्रमार्फत वेरोजगार व्यक्तिहरुको विवरण तयार गरी चालु आ.व. मा ८२ जना वेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिएको छ । बैदेशिक रोजगारीमा जान चाहने १३३ जना व्यक्तिलाई श्रम स्वीकृत प्रदान गरिएको छ । बैदेशिक रोजगारीबाट फर्केका पीडितहरुको लागि मनोसामाजिक परामर्श, कानूनी परामर्श, रेफरल सेवा लगायतका कार्यक्रममार्फत सामाजिक पुनःएकीकरणमा जोड दिइएको छ । विदेशमा सिकेको सीप प्रमाणीकरण गर्न सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।
१५. गलकोट नगर अस्पताल लगायतका स्वास्थ्य संस्थाहरुमा दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक र कर्मचारीको पदपूर्ति गरी स्वास्थ्य सेवालाई सुलभ बनाइएको छ । अस्पताललगायत स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव हुन नदिन विशेष सजगता अपनाइएको छ । गलकोट नगर अस्पताल परिसरभित्रै सुलभ मूल्यमा बिरामीहरुले सबै प्रकारका औषधीहरु खरिद गर्न सक्नेगरी अस्पताल व्यवस्थापन समितिको पहलमा चौबिसै घण्टा फार्मेसी सेवा उपलब्ध गराउने तैयारी अन्तिम चरणमा पुगेको छ ।
१६. गलकोट नगर अस्पताललाई यस क्षेत्रकै नमूना अस्पताल बनाउने दिशामा नगरपालिका लागिपरेको छ । थायोरोइड, सोडियम पोटासियम, एच. बी. वान. ए. सी., भिटामिन डि, भिटामिन बी १२ लगायतका प्रयोगशाला जाँच थप गरिएको छ । अस्पतालको प्रयोगशालालाई थप व्यवस्थित गर्दै बायोकेमेष्ट्री एनालाइजर मेसिनमार्फत नमूना परीक्षण गरी विरामीले प्रयोगशालाको रिपोर्ट पाउन प्रतिक्षा गर्नुपर्ने समयलाई आधाले न्यूनीकरण गरिएको छ । साथै अपरेसन थिएटर सञ्चालनको अन्तिम तैयारी गरिएको छ । अस्पतालको लागि जग्गा खरिदको कार्य अन्तिम चरणमा पुगेको छ ।
१७. नगरपालिको ११ मनेवास्थित मध्यपहाडी लोकमार्गको छेउमा आवश्यक औषधी उपकरण र स्वास्थ्यकर्मी सहितको आधारभूत शहरी स्वास्थ्य केन्द्र स्थापना गरी यस केन्द्रमा राजमार्ग आपतकालीन स्वास्थ्य सेवा इकाई समेत सञ्चालन भएको छ । यो केन्द्र राजमार्गमा हुन सक्ने दुर्घटनाको प्राथमिक उपचार गर्ने सेन्टरको रुपमा उपयोगी हुने देखिएको छ ।
१८. शिशु जन्मेको १५ महिनासम्ममा प्रदान गर्नुपर्ने १३ वटा खोपहरु सबै शिशुहरुलाई प्रदान गरी नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाको स्वास्थ्य प्रोफाइल तयार गरी प्रकासन गरिएको छ । यसबाट आगामी दिनमा स्वास्थ्य क्षेत्रमा गरिने लगानीलाई दिशानिर्देश गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
१९. दुदिलाभाटी र मल्मस्थित स्वास्थ्य चौकीहरुको भवन निर्माण गर्ने कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । सबै वडाहरुमा आधारभूत स्वास्थ्य सेवा विस्तार र सुधार गरी स्वास्थ्य सेवामा नागरिकको पहूँच र स्वामित्व बढाइएको छ । स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता विकास कार्यक्रम सञ्चालन भैरहेका छन् ।
२०. विभिन्न वडाबाट पिउने पानीको नमूना संकलन गरी नियमित गुणस्तर परीक्षण गर्ने कार्य गरिएको छ । लक्षित समूहका नागरिकहरुमा विभिन्न रोगहरुको स्क्रिनिङ, विपन्न विरामीहरुको लागि आर्थिक सहायता प्रदान, जटिल रोग लागेका विरामीहरुलाई औषधी उपचार सहायता, पोषण तथा खाद्य सूरक्षा कार्यक्रम, विभिन्न रोग विरुद्धको सचेतनामूलक अभियान तथा स्वास्थ्य शिविर सञ्चालन, स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन जस्ता कार्यक्रमबाट स्वास्थ्य क्षेत्रमा थप उपलब्धी हासिल भएका छन् ।
२१. गलकोटबासी नागरिकमा नगरपालिकालाई कर तिर्नुपर्छ भन्ने सचेतना बृद्धि हुँदै गएको छ । गत आ.व. २०७९÷८० को तुलनामा चालु आ. व. २०८०÷८१ मा कर असुलीमा थप प्रगति हासिल भएको छ । नियमित बजार अनुगमनको क्रममा व्यवसाय दर्ता गरी कर तिर्न नागरिकहरुलाई उत्प्रेरित गरिएको छ । साथै बजार अनुगमनमार्फत उपभोक्ता हितको अधिकतम संरक्षण गर्ने प्रयास गरिएको छ ।
