सभामा उपस्थित सदस्यज्यूहरु, आमन्त्रित प्रमुख अतिथि, राजनीतिकदलका प्रमुख तथा प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी र उपस्थित अन्य महानुभावहरु ।
यस गरिमामय सभामा गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम तेस्रो पटक पेश गर्न पाउँदा मैले आफुलाई गौरवान्वित महशुस गरेको छु । यस सन्दर्भमा सर्वप्रथम म ऐतिहासिक महान जनयुद्ध, जनआन्दोलन तथा विभिन्न आन्दोलन लगायतका राष्ट्रिय संघर्षहरुमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने ज्ञात, अज्ञात महान शहिदहरुप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाईते, बेपत्ता योद्धाहरुप्रति सम्मान गर्दै उहाँहरुको परिवारजनप्रति गहिरो सहानुभुति प्रकट गर्दछु । नेपालको संविधान, दिगो विकास लक्ष्य, सोर्हौ योजना, स्थानीय सरकार संचालन ऐन, २०७४ राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग ऐन, २०७४, स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन र गाउँपालिकामा निर्माण भएका विभिन्न ऐन, नियम, कार्यविधि, निर्देशिका तथा मापदण्डहरुको अधिनमा रही स्थानीय सरकारका जनप्रतिनिधिहरुबाट प्राप्त सुझाव र सहयोग, राजनीतिक परिवर्तनको लागि नेतृत्व गर्ने नेता, कार्यकर्ता, राष्ट्रसेवक कर्मचारी, शिक्षक, बुद्धिजीविहरु, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदाय लगायत सबै सरोकारवालाहरुको सुझावहरु मार्गदर्शनको रुपमा लिएको छु । स्थानीय स्तरमा उपलब्ध प्राकृतिक स्रोत साधन, सीप, पूँजी, प्रविधि, श्रमशक्ति, सहकारी, उद्यमशीलता र स्थानीय उद्योगलाई गाउँपालिकाको विकास र समृद्धिको मुख्य आधार बनाएको छु ।
विकासका सबै क्षेत्र र यस गाउँपालिकाको विकासको आवश्यकतालाई मध्यनजर गर्दै सबै सुझाव संकलनलाई रचनात्मक रुपमा आत्मसात गरिएको छ । जनसहभागीता एवं जनपरिचालनको क्षेत्रमा गाउँपालिकाले कायम गरेको इतिहासलाई अक्षुण्ण राख्दै शासकीय प्रबन्धमा जवाफदेहिता, पारदर्शिता, गुणस्तरीयता एवं स्वच्छतायुक्त जनसहभागीता सुनिश्चित गरिने छ । जनताको मौलिक अधिकारर प्रतिनिधित्व सुनिश्चित गर्नका लागि सहभागिताका माध्यमबाट पारदर्शितार जवाफदेहीतालाई जोड दिइनेछ ।
सभाका सदस्यहरू,
ताराखोला गाउँपालिकाको विकासको मुख्य बिन्दुमा श्रमको उपयोग, सहकारी, उत्पादन, उद्यमशीलता र स्थानीय उद्योग परिचालनार्थ अध्यक्ष नवप्रवर्तन कार्यक्रम र अनुदान साझेदारी रहेको छ । स्थानीय तहको योजना तर्जुमा दिग्दर्शनको आधारमा सहभागितामूलक प्रक्रियाबाट यस सभामा नीति तथा कार्यक्रम र योजनाको छलफल हुनुको साथै चालु आर्थिक वर्षको मूल्यांकन, आगामी बर्षको अनुमानित आय र खर्चको ढाँचा निर्माणले यस गाउँपालिकाको ‘श्रम, सहकारी, पर्यटन, कृषि, उद्योग र