शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गाउँ पुग्यो विकास : बदलिएन मनोविज्ञान

गाउँ पुग्यो विकास : बदलिएन मनोविज्ञान

हरेक व्यवस्था परिवर्तनपछि विकासको आश्वासन बाँडिएका छन् । तर, विकास सुस्त छ । विकासको नाममा हाम्रा अघिल्ला पुस्ताहरुले धेरै बर्वादीमात्रै बेहोरेका छन् ।


  • उजिर मगर
  • भाद्र ४ २०८१, मंगलबार

फ्लासब्याक
मौसमः बडिगाड खोलाको चिसो सिरेटो । मंसिर निख्रिन २ दिन बाँकी । कठ्ङ्ग्रिदो जाडोको चाप उक्लिँदो । जुनसुकै उमेरकालाई लुगलुग कमाउने ।
साइत जुरेको समयः बिहान साढे ५ बजे ।
स्थानः बुर्तिबाङ जाने भिमगिठेको बजार टुङ्गिएपछिको डाँडा । जहाँबाट पहिलो पटक बुर्तिबाङमा चारपाङ्ग्रे जिप, ट्याक्टरको उदघाट्न ।
मितिः २०६१ मंसिर २८ गते ।

जेनतेन बाटो भिमगिठेसम्म पुग्यो । माओवादी द्वन्द्वको मार र सास्ती बुर्तिबाङले झेलिरहनु परेको थियो । भिमगिठे बजारको डाँडा काटेर बाटो उँभो लागेको बर्षौँ बित्यो । त्यो कच्ची मोटर बाटोबाटो हुँदै मोटर चढेर बुर्तिबाङ पुग्ने बुर्तिबाङवासी (मुख्य त ढोरपाटनबासी)को सपनालाई राज्यले पूरा गर्ने छाँट देखाएन । सरकारको कुनै सुरसार नदेखेपछि बुर्तिबाङका स्थानीय समाजसेवीहरुको पहलमा गच्छेनुसार रकम उठाए । बाटो फराकिलो बनाए । अब, बुर्तिबाङमा गाडी चल्छ भन्नेमा ‘सर्भे’ पछि यातायात व्यवसायीहरु पनि तयार भए ।
जनताको पैसाले बुर्तिबाङमा पु¥याएको बाटो यतिखेर मध्यपहाडीको नामले पुकारिँदै छ । जुन दिन बुर्तिबाङमा पहिलो पटक गाडी पुग्दै थियो । साढे ५ बजे लु.१.ख. ८७५ नम्बरको जीपलाई सिङ्गारपटार गरेर पूजा गरियो । रिपोर्टिङ्गका लागि गाडीको छतमा उक्लेर क्यामेरा घुमाउन सुरु गरियो । जब गाडी खल्तुबोट पुग्यो, माथि गाउँमा रातभर कोही पनि निदाएका रहेनछन् । ढिककान्ला नभनिकन मान्छेहरु हामफाल्दै गाडीलाई स्वागत गर्न बाटोमा झरे । उनीहरुले देखेको विकास त्यही थियो ।

हाल बुर्तिबाङमा रहेको बसपार्कलाई २०४७ सालमै सम्याएर ‘बसपार्क’ भनेर नामाकरण गरिएको थियो । जुन बसपार्कमा १५ वर्षपछि बल्ल बस रोक्कियो । बुर्तिबाङबासीले आफैले पैसा उठाए, आफ्नो घरदैलोमा गाडी पु¥याए । ‘विकास भयो’ भनेर फूलमाला, अबिरजात्रा आफै गरे । त्यति ठूलो मात्रामा अबिरजात्रा सामूहिक रुपले बुर्तिबाङमा सायद पहिलो थियो होला । उल्लेखित सन्दर्भलाई यहाँ जोड्नुको एउटै कारण हो ‘विकास देख्न जनता कति आतुर छन् ?’
अहिले मध्यपहाडी लोकमार्गले कहलिएको, पछि मध्यपहाडी लोकमार्ग रेखाङ्कनमा बुर्तिबाङ दोस्रो नमूना सहर भनियो । यद्यपि, भिमगिठेदेखि बुर्तिबाङसम्म बाटो पु¥याउने जनताका योगदान देखिएन । कम्तिमा भिमगिठेदेखि बुर्तिबाङ बजारसम्मको सडक खण्डलाई एउटा छुट्टै नामाकरण गरे जनताले आफ्नो बालबच्चाको गास कटाएर दिएको चन्दाको सम्मान हुने थियो ।
विकास आवश्यक गतिमा अघि बढेको हुन्छ । र, समय अनुसार परिवर्तन पनि हुन्छ । देशमा हुने राजनीतिक ‘उथलपुथल’ र परिवर्तनसँगै विकासको ‘मोडेल’ पनि फेरिन्छ । जुन कालमा परिवर्तनले विकास गरेको हुन्छ, त्यहाँ पहिलेका अस्तित्वको माध्यम अनिवार्य हुन्छ । त्यही सन्दर्भले बुर्तिबाङमा बाटो कसरी पुगेको थियो ? भन्ने सन्दर्भमा स्वयं पंक्तिकार भुक्तभोगी भएकाले यहाँ सन्दर्भ औंल्याएइको हो ।