२२. नेपाल सरकारले कक्षा छ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई दिंदै आएको दिवा खाजा यस वर्ष कक्षा पाँचसम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई मात्रै दिने भएकोले नगरले कक्षा छ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई आफ्नै स्रोतबाट दिवा खाजा बापतको रकम उपलब्ध गराएको छ । अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गर्न विद्यालयहरुलाई शिक्षण सहयोग अनुदान उपलब्ध गराएको छ । आफ्नो विषयमा उत्कृष्ट नतिजा ल्याउने शिक्षक र परीक्षामा उत्कृष्ट जि. पि. ए. प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने गरिएको छ ।
२३. विद्यालय समायोजन र तह मिलानमा परेका विद्यार्थीहरुलाई यातायात तथा खाजा खर्च बापतको रकम भुक्तानी गर्ने गरिएको छ । प्रसुति विदामा बस्ने शिक्षकहरुको विकल्पमा नगरपालिकाको खर्चमा सट्टा शिक्षक नियुक्ति गरी पठनपाठनलाई नियमित बनाइएको छ ।
२४. विद्यार्थीहरुको शारीरिक, मानसिक र संवेगात्मक विकासको लागि पढाइको साथ साथै खेलकुदमा जोड दिइएको छ । राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता, मेयरकप, पढाइमेला, शैक्षिक सामग्री प्रदर्शनी जस्ता कार्यक्रम उपलब्धी मूलक रुपमा सञ्चालन गरिएको छ ।
२५. आदीवासी,, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, अति विपन्न वर्गलाई मध्येनजर गरी स्वरोजगार र आय आर्जनका कार्यक्रम सञ्चालन गरिएको छ । नगर उपप्रमुख महिला स्वरोजगार तथा महिला शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । सामाजिक कुरीति र जातीय विभेद विरुद्धका कार्यक्रम सशक्त रुपमा सञ्चालन भएका छन् ।
२६. बालमैत्री नगरको दिगोपनाको लागि विभिन्न कार्यक्रम आयोजना गरिएको छ । स्थानीय बाल सञ्जाललाई सक्रिय बनाउदै नगरका विभिन्न विषयगत शाखा, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय आदिलाई बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिता जस्ता बाल अधिकारका क्षेत्रमा जवाफदेही बनाइएको छ ।
२७. स्थानीय भाषा, साहित्य र कलाको संरक्षणमा सहयोग गरिएको छ । स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्ने व्यक्तिहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यको थालनी भएको छ ।
२८. स्थानीय पूर्वाधार सेवाहरु सडक, खानेपानी, सिंचाई, तटबन्धन, झोलुङ्गे पुल प्रशासकीय भवन, वडा कार्यालयका भवन, स्वास्थ्य संस्थाका भवन, विद्यालय भवन आदिको निर्माणमा प्राथमिकता दिइएको छ । साना योजनाहरु स्थानीय उपभोक्ताको सहकार्य र साझेदारीमा निर्माण भैरहेका छन् ।
२९. योजना छनौट र कार्यान्यनमा सहभागितामूलक पद्दति अबलम्बन गरिएको छ । वडा कार्यालयसम्मका पहूँच मार्गलाई बाह्रै महिना सुचारु हुने गरी स्तरोन्नती गरिएको छ । मुख्य–मुख्य सडकको दिगोपना सुनिश्चित गर्न ढलान गर्ने कार्यको शुरुवात भएको छ ।
३०. फोहोरमैला व्यवस्थापन तथा सरसफाईको कामलाई व्यवस्थित बनाइएको छ । नागरिकहरुलाई घरघरमा फोहरको वर्गीकरण गर्न तथा सार्वजनिक स्थानमा फोहोर नगर्न सचेतनाका कार्यक्रम गरिएको छ ।
३१. विपद प्रतिकार्यको लागि नगरपालिकाले चासो लिएको छ । आपतकालीन कार्यसञ्चालन केन्द्रको स्थापना गरी विपद् प्रतिकार्य तथा उद्दारको लागि चाहिने अत्यावश्यक सामाग्रीको भण्डारण गरिएको छ । विपद् व्यवस्थापन कोषमा रकम अभाव हुन नदिने प्रवन्ध मिलाइएको छ ।
३२. सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो–छरितो, गुणस्तरीय र नागरिकमैत्री बनाइएको छ । फजुल खर्च कटौती गर्दै मितव्ययिता कायम गरिएको छ।वेरुजु न्यूनीकरणलाई प्राथमिकतामा राखिएको छ । वित्तीय अनुशासन कायम गरी भ्रष्टाचार र अनियमितता हुन नदिन सिंगो नगरपालिका एकजुट भई लागिपरेको छ ।
३३. वडास्तरीय मेलमिलाप केन्द्रलाई व्यवस्थित गरिएको छ । मेलमिलाप कर्ताहरुको क्षमता विकास गर्ने कार्यक्रमहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् ।
नगर सभाका सदस्यहरु !