पुर्वाधार– गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार’ भन्ने लक्ष्य र ‘सुखी नागरिक, समृद्ध गाउँपालिका’ दिर्घकालिन सोचलाई पुस्ट्याइ गर्न आधार तयार हुनेछ र यहाँको स्थानीय उत्पादनको भरपुर प्रयोग, प्राकृतिक स्रोत तथा सम्पदाको व्यवस्थित उपयोग, मानवीय श्रमशक्तिको समुचित परिचालन र विद्यमान अवस्थामा समय अनुकुल प्रविधिको विकासले यहाँका बासिन्दाहरूको आर्थिक, भौतिक, सामाजिक तथा सांस्कृतिक जीवनस्तरमा सुधार हुने विश्वास लिएको छु ।
सभाका सदस्यहरू,
अब म चालु आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम कार्यान्वयनबाट हालसम्म निम्न बमोजिम प्रगति हासिल गरेको कुरा राख्न चाहन्छु ।
–आर्थिक वर्षमा कुल आय ३६ करोड ६७ लाख ९३ हजार विनियोजन गरिएको थियो । जसमा पुँजीगत खर्च कुल १४ करोड ६३ लाख २९ हजार र चालु खर्च सशर्त अनुदानसहित २२ करोड ३ लाख ६४ हजार रहेको थियो भने हालसम्म जम्मा २४ करोड १५ लाख ८३ हजार २ सय ७८ (६५.४९ प्रतिशत) वित्तीय प्रगति भएको छ ।
–पूर्वाधार विकासतर्फ क्रमागत आयोजना वडा नं. १ को प्रशासनिक भवन, वडा नं. ५ को सुरक्षित मातृत्व महिला समुहको भवन, कृषि उपज संकलन केन्द्र वडा नं. १ र जनप्रेम मा.वि. भवन यसै आ.व. मा सम्पन्न हुनेछन् । त्यसैगरि यो आ.व. मा ठेक्कामार्फत सञ्चालन भएका ६ वटा आयोजना रहेका छन भने मुख्यतया भातखाने डाँडा– घुस्मेली सडक, सागुबोट– दोगाडि सडक स्तरोन्नति, जनता प्रा.वि भवन निर्माण, वडा नं.४ को प्रशासकीय भवनमा ट्रस निर्माणकार्य सम्पन्न भएको छ ।
–शिक्षा क्षेत्र विकासअन्तर्गत पालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयमा स्मार्ट टकिङ्ग एजुकेशन लागु गरिएको, १० वटा प्राथमिक र १ वटा मा.वि. मा विज्ञान प्रयोगशाला स्थापना गरिएको, १० वटा बालविकास केन्द्रमा शैक्षिक सामग्रीसहित कक्षा व्यवस्थापन गरिएको, विद्यालयमा तयार गरिएको दिवा खाजा लागु गरिएको, उत्कृष्ट विद्यार्थी छनोट गरि पुरस्कृत गर्ने कार्यको शुरुवात गरिएको छ ।
–गाउँपालिकालाई पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको छ ।
–मातृसेवाअन्तर्गत संस्थागत सुत्केरी हुने ६१ जना आमा बच्चालाई यातायात खर्च, निशुल्क एम्बुलेन्स र भिडियो एक्सरे सेवा प्रदान गरिएको छ ।
–न्युनतम सेवा मापदण्डमा हिल स्वास्थ्य चौकी ७८, ताराखोला स्वास्थ्य चौकी ७९ र अमरभुमि स्वास्थ्य चौकी ७५ अंक प्राप्त गरि राम्रो स्वास्थ्य संस्थामा सुचिकृत भएको छ ।
–नेपाल सरकारले वितरण गर्ने निशुल्क औषधी हरेक स्वास्थ्य संस्थाबाट निशुल्क रुपमा व्यवस्थापन गरिएको छ भने १४,५४१ जनामा निशुल्क स्वास्थ्य सेवा तथा औषधी व्यवस्थापन गरिएको छ ।
–वडाबाट पनि विवाद समाधानको कार्य सुरु गरिनुको साथै ५ वटै वडामा २० जना मेलमिलापकर्ता रहनुभएको छ भने आ.व.२०८०÷०८१ को हालसम्म १० वटा वादविवाद दर्ता भएकोमा ८ वटा फर्छौट भइसकेको छ ।
