बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

भैरवस्थान र हरेलो मेलाको ऐतिहासिक महत्व

भैरवस्थान र हरेलो मेलाको ऐतिहासिक महत्व

कोट भैरवलाई इष्टदेव मान्ने भक्तजनहरुलाई जोड्ने सेतुको काम गर्दै आएको यस मेलाले सामाजिक सद्भाव, एकता र स्थानीय कला संस्कृतिको संरक्षण हुने विश्वास लिइएको छ ।


  • माधव चापागाईं
  • भाद्र ३ २०८१, सोमबार

परिचय
‘भैरव’ शब्द संस्कृत भाषाबाट आएको तत्सम शब्द हो । नेपाली भाषामा प्रचलित यस शब्दको व्युत्पत्तीगत अर्थ खोज्दा ‘भीरू’ शब्दमा अण प्रत्यय लागेर बनेको देखिन्छ । जसको अर्थ भयानक, डरलाग्दो, भयावह भन्ने हुन्छ । भैरव शब्दमा ‘ई’ प्रत्यय लागेर ‘भैरवी’ बन्छ भने भैरव शब्दमा स्थान जोडिएर भैरवस्थान एवं भैरवस्थानबाट अपभ्रंश हुँदा ‘भैरमथान’ र भैरिमथान भन्ने शब्द पनि प्रचलनमा रहेको छ । जसको शुद्ध रुप भैरवस्थान हुन्छ । भैरव आएर बसेको स्थानलाई भैरवस्थान भनिएको हो । निश्चित समय पत्ता नलागे पनि पाल्पामा रहेका शक्तिले उन्माद सेता र काला दुई भाई भैरबदेवता बीच आपसी बेमेल हुँदा यस बलेवा क्षेत्रका शासकद्वारा पाल्पाबाटै यस स्थानमा ल्याइएका देवता भन्ने प्रचलन छ । कतिपय बुढापाकाहरूले सयौं वर्ष अघि कुनै मंलबारको मध्यरातमा दक्षिणबाट एक ज्वाला आगोको राँको यसै स्थानमा झरी रातभर बलेको र भोलिपल्ट बिहान स्थानीयले धामी झाक्रीद्वारा सोधखोज गर्दा म कालभैरव देवता हूँ, पाल्पाबाट यस स्थानमा आएको छु । मेरो सेवा गर्नु भन्ने वाणी उत्पन्न भएकोले त्यसै अनुसार देवता स्थापना गरी पूजा प्रचलन गर्दै आएको मानिन्छ । यी सबै ऐतिहासिक तथ्यको आधारमा यी देवता पाल्पाबाट ल्याइएका वा आएका मान्न सकिन्छ । यिनका दाजु जेठा काठमाडौँ हनुमान ढोका, माइला सेता भैरव पाल्पा र कान्छा कालभैरव यस स्थानमा रहेको किंवदन्ती छ । यो घटना त्यहाँका अभिलेख प्रकृति र जनश्रुतिका आधारमा वि.सं. १७८० भदौ पहिलो मंगलबार भएको मानिन्छ ।