अब म आगामी आ.व.२०८१÷०८२ मा नगरपालिकाले लिने नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु ।
३४. कृषिमा लागेर सफल भएका युवा व्यवसायीहरुसँग कृषि पेशामा लाग्न चाहने र कृषि पेशामा संलग्न भैरहेका युवा किसानहरुलाई साक्षात्कार गराई सफल किसान बन्न सघाउने उद्देश्यले कृषिसँग युवा कार्यक्रम सञ्चालन गरिने छ ।
३५. दरम खोलाको असला माछाको संरक्षण तथा उपयोग गरिने छ । हरेक वर्ष माछाले फूल पार्ने र भुरा उत्पादन हुने समयमा माछा मार्न प्रतिबन्ध लगाइने छ । माछा मार्न इजाजत पत्र वितरण गरी इजाजत प्राप्त व्यक्तिले मात्र तोकिएको विधि र समयमा मात्र माछा मार्न पाउने व्यवस्था गरिने छ ।
३६. तरकारी, फलफूल, नगदेबाली, अन्न बाली, मसलाजन्य बाली, पशुपालन, पंक्षीपालन, मत्स्य पालन लगायतका उत्पादनमा विशिष्टीकरण गर्न कृषिलाई पकेट र ब्लकको रुपमा विस्तार गर्दै लगिने छ । पकेट र ब्लकको आवश्यकताको आधारमा कृषि तथा पशु प्राविधिकको भरपर्दो सेवा उपलब्ध गराइने छ । सम्भाव्यताको आधारमा उपयुक्त स्थानहरुमा मौरी विकास कार्यक्रम लागू गरिने छ ।
३७. नयाँ व्यवसायिक कृषि फर्म स्थापना गरी स्वरोजगार हुन चाहने एवं पुरानो कृषि व्यवसाय विस्तार गर्न चाहने युवा किसानलाई पूँजीगत अनुदान प्रदान गर्ने कार्यक्रमलाई निरन्तरता दिइने छ । कृषि फर्महरुको नियमित अनुगमन गरी मागमा आधारित कार्यक्रममार्फत आवश्यक सहयोग र सहजीकरण गरिने छ ।
३८. व्यवसायिक किसानहरुमा विषादीको प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ । खेतीमा रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक मलखाद प्रयोग गर्न प्रोत्साहन गरिने छ । कृषि उपजको न्यूनतम समर्थन मूल्य लागू गरिने छ ।
३९. गलकोट नगरपालिकालाई दुध र दुग्धजन्य उत्पादनमा आत्मनिर्भर बनाउँदै लगिने छ । दुध संकलन तथा चिस्यान केन्द्रलाई थप व्यवस्थित गरिने छ । पशुहरुमा कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार गरी उत्पादकत्व बढाइने छ ।
४०. पशुपंक्षीमा महामारी रोग विरुद्धको खोप कार्यक्रमलाई निरन्तरता दिइने छ । पशु सेवा शाखामा ल्याव सहितको डिस्पेन्सरी स्थापना गरी नियमित प्रयोगशाला परीक्षणको व्यवस्था मिलाइने छ । सबै वडाहरुमा कृषि तथा पशु प्राविधिकको व्यवस्था गरिने छ ।
४१. पशु बधशाला एवं मासु पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गर्न सचेतना वृद्धि गरिने छ । छाडा चौपाया एवं भुस्याहा कुकुरहरुको नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने छ ।
४२. गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमलाई उद्यमी बन्न चाहने व्यक्तिको रुचीको क्षेत्र, बजारको माग र स्थानीय आवश्यकताको आधारमा सञ्चालन गरिने छ । उद्यमशीलता विकास तालिममा एकल महिला, दलित, अपाङ्गता भएका व्यक्ति, पिछडिएको वर्ग र क्षेत्रका समूदायलाई विशेष प्राथमिकता दिइने छ ।
४३. नगरपालिकाका विभिन्न जातजाति र समूदायले अवलम्बन गर्दै आएको परम्परागत पेशालाई प्रविधि हस्तान्तरणको माध्यमबाट प्रवद्र्वन गरिने छ । परम्परागत पेशालाई आधुनिकीकरण गर्दै युवाहरुको आकर्षण वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
४४. बैदेशिक रोजगारीलाई सूरक्षित र मर्यादित बनाउन बैदेशिक रोजगारीमा जान लागेका युवाहरुलाई सीपमुलक तालिम र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने छ । पुनः बैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरुको लागि श्रम स्वीकृति प्रदान गर्ने प्रक्रियालाई अझै सरलीकृत गर्दै प्रभावकारी र सेवाग्राहीमैत्री बनाइने छ ।
४५. बैदेशिक रोजगारीमा गएका व्यक्ति र उनीहरुको परिवारमा देखा पर्ने स्वास्थ्य र मनोसामाजिक समस्याको जोखिम न्यूनीकरण गर्न मनोसामाजिक परामर्शको कार्यक्रमलाई निरन्तरता दिइने छ । विप्रेषणबाट प्राप्त आयलाई औपचारिक माध्यमबाट स्वदेशमा भित्र्याउन र कमाइको सदुपयोग गर्ने सीप अभिवृद्धि गर्न नियमित रुपमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरिने छ ।
४६. गलकोट नगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारी संस्थाहरुलाई जिम्मेवार बनाइने छ । सहकारीको सुक्ष्म र सघन अनुगमनलाई जोड दिंदै सहकारीप्रति नागरिकको विश्वास आर्जन गर्ने वातावरण बनाइने छ । सहकारीका संचालक समितिको क्षमता विकास गरी कानूनको परिधिभित्र सहकारी संस्था संचालन हुने वातावरण निर्माण गरिने छ ।
