सन् १९५० जुन ३ तारिकको दिनमा फ्रान्सेली नागरिक माउरिस हर्जोग नेतृत्वको पर्वतारोहण टोलीले विश्वका १०सौ अग्लो ८०९१ मिटर अन्नपूर्ण हिमालको सफल आरोहण पश्चात् नेपालको पर्वतारोहण पर्यटन विश्व वजारमा चर्चामा आउन थाल्यो । सन् पचासको दशकमा नेपालका ८ हजार मिटरभन्दा अग्ला सवै हिमालहरु आरोहण गरे । यस पश्चात् नेपालमा पर्वतारोहण पर्यटनले गति लिएको देखिन्छ । अझ अन्नपूर्ण आरोहण पश्चात् माउरिसले लेखेका ‘अन्नपूर्ण’ भन्ने पुस्तक सन् १९५२ मा न्यूर्योकबाट प्रकाशित भयो । सन् २००० सम्म १ करोड १० लाख थान पुस्तक बिक्री भएको अभिलेख छ । यसको प्रतिफलस्वरुप अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको घुइँचो लाग्न थाल्यो । पर्वतारोहण पर्यटनद्धारा सिर्जना भएका सामान्य पर्यटनको चाप बढ्न् गइ स्थानीय पारिस्थितिक प्रणाली तथा वातावरण खासगरी इन्धनका लागि दाउरा काट्ने क्रममा वन मासिने र फोहोरमैलाको चाप बढन थाल्यो । यस सवाललाई सम्वोधन गर्न संरक्षणकर्मीहरुले खासगरी स्व. डा.चन्द्रप्रसाद गुरुड, स्व. मिङमार शेर्पा र बोर्ट कोवर्नको टोलीले जनसहभागितमा आधारित संरक्षण क्षेत्रको अवधारणसहितको प्रतिवेदन तयार गरे । यसैको अवधारणमा सन् १९८६ ताका परीक्षणको रुपमा तत्कालीन घान्द्रुक आर्दश गाउ पञ्चायतको केन्द्र घान्द्रुक गाउँमा अन्नपूर्ण संरक्षण क्षेत्र स्थापना भयो । हाल यस क्षेत्र ५ जिल्लाका १६ पालिकाको ७६२९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले स्थानीय बासिन्दलाई संरक्षण र पर्यटन व्यवस्थापन सम्वन्धि ज्ञान, सीप, प्रविधि तथा अवधारणा सिकाए भने पर्यटन प्रवद्र्धनमा विदेशी मुलुकाहरुमा व्यापाक प्रचार प्रसार पनि गरे । यसै अवधारणाको सिको गर्दै राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रहरुमा पनि बिस्तार भयो । यसले पर्यटनद्धारा स्थानीय बासिन्दालाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ पुगेको छ । विगतका दिनहरुमा विदेशीले पर्वतारोहण पर्यटन गर्थे भने हाल पदयात्र पर्यटन व्यापक रुपमा प्रचलन छ । त्यसताका नेपालीले धार्मिक पर्यटनको रुपमा सुरुवात गरे पनि हाल नेपालीहरुले पनि पदयात्रा पर्यटन थालेपश्चात् पर्यटन विकासले व्यापाकता लिएको छ ।
गण्डकी प्रदेशले नेपालको पर्यटन क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । यहाका मनास्लु, अन्नपूर्ण, धौलागिरीजस्ता सेतम्व्य हिमाली श्रृंखला, महाभारत पर्वत श्रृंखलादेखि तराइका फाँटसम्म फैलिएको हरियाली वनजंगल फेवा, बेगनास र रुपा जस्तो निला तालहरु, विश्वको गहिरो अन्धा गल्छी, विश्वको अग्लो उचाइमा अवस्थित मनाङ जिल्लाको तिलिचो र कजिन सारा ताल, तातोपानीको मुलहरु, म्याग्दीको रुप्से, लमजुडको अक्टोपसजस्ता थुप्रै सुन्दर झरनाहरु, कालीगण्डकीजस्ता विश्व प्रसिद्ध धार्मिक नदीहरु, सुनाखरीको राजधानी पञ्चासे संरक्षित