तरकारी भान्सामा काम गर्ने मानिसको मात्रै नभएर सबैको ध्यान आकृष्ट पार्ने नाम हो । तरकारी भन्नेबित्तिकै हामीले साँझ बिहान सम्झिन्छौं । वर्तमानमा तरकारीकै नामले भोक जगाउने मानिस पनि धेरै छन् । पहिले पहिले ‘भोजनभन्दा भोक मीठो’ भन्ने प्रचलन थियो । अहिलेका मानिसले स्थानीय तरकारीलाई रत्तिभर अस्तित्व नदिंदा स्थानीय तरकारी बजार विलयको लयमा हिंडिरहेको छ । पहिले एकाबिहानै उठेर काम गर्यो, भान्सामा मिठो मसिनो जे पाकेको छ मजाले खायो । हृष्टपुष्ट शरीर, निरन्तर कामको दौरानका बिच भोकले सुन्तुष्टि त्यतिबेला दिन्थ्यो, जतिबेला टन्न पेट भरिन्थ्यो । अहिले गाउँमा बस्नेहरुले केही मात्रामा आफ्नै उत्पादनमा छाक टारे पनि बजारमा बस्नेहरूले तरकारी बजार चहार्नै पर्छ । हरिया तरकारीका नाममा विषादीयुक्त ओइलाएका तरकारी खानुपर्ने बाध्यता कायमै छ । यस्को प्रमुख कारक निर्वाहमुखी कृषि प्रणाली हो । कतै आफ्नो आवश्यकता मात्रै हेरेर सिमित खेती गरिने त कतै उत्पादित वस्तुले बजार नपाउने समस्याका कारण नेपाली कृषकको मनोबल गिर्दो छ । नाफामुखी व्यापारी र बेमौसमी स्वादका भोका उपभोक्ता बन्दा स्थानीय बजार फस्टाउन नसकेको स्पष्ट छ ।
अहिले बिना काम धन्दाको सहरिया बसाइले मानिसलाई अल्छी बनाएको छ । परिश्रम बिनाका भोजन स्वादहीन बन्न थालेका छन् । सबेरै ब्रेकफास्टले जिब्रोलाई सक्रिय बनाएका मानिसले चिया, फलफूल, जुस, खाजा, नास्ता र भातलाई नियमित भोजनको संज्ञा दिंदा परिकारले आफ्नो स्वादिलोपन नै गुमाउन पुगेको महशुस हुन थालेको छ । तसर्थ भोजनको अस्तित्व जोगाउन सहर बजारमा बस्नेहरुले पनि करेसाबारी वा कौसी खेती गर्नु अनिवार्य छ । सानो नै किन नहोस् । तरकारी खेतीको कामले आफू व्यस्त भइन्छ । शारीरिक व्यायाम, मनोरञ्जन र तरकारीका लागि आवश्यक रकम पनि बचत हुन्छ । आफ्नै बारीका स्वस्थकर तरकारीले स्वास्थ्य लाभ पनि लिन सकिन्छ । त्यसैले समयको सदुपयोग गरौं । हरेक बिहान आधा घण्टाको समय तरकारी बारीलाई छुट्याऊँ । ‘घर घरमा करेसाबारी, खाऔं ताजा तरकारी’ भन्ने अभियान चलाऊँ ।
अहिले रासायनिक मलको पर्याप्तता र कृत्रिम उत्पादनमा रमाउने प्रवृत्ति बढ्दो छ । तत्कालीन आवश्यकतालाई महत्व दिने कृषक, व्यापारी र उपभोक्ता सबैले दीर्घजीवन सोच्न सकेका छैनन् । कृषकले आजभोलि स्वस्थ तरकारी उत्पादन गर्नै छाडे । नेपालमा व्यावसायिक तरकारी खेतीबालीबाट बजारमा पठाइने तरकारी नै अहिले अधिकांश भान्सालाई योग्य ठहरिने गरेका छन् । देशको उत्पादनले तरकारीको माग परिपुर्ति हुन सम्भव नभएपछि भारतीय बजार नै हाम्रो प्रमुख बजार भएको छ । चीनदेखि आउने फलफूल र तेस्रो देशबाट आयातित वस्तुको माग बढी रहँदा तरकारी बजारले उत्कर्ष विन्दु पार गरिरहेको छ । बाह्य देशबाट ल्याइएका वस्तुको तुलनामा स्थानीय उत्पादन महंगो बन्दा स्वदेशी कृषक मारमा छन् । रासायनिक मल र कीटनाशक औषधीको अधिक प्रयोग गरिएका तरकारी बालीबाट शरीरलाई हानी पुर्याउने रसायनहरुले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेका छन् । फलस्वरूप मानिसहरू अनेकौं रोगको सिकार बन्न पुगेका छन् । माटोको उर्वरा शक्ति क्षीण भएको छ । वर्तमानमा उत्पादन बढे पनि भविष्यमा माटोले अस्तित्व गुमाउने पक्का छ । तसर्थ विषाक्त सागसब्जीको उपयोगलाई पुर्णतः निषेध गर्नुपर्छ । सबै मानिसले विषादीरहित तरकारी उत्पादन र सेवन गर्नु नै आजको आवश्यकता ठान्नु पर्छ ।