४७. सहकारी संस्थाहरुको विधान स्थानीय सहकारी कानून बमोजिम परिमार्जन गर्न सहजीकरण गरिने छ । सबै सहकारी संस्थाहरुलाई कोपोमिस प्रणालीमा अनिवार्य आवद्ध गर्ने व्यवस्था गरिने छ ।
४८. गलकोट नगरपालिकाको ऐतिहासिक धरोहर कोतघर तथा गढीलाई संरक्षण र पुननिर्माण गरी पर्यटनसँग जोडिने छ । टेउवा अन्तर्राष्ट्रय मूर्तिकला संग्राहलयको संरक्षण र विकास गरी यसै आ.व.देखि पर्यटन शुल्क लिने कार्यको थालनी गरिने छ । गलकोट नगरपालिकाभित्र रहेका पर्यटकीय धरोहरहरु जस्तै घुम्टेको लेक, सहस्रधारा झरना, रमुवा, निलुवा, थालेपोखरा, कालीलेक, राम्चे ढुङ्गा, सिद्धथान, उदय बुद्ध विहार, शिवधुरी, गाजाधुरी आदिको विकास र प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गरिने छ ।
४९. नगरपालिकाका रमुवा, पाण्डवखानी, निलुवा लगायत विभिन्न स्थानमा आयोजना हुने मह शिकार कार्यक्रमलाई पर्यटनसँग जोडेर सञ्चालन गर्नको लागि प्रोत्साहन गरिने छ ।
५०. नगरभित्रको आधारभूत स्वास्थ्य सेवालाई गुणस्तरीय र भरपर्दो बनाइने छ । गलकोट नगर अस्पताललाई थप सुदृढीकरण गरी सेवा विस्तारमा प्राथमिकता दिइने छ । आगामी आ.व.मा सिईओएनसि सेवा सञ्चालनमा ल्याइने छ । डाइलाइसिस र फिजियोथेरापी सेवा थप गर्न अध्ययन शुरु गरिने छ । नगर अस्पतालको आवश्यकताको आधारमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यलाई अगाडि बढाइने छ । नगर उपप्रमुखसँग थ्रोम्बोलाइसिस कार्यक्रम सञ्चालन गरी हृदयघातका विरामीहरुको उपचार गर्ने कामको शुरुवात गरिने छ ।
५१. सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड कार्यक्रम लागू गरिने छ । सबै स्वास्थ्य संस्थाको पूर्वाधार मापदण्ड बमोजिम हुने व्यवस्था मिलाइने छ । थप स्वास्थ्य संस्थामा प्रयोगशाला र ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रम विस्तार गरिने छ । स्वास्थ्य संस्थाहरुलाई प्रविधिमैत्री बनाई आगामी आ.व.देखि कागजबिहिन अभिलेख र प्रतिवेदनलाई पूर्ण रुपमा लागू गरिने छ ।
५२. घर घरमा जेष्ठ नागरिक कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिइने छ । अति विपन्न परिवार र ‘ग’ वर्गका अपाङ्गता भएका नागरिकहरुलाई स्वास्थ्य बीमा कार्यक्रममार्फत विशिष्टीकृत स्वास्थ्य सेवाको पहूँचमा ल्याइने छ । गलकोट नगर अस्पतालमा विपन्न नागरिकलाई उपचारमा सहुलियत दिन विपन्न नागरिक उपचार कोष स्थापना गरिने छ ।
५३. नगरप्रमुख मातृ तथा शिशु पोषण कार्यक्रमलाई निरन्तरता दिइने छ । टाढाबाट प्रसुति गराउन आउने गर्भवती महिलाहरुलाई बस्ने व्यवस्था गर्न आवश्यकताको आधारमा स्वास्थ्य संस्थाहरुमा सुविधा सम्पन्न प्रसुति प्रतिक्षा घरको व्यवस्था गरिने छ । गर्भवती र सुत्केरी महिलाको लागि आकस्मिक रेफर गर्नुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ । नेपाल सरकारले तोकेको ९८ प्रकारका निःशुल्क औषधी सबै स्वास्थ्य संस्थाबाट बाह्रै महिना उपलब्ध हुने व्यवस्था मिलाइने छ ।
५४. क्षयरोग मुक्त अभियान गलकोट कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिने छ । खकारको नमूना परीक्षण र एक्स–रे को माध्यमबाट क्षयरोगको स्क्रिनिङ कार्यक्रम सशक्त रुपमा अगाडि बढाइने छ । अन्य मौसमी सरुवा रोग तथा नसर्ने रोगविरुद्ध समेत सचेतना अभियान सञ्चालन गरिने छ ।
५५. खानेपानीको स्वच्छता कायम गरी पानीजन्य रोगहरुको संक्रमण कम गर्न समय समयमा खानेपानीको परीक्षण गरिने छ । खानेपानीको मुहानदेखि धारासम्म पानीको स्वच्छता कायम गर्न स्थानीय खानेपानी उपभोक्ता समिति परिचालन गरिने छ ।
५६. गर्भवती महिलालाई नियमित स्वास्थ्य परीक्षणमा सहभागी गराउन पहिलो पटकको भेटमा गर्भवतीको फोटो अंकित फ्रेम बनाई सो फ्रेममा गर्भ जाँचको मिति, अनुमानित सुत्केरी हुने मिति, खतराका लक्षणहरु जस्ता उपयोगी विषयहरु उल्लेख गरी उपहारको रुपमा प्रदान गर्ने कार्यको शुरुवात गरिने छ ।
५७. विभिन्न तहका सरकार र संघ संस्थासँगको सहकार्यमा नागरिकलाई स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य शिविर एवं नसर्ने रोगको स्क्रिनिङ शिविर आयोजना गरिने छ । सबै महिला स्वास्थ्य स्वयंसेविका एवं विद्यालयहरुमा प्राथमिक उपचार किट बक्स उपलब्ध गराइने छ ।
