भेट्न खोज्दा उनले साँझ साढे ५ बजेपछिको समय दिइन् । गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुनसानजस्तै थियो । प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत मुख्यमन्त्रीको कार्यकक्षबाट एउटै छानोमुनिको आफ्नो कार्यकक्षतिर गएको देखियो । सायद, भर्खरै बैठक सकिएको थियो । मुख्यमन्त्रीका सहयोगीहरु घडी हेर्दै थिए ! एकैछिनमा उनीहरु पनि ज¥याकजुरुक्क उठे । मुख्यमन्त्रीले बाटो तताए । म छोटो बाटोबाट प्रमुख सचिवको कार्यकक्ष पुगेँ ।
लक्ष्मीकुमारी बस्नेत । गण्डकीकी प्रमुख सचिव अर्थात् स्थानीय तहबाहेक नै ३२ सयभन्दा बढी कर्मचारीकी हर्ताकर्ता । मुख्यमन्त्रीकी दाहिने हात !
सञ्चो बिसञ्चो हैन घर सोधियो । उनी मुखरित भइन् ।
५ दिदीबहिनी र २ दाजुभाइमध्येकी लक्ष्मीलाई पिता पूर्णबहादुर बस्नेतले सधैँ उत्प्रेरणामात्र दिए रे !
‘हाम्रोतिर त्यो बेलासम्म छोरीको छिट्टै विहे गर्ने चलन थियो, सु्र्खेतको वीरेन्द्रनगर क्याम्पसबाट डिप्लोमा छिचोल्दासम्म धेरै साथीहरुको घरजम भइसकेको थियो,’उनले एकैसासमा भनिन्,‘तर मलाई मेरा बुवाले डिग्री पढ्न काठमाडौं पठाउनुभयो ।’ उनले कमर्समा डिग्री गरिन् । अकाउण्टमा आफूलाई अब्बल सम्झने उनले पढाइ अनुसारको बैंकिङ क्षेत्रमै आँखा लगाइन् । यो ५७ सालतिरको कुरा हो । दुई वर्ष फाइनान्स कम्पनीको जागिरको अनुभव पनि लिइन् । बैंकको जागिर भन्दाभन्दै सुर्खेत नै फर्किइन् र आफै पढेको क्याम्पस पढाउन थालिन् । घर नजिकको जागिर खाँदै थिइन् । बढेकी छोरी, नाता–सम्बन्ध गाँस्ने प्रस्ताव पनि आउने नै भयो ! तर, पिता चाहिँ छोरीलाई खालि लोकसेवाको परीक्षा खुलेको सूचनामात्र सुनाउँदा रहेछन् !
‘बुवाको इच्छा, लोकसेवा खुल्यो भने मलाईभन्दा उहाँलाई पहिले थाहा हुन्थ्यो,‘उनले भनिन्,‘पछि मलाई पनि कलेजभन्दा त्यता जाऊँ भन्ने भयो । त्यो बेला लोकसेवाको अगाडि प्रवेश परीक्षा हुन्थ्यो । एक–दुईपटक फाराम भरेँ, २०६२ सालमा प्रवेश परीक्षा पास गरेपछि २०६३ मा तयारी गरेर जाँच दिएँ । २०६३ साल असोज ८ गते शाखा अधिकृतमा नाम निकालेँ ।’
त्यो बेला अहिलेजस्तो महिलालाई आरक्षणको व्यवस्था नै थिएन । ११७ जना शाखा अधिकृत खोजेकोमा लक्ष्मीसहित ३६ जना त महिला नै थिए ! निजामती प्रशासनमा त्यसले पनि चर्चा पायो । लक्ष्मीको जीवनले नयाँ मोड लियो । सेवा प्रवेश तालिमपछि पहिलो हाजिर चाहिँ भौतिक योजना तथा वातावरण मन्त्रालयमा भयो । निलोकोटे जागिर । महिलाको उपस्थिति नै कम । त्यसमाथि कलिलो उमेर ।
‘गाह्रो त भएन तर यसले के जानेकी छ र ? भन्ने भाव चाहिँ व्यक्त हुन्थ्यो,’ उनले उबेलाका कुरा सम्झिइन् ।