यस अभियानका लागि हाम्रो वरपरको खाली जग्गालाई करेसाबारीमा रुपान्तरण गर्नु जरुरी छ । कहिंकतै शहरमा कौसी खेतीको प्रचलन पनि छ । यसलाई निरन्तरता दिनु पर्छ । आफ्नै करेसाबारीमा ताजा, गुणस्तरीय र अर्गानिक तरकारी उत्पादन गरेर सजिलै पारिवारिक आवश्यकता पूरा गर्न सकिन्छ । हरियो तरकारी फलेको दृश्यले घरको सौन्दर्य वृद्धि हुन्छ । वरपरको पर्यावरण पनि स्वच्छ बन्न पाउँछ । जसबाट हामीले स्वस्थ जीवन पाउछौं । तसर्थ आफ्नै करेसाबारीमा ताजा तरकारी फलाउने अभियान हरेक घरबाट सुरु गर्नु अतिउक्ती मान्नु पर्छ ।
हाम्रो घर वरपरको जमिनमा तरकारी खेती गर्दा खाली जमिनको सदुपयोग हुन्छ । यस्तो खेती गर्दा घरबाट निस्कने फोहोर पानी र प्राङ्गारिक वस्तुको पुनः प्रयोग हुन गई वातावरणीय सन्तुलनमा सहयोग पुग्छ । प्रभावकारी रूपमा जमिनको व्यवस्थापन गर्न सके सानो जग्गामा निर्मित करेसाबारीबाट पनि धेरै उत्पादन लिन सकिन्छ । नेपालमा परापुर्व कालदेखि तरकारी बालीलाई हिउँदे, बसन्ते र बर्खे गरि तीन भागमा वर्गीकरण गरिएको पाइन्छ । भाद्र महिनामा बिउ बेर्ना रोपेर कात्तिकदेखि माघसम्म उत्पादन गरिने तरकारीलाई हिउँदे तरकारी बाली भनिन्छ । पुसमा बिउ र बेर्ना छरेर फागुनदेखि जेठसम्म उत्पादन लिन सकिने तरकारीलाई बसन्ते तरकारी भनिन्छ भने वैशाखदेखि असारसम्म बिउ बेर्ना रोपी भदौसम्म उत्पादन लिन सकिने तरकारीलाई बर्खे तरकारी भनिन्छ । यसरी रोपिने तरकारीमा क्रमशः जाडो, गर्मी र वर्षालाई सहन सक्ने छुट्टाछुट्टै गुणहरु हुन्छन् । तर हिजोआज बेमौसमी खेतीका कारण जुनसुकै मौसममा जुनसुकै तरकारीको खेती गर्ने चलन चलेको छ । मौसमी उत्पादनले स्वास्थ्यलाई राम्रो गर्छन् तर बेमौसमी र विषादीयुक्त तरकारी बालीले स्वास्थ्यमा प्रतिकुल असर पुर्याउछन् । तसर्थ आफ्नै बारीमा तरकारी फलाऊँ, घरायसी उत्पादनलाई प्रश्रय दिउँ भन्ने नारा गाउँ सहर पु¥याउनु आवश्यक छ ।
करेसाबारीमा मुख्य बालीसँगै सहायक बाली उत्पादन गर्न घुसुवा बालीको संरचनामा खेती गर्न पनि सकिन्छ । निश्चित ठाउँमा खाडल खनी कम्पोस्ट मल बनाउन सकिन्छ । पाहारिलो स्थानमा नर्सरी बनाउने, बारबन्देज लगाइएको ठाउँमा लहरे तरकारी लगाउने र खुकुलो जमिनमा जरेबाली लगाउनु पर्छ । तरकारी बालीलाई किराको प्रकोपबाट बचाउन लसुन, प्याज, पुदिना, मरहटी र खुर्सानी बाली लगाउन सकिन्छ । करेसाबारीमा रासायनिक र किटनासक विषादी प्रयोगलाई रोकेर घरायसी विषादीको प्रयोग गर्नु उपयुक्त हुन्छ । जसबाट स्वस्थ उत्पादन लिन सकिन्छ । आफ्नो ठाउँमा पाइने तितेपाती, निम, सिस्नु, मेवा, असुरो, धतुरो, बकाइनो, खिरों, बोझो, टिमुर, खुर्सानी, सिमली लगायतका कडा गन्ध आउने वनस्पतिलाई मलमूत्रमा कुहाएर बनाइने वानस्पतिक विषादीको प्रयोगबाट करेसाबारी संरक्षण गर्न सकिन्छ ।