५८. गलकोट नगरभित्र बसोबास गर्ने विभिन्न जातजातिको संस्कृतिको संरक्षण गरी सांस्कृतिक पहिचानलाई जीवन्त बनाइने छ । यस क्षेत्रका गीत, नाच, कला, जात्रा, मेला र पर्वलाई जगेर्ना गरी पर्यटनसँग जोड्न प्रोत्साहन गरिने छ । स्थानीय स्रोत, साधन र बास्तुकलाको प्रयोग गरी निजी घर निर्माण गरेमा नक्सा पास दस्तुरमा छुट दिने नीति लिइने छ ।
५९. मुस्लिम समुदायका व्यक्तिको मृत्यु भएपछि अन्तिम संस्कार गर्ने कार्यमा कठिनाई देखिएकोले सो को लागि उपयुक्त स्थल पहिचान गरी कबरस्थान निर्माण गर्न विशेष पहल गरिने छ ।
६०. दलित, आदिबासी, जनजाति, मुस्लिम, एकल महिला, पिछडिएको वर्ग, अपाङ्गता भएका व्यक्ति, यौनिक अल्पसंख्यक र अति विपन्न वर्गलाई सीप विकास र स्वारोजगारका कार्यक्रममार्फत आय आर्जनसँग जोडेर सशक्तिकरण गरिने छ । नगरभित्रका कुमाल र गन्दर्भ समुदायको उत्थानको लागि विशेष कार्यक्रम सञ्चालन गरिने छ ।
६१. सामाजिक न्यायमा आधारित समतामूलक र सभ्य समाज निर्माण गर्न महिलामाथि हुने लैंङ्गिक तथा यौनिक हिंसा, सामाजिक विभेद, छुवाछुत, अन्धविश्वास, सामाजिक कुप्रथा र कुरीति जस्ता विकृतिहरुलाई न्यूनीकरण गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
६२. आगामी आ.व.देखि अनौपचारिक क्षेत्रमा काम गर्ने विपन्न श्रमिक र स्वरोजगार व्यक्तिको हितको लागि सामाजिक सूरक्षा कोषसँगको सहकार्यमा योगदानमा आधारित सामाजिक सूरक्षा योजनाको शुरुवात गरिने छ ।
६३. अपाङ्गता भएका व्यक्तिको अधिकारलाई थप संस्थागत गर्दै लगिने छ । अपाङ्गता भएका व्यक्तिहरुको खोजी गर्न अपाङ्गता पहिचान शिविर सञ्चालन गरिने छ । आवश्यकता पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुको लागि सहयोगी सामाग्रीहरु प्रदान गरिने छ । हस्तलिखित अपाङ्गता परिचयपत्रलाई स्मार्ट कार्डमा रुपान्तरण गरी निश्चित समयमा अपाङ्गता परिचय पत्र नवीकरण गर्ने व्यवस्था गरिने छ ।
६४. बालमैत्री नगर दिगोपनाको लागि सबै समिति र सञ्जालहरुलाई सक्रिय रुपमा परिचालन गरिने छ । बाल वस्तुगत प्रोफाइलका आधारमा लगानी योजना निर्माण गरी सुधारका कार्यक्रम सञ्चालन गरिने छ । बाल विवाह न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरिने छ ।
६५. बालबालिकाहरुलाई विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्था गरिने छ । विद्यालयका शौचालय स्वच्छ , सफा, बालमैत्री र अपाङ्गमैत्री हुने गरी निर्माण गरिने छ ।
६६. गलकोट नगरपालिकामा देशभित्र र बाहिरका अन्य स्थानबाट आएका दक्ष कामदार र तिनीहरुको कामको विवरण संकलन गरी सो काम स्थानीय युवामा सिकाई विभिन्न निकायको सहकार्यमा स्थानीय रोजगारी प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिने छ ।
६७. प्रारम्भिक बाल शिक्षालाई गुणस्तरीय बनाउँदै सबै बालबालिकाहरुको समतामूलक पहूँच स्थापित गर्न प्रारम्भिक बालशिक्षा कार्यक्रम विस्तार गर्दै लगिने छ । बाल विकास केन्द्रहरुमा अध्यापन गर्ने शिक्षकहरुलाई क्षमता विकास तालिम प्रदान गर्दै उचित सिकाइ सामग्री व्यवस्थापन गरी बाल विकास केन्द्रहरुलाई बालमैत्री बनाइनेछ ।
६८. विद्यालयको समायोजन र तहमिलानको कारणबाट मर्कामा परेका समुदायका विद्यार्थीलाई छात्रावासको प्रबन्ध गरी निशुल्क आवासीय सुविधासहित पढ्न पाउने व्यवस्था गरिने छ । त्यस्तो छात्रावासमा बस्ने विद्यार्थीहरुको लागि अतिरिक्त क्रियाकलाप र कक्षा सञ्चालन गर्न सहजीकरण गरिने छ । नगरपालिकाद्वारा कक्षा छ मा अध्ययनरत विद्यार्थीलाई दिंदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिइने छ ।
६९. शिक्षक, विद्यार्थी र अभिभावक बीचको त्रिकोरात्मक सम्बन्धको व्यवस्थापनबाट मात्रै शिक्षाको उपलब्धी हासिल हुन सक्ने भएकोले अभिभावक सचेतनाको लागि अभिभावक शिक्षा कार्यक्रम लागू गरिने छ ।
७०. सरकारी लाभको पदमा बसेका व्यक्तिले गलकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयमा आफ्ना बाबुनानीहरुलाई भर्ना गरी पढाएमा विशेष प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने छ ।
७१. विद्यार्थीले आफ्ना गुनासो प्रत्येक्ष रुपले नगर प्रमुखसँग राख्ने व्यवस्था गरी शैक्षिक क्रियाकलापमा सुधार ल्याउन सामुदायिक विद्यालयहरुमा विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम सञ्चालन गरिने छ ।