कालो भिमकाय शरीरमा कालै वस्त्र पहिरेका, डरलाग्दा नयन, कण्ठमा मुण्डमाला धारण गरेका, डमरु, त्रिशूल र फलामको दण्ड हातमा लिएका, कुकुरमाथि सवार उग्र स्वरुपका भैरवलाई कालभैरव भनिन्छ । भय र तामस उपासनाका उग्र देवता कालभैरवलाई देवाधिदेव महादेवका प्रलयकारी गण एवं मृत्युका देवताको रूपमा पनि पुजिन्छ । भैरवको निवासस्थल अर्थात् भैरवस्थान मन्दिरले केही वर्षयता अत्यधिक भक्तजको सद्भाव र माया पाएको छ । स्थानीय सरकारदेखि संघीय सरकारसम्मको समसाथ पाउनु यस क्षेत्रको लागि गर्वको कुरा हो । बागलुङको दक्षिणी भेग बलेवा अमलाचौरस्थित यस मन्दिरमा नवरात्रको समयमा मात्रै भक्तजनहरु पुग्ने गर्दथे । तर अहिले सबै महिनामा दर्शनार्थीहरुको घुइँचो लाग्ने गरेको छ । मन्दिरमा शनिबार र मंगलबार विशेष पुजा र भाकल पूर्ण गर्न मानिसहरुको उपस्थिति रहन्छ । सुख, समृद्धि, श्रीवृद्धि र अभयदाताका रुपमा पुजिने भैरवलाई काल, ताम्रचूड, रुद्र, क्रोध, महासंहार, असिताङ्ग र चन्द्रचूड लगायतका नामले पुकारिन्छ । भैरव रिसाएमा अनिष्ट हुन्छ भन्ने मान्यतानुसार भैरवलाई प्रसन्न बनाउन तोरीको तेल, दूध, दहि पक्वान्न, हलुवा, मेवा, खिर, रोट, नरिवल र पशुबलि आदिको भोग लगाएर भैरवको वाहनलाई समेत खुशी बनाउन सके मानवीय दुख, कष्ट नाश हुने, जसापवादबाट मुक्ति मिल्ने, शत्रु भय नहुने, दुष्ट ग्रहको पीडा दुर हुने र समाजिक प्रतिष्ठासहित शान्ति मिल्ने जस्ता मनोकामना पूर्ण हुने लोकोक्ती चल्दै आएको छ ।

लेखक

यस मन्दिरमा रोगव्याधी, आयुआरोग्यता, बाढी पहिरोको संकट, घरायसी समस्या, पारिवारिक विछोड, दाम्पत्य जीवनका कठिनाइ, जस्ता समस्याको निवारण सम्बन्धि मनोकामना लिएर भक्तजनहरु पुग्छन् भने ऋण मोचन, सन्तान सुख, शुभाशुभ धार्मिक क्रियाकलापको अविघ्नता, वैदेशिक यात्रा, विद्या प्राप्ती, प्रेम र मिलन, प्राकृतिक प्रकोप, अन्नबाली, भु–संरक्षण, पशुचौपायको परिपालन एवं गोष्ठ शुद्धीका समस्या निवारणका लागि भाकल गरि आफूले इच्छ्याएको वरदान मिलोस् भनी कामना गर्ने प्रचलन छ । काल भैरवलाई इष्टदेव मान्ने यहाँका स्थानीय बासिन्दाहरुले आफ्ना सबै कर्महरुको साक्षी भैरवलाई नै मान्छन् । नयाँ वर्ष, जन्मोत्सव र पर्व दिनहरूमा भैरवको पुकार गर्नु अनिवार्यता ठानिन्छन् भने ऋषितर्पणी, न्वागी, पुली लिने, हलसारो गर्ने, विजयादशमी र दिपावलीको टीका उठाउने र टीका प्रसाद ग्रहण गर्ने शुभ समय पनि उनै इष्टदेव कालभैरवको सान्निद्यमा गर्ने प्रचलन रहेको छ । धार्मिक भक्तजनका साथमा यहाँको प्राकृतिक रमणीयतामा रमाउन पुग्ने पर्यटकहरूको रोजाइमा पनि यस क्षेत्रले अस्तित्व जमाइरहँदा देशका धेरै ठाउँबाट मानिसहरु अवलोकन भ्रमण, वनभोज र भकुण्डेमा रहेको होमस्टेमा बास बस्न पुग्ने गरेका छन् । बलेवा (कोट) भैरव अर्थात् कालभैरवको मन्दिरका नामले प्रसिद्ध यस मन्दिरमा श्रद्धालु भक्तजनहरुले मागेको वर पाइने र चिताएको पुग्ने जनविश्वास रहेको छ । जसका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको संख्या बढ्दै गइरहेको छ ।