सजिला–असजिला भोगाइहरुले खार्दै लग्यो । सहरी विकास तथा भवन निर्माण विभागको पोष्टिङपछि त्यहीँ ५ वर्ष बित्यो ।
जागिर खानुमात्रले कहाँ हुन्थ्यो, पदोन्नतिको चाहना पनि पलाउन थाल्यो । २०६६ सालमा सोझै उपसचिवमा फड्को मार्न खोजिन् । त्यसको नतिजा नआउँदै २०६७ सालमा सहसचिवमा ‘ट्राइ’ मारिन् । सफल भइन् । निजामतीमा उनीभन्दा धेरै भोटो फटाएकाहरुले कुरा पनि काटे । एक हिसाबले यति छिटो किन भन्दै आरिस पनि गरे ।
बढुवापछि स्वभाविक सरुवा ? शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा नयाँ मुकाम बन्यो । सशस्त्र द्वन्द्वपछि स्थापित सो मन्त्रालयमा रहँदा अन्तर्राष्ट्रिय नियोगका मान्छेदेखि शान्ति समितिमा रहेकाहरुसँग संगत भयो । जनप्रतिधिविहीन त्यो बेला शान्ति समितिहरु नै जनप्रतिधि थिए । राजनीतिक नेतृत्वसँग कसरी काम गर्ने भन्ने जानकारी त्यही संगतले सिकायो ।
ढुंगाको भर माटो, माटोको भर ढुंगो भनेजस्तै । काठमाडौंमा कसैसँग भेट भयो । एनजिओमा काम गर्ने दोलखालीले लामो समय ‘पराइ’ बन्नु परेन । पिताले छोरी अन्माए । लक्ष्मी प्रशासकसँगै पत्नी पनि बनिन् ।
वातावरण तथा जनसंख्या,राष्ट्रपतिको कार्यालय हुँदै उनी कर्णालीको सचिव बन्न पुगिन् । आफ्नै जन्मघरमा सचिव बनेर जान पाउँदाको खुसी झन अर्र्कै ! माइतीको भात खायो,अफिस गयो, चलेकै थियो । कोभिड १९ को कहर व्यवस्थापनमा अब्बल प्रमाणित गरिन् । भयो कस्तो भने, त्योताका कर्णालीमा कर्मचारी नै कम थिए । कर्णाली र सुदूरपश्चिमलाई धेरै कमले मात्र समायोजनमा छानेका थिए, समायोजन भएकाहरुले पनि त्यहाँ हाजिर लगाएनन् । जो थिए, त्यहीँका थिए । मायाले जन्मघर पुगेकाहरुले कर्मचारीको अभाव हुन दिएनन्, बरु एउटैले तीनवटाको काम गरिदिए । जनताले सेवा पाए, लक्ष्मीले आफ्नोपनको महसुस !
२०८० मा सचिव बनेसँगै प्रमुख सचिवको रुपमा गण्डकी कार्यक्षेत्र बन्यो । राजनीतिक नेतृत्वको दबाब कस्तो हुन्छ ? भन्ने त जानेकै थिइन् । कर्मचारी प्रशासन कसरी चलाउने, टे«ड युनियनको दबाब कसरी झेल्ने भन्ने पनि समयसँगै उनले सिकेकी छन् । धेरैजसो बैठकहरु बिहान हुन्छन् । बेलुकाका बैठकहरु पनि साँझसम्म लम्बिन्छन् । प्रमुख सचिवले घरमा ११ वर्षको छोरा छ भन्न मिलेन । लक्ष्मीले आफूलाई प्रमाणित नै गरेकी छन् ।
‘५ बजे अफिस सकियो भनेर शुक्रबार पनि निस्केको छैन,सरकारलाई सल्लाह दिने हो, नियमसंगत रुपले काम गर्ने हो,त्यो काम भएकौ छ’ उनले हामीले प्रत्यक्ष देखेकै कुरा भनिन् ।
लक्ष्मीले राजनीतिक नेतृत्वले कहिलेकाहिँ कानून ख्याल नगर्ने गरेको तथ्य चाहिँ लुकाइनन् । न त, घरपायकको सरुवा खोज्ने कर्मचारीहरुको गुनासा र टे«ड युनियनको धम्की आउँदैन नै भनिन् ।