७२. विद्यार्थीको सिकाई उपलब्धीलाई सुधार गरी उत्कृष्ट नतिजा प्राप्त गर्न कक्षा ८ र एसईई परीक्षा लक्षित अंग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन गरिने र कक्षा ८ मा अनुत्तीर्ण भएका विद्यार्थीलाई विद्यार्थी लक्षित सिकाई कार्यक्रम सञ्चालन गरिने छ ।
७३. विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई विश्वसनीय बनाउन परीक्षा प्रणालीलाई मर्यादित र व्यवस्थित बनाइने छ । कक्षा ५ , ८ र १० को अर्धवार्षिक परीक्षा र कक्षा ५ र ८ को वार्षिक परीक्षा नगरबाट सञ्चालन गरी कक्षा ४, ६, ७ र ९ को बार्षिक परीक्षाको प्रश्नपत्र नगरबाटै निर्माण गरी विद्यार्थी मूल्याङ्कनमा एकरुपता कायम गरिने छ ।
७४. शिक्षकहरुलाई प्राथमिकताको आधारमा आधारभूत तहको सूचना प्रविधि सम्बन्धि तालिम प्रदान गरिने छ । विद्यालयहरुलाई सूचना प्रविधिमैत्री बनाउँदै लगिने कार्यलाई निरन्तरता दिइने छ ।
७५. विद्यालय अनुगमनलाई सूचकमा आधारित बनाउँदै नियमित र आकस्मिक रुपमा अनुगमन गरिने छ । अनुगमनकर्ताले कानून बमोजिम दिएको निर्देशनलाई अनिवार्य रुपले पालन गर्नुपर्ने परिपाटीको थालनी गरिने छ ।
७६. प्रसुति विदामा वसेका शिक्षक तथा बाल विकास सहजकर्ताको विकल्पमा विदा अवधिभर बैकल्पिक शिक्षकको व्यवस्था गर्ने कार्यलाई निरन्तरता दिइने छ । यसको लागि सम्भव भएसम्म विषय मिल्ने सेवा निवृत्त शिक्षकलाई खाजा खर्च उपलब्ध गराउने गरी स्वयंसेवक शिक्षकको रुपमा परिचालन गर्ने नीति लिइने छ ।
७७. नगरबासीलाई आधारभूत स्तरको खानेपानी सुबिधा उपलब्ध गराइने छ । खानेपानीको दिगो स्रोत सुनिश्चितताका लागि खानेपानीको मुहानलाई दर्ता गरी सम्बन्धित समूदायले संरक्षण गर्ने अभियान चलाइने छ । नगरस्तरीय खानेपानी समितिको गठन गरी खानेपानीको मर्मत संभार र शुल्क लिने विषयलाई व्यवस्थित गरिने छ ।
७८. कृषियोग्य भूमिमा सिंचाईं पूर्वाधार विस्तारलाई तीब्रता दिइने छ । मौजुदा सिंचाईं प्रणालीहरुको मर्मत संभार गरी पानीको स्रोत उपलब्ध हुने स्थानमा बाह्रै महिना सिंचाईं सुविधा उपलब्ध हुने व्यवस्था गरिने छ ।
७९. निर्माण गर्न बाँकी रहेका वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुको भवन निर्माण कार्यको थालनी गरिने छ । निर्माणाधिन भवनहरुको निर्माण सम्पन्न गर्ने दिशामा द्रुत गतिमा निर्माण कार्यलाई अगाडि बढाइने छ । नगरपालिकाको प्रशासकीय भवन निर्माणको कार्यलाई यसै आ.व.मा सम्पन्न गरिनेछ ।
८०. योजना कार्यान्वन र मर्मत संभारमा स्थानीय नागरिकको अपनत्व वृद्धि गर्न नगरपालिकाको बस्ती बाक्लो भएका दुई वटा क्षेत्रमा कम्तिमा २० लाखभन्दा माथि लागत अनुमान भएको एक÷एक वटा नमूना पूर्वाधार विकास योजना छनौट गरी समुदायको ३० प्रतिशत नगद लागत सहभागितामा निर्माण कार्य सम्पन्न गरिनेछ ।
८१. स्थानीय कच्ची सडकहरुको आयु बढाउन नाली निर्माण गरी वर्षे भेल कटाउने कार्यलाई अगाडि बढाइने छ । वडाका सबै सडकको नामाकरण गरी चोकहरुमा दिशानिर्देश संकेत चिन्हयुक्त बोर्ड राख्ने व्यवस्था गरिनेछ ।
८२. उपभोक्ता समितिबाट काम गराउने योजना पहिचान गरी आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्रै उपभोक्ता समिति गठन तथा योजना सम्झौता गरी उपभोक्ता समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण गर्ने व्यवस्था मिलाइने छ । उपभोक्ता समितिबाट कार्यान्वयन हुने कम्तिमा १० लाख रुपैयाँभन्दा माथिका भौतिक पूर्वाधारका योजनामा कामदारको दुर्घटना बीमा गर्ने नीति अबलम्बन गरिनेछ ।
८३. विनियोजन दक्षता र कार्यान्वयन कुशलता कायम गर्दै विकासको प्रतिफललाई मापनयोग्य बनाउन एक लाखभन्दा साना योजनामा बजेट विनियोजन नगर्ने नीति लिइनेछ । प्रत्येक वडाका एक–एक वटा योजनालाई नगर गौरवको योजना घोषणा गरी आगामी आ.व.मा कम्तिमा ५ वटा वडाका योजना कार्यान्वयन गरिने छ ।
८४. नगरपालिकालाई आवश्यक पर्ने सरकारी भवनबाहेक अन्य सामुदायिक भवन निर्माणको लागि बजेट विनियोजन गरिने छैन । भौतिक पूर्वाधार निर्माण कार्यको गुणस्तर जाँच गरी तोकिएको गुणस्तर सुनिश्चित गर्न आवश्यक उपकरण सहितको ल्याव स्थापना गरिनेछ ।
८५. नगर क्षेत्रभित्र नक्सा पास नगरी संरचना निर्माण गर्ने कार्यलाई निरुत्साहन गरिने छ । कार्यविधि तर्जुमा गरी नगरभित्र निर्माण भै सकेका घरहरुको सूचीकरण गर्ने कार्यको थालनी गरिनेछ ।