वन, पोखराको महेन्द्र गुफालगायत उपल्लो मुस्ताङका गुफाहरु तथा प्राकृतिक सुन्दरता र भौगौलिक विविधता भरिपूर्ण छ–गण्डकी प्रदेश । यस प्रदेशका प्रमुख बासिन्दाहरु गुरुड, मगर, तामाड, नेवार, थकाली, क्षेत्री, ब्राह्मणलगायतका जातजातिले सिर्जना गरेको कला र संस्कृतिले भरिपूर्ण छ । अझ कालीगण्डकी नदीको कुल ३४८ किलोमिटर लम्वाइमा मुक्तिनाथ, दामोदर कुण्ड, गलेश्वर धाम, मदीवेनी, सेतीवेनी, रुरु, राम्दी, कलादीघाट, देवघाट, त्रिवेणी जस्ता महत्वपूर्ण धार्मिकहरु क्षेत्रहरु छन् । साथै शालीग्राम शिला पाइने हुनाले पनि यो नदी ज्यादै महत्वपूर्ण छ । यही भौगोलिक विविधताले सिर्जना गरेको जैविक विविधताभित्र हिउँ हिचितुवा, कस्तुरी मृग, जंगली भेडा, नाउर, जंगली घोडा वा क्याड, गैंडा, बाघ, लौठ सल्ला, पाँचऔले, भोजपत्र, धूपी सल्ला जस्ता दुर्लभ वन्यजन्तु तथा वनस्पतिहरु पाइन्छ । यिनै भौगोलिक, जैविक र सांस्कृतिक विविधता अधिकतम् उपयोगसँग पर्यटन उद्योग जोडिएको छ । यस प्रदेशका भौगोलिक विविधता र प्राकृतिक सम्पतिलाई संरक्षण गर्न नेपाल सरकारले अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन शिकार आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र पञ्चासे संरक्षित वन स्थापना गरी प्राकृतिक सुन्दरता र मानव जातिले सिर्जना गरेका कला तथा सांस्कृतिक पक्षलाई संरक्षण गरेको छ । यिनै प्राकृतिक सुन्दरता, कला संस्कृति पछ्याउदै सन् २०१८ सम्म विश्वभरका १७६ मुलुकका लगभग १ लाख ८१ हजार भन्दा बढी पर्यटकहरु अन्नपूर्ण संरक्षण क्षेत्रमा मात्र भ्रमण गरेकोे थिए । पदयात्रका लागि विश्व चर्चित अन्नपूर्ण फेरो नामका पदमार्गमा लगभग ११०० भन्दा बढी होटेल, रिर्सोट, रेष्टुरेण्ट, चिया तथा किराना पसल, घरवास कार्यक्रमलगायत पर्यटक लक्षित व्यवसयहरु संचालनमा छन् ।
गण्डकी प्रदेश प्रकृति, सस्कृति र साहासिक पर्यटनको लागि प्रमुख गन्तव्यको रुपमा स्थापित भएको छ । मानव निर्मित कुस्माको अग्लो पुल, विश्वको दोस्रो अग्लो उचाइमा गरिने बम्जीजम्प, मनमोहक दृष्यमा गरिने प्याराग्लाइडिङ, स्काई साइक्लिङ, स्काइ रेष्टुरेण्ट, पर्वतारोहण, अल्ट्राफ्लाइट, माउण्टेन वाइक राइडिङ, राफ्टिङ क्यानोइनिङ, चट्टान वा भीरआरोहणजस्ता साहसिक पर्यटनलगायत ३२ भन्दा बढी सामान्य तथा धार्मिक पर्यटनसित सम्वन्धित गतिविधिहरु संचालन गर्न लगभग ११ हजार भन्दा बढी पर्यटन उद्यमसित सम्वन्धित कम्पनीहरुले सेवा प्रदान गर्दै आएका छन् । कोभिडा कालभन्दा अघिसम्म सन् २०१९ को आँकडा अनुसार गण्डकी प्रदेशमा लगभग १० लाख (४ लाख बाह्य र ६ लाख आन्तरिक) पर्यटक भित्रिएको तथ्याड्क उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकीले प्रकासित गरेको थियो । गण्डकीमा पर्यटन क्षेत्रमा लगभग ७६ हजार भन्दा बढी जनाले प्रत्यक्ष रोजगारी पाएको थिए भने न्यूनतम् १३ करोड ३६ लाख २१ हजार बराबर रुपैयाँको दैनिक कारोबार हुने प्रक्षेपण गरेको थियो । कोभिडा कालपछि आन्तरिक तथा वाह्य पर्यटकको चहल पहल अझ बढेको विभिन्न आँकडाहरुले प्रमाणित गरेका छन् ।
