यतिबेला गाउँ शहरका मानिसहरूले ‘अनुत्तर’को उत्तर खोजिरहेछन् । साउनको पहिलो साता काठमाण्डौंको जमलस्थित राष्ट्रिय नाचघर (सद्भाव थिएटर) मा प्रदर्शन गरिएको नाटक ‘अनुत्तर’ ले सप्ताहव्यापी रुपमा दर्शकहरुको माया पाएपछि रङ्गकर्मी किरण चापागाईंको चर्चा चुलिएको छ । वि.सं. २०५५ सालमा बागलुङ नगरपालिका १२ अमलाचौरमा जन्मिएका किरणले पछिल्लो समय नाट्यमार्फत आफुलाई परिचित गराउँदै आएका छन् । ‘हुने बिरुवाको चिल्लो पात’ भनेझैं सानैदेखि चम्किलो अनुहारमा खिस्स हाँस्न सिपालु उनी गाँउमा हुने मेला महोत्सव र रङ्ग रमाइलो सुरु भयो कि अनिवार्य उपस्तिथि जनाउँथे । न्युयोर्कदेखि नाचघरसम्मको यात्रालाई निरन्तरता दिएरै सफल नाट्यकर्मीको सूचीमा उनी छन् । भौगोलिक अवस्थितिले ठगेको उनको गाउँ भिरालो बस्ती, विद्यालय भेटाउन पुर्वपश्चिम १ घण्टाको बाटो, जुन विद्यालय रोजे पनि उकाली ओराली गर्नैपर्ने, मध्यमवर्गीय कृषक परिवारमा जन्मिएका उनी जानी–नजानी घरायसी धन्दा सकेर बिहानैदेखि स्कुल जाने चटारोमा लाग्नुपथ्र्याे । बाल अबोधपनका बिच साँझ स्कुलबाट फर्किने हतारो उस्तै, बाबा आमालाई मेला जाने चटारो, यस्तै यस्तै दैनिकीबिच उनको बाल्यकाल बितेको थियो ।
संघर्षै संघर्षका बिच विद्यार्थी जीवनले उचाइ चुम्दै थियो । अन्योल नै अन्योलमा उनको नाट्ययात्रा फक्रिदै थियो । उनी भन्छन्, ‘जिन्दगीमा राम्रो नराम्रो छुट्याउँदा नछुट्याउँदै दुई दशक उमेर बिताएको थिएँ । सारङ्गीमा गाइएका गीतदेखि रोपार अनि हलि दाइले गाएका गीतसम्म सबैले मलाई आकर्षण गरिरहन्थ्ये ।’ उच्च शिक्षाको पढाइ सँगसँगै स्टेज प्रोग्राम गर्ने कलारहरुप्रति सद्भाव जागृत भयो । फेसबुकमार्फत प्रलाद सुबेदी, करण न्यौपाने, सम्झना लामिछाने मगर लगायतका कलाकारसंग सम्पर्कमा पुगेँ । उहाँहरुको प्रेरणाले सांगीतिक क्षेत्रमा उदाउने जाँगर चल्यो । जसको प्रतिफल स्वरुप फुलकुमारी–२, झटारो, तालु खुईले बाहुन, फेरि दिल बस्ला तिम्रो म सित, सारङ्गी, प्रदेशी, म, आमा बाबा र प्यारीसहित दुई दर्जन गीतमा शब्द लेखन, संगीत र आवाज भर्ने अवसर पाएँ । उनी थप्छन्, ‘सांगीतिक यात्रालाई सफल बनाउन देश–विदेशका विभिन्न स्थानमा पुगेँ ।
प्रारम्भमा डेनमार्कको ‘द केमेडिया स्कुल’ मा अध्ययन गर्न पुगेका उनले ‘आइसीसी थियटर’ मा आफूलाई अध्येताको रुपमा उभ्याए भने ‘इम्प्रोभ कमेडी थियटर’मा आबद्द भै युरोपका विभिन्न मुलुकमा पनि प्रस्तुती देखाउन सफल भए । अमेरिका यात्राको क्रममा त्यहाँका आर्टिष्ट र थियटरहरुमा नाटकबारे विमर्श गर्ने अवसर जुरेको उनी बताउँछन् । त्यसपछि क्यानडाको ‘फर लिभिङ्ग थिएटर’मा पनि प्रस्तुति देखाएका उनले अहिले नेपाली भाषा, संस्कृति, गायन र नाट्य कलाको विकासमा योगदान दिंदै आएका छन् । ‘संगैका साथीहरुको लोकसेवा यात्रादेखि वैदेशिक रोजगारीलाई रोज्नेहरुको बिचमा मेरो नाट्य यात्राले आफुलाई केही राहत पु¥याए पनि बाबाआमाको नजरमा म रित्तो नै थिएँ । यस क्षेत्रमा परिचित व्यक्तिको संलग्नता नहुनु नै अभिशाप ठान्छु । जुन कुरा अहिले स्पष्ट छ’ उनी थप्छन्, ‘मेरो वर्तमान नाट्य यात्राको दौरानमा बाबाआमा पुलकित हुनुहुन्छ ।’