८६. आवश्यकताको आधारमा पुराना झोलुङ्गे पुल विस्थापन र नयाँ निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने छ । यसका लागि स्थानीय समुदाय र गैर सरकारी संघ, संस्थाहरुसँग आवश्यक सहकार्य गरिनेछ । नगरपालिकाले निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री, बालमैत्री र लैङ्गिकमैत्री हुने गरी निर्माण गरिनेछ ।
८७. नगरका विभिन्न वडाका सम्बेदनशील क्षेत्रहरुमा सि.सि. क्यामेरा जडानको कार्यलाई विस्तार गर्दै लगिने छ । यसअघि जडान भएका र अब जडान हुने सि.सि. क्यामेरालाई नगरपालिकाको आफ्नै फाइबर सञ्जाल विस्तार गरी सञ्जालीकरण गरिने छ ।
८८. नगरपालिकाको भू–उपयोग मापदण्ड बमोजिम आवास क्षेत्रमा वर्गीकृत भएका मजुवा फाँट, बेशीफाँट, लमहीफाँट, शेरा फाँट, आँगाखेत जस्ता स्थान एवं मध्यपहाडी लोकमार्गका दायाँबायाँका आवासिय जमिनमा सदियार जग्गाधनीहरु मिलेर सडकको ट्रयाक खोल्न चाहेमा नगरपालिकाबाट सहजीकरण गरी लागत सहभागितामा पूर्वाधार निर्माण गरिने छ ।
८९. नगरका घरहरुको गुगल प्लस कोड भएको घर नम्बरसहित अभिलेखीकरण गरिने छ । नक्सा पास प्रक्रियालाई विद्युतीय भवन अनुमति प्रणालीमा आवद्ध गर्दै लगिने छ । नक्सा पास नगरी घर निर्माण गर्ने घरधनीलाई नगरपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा रोक्का गर्ने व्यवस्था गरी घर नक्सा पास गर्ने कार्यलाई कडाइका साथ पालना गर्ने वातावरण तयार गरिने छ ।
९०. नगरबासीहरुको सुविधालाई मध्येनजर गरी कित्ता नापी नक्सालाई नगरपालिकाबाट वितरण गर्ने प्रयोजनका लागि मेरो कित्ता संस्थागत गरिने छ । यसै आ.व.देखि नगरपालिकामा भू–सेवा केन्द्र (एब्ः) संचालनमा ल्याइने छ ।
९१. नगरपालिकास्थित सामुदायिक वन उपभोक्ता समूहहरुलाई सक्रिय तुल्याइने छ । वन जंगलमा हुने डढेलोजन्य विपद्लाई नियन्त्रण गर्न सामूदायिक वन उपभोक्ता समितिलाई परिचालन गरिने छ ।
९२. नगरपालिकामा अवैध रुपमा सञ्चालित निजी ढुङ्गाखानी र नदी उत्खननलाई बन्द गरिने छ । नगरकार्यपालिकाबाट कार्यविधि तर्जुमा गरी वातावरणीय प्रभाव मूल्याङ्कनको आधारमा अनुमति लिएर मात्रै सञ्चालन गर्ने व्यवस्था मिलाईने छ ।
९३. नगर क्षेत्रका सार्वजनिक स्थल जस्तैः नदी, खोला, ताल, पोखरी, पार्क, सडक, खेल मैदान लगायतका ठाउँहरुमा फोहोर गर्नेलाई कानूनी दायरामा ल्याइने छ।मेरो फोहोर ,मेरो जिम्मेवारी अभियान संचालन गरी घरबाट निस्किने फोहोरलाई वर्गीकरण गर्न नगरबासीलाई प्रोत्साहन गरिने छ ।
९४. दलित, विपन्न, एकल महिला, जेष्ठ नागरिक, पिछडिएको समूदाय आदिको लागि धुवाँ रहित र किफायती चुलो निर्माण गर्न लागत साझेदारीमा अनुदान दिने व्यवस्था गरिने छ । यसबाट वातावरणीय स्वच्छता कायम भई मानवीय स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
९५. निजी जग्गाका खेतीयोग्य जमिनमा रहेका अनावश्यक झाडी र मिचाहा प्रवृत्तिका बोट बिरुवालाई फँडानी गरी डालेघाँस तथा फलफूलका बिरुवा लगाउन किसानलाई प्रोत्साहित गरिने छ ।
९६. नगरक्षेत्रभित्र रहेका ताल, तलैया, कुवा, पोखरी, ढूङ्गेधारा लगायतका प्राकृतिक जलाशय वर, पिपल, स्वामी लगायतका वृक्षहरु र परम्परागत चौतारी र पाटी पौवाको संरक्षण गरिने छ ।
९७. नगरपालिका भित्रको पहिरोको जोखिम रहेको सडक क्षेत्राधिकार गल्छी र भूक्षय गएको क्षेत्रमा जमिन संरक्षण गर्न बाँस, निगालो र अम्रिसो जस्ता बिरुवा रोपी वायो इन्जिनियरिङ प्रविधिलाई प्रोत्साहन गरिने छ । नगर सडकका आसपासमा बिरुवा रोपी हरित सडकको अवधारणालाई कार्यान्वयन गरिने छ ।
९८. सूरक्षा निकायहरुसँग समन्वय गरी प्रत्येक वडाका दश÷दश जना युवाहरुलाई विपद् प्रतिकार्य सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरी विपद प्रतिकार्य स्वयंसेवक उत्पादन गरिने छ । उक्त स्वयंसेवकहरु मार्फत नागरिकहरुमा विपद् व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने छ । आपत्कालिन कार्यसञ्चालन केन्द्रमा विपद व्यवस्थापनसँग सम्बन्धित सामग्रीहरुको जोहो गरी विपद्को समयमा प्रयोग गर्न सकिने गरी भण्डारण गरिने छ । सबै वडा कार्यालयहरुमा विपद् व्यवस्थापनका आधारभूत सामाग्रीहरुको आपूर्ति गरिने छ ।
९९. नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरिने छ । अन्तर पालिका स्तरीय विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गर्न सरोकारवाला निकायहरुसँग समन्वय तथा सहकार्य गरिने छ ।
१००. सार्वजनिक सेवा प्रवाहलाई सूचना प्रविधिसँग आवद्ध गरी छिटोछरितो मितव्ययी र गुणस्तरीय बनाइने छ । नागरिक सहायता कक्षको व्यवस्था गरी सेवा लिन आउने नागरिकलाई सहजीकरण गरिने छ ।