–किसान सुचिकरण कार्यक्रमअन्तर्गत सबै किसानहरुको तथ्याङ्क सुचिकृत गरी कृषक परिचयपत्र वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको छ ।
–बाख्राको साना व्यवसायीक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम ताराखोला गाउँपालिका वडा नं.३ बराहखोलामा संचालन भएको छ ।
–५ वटै वडामा डिस्पेन्सरी सहित पशुपन्छी औषधी उपचार तथा घरदैलो सेवा सञ्चालनबाट २१२५ जना कृषकले सेवा लिई हालसम्म २१२३० पशुपंक्षीको उपचार सम्पन्न भएको छ ।
–गरिवी निवारणको लगि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत ५० जना नयाँ उद्यमि सिर्जना तथा स्तरोन्नतितर्फ ३८ जना गरी ८८ जनालाई ४ समुहमा तालिम तथा प्रविधि हस्तान्तरण कार्य सम्पन्न भएको छ ।
–आ.व.२०८०÷०८१ को हालसम्म आन्तरिक राजश्व ५५,७८,९०२.०९।– (पैतीस लाख एकानब्बे हजार नौ सय दुई रुपैया नौ पैसा) संकलन भएको छ ।
–प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आ.व. २०८१÷८२ को लागि सूचिकृत बेरोजगार संख्या ९५८ रहेको छ । त्यसैगरी वैदेशिक रोजगारमा जानेहरुको श्रम स्वीकृतिमा सहजिकरण कार्य ३५ जना मा भएको छ भने ५२ लाख २० हजार बजेटको २४ वटा योजना सम्पन्न भएका छन् ।
–सहिद सप्ताह कार्यक्रमअन्तर्गत २७ जना सहिद परिवारलाई प्रतिमहिना १ हजारका दरले जीवन निर्वाह भत्ता वितरण गरिएको छ ।
–शहिद स्मृति विश्व श्रम रोजगार बैंकमार्फत ५१ जनालाई रोजगार दिई सामाजिक सुरक्षा कोषमा आवद्ध गरिएको छ ।
–नागरिक आरोग्य सेवा केन्द्रबाट आ.व. २०८०÷८१ को हालसम्म १७३३ जना नागरिकले सेवा लिनुभएको छ ।
–अपाङ्ग परिचयपत्र १० वटा वितरण गरिएको, ६० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको, दलित लक्षित कार्यक्रमअन्तर्गत ९ जना दलितहरुलाई सिलाई मेशिन, आरन सुधार सामाग्री र बाख्रा हस्तान्तरण गरिएको छ ।
–हालसम्म पालिकामा ऐन २२ वटा, नियमावली ७ वटा र कार्यविधि ३५ वटा निर्माण गरी कार्यान्वयन गरिएको छ ।
–स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७३ अंक एफआरएमा ६८ प्राप्त भएको छ ।
सभाका सदस्यहरू,
अब म ताराखोला गाउँपालिकाको विकास तथा समृद्धिको लक्ष्य प्राप्तिका अवसर तथा चुनौती प्रस्तुत गर्न चाहन्छु,
हाम्रा लागि देहाय बमोजिमका अवसरहरू रहेका छन्ः
–संविधानतः अधिकार सम्पन्न स्थानीय सरकार स्थापना भई २२ वटा एकल अधिकारसहित विविध साझा अधिकार किटान हुनु ।
–आफ्ना अधिकार क्षेत्रका विषयमा ऐन, कानून तर्जुमा र योजना तर्जुमाको अभ्यास हुनु ।
–विकास निर्माणका विविध विषयमा नीति कार्यक्रम तथा बजेट सञ्चालन गर्ने अधिकार प्रष्ट हुनु ।
–गाउँपालिकाभित्र भौगोलिक तथा सांस्कृतिक विविधता रहनु ।