सर्वप्रथम उनलाई सर्वनाम नाटक घरको आँगनमा बिसाउने अवसर मिल्यो । पर्दामा देखिएको नाटक जीवन्त लाग्यो जसबाट नाट्य यात्राले थप हौसला प्राप्त गर्यो । उनले तीन महिना नाटकको शैक्षिक अभ्यास गरेपछि नाट्य इतिहासको वास्तविकताबारे बुझ्न र अनुभव गर्न पाए । ‘असम्बद्ध’ शीर्षकको नाटकबाट अभिनयको खुड्किला चालेका उनले क्रमशः राजेन्द्र लक्ष्मी, भागवत टोलमा भोलाराम, अस्वेत, माउजुङ बाबुसाहेबको कोट, दर्पण लगायतका नाटकको चरित्रमा आफूलाई अब्बल तुल्याए । सह–निर्देशनतर्फ नाटक ‘नासो’ लाई लिएर नाट्य जगत तताए । मञ्चमा एक अभिनयकर्ताका रुपमा देखिने पात्रले प्रसङ्गानुसार अनेकौं सपनाहरु देख्छन् । बिथोलिएको मनोभावना लिएर कहिले युवा, कहिले वृद्ध त कहिले छोराको रुपमा देखिन्छन् । कहिले डाक्टर बन्ने सपना बोकेर विदेशी भूमिमा एक लोन्ड्रीमा कार्यरत हुन्छन् त कहिले एप्रोनले ढाकेको व्यक्तित्वभित्र डाक्टर बनेर अप्रेसन थ्रीएटरमै पुग्छन् । नाटककै सिलसिलामा कहिले बुढो चियाबाजे, कहिले धोबी त कहिले श्रीमान अनि कहिले गायकको भूमिकामा देखिन्छन् । हो, यस्तै गतिविधिले सिंगारिएको पात्रको दिनचर्याले ‘अनुत्तर’ नाटकलाई उचाइमा पु¥याएको छ । समकालीन यथार्थकै झलक दिएको नाटकमा बुवाको भूमिका पाउँदा ‘छोराछोरीका लागि अब यो देश देशै रहेन’ भन्ने संवादमा किरणले दुःखेसो पोख्छन् । जुन नेपालका लागि सार्वकालिन दुख बनेको छ । यस नाटकबाट उनले उत्तरका लागि सर्वसाधारणदेखि सिंहदरबारसम्मको ध्यान आकृष्ट पार्न सफल भएका छन् ।
‘अनुत्तर’ नाटकमा आवाजविहिनहरूको आवाज सत्ताले नजरअन्दाज गर्न नसकेको यथार्थ प्रस्तुती छ । युवाहरुले यो देशमा सपना देख्न मनाही रहेको अनुभूति गर्दैछन् । तसर्थ, सरकारले उपेक्षा गरेका नागरिकता भिरेका अनागरिकहरुको सग्लो तस्बिर नाटकमा पाइन्छ । कलिलो उमेरमै नाटक र गायक क्षेत्रमा ख्याती कमाएका उनले दर्जनौं नाटकमा अभिनय गरेका छन् भने उत्तिकै संख्याका गीतहरुमा शब्द, संगीत र स्वर भरेका छन् । नाटक ‘अनुत्तर’ले विद्यमान सामाजिक, राजनैतिक र शैक्षिक विकृति, विसङ्गतिप्रति व्यंग्य प्रस्तुत गरेको छ । देशको निराधार यात्राभित्रको चरम बेथितीको उद्घाटन गर्नु नाटकको मुल ध्येय हो । नाटकले देशमा उत्पन्न अस्तव्यस्तता र आम जनमानसमा सिर्जित निराशावादीपनको जवाफ खोजेको छ । दक्ष जनशक्ति विदेश मोहमा पर्दा देश रित्तो बन्दैछ । विश्वविद्यालयहरु राजनीति गर्ने थलो बन्दै छन् । प्राध्यापकहरु शिक्षाका साक्षी अनि सरकार पासपोर्ट बेच्ने ठेकेदार बन्दै छ । देशमा राजनैतिक नेता कार्यकर्ता शासक र वृद्धवृद्धा शासित बनेका छन् । ‘घरेलु व्यापार व्यवसाय चौपट हुँदै गएका छन् । देशभित्र अनेकौं समस्याहरुले हांगा हाल्दा समेत सिंहदरवार मस्त निदमा रहेको तितो यथार्थ नाटकमा समेटिएको छ ।