१०१. राष्ट्रसेवक कर्मचारी र शिक्षकलाई कामप्रति उत्प्रेरित गर्ने नीति लिइने छ । राष्ट्रसेवकमा आधुनिक प्रविधि, अनुशासन, ज्ञान, सिप र पेशागत मर्यादा विकास गर्न विभिन्न निकायहरुसँगको सहकार्यमा तालिम प्रदान गरिने छ । दण्ड र पुरस्कारको व्यवस्थालाई बस्तुनिष्ठ बनाई कडाइका साथ कार्यान्वयन गरिने छ ।
१०२. राज्यले लिएको भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको नीतिलाई कठोरताका साथ कार्यान्वयन गरिने छ । हाल सम्मको वेरुजुलाई फर्छ्यौट गरी आगामी दिनमा बेरुजु न्यूनीकरण गर्न बेरुजु असुली तथा कानूनी र प्रक्रियागत सुधार गरिने छ । नगरपालिकाको काम कारवाहीमा पारदर्शिता कायम गर्दै सूचनाको हकको प्रवर्द्धन गरिने छ ।
१०३. सरकारी चालु खर्चमा मितव्ययीता कायम गर्ने उपायहरुको अवलम्बन गरिने छ । सरकारी कार्यक्रममा खादा, आयातित माला, ब्याच, मायाको चिनो जस्ता चिजहरुको प्रयोगलाई निरुत्साहित गरिने छ ।
१०४. यसै आर्थिक वर्षदेखि फरक प्रदेशका स्थानीय तहसँग नगरपालिकाले भगिनी सम्बन्ध स्थापना गर्ने कार्यको शुरुवात गरिने छ । एकअर्का स्थानीय तहको अनुभव र सिकाईलाई स्थानीय तहको सुशासन, विकास र समृद्धिको प्राप्तिमा लगाइने छ ।
१०५. नगरले राखेको लक्ष्य अनुरुप राजश्व संकलन गर्न तथा करदाता नागरिकलाई सहजीकरण गर्न घुम्ती सेवामार्फत सम्पत्ति कर, भूमि कर, फोहोर मैला कर, घरबहाल कर संकलन गरिने छ । व्यवसाय दर्ता नगरेका व्यवसायीहरुको लागि घर दैलोमा पुगेर व्यवसाय दर्ता गरी कर संकलन गरिने छ । अनलाइन कर भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाई निरन्तरता दिइने छ ।
१०६. विकास योजनाहरुको कार्यान्वयन निर्दिष्ट समयमै सम्पन्न गर्न उपभोक्ता समितिमार्फत कार्यान्वयन गरिने निश्चित बजेट सीमा सम्मका योजनाहरुको योजना सम्झौता वडा कार्यालयले नै गर्ने व्यवस्था गरिने छ । उपभोक्ता समितिहरुले योजनाहरुको सम्झौता आ.व.को दोस्रो चौमासिक अवधिभित्र नगरेमा स्वतः बजेट समर्पण हुने व्यवस्था गरी योजना कार्यान्वयनमा गुणस्तर कायम गर्दै योजना समयमै सम्पन्न हुने वातावरण निर्माण गरिने छ ।
१०७. उपभोक्ता हितको संरक्षण, अखाद्य बस्तुको विक्री वितरणमा रोक तथा कालो बजारी नियन्त्रण गर्न बजार अनुगमन कार्यलाई थप व्यवस्थित गरिने छ । खाद्य स्वच्छताका विधिहरु पालना गर्न उपभोक्ता, उत्पादक र व्यापारीलाई सचेत गर्दै लगिने छ ।
१०८. स्थानीय टोल विकास समितिलाई सूचीकरण गरी स्थानीय प्रहरीसँगको समन्वयमा टोलमा शान्ति सूरक्षा र अमनचयन कायम गर्ने, दण्ड जरिवाना तथा फोहोर व्यवस्थापन शुल्क असुली गर्ने जस्ता कार्यमा परिचालन गरिने छ । कानून बमोजिम सो कार्य गरेबापत निश्चित प्रतिशत रकम प्रोत्साहन स्वरुप उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
१०९. नगरपालिकामा हालसम्म तर्जुमा भएका कानूनहरुलाई डिजिटाइज्ड गरिने छ । आवश्यक कानूनहरुको पहिचान गरी निर्माण गर्ने कार्यलाई द्रुत गतिमा अगाडि बढाउन विधायन समितिलाई सक्रिय बनाइने छ ।
११०. नगरपालिकामा बसोबास गर्ने नागरिकहरुमा न्यायको अनुभूति दिलाई सामाजिक ऐक्यबद्धतामार्फत भाइचाराको भावना विकास गर्न वडा स्तरका मेलमिलाप केन्द्रहरुलाई व्यवस्थित र सक्रिय बनाइने छ । मेलमिलापकर्तालाई पुर्नताजगी तालिमको व्यवस्था गरी क्षमता विकास गरिने छ ।
१११. गलकोट नगरपालिकाको सामाजिक जीवनका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्था, करदाता, कलाकार, खेलाडी, विद्वान, सामाजिक अभियान्ता, पत्रकार लगायतलाई नगरपालिका स्थापना दिवसको अवसरमा पुरस्कृत तथा सम्मानित गरिने छ ।
अन्त्यमा, नगरबासी नागरिकको विकास र समृद्धिको चाहनालाई पूरा गर्ने दिशामा आगामी आ.व. २०८१÷८२ को प्रस्तावित यो वार्षिक नीति तथा कार्यक्रमले उल्लेखनीय सहयोग गर्ने छ भन्ने विश्वास लिएको छु । यो नीति तथा कार्यक्रमको लागि अमूल्य सुझाव प्रदान गर्नुहुने नगर उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरसभाका सदस्य, कर्मचारी, राजनीतिक दल, संघ संस्था, शिक्षक, पेशाकर्मी, बुद्धिजीवी, पत्रकार लगायत आम मतदाता नागरिकहरुप्रति आभार व्यक्त गर्दै यो नीति तथा कार्यक्रम कार्यान्वयनको लागि महत्वपूर्ण सहयोगको अपेक्षा गर्दछु ।
धन्यवाद !
भरत शर्मा गैरे
नगर प्रमुख
गलकोट नगरपालिका बागलु