–सबै वडामा सडक पूर्वाधारको पहुँच हुनु ।
हाम्रा सामु देहाय बमोजिमका चुनौतीहरू रहेका छन्ः
–कृषि उत्पादनलाई आम्दानीको मुख्य क्षेत्र निर्धारण गर्नु ।
–स्थानीय श्रमशक्तिलाई पूर्ण रोजगारमा आबद्ध गराउनु ।
–भौगोलिक अवस्था बमोजिमको महंगो विकास खर्च व्यवस्थापन गर्नु ।
–उपलब्ध स्रोतकोमहत्तम उपयोग गर्दै अधिकतम प्रतिफल हासिल गर्नु ।
–सहकारी र निजी क्षेत्रलाई विकासको मुलधारमा समाहित गर्नु ।
सभाका सदस्यहरू,
अब म आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न चाहन्छु,
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा तपसिल बमोजिमको आधार लिईएको छः
–नेपालको संविधान
–स्थानीय सरकार संचालन ऐन, २०७४
–स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८
–अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४
–विपद जोखिम न्यूनीकरण र व्यवस्थापन ऐन, २०७४
–राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
ड्ड संघ, प्रदेश र गाउँपालिकाको आवधिक विकास योजना, दिगो विकासका लक्ष्यहरु, विकासका अन्तर सम्बन्धित विषयहरू,
–गाउँपालिकामा निर्माण भएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरु,
–गाउँपालिकाको मध्यमकालीन खर्च संरचना, गाउँपालिकामा उपलब्ध स्रोत र साधनहरु,
–अन्तर स्थानीय तह सहकार्य सम्बन्धकालागि साझा सरोकारका विषयहरू,
–नेपाल सरकारको १६ औ आवद्यिक योजना र दिगो विकास लक्ष्य २०३० को मार्गचित्र ।
सभाका सदस्यहरू,
अब म आगामी वर्षको सोच, लक्ष्य र उद्देश्यहरु प्रस्तुत गर्न चाहन्छु,
सोचः “सुखि नागरिक, समृद्ध गाउँपालिका”
लक्ष्यः “श्रम, सहकारी, कृषि, पशु, पर्यटन, उद्योग र पूर्वाधार–गुणस्तरीय स्वास्थ्य र शिक्षा एक घर एक रोजगार”
उद्देश्यहरुः
१. सर्वसाधारणहरुको जीवनयापनलाई सहज बनाउन मुख्य सडक, शहिद मार्गको केहि भाग कालोपत्रे तथा स्तरोन्नति कार्यको सुरुवातसँगै मोटरेबल पुल, कल्भट, भवन निर्माण तथा सहायक सडक स्तरोन्नति गर्दै प्रतिफल प्राप्त आयोजनाहरुमा बजेटलाई प्राथमिकिकरण गर्ने ।
२. गाउँपालिकाको आर्थिक विकासलाई मध्यनजर गर्दै “अध्यक्ष नवप्रवर्तनसाझेदारी कार्यक्रम” मार्फत कृषि, पशु, पर्यटन, उद्यमशिलता, सहकारी, शिक्षा, स्वास्थ्य, रश्रमिक वर्गहरुलाई विकासको मुख्य केन्द्रमा राख्ने ।
३. आन्तरिक उत्पादन र रोजगारि अभिवृद्धिको लागि स्थानीय उत्पादन (आलु, भाँगो, किवि, अलैचि, स्लेट ढुङ्गा, गाँजा खेति, लोक्ता, ह्याचरी प्रविधिआदि)र पर्यटन क्षेत्रको विकास गर्ने ।
४. व्यवसायिक कृषि तथा पशुपालन क्षेत्रमा सामुहिक तथा साझेदारी उत्पादन प्रणालीको विकास गर्ने ।
५. सिकाई उपलब्धी वृद्धि गर्नको लागि अतिरिक्त कक्षा संचालन, प्रयोगात्मक सिकाई लगायतशैक्षिक सुधार कार्यक्रम संचालन गर्ने ।