नाटकमा देशमै इलम गर्छु भन्ने युवाहरु किन पासपोर्ट च्यापेर विदेशिन बाध्य छन् ? कृषकहरु किन पीडामा छन् ? नेपालीहरुको दुर्दशालाई राज्य शक्तिको बाँडफाँडले कहिले समेट्ने ? शिक्षा, स्वास्थ्य, यातायात र कृषिमा राजनीतिले कहिलेसम्म जरो गाँड्ने ? जनता छाना, माना र नानामा कहिले पूर्ण हुन्छन् ? उनीहरुको श्रमको भोक कहिले मेटिन्छ ? सर्टिफिकेटधारी शिक्षा प्रणाली र बेरोजगारको प्रमुख गन्तव्य विश्वविद्यालय कहिले सम्मका लागि ? सत्ता संयन्त्रका पक्षधर दलाल, भ्रष्ट र मानवीय अस्तित्वहिन मानिसहरुको शोषण, दमन र अन्यायमा परेका युवाहरु भोक, रोग र शोकको दलदलमा परेर भौतारीरहेका युवाहरु देशभित्रै कसरी अडिने ? भन्दै सत्तामाथि यी यावत प्रश्नहरु गरिएको छ । तर, सरकार निर्लज्ज अनुहार लिएर समृद्धिको नारा लगाइरहेछ । अत्याधुनिक युगले छोपेको दरबार जति समय व्यतीत गर्दै गएको छ उति नै लाजको भोक जगाइरहेछ जस्ता संवादमा आम युवाको आक्रोश र पीडाभाव झल्किएका छन् ।
जनताहरुको उत्तर दिने ठाउँमा रहेका सत्ताधारीहरुले उचित निकासका लागि तदारुकता नदेखाउँदा युवा जनशक्ति नाजवाफ छन् । हो यस्तै प्रश्नै प्रश्नहरुको चाङहरुमा रुमलिरहेको यथार्थ परिवेशमा यो नाटकले जन्मने अवसर पाएको किरण बताउँछन् । तसर्थ, नाजवाफ समाज र स्वार्थलिप्ताले पोतिएको सत्ता संयन्त्रको ‘अनुत्तरित’ नाट्य यात्रामा उदाएका चम्किला नक्षत्र किरण हुन् । नाटकमा संवादलाई भन्दा सांकेतिक र शारीरिक हाउभाउलाई जोड दिइएको छ । एउटै चरित्रले सबै विषयवस्तुको परिपोषणमा देखाइएको कलाले दर्शकहरु आनन्दित भए । उद्घाटन गरिएका संवादात्मक व्यंग्य अभिव्यक्तिहरु प्रतीकात्मक र सशक्त छन् । नाटकमा नागरिकता लिदैमा नागरिक नभइने । नागरिक हुन सत्ता र शक्तिको आड भरोसा चाहिने भन्दै गरिब जनताको प्रतिनिधित्व कलाकर्मी किरणले गरेका छन् ।
नाटकमा प्रशस्त विषयहरु समेटिएको छ । पात्रको शारीरिक अभिव्यक्ति र पृष्ठभूमिको तादात्म्यताले नाटक पुर्ण भएको छ । मञ्च, ध्वनि र प्रकाशको सहायताबाट किरणले आफूलाई अब्बल प्रस्तुत गर्ने जमर्को गरेका छन् । देशभित्र रहेका युवाहरु उदासिन, बेचैन, मानसिक नैराश्यता र पीडाको बोझमा जीवन व्यतित गर्दै छन् भन्दै समकालीन समाज र परिवेशलाई नियालिएको यस नाटकमा निर्देशक राम केएसीले नेपालीहरुको विकृत मनोदशा एवं द्वन्द्वात्मक मानसिकताको स्थितिलाई बुझाउन भयंकर ध्वनि र संवादको प्रयोग गरेका छन् । देशमा नातावाद र कृपावादको बल्दो आगोमा पिल्सिन बाध्य निर्दोष जनताहरुले सत्ताप्रति निकै आक्रोश र पीडाहरु पोख्ने गरेको विषयले उत्कर्ष बिन्दु प्राप्त गरेको छ । यसरी रङ्गकर्मी किरणले सामाजिक यथार्थवादी दृष्टिकोणलाई आत्मसात् गरि समय सान्दर्भिक नाट्य अभिनय गरिरहँदा के ‘अनुत्तर’ नाटकको उत्तर लक्षित वर्गबाट पाउलान् ? यदि उनले जवाफ पाए वा भेटे भने नेपाल र नेपालीहरु यी यावत् समस्याको भुमरीमा कहिल्यै पर्नुपर्ने छैन । न विदेशिन नै । तसर्थ कलाकारिताको सम्मानमा हामी सबै जुटौं र राज्यसत्ताको बागडोर सम्हालेका शासकहरुलाई सचेत गराऊ । रङ्गकर्मी किरणलाई उज्ज्वल नाट्य यात्राको शुभकामना ।