विश्वको प्रख्यात शिकार आरक्ष ढोरपाटन, विश्वको प्रमुख १० पदमार्गभित्र पर्ने अन्नपूर्ण फेरो, आरोहणको लागि प्रख्यात मनास्लु संरक्षण क्षेत्रमा पर्ने मनास्लु हिमाल, जंगल सफारीलक्षित वन्यजन्तु अवलोकनका लागि चितवन राष्ट्रिय निकुञ्ज यही प्रदेशका पर्यटकिया गन्तव्यहरु हुन् । चितवन राष्ट्रिय निकुञ्ज बाघ, हात्ति, गंैडा, मगर र घडीयाल गोही, गिद्ध जस्ता विश्वका दुर्लभ वन्यजन्तु अवलोकन गर्ने प्रमुख पर्यटकीय गन्तव्य हो ।

गण्डकी प्रदेशको समुदायिक घरबास ( कम्युनिटी होमस्टे ) कार्यक्रम अर्को महत्वपूर्ण पर्यटकिया उपज हो । २०५३ सालमा स्याडजा जिल्लाको सिरवारी घरवास कार्यक्रमको सबैभन्दा पहिले घोषण गरेको थियो भने लमजुड जिल्लाको घलेगाउँ र भुजुङ गाउँलाई एसियाको नमूना गाउँ घोषणा गरिएको थियो । गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्ष २०७४÷०७५ मा पर्यटनलाई अर्थतन्त्रको प्रमुख एक खम्बाको रुपमा स्थापित गर्न ३०० भन्दा बढी घरबास कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने लमजुडको घलेगाँउ र भुजुङ, कास्कीको ल्वाङ र सिक्लेस अनि चितवन निकुञ्जका नवलपुरका अमलटारी र पिप्रहर सामुदायिक घरबास कार्यक्रम प्रख्यात छ । यसैगरी संरक्षण क्षेत्र बाहिर स्थापित स्याङ्जाको सिरुवारी नेपालको जेठो सामुदायिक घरबास कार्यक्रम हो । यसबाहेक तनहूँको बन्दीपुर र टुटेपानी, पर्वतको चित्रे, क्याङ, भुका, लमजुङको काउलेपानी र राइनास, बाग्लुडको भकुण्डेमा अवस्थित सत्कार घरबास प्रचालितमध्येका उल्लेखनीय संख्यामा पर्यटक पुग्ने घरबास लक्षित पर्यटकिय गन्तव्यहरु हुन् । यी सामुदायिक घरबास गन्तव्यमा आ.व. २०७९/०८० को ८ महिनामा १ हजारभन्दा बढी पर्यटक पुग्ने घरबासको संख्या लगभग १०० को हारहारीमा छ । अत्याधिक आन्तरिक पर्यटक पुगेको ल्वाङको सामुदायिक घरबास कार्यक्रम हो । यस सामुदायिक घरबास व्यवस्थापन समितिका सचिव तीर्थ गुरुङका अनुसार आ.ब. २०७९÷०८० को आठ महिना लगभग ३५ हजार भन्दा बढी आन्तरिक पर्यटक पुगेका छन् । यसैगरी अमलटारी २२ हजार, सिक्लेसमा २५ हजार, घलेगाउँ २४ हजार, भुजुङमा ७ हजार जनाभन्दा बढी आन्तरिक पर्यटक पुगेको आँकडाले देखाउँछ । यसरी घरबास कार्यक्रममा न्यूनतम १ हजार आन्तरिक पर्यटक पुगेको गणनाको आधारमा समग्रमा न्यूनतम २ लाख १५ हजारभन्दा बढी आन्तरिक पर्यटकले गण्डकी प्रदेश भ्रमण गरेको अभिलेख देखिन्छ । अधिकांश सामुदायिक घरबास कार्यक्रममा सहभागी एक पर्यटकलाई एक रातको प्याकेजमा सरदर १२ सय रुपैया खर्च गर्ने मापदण्ड तोकेको छ । यस तथ्याड्कको आधारमा यस अवधिमा न्यूनतम २५ करोड ८० लाख रुपैया ग्रामीण क्षेत्रमा कारोबार भएको सजिलै अनुमान लगाउन सकिन्छ भने अर्कातर्फ नेपालीहरु पनि देश दर्शन कार्यक्रममा सहभागी हुने क्रम बढेको प्रमाणित हुन्छ । पर्यटनले तरकारी, अन्नवाली, फलफूल, पंक्षी तथा पशुपालक किसानहरुलाई अप्रत्यक्ष रुपमा लाभ पुगेको छ ।