६. स्थानीय कला संस्कृतिको जगेर्ना सहित सामाजिक न्याय र समावेशीकरणको लागि सबैखाले विभेदको अन्त्यका लागि विशेष कार्यक्रमहरु संचालन गर्ने ।
७. उमेरगत खेलकुद विकासको लागिखेल महोत्सव संचालन गर्ने ।
८. सबै उमेरसमुहका नागरिकलाई सम्पुर्ण स्वास्थ्य सेवा उपलब्ध गराउन सेवामा सुदृढिकरण गर्ने ।
९. गैरसरकारी संस्था, समुदाय, टोल विकास संस्था परिचालन गरि स्वच्छ पिउने पानी र सरसफाईको सुनिश्वितता गर्ने ।
८. गाउँपालिकामा रहेका शहिद–वेपत्ता परिवार, घाईते, अपाङ्गता लगायतलाई विशेष कार्यक्रममार्फत सम्बोधन गर्ने ।
९. जनधन, सुरक्षा र विपद् जोखिम न्युनीकरणको लागि विशेष कार्यक्रम संचालन गर्ने ।
१०. विज्ञान तथा सूचना प्रविधिको उपयोग बढाई सुधारात्मक पहलकदमी चाल्ने ।
११.प्रशासनिक संयन्त्रलाई जवाफदेही र पारदर्शी बनाई ढिलासुस्ति, अनियमिततालाई अन्त्य गर्ने ।
१२.स्थानीय सरकार, सहकारी र निजी क्षेत्रको लगानी गर्ने वातावरण तयार गर्ने गरी पुँजि विकासलाई प्रोत्साहन गर्ने ।
सभाका सदस्यहरु,
अब म आर्थिक वर्ष २०८१÷८२ को विभिन्न विषयगत एवं क्षेत्रगत नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्दछु ।
मुख्य जोडः–
क) उत्पादनशिल, दिगो र समावेशी रुपमा आर्थिक वृद्धि गर्न श्रम, सहकारी, कृषि, पशु, उद्यमशिलता, पर्यटन विकास र मुख्य सडक निर्माणलाई प्रमुख आधार लिईनेछ ।
आर्थिक विकास
१. कृषि तथा पशुपालन
–गाउँपालिकामा आन्तरिक उत्पादन बढाई निर्यात वृद्धि गर्न तथा पर्याप्त मात्रामा रोजगारी सिर्जना गर्न कृषक, कृषि समुह, निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा “उत्पादन र रोजगारीका लागि साझेदारी” कार्यक्रम संचालन गरी एकिकृत उत्पादन र बजारीकरणलाई जोड दिईनेछ ।
–औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनको साथै गाउँपालिकाको विकासका संम्भावित क्षेत्रमा सबै प्रकारका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनको परिक्षण गरिनेछ ।
–पशुपन्छी उपचारमा थप जोड दिदै सबै वडामा औषधि सहितको सेवा प्रवाहमा थप गुणस्तरीयता कायम गरिनेछ ।
२. सहकारी तथा वित्तीय क्षेत्र
–बहुउद्देश्यीय सहकारीहरुलाई एकिकृत उत्पादनको क्षेत्रमा समावेश गरि सहकारीमार्फत उत्पादन तथा बजारीकरण गर्ने कृषकलाई कार्यविधिको आधारमा तथ्यगत रुपमा अनुदान उपलब्ध गराईनेछ ।
–सहकारी अनुगमनलाई प्रभावकारी बनाइनेछ ।
३. उद्योग तथा वाणिज्य
–स्थानीय उद्यमशिलतालाई प्रमुख आधार बनाई तुलनात्मक लागत लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको उत्पादन र उत्पादकत्व बृद्धि गरीनेछ ।
–औद्योगिक ग्रामको निर्माण कार्यलाई निरन्तरता दिईनेछ ।
४. पर्यटन
–गाउँपालिकाकामा भएका पर्यटकीय गन्तव्य स्थलको सुधार गर्दै लगिनेछ ।