तेस्रो हरेलो मेला
यतिबेला बलेवाली जनता खुशी छन् । आफ्ना इष्टदेव कालभैरवको सान्निध्यमा धार्मिक महोत्सवको तयारी भइरहेको छ । जिल्लाकै मुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रको रुपमा परिचित भैरवस्थान मन्दिर परिसरमा हरेक वर्ष भाद्र महिनाको पहिलो मंगलबार यो मेलाले अस्तित्व पाउँछ । हरेलो पर्वको अवसर पारेर सञ्चालन हुँदै आएको मेलाले प्रसिद्ध भैरवस्थान मन्दिर र यस क्षेत्रको ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक एवं साँस्कृतिक गरिमालाई अभिबृद्धि गर्ने विश्वास लिइएको छ । सदियौंदेखि नवरात्र र हरेलो लगायतका पर्वहरुमा तरवार नाच, भजन किर्तन, नौमती बाजा, नगराका साथ भैरवदेवताका भक्तजनहरुका आगामी दिन शुभ, मंगल र कुशल रहुन, झुटको अन्त्य भइ न्यायको जित होस्, दुख दारिद्र्यताको अन्त्य होस्, अन्न भण्डार पर्याप्त रहोस् भन्ने मनोकामना लिएर जाग्राम बसी भुमे देवताको दर्शन, मौलो पुजन महाकाली, महालक्ष्मी, महासरस्वतीको प्रार्थनाका साथमा बली चढाइ ब्राम्हण र कन्याहरुलाई दान दक्षिणा र भोजन गराएर मेला समाप्त गर्ने रोचक इतिहास पाइन्छ । यिनै मेलालाई आधुनिकता दिएर यतिबेला भैरस्थान गुठी व्यवस्थापन समिति उत्साहपूर्ण तवरले तेस्रो हरेलो महोत्सव सम्पन्न गर्न जुटिरहेको छ । जस्का कारण स्थानीयहरु प्रशन्न भएका छन् । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरस्थित भैरवस्थान मन्दिर परिसरमा बागलुङ नगरपालिकाको सहकार्यमा पुनरुत्थान भएको यस मेलाले यो वर्ष भाद्र ४ गते औपचारिकता प्राप्त गर्ने छ ।

कोट भैरवलाई इष्टदेव मान्ने भक्तजनहरुलाई जोड्ने सेतुको काम गर्दै आएको यस मेलाले सामाजिक सद्भाव, एकता र स्थानीय कला संस्कृतिको संरक्षण एवं मन्दिरको प्रचारप्रसार हुने विश्वास लिइएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउन सहयोग पुग्ने अपेक्षा राखिएको यस मेलाको उद्घाटन कालभैरवकै काखमा जन्मिएका सफल उद्योगपती एवं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालको करकमलबाट हुँदैछ ।

बागलुङ नगरपालिकाका वडा नं. १०, ११, १२, १३, १४ र जैमिनी नगरपालिकाको १ नं. वार्डका जनताले कालभैरवलाई इष्ट देव मान्दै आएका छन् । ‘भैरवस्थान मन्दिरको दर्शन, कला, संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ मेला आयोजना भएको छ । यस वर्षको हरेलो मेलामा ख्याति प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुतिका साथै खुल्ला छेलो प्रतियोगिता, रायडाँडा, भकुण्डे, अमलाचौर, नारायणस्थान, कुश्मिसेरा र पैयुँपाटाका क्रमशः भजन, झाम्रे, गन्धर्व गीत, लाखे, सालैजो, नौमती बाजा र स्थानीय तरबार नाच समेत देखाइने भएको छ ।

मन्दिरको जीर्णोद्धार र विकास
विगत दशकौंदेखि जिर्णोद्दार हुन नसकेको मन्दिरले मर्मत संहार पाउने भएको छ । पछिल्लो समय बाह्य संरचनामा नगरपालिकाको साथ पाएको भैरवस्थानले मन्दिरको क्षेत्रफल बढाउन ५० लाख लागतमा पक्की पर्खाल निर्माण र तारबार गर्न सहयोग गरिरहेको छ । गण्डकी प्रदेश सरकारले मन्दिर वरपरको क्षेत्रमा लगानी गरिरहेको छ ।