गण्डकी प्रदेशको अधिकांश क्षेत्रफल संरक्षित क्षेत्रले ओगटेको छ । यही संरक्षण क्षेत्रभित्र यस क्षेत्रका पर्यटन व्यवसयीहरु पर्यटनको नयॉ गन्तव्य खोज्ने क्रम जारी छ । केही दशक अघि ट्रेकिङ एजेन्सी एसोसियन अफ नेपाल (टान) को पहलमा मार्दि हिमाल पदमार्ग खोलेको थियो । यसैगरी केही वर्ष अघि माछापुछे« हिमालको नजिक पुग्ने खुमाई पदमार्ग संचालन ल्याए भने हालै मात्र आर्थिक वर्ष २०८०÷०८१ मा नेपाल सरकारको सहयोगमा गुरुङ पर्यटन व्यवसायी संघ पोखराद्धारा गण्डकी प्रदेशको नयां गन्तव्यको रुपमा पोखरादेखि, सिक्लेस, कोरी, क्होंलासोथर, थर्चु, दूधपोखरी (४५८५ मी.), नामून भञ्ज्याङ (४९१० मी.) हुदै मनाङको तिमाड पुग्ने ‘गुरुङ सम्पदा मार्ग’ नामकरण गरिएको नया पदमार्ग पहिचान गरेको छ । यस पदमार्ग पोखरादेखि नामून भञ्ज्याङहुँदै पैदल यात्रा गर्न ३ देखि १२ दिन अवधिको १३ वटा सम्भावित वैकल्पिक पदमार्ग पत्ता लागेको छ । यस पदमार्गले कास्की तथा लमजुङबाट मनाङ पुग्ने हिमाली श्रृडखला पार गर्दै मनाड जिल्लाको सदरमुकाम चामे पुग्दछ ।
पर्यटकले सिर्जना गरेका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न सफल जनसहभागितमा आधारित पर्यटन व्यवस्थापना तथा संरक्षण कार्यक्रमहरुले गति लिएको छ । प्रकृति संरक्षणले पर्यटन प्रवद्र्धन हुन्छ भन्ने जनचेतना अभिवृद्धि भएको छ । यस पर्यटनसितै संरक्षणको कार्यक्रमले एक आपासमा सम्वन्ध विस्तार भइ वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुगेको छ । प्रकृति रक्षति रक्षिता भन्ने संस्कृत भाषाको उखानलाई गण्डकी प्रदेशको पर्यटन व्यवसायले प्रमाणित गरेको छ । यस कार्यक्रमले स्थानीय उत्पादनलाई प्राथमिकता दिने, सामाजिक संंजाल विस्तार हुने, सामुदायका सवै सदस्यहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष लाभ मात्र नदिइ प्रकृति संरक्षणमा समेत योगदान पुगेको छ । अन्तमा पर्यटन र प्रकृति संरक्षण एक आपासमा अन्तरनिहित सम्बन्ध छ र दुवै पक्षले लाभ लिइरहेको छ भन्न अत्युक्ति नहोला । यस अवधारणालाई प्रर्वद्धन गर्दै गण्डकी प्रदेशले पर्यटनलाई अर्थतन्त्रको एक खम्बा बनाएको छ । यसैगरी अन्य प्रदेशहरुले पनि सिको गर्न सकेको अवस्थामा ‘समृद्ध नेपाल सुखी नेपाली’ नारासहितको १६ औं योजनाको लक्ष्य प्राप्त गर्न र दिगो बिकास लक्षलाई सम्बोधन गर्न सहजता हुनेछ । यसरी पर्यटन र संरक्षण क्षेत्रबाट प्राप्त लाभ नै गण्डकीको गौरव मानिने छ । नेपालको अन्य क्षेत्रको तुलानत्मक रुपमा गण्डकी क्षेत्रले पर्यटनको विकासमा अग्रणी स्थान ओगटेको प्रमाणित गर्दछ ।
लेखक डा. गुरुङ संरक्षणविद् हुन् । (सं.)