बरु, प्रदेश लोकसेवा आयोगले नै १७ सय कर्मचारी भर्ना गरिसकेकाले सरुवा–बढुवाको गुनासो स्वभाविक भएको उनको प्रतिक्रिया थियो ।
‘पायक र सुविधाजनक ठाउँ खोज्छन्,यहाँ लोकसेवाले नै मेरिट र रोजाएर काम गरिरहेको छ,’ उनले भनिन्,‘बढुवामा पनि त्यस्तै हो, गुनासा छन्, केही विषय अदालतसम्म पनि पुग्यो नै ।’
प्रदेशले सामथ्र्य बढाउन नसकेको, संघ सरकारले कानूनमा अड्को थापिरहेको र प्रदेश स्वयंले पनि स्थानीय तहलाई चाहिने कानून नबनाइदिएको तथा आफैले बनाएका कानून पनि कार्यान्वय गर्न नसकेको कुरा उनलाई थाहा छ । यी विषयमा राजनीतिक नेतृत्वबाटै पहलकदमी जरुरी छ भन्ने उनले सुझाएकै छन् ।
बरु, अहिले अख्तियारले पढाउने विभिन्न सुझावले ‘सातो’ गएका कर्मचारीलाई कसरी सम्हाल्ने भन्नेमा चाहिँ उनी पनि चिन्तित देखिइन् ।
‘२४ बुँदेपछि (अख्तियारको सुझाव) मनोवैज्ञानिक असर परेको छ,’उनले भनिन्,‘ कहाँ फसिने हो भन्ने डर–त्रास छ ।’
हिलाको मन कमलो हुन्छ भन्छन् ! लक्ष्मीमा पनि संवेदनाले छुने नै भयो । जागिर के का लागि ? सजिलो भाषामा भन्ने हो भने पेट पाल्नकै लागि त हो ! ११ वर्षको छोरासहित उनी पोखरा बस्छिन् भने खसम काठमाडौं । जोइपोइ सँगै बस्ने मन कसको पो हुँदैन र ? तर, लक्ष्मीले दाम्पत्य जीवनभन्दा दायित्वलाई अग्राधिकार दिएकी छन् ।
‘जागिरे जीवनमा घर बाहिर बस्दा दोहोरो मार परेको देख्छु,भोगाइ त सबैको उस्तै हो,’उनले भनिन्,‘जागिरे जीवनमा सहानुभूति खोजेर पनि हुँदैन,दायित्व पनि निभाउनैपर्छ ।’ उनी घरपाइको सरुवा खोज्न आउने कर्मचारीलाई सम्झाउँदै गरेकी सुनिइन् । र,थपिन्,‘निजामती सेवामा महिला दिदी–बहिनीलाई गाह्रो छ भन्ने मानशिकता छ,लोकसेवासँग डराएको देख्छु । निजामती भनेको सवैभन्दा सुरक्षित जागिर हो ।’ पछिल्लो समय निजामती क्षेत्रमा २८ प्रतिशतभन्दा बढी महिलाहरुको उपस्थिति रहेकाले पनि काम गर्न गाह्रो नहुने उनको ठम्याइ छ ।
सचिवमा बढुवा भएको एक वर्ष नाघ्यो । भर्खरै देशको मुख्यसचिवको बागडोर पहिलोपटक लीलादेवी गड्तौलाको हातमा आइपुगेको छ । अहिले लक्ष्मीसहित ६ जना महिला राजपत्रांकित विशिष्ठ श्रेणी अर्थात् सचिवको रुपमा कार्यरत छन् । निजामती सेवाको अन्तिम खुट्किलो मुख्यसचिव नै हो । अर्को महिला मुख्यसचिव र त्यहाँ लक्ष्मी ! महत्वाकांक्षा नाप्न केही झर्रो भाषामा सोधियो,‘कहाँ पुग्ने ?’
‘यहाँसम्म आइपुगेँ, खुसी नै छु । त्यहाँ (मुख्यसचिव) पुग्न समयले साथ दिनुपर्छ, सबैकुरा मिल्नुपर्छ,’ उनी फरासिली तर कुटनीतिक देखिइन् ।
समय र सबैकुरा भनेको के हो ? भन्ने प्रश्न चाहिँ राजनीतिक नेतृत्वसँगै गरुँला भन्ने लाग्यो । ४९ मिनेट ५५ सेकेण्डको कुराकानी बिट मार्दा साँझको ठ्याक्कै ६ः५१ भएको थियो ।