यतिबेला मन्दिर जीर्णोद्धार गर्नका लागि संघ र गण्डकी प्रदेश सरकारबाट २७ लाख बजेट विनियोजन भएको छ । तीन सय वर्ष पुरानो ढुङ्गा माटोले निर्मित मन्दिर भग्नावशेषको स्वरुपमा थियो । १९९० सालमा स्थानीय खड्गबहादुर पाठकले निजी खर्चमा बटौलीबाट तामाका पाता ल्याएर छानो बनाएको कुरा जानकारीमा आउँछ । त्यसपछि मन्दिरको निर्माण कार्य यथास्थितिमै सिमित थियो । करिब तीन दशकअघि तत्कालीन कोट पुजा व्यवस्थापन समिति अध्यक्ष गुरुदत्त पाठक र पैँयुपाटका बुद्धिजीवी एवं पण्डित हेमराज पौडेलले २०४६ मङ्सिरमा राजा विरेन्द्रको बागलुङमा सवारी हुँदा मन्दिर पुननिर्माणका लागि राजा समक्ष बिन्तिपत्र चढाएका थिए । सरकारबाट हुकुम भएको १ लाख ३३ हजार रुपैयाँ) गुठी संस्थान केन्द्रीय कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङमार्फत निकासा भएको थियो । जुन रकम पाएपछि मन्दिर पुननिर्माणको कामले सुक्ष्म आकार पाएको थियो । कडा परिश्रमले निर्माण गरिएका झ्याल ढोकासहित काष्ठ कलाले मन्दिरलाई सिङ्गारेर नयाँ छानो बनाए लगत्तै थोरै धेरै आधुनिकताको गन्ध पाउने गरि २०४९ सालको हिउँदमा निर्माण सम्पन्न भएको तत्कालीन अध्यक्ष गुरुदत्त पाठक बताउनुहुन्छ ।

वर्तमानमा प्रवेशद्वार, चौतारी, पोखरी, बाह्य तारबार र व्यावसायिक सटरहरु निर्माण सम्पन्न भएका छन् भने केही पुर्वाधार निर्माणाधीन छन् । यी सबै भौतिक पुर्वाधारहरुले विश्वास छ छिट्टै पूर्णता पाउनेछन् । यहाँको प्राकृतिक सुन्दरता सामाजिक, साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व यत्रतत्र सर्वत्र उद्धाटन होस् । जसका कारण अनगिन्ती भक्तजन र पर्यटकको रोजाइमा भैरवस्थान मन्दिर र वरपरको परिवेश परोस् । नेपाल सरकारको १०० पर्यटकीय गन्तव्यभित्र समेटिएको यस मन्दिरमा दर्शनार्थीलाई खानेपानी, शौचालय र विश्राम गृहको व्यवस्थापन गर्न आवश्यक देखिन्छ । कोट घरको संरक्षण एवं जिर्णोद्दारका साथमा कोट घरसम्मको पदमार्ग निर्माणको कामलाई तिव्रता दिनुपर्ने छ । बाह्य परिवेश एवं पर्यावरण संरक्षण र सुरक्षार्थ मन्दिर परिसरमा पर्खाल निर्माण, सवारी पार्किङस्थल साथै मन्दिर नजिकै रहेको पोखरीलाई जल कुण्डमा परिणत गराउन स्थानीय तह लाग्नुपर्ने देखिन्छ । मन्दिर व्यवस्थापन समिती र स्थानीय तहबीच उचित तादात्म्यता मिल्न सकेमा र प्रचारप्रसारमा जुटेमा यहाँ बाह्रै मास दर्शनार्थी र पर्यटकले भरिभराउ हुने देखिन्छ ।

यातायातको पहुँच पुर्याउनुका अलवा यहाँको प्राकृतिक साँस्कृतिक, धार्मिक र ऐतिहासिक महत्व स्पष्ट पार्न सके यस मन्दिरको गरिमा अझै बढ्ने अनुमान गर्न सकिन्छ । यस वर्षको हरेलो मेला यहीँ भदौको पहिलो मंगलबार हुने भएको छ । यस क्षेत्रका किसानहरुले हरेलो पर्वको अवसरमा मन्दिरमा धुमधामका साथ पुजाआजा गर्ने प्रचलन छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->