–गाउँपालिका भ्रमण गर्ने पर्यटकहरुलाई होमस्टेमा आवास र स्थानीय परिकार ब्राण्डको रुपमा उपलब्ध गराउने नीति अबलम्बन गरिनेछ ।
सामाजिक विकास
१. शिक्षा
–स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक पठनपाठन कार्यलाई निरन्तरता दिदै आधारभुत तहमा अतिरिक्त कक्षा संचालन गरी सिकाई सुधार गरिनेछ ।
–प्राविधिक धारमा अध्ययनरत जेहन्दार, शहिद परिवार, द्धन्द्ध पीडित, न्युन आर्थिक स्रोत भएका विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम संचालन गरिनेछ ।
–आवश्यकताको आधारमा सामुदायिक विद्यालयहरुमा प्रयोगात्मक सिकाई कार्यक्रम संचालन गरिनेछ ।
–‘शैक्षिक सुधार कार्यक्रम’ मार्फत विद्यालयमा शैक्षिक गुणस्तरका कार्यक्रम संचालन गरिनेछ ।
–शैक्षिक क्षेत्रमा देखिएका समस्याहरूको समाधान गर्न र गुणस्तरीय शिक्षण सिकाईलाई प्रवर्द्धन गर्न सुपरिवेक्षण, निरीक्षण, अनुगमन र मुल्याङ्कन प्रणालीलाई व्यवस्थित गरिनेछ ।
–गाउँपालिका भित्रका युवालाई सरकारी क्षेत्रमा पहुँच अभिवृद्धि गर्न लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा निशुल्क रुपमा सञ्चालन गरिनेछ ।
२. स्वास्थ्य
–आधारभूत स्वास्थ्य सेवामा गुणस्तर वृद्धि गर्न दक्ष जनशक्ति, पूर्वाधार तथा उपकरणको व्यवस्था गरिनेछ ।
–जेष्ठ नागरिक, अशक्त अपाङ्गताहरुलाई घरमा नै नियमित स्वास्थ्य परिक्षण एंव औषधी उपलब्ध गराउने व्यवस्था मिलाईनेछ ।
–स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमअन्तर्गत ५ शैयाको आधारभूत अस्पताल निर्माण कार्यलाई परिस्कृत रुपमा अगाडि बढाईनेछ ।
–गाउँपालिकाबाट निःशुल्क स्वास्थ्य सेवा, औषधी वितरण र एम्बुलेन्स सेवालाई थप प्रभावकारी बनाइने छ ।
–प्राकृतिक उपचार तथा वैकल्पिक उपचार पद्धतिको प्रवर्द्धन गरिने छ ।
–गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउन सार्वजनिक निजी साझेदारी अवधारणा लागू गरिनेछ ।
३. युवा तथा खेलकुद
–ताराखोला बहुउद्देश्यीय कभर्ड हल÷स्टेडियम लगायत खेलकुद पूर्वाधार निर्माण तथा मर्मतलाई प्राथमिकतामा राखि बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता संचालन गरिनेछ ।
–युवा श्रम शक्तिलाई विकासका कार्यक्रमहरुमार्फत स्वरोजगार उन्मुख कार्यलाई निरन्तरता दिईनेछ ।
४. संस्कृति
–गाउँपालिकाको बहुसांस्कृतिक पहिचान र मौलिकता झल्किने सांस्कृतिक पक्षको संरक्षण एवम सम्वर्द्धनमा विशेष जोड दिईनेछ ।
५. लैङ्गिक समानता र सामाजिक समावेशीकरण
–सबै प्रकारका हिंसा विरुद्धको शुन्य सहनशिलता नीति अबलम्बन गर्दै महिला, दलित, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अति गरिब, आदिवासी जनजाति र सामाजिक बहिस्करणमा परेका वर्गको लागि उत्थानशील कार्यक्रमहरु संचालन गरिनेछ ।
–बालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।
–सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई वडा कार्यालबाट सञ्चालन गर्ने व्यवस्था मिलाइने छ ।
६. खानेपानी तथा सरसफाई
–गाउँपालिकामा स्वच्छ पिउने पानी व्यवस्थापनको लागि सुरक्षित खानेपानी कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
–टोल विकास, संघ–संस्थाहरुसँग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्य गरिनेछ ।
७. मानव अधिकार र सामाजिक न्याय
–ऐतिहासिक जनयुद्ध, जनआन्दोलनका शहिद तथा बेपत्ता परिवार, घाईते अपाङ्ग योद्धा र असहायहरुको लागि निश्चित मापदण्डको आधारमा मासिक रुपमा जीवन निर्वाह भत्ताको व्यवस्थालाई निरन्तरता दिईनेछ ।
–अनौपचारिक क्षेत्रका श्रमशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनको लागि संघीय सरकारसँग समन्वय गरिनेछ ।
पूर्वाधार विकास
१. सडक तथा पुल
–शहिद मार्गको केहि भाग कालोपत्रे तथा स्तरोन्नति, मोटरेबल पुल, कल्भट, निर्माण तथा मर्मत कार्यलाई निरन्तरता दिईनेछ भने संघ र प्रदेश सरकारसँग थप समन्वय गरिनेछ ।
–दलामचौर मोटरेबल पुल निर्माण कार्य सुरु गरिनेछ ।
–आयोजना तथा कार्यक्रमहरुको प्राथमिकिकरण गरी प्रतिफल दिने र समयमा सम्पन्न हुनसक्ने आयोजना तथा कार्यक्रममा यथेष्ट बजेट विनियोजन गरिनेछ ।
–विकास आयोजना छनौट गर्दा सामाजिक–आर्थिक लाभ, स्थानीय क्षेत्रगत सन्तुलन, उत्पादन र रोजगारी सिर्जनालाई प्रमुख आधार लिईनेछ ।
२. भवन तथा सहरी विकास
–अपाङ्गतामैत्री सार्वजनिक संरचना तथा सेवा प्रवाहको व्यवस्था मिलाईनेछ ।
–निर्माण हुन बाँकी २ वटा वडा कार्यालयसामुदायिक भवन, नमुना विद्यालयका भवनहरु क्रमागत रुपमा निर्माण गरिनेछ ।
३. उर्जा
–संघीय सरकारको अनुदानमा स्थानीय विद्युत साझेदारी कार्यक्रमको नीति अगाडि बढाईने छ ।
४. सिंचाई
–सिँचाईको व्यवस्था नभएका खेतीयोग्य जमिनहरुमामागको आधारमासिँचाई साझेदारी कार्यक्रमहरु संचालन गरिनेछ ।
वन, वातावरण तथा विपद् व्यवस्थापन
१. वन तथा वातावरण
–सामुदायिक वनमा पर्यापर्यटन र लघु उद्यमका क्रियाकलाप संचालन गरिनेछ, व्यवसायिक वन्यजन्तुपालन, प्रजनन तथा उपयोगका लागि समुदाय, कृषक समुह, सहकारी र निजी क्षेत्रलाई प्रोत्साहित गरिनेछ ।
२. जल उत्पन्न प्रकोप नियन्त्रण र विपद् व्यवस्थापन
–विपद् पुर्व तयारी, विपद् न्यूनीकरण, प्रतिकार्य र पुनर्स्थापनाको कार्यलाई ब्यवस्थित र प्रभावकारी बनाइनेछ ।
–ढुंगा, गिट्टि र बालुवा जस्ता नदीजन्य पदार्थ, मत्स्य र अन्य प्राकृतिक श्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गरिनेछ ।
–विपद् जोखिम व्यवस्थापन कोषमा रकम अभिवृद्धि गर्दै प्रभावकारी श्रोत परिचालन गरिनेछ ।
सुशासन तथा संस्थागत क्षमता विकास
१. प्रशासनिक व्यवस्थापन तथा सुशासन
–सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिई जनप्रतिनिधि तथा कर्मचारीलाई जनता तथा सेवाग्राहीप्रति जवाफदेही र उत्तरदायी बनाइनेछ ।
–न्यायिक समितिका पदाधिकारी, मेलमिलापकर्ता तथा कर्मचारीहरुको विषयगत ज्ञान र क्षमता विकासका कार्यक्रमहरु कार्यान्वयन गरिनेछ ।
–जनप्रतिनिधिहरु तथा कर्मचारीहरुको सीप तथा क्षमता अभिवृद्धिको लागि आवश्यक तालिम, गोष्ठी तथा अध्ययन अवलोकन भ्रमण कार्यक्रमलाई परिणाममुखी बनाईनेछ ।
–आधारभुत वस्तु तथा सेवाको सहज आपूर्ति र गुणस्तर कायम गर्न नियमित रुपमा बजार अनुगमन गर्ने र यस्तो अनुगमनमा टोल विकास संस्था,उपभोक्ताहरुलाई समेत संलग्न गराइनेछ ।
–गाउँपालिकाको खर्चलाई वस्तुपरक, अनुमान योग्य र नतिजामुखी तुल्याउन मध्यमकालिन खर्च संरचना (ःत्भ्ँ) पद्धतिलाईनिरन्तरता दिइनेछ ।
–संघीय सरकार, प्रदेश सरकार र अन्य स्थानीय तहहरुसँग आपसी सहकार्य र समन्वयको लागि अन्तर समन्वय तथा सहकार्य नीति तर्जुमा गरिनेछ ।
२. आर्थिक प्रशासन एंव व्यवस्थापन
–लेखा र लेखापरिक्षणलाई वस्तुपरक र विश्वासनीय बनाई आर्थिक अनुशासन तथा वित्तीय जवाफदेहिता सुदृढ गरिनेछ । सार्वजनिक निकायमा रहेको बेरुजु फर्छौट गर्ने कार्यलाई अभियानको रुपमा संचालन गरिनेछ ।
३. राजस्व तथा आन्तरिक श्रोत परिचालन
–आन्तरिक राजश्वको क्षेत्रहरुलाई वृद्धि गर्दै करदाताको करलाई ब्यवस्थित, पारदर्शी र प्रभावकारी रूपमा उपयोग गरिनेछ ।
–करदाता शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
४. सूचना तथा संचार
–गाउँपालिकाको विकास क्षेत्रमा स्थानीय संचारको भरपुर प्रयोग गरिनेछ ।
–स्थानीय संचार संस्था र गाउँपालिकाको सहकार्यमा जनहितकारी सूचनाहरु सम्प्रेषण गर्ने तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई पारदर्शी शासनअबलम्बन गरिने छ ।
यस गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका योजना तथा कार्यक्रमहरु दक्षतापुर्वक कार्यान्वयन भई स्थानीय अर्थतन्त्रमा वृद्धि हुनुको साथै उत्पादनशील, रोजगारमुलक, आत्मनिर्भर,सुखिर समृद्ध गाउँपालिका निर्माण हुने विश्वास लिएको छु ।
अन्त्यमा, प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न सहयोग गर्ने उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, प्रशासकीय अधिकृत, सम्पूर्ण वडाका वडाअध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरु, सम्पूर्ण कर्मचारी साथीहरु, निवर्तमान जनप्रतिनिधिहरु, राजनीतिक दलका पदाधिकारीहरू, शिक्षक, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधि, देश–विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरु लगायत सबैमा हार्दिक आभार प्रकट गर्न चाहन्छु ।
धन्यवाद !
धन बहादुर वि.क.
अध्यक्ष