माटोमा प्राङ्गारिक पदार्थको मात्रा बढाउन जंगलको माथिल्लो तहको माटो प्रयोग गर्नु पर्छ । गोठे मलका अलावा सुकेका पातपतिङ्गर र हरिया झारपात कुहाएर निर्माण गरिएको मल तरकारीका लागि उत्तम मानिन्छ । हामीले लगाउने तरकारी बाली दुई प्रकारका हुन्छन् । एकथरी सिधै रोपिने र अर्काथरी नर्सरीमा बेर्ना तयार पारी रोपिने खालका हुन्छन् । उनीहरुको स्वरुप र आवश्यकता अनुरुप जमिनको व्यवस्थापन गर्न जरुरी हुन्छ । तरकारी खेतीको उत्पादकत्व बढाउन गोडमेल र सिचाइसंगै नाइट्रोजन, फस्फोरस, पोटास जस्ता विभिन्न तत्वहरुको आवश्यकता पर्छ । यसरी करेसाबारीमा तरकारीको प्रकृति अनुसार छुट्टाछुट्टै पोषक तत्वहरु आवश्यक हुन्छन् । बिउ उम्रने, बेर्ना सर्ने, मलखादको प्रयोग लगत्तै, गोडमेल पश्चात् र डुकु आउने, फुल्ने र दाना लाग्ने बेलामा बिरुवालाई पानी अनिवार्य चाहिन्छ । त्यसैले हरिया सागसब्जी खाएर स्वस्थ्य बन्न करेसाबारीको उचित व्यवस्थापन गर्नु वाञ्छनीय मानिन्छ । आफ्नो करेसाबारीको माटाको गुणस्तर सुरक्षित राख्न पनि उत्तिकै जरुरी हुन्छ ।
अबको समयमा नेपाली बजारका लागि आवश्यक पर्ने तरकारी आफ्नै बारीमा उत्पादन गर्नु पर्छ । आफ्नो घर वरपरको भुमिलाई अवमुल्यन गरेर विदेशी बजारलाई प्रोत्साहन गर्नु नेपालीको ठूलो भुल हुन्छ । सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु पर्छ । गाउँमा प्रशस्त जमिन बाँझो छ । शहरमा घर निर्माण पश्चात बचेको जमिनको सदुपयोग गर्न सकिएको छैन । कौसी खेती आवश्यकता नभएर सोखको लागि भएको छ । यसरी नेपाली तरकारी बजारले दीर्घ जीवन पाउदैन । गाउँ गाउँमा उत्पादित तरकारीको बजारीकरण नै आजको आवश्यकता हो । तसर्थ ‘स्वस्थकर तरकारीको सेवनमा जोड दिउँ, विदेशी उत्पादनलाई बहिष्कार गरौं’ भन्ने नारालाई सार्थकता दिनु अनिवार्य छ ।
आफ्नै करेसाबारीमा तरकारी लगाउदा विभिन्न फाइदाहरु हुन्छन् । करेसाबारीमा काम गर्दा शारीरिक व्यायाम र मनोरञ्जन प्राप्त हुन्छ । हरियो तरकारी फलेको दृश्यले पर्यावरणीय स्वच्छतासंगै घर वरपरको सौन्दर्य वृद्धि हुन्छ । आफू स्वस्थ बन्न र स्वस्थ्यकर उत्पादन उपभोग गर्न पाइछ । आफ्नै करेसाबारीमा काम गरेर परिश्रमको भोक जगाउन सके आर्थिक रूपमा सबल पनि बन्ने छौं । तरकारी किन्ने खर्च र समयको बचत हुन्छ । ताजा तरकारीका विभिन्न परिकार खान पाइन्छ । महँगो र विषादीयुक्त तरकारी किन्नु पर्ने अवस्थाबाट मुक्ति मिल्छ । आफ्नो मिहिनेत अनि पसिना मिसिएको स्वादिलो तरकारीले आत्म निर्भरताको विश्वास जाग्ने छ । आफ्नो आवश्यकता परिपुर्ति पश्चात् बढी भएको तरकारी बिक्री गरेर आम्दानी लिन पनि सकिन्छ । अझ उत्पादन गरेका हरिया, ताजा र विषादीरहित तरकारी खाँदा विभिन्न रोगबाट बच्न सकिन्छ । त्यसैले स्थानीय तरकारी उपभोगका लागि ‘घर घरमा करेसाबारी, खाऔं ताजा तरकारी’ भन्ने नारालाई अभियानकै रूपमा अघि बढाउनु जरुरी छ ।