मध्ययुगको अन्त्यतिर विकासको सोच
नेपालमा विकासको योजना कहिलेदेखि कोरियो ? यसको धेरै लामो इतिहास छैन । विक्रम सम्वत् २००० देखि आर्थिक, सामाजिक, राजनीतिक अवस्थाको योजनाबद्ध तयारीको प्रारम्भकाल मानिन्छ । यो ८० वर्ष वरपरबाट मान्छेको बसाइँसराइ भएको देखिन्छ । बसाइँसराइ विकास कारक बन्छ ।
२००५ जेठ १४ गते श्री ३ मोहनशम्सेरको सिन्दूरजात्राको भाषणमा नेपाल उद्योग परिषद्को मातहतमा ‘राष्ट्रिय आर्थिक योजना समिति’ गठन गर्ने कुरा परेको थियो । सोही बमोजिम पञ्चवर्षीय योजना सुरुवात भयो । तब विकासको योजना बन्न थालेको देखिन्छ । पहिलो पञ्चवर्षीय योजनामा विकासका लागि सुझाएका बुँदाहरु देहाय बमोजिम रहेका थिए–
१. कृषि
देशमा नरनारीले पेटभरि सन्तुलित खाना खान पाऊन, तराइमा खाद्य र नगदे बालीको र पहाडमा फलफूलको बगैंचा, पशुपालन र जडीबुटीको विशेष उन्नति होस् ।
२. उद्योगधन्दा
तराईमा हाम्रो दैनिक जीवनलाई आवश्यक र विदेशमा चाह भएका माल तयार हुने मझौला किसिमका उद्योगधन्धाको औ पहाडमा घरेलु इलमको प्रचार बढोस् । प्रकृतिको सौन्दर्यले परिपूर्ण देशहरुमा विदेशीहरुको भ्रमणसम्बन्धी उद्योग चढेबढेको देखिन्छ । बाटो र अरु यातायातको असुगमता र चाहिने प्रबन्धहरुको न्यूनताले गर्दा अहिले नै हाम्रो मुलुकमा विदेशीहरुको भ्रमण इन्तजाम हुन सक्तैन तापनि, यहाँ पनि सो बढाउने उद्देश्यले रमणीय स्थानको निरीक्षण र स्याहार गर्ने प्रबन्ध होस् ।
३. बिजुली
मझौला खालका बिजुलीको उत्पादन उद्योग देशको विभिन्न भागमा खुलून् ।
४. यातायात
सुगम यातायातको लागि मेचीदेखि महाकालीसम्मको सडक र सबै प्रदेशमा यो सडकसँग उत्तर–दक्षिण जोडिने मूलबाटाहरु बनून, प्रदेशैपिच्छे टेलिफोन लाइन र डाँकखाना, हुलाक बनाउन र खोल्नको लागि प्रबन्ध होस् ।
५. जङ्गल
देशको जङ्गल धन बढाउनको लागि औ विदेशमा काठको निकासी गर्ने उद्देश्यले र पहाडमा खोलो पैरो रोक्ने हेतुले जङ्गल पालिऊन् ।
६. खानी
कहाँ कुन किसिमका खानी छन्, सर्भेद्वारा तिनीहरुको राम्रो निर्णय गरी देश निर्माणलाई आवश्यक वस्तुको निमित्त विदेशी पैसा कमाउने विचारले समेत खानी खोल्ने प्रबन्ध होस् ।
७. शिक्षा र स्वस्थ्य
यस योजनाको निमित्त शिक्षित मानिसको प्रशस्त दरकार पर्नेछ । सो पूर्ति गर्नलाई शिक्षितहरु यथाशक्य चाँडो तयार होऊन । सर्वसाधारणको स्वास्थ्य, शिक्षापट्टि पनि पूरा ध्यान जाओस् ।
(पाँडे, सरदार भीमबहादुर । २०७१ः८९ । त्यस बखतको नेपाल–राणाकालीन आखिरी तीन दशक । काठमाडौं ।
खासमा पञ्चवर्षीय योजनाको ढाँचाबाट विकासको रेखा कोरिन्छ भनेर पहिलो पटक तत्कालीन सोभियत संघ रुसले सुरुवाती गरेको थियो । सन् १९१७ को क्रान्तिपछि पञ्चवर्षीय योजना अनुसार विकासको अवधारणा सोभियत संघले अघिसारेको थियो । सोभियत संघले पहिलो प्रयोगमा ल्याएको योजना भएकाले अन्य मुलुकले पनि पञ्चवर्षीय योजना बनाउँदा ‘वामपन्थी’को प्रभाव भनेर आलोचना गरिन्थ्यो ।

आधुनिक युगको विकास
सन् १९५० देखि जसलाई मध्ययुगबाट आधुनिक युगमा नेपाल प्रवेश गरेको मान्न सकिन्छ । नेपाल उपनिवेश नभएकाले पनि औपनिवेशिक शासकहरुको साथ लिइ आउने युरोपियन सभ्यता प्रविधिसँगै पश्चिमाहरुको लगानी नेपालमा भएन भन्ने निश्कर्ष टोनी हागनले त्यसबेला आफ्नो अनुभवमा भनेका छन् ।
त्यसबखतको विकासक्रमलाई सम्झदै भनेका छन्– ‘त्यसबेला काठमाडौंमा एक सयवटा जति मोटर कारहरु थिए । पहाड र भञ्ज्याङको बाटो मानिसहरुले बोकेर तिनलाई तीन हप्तामा काठमाडौं ल्याइपु¥याउँथे । मोटरलाई बोक्न भनेर काठको विशेष फ्रेम बनाएको हुन्थ्यो र एउटा गाडीलाई तीस–चालीस जनाजति भरियाहरुले बोक्थे । हामी काठमाडौं पुग्दाखेरि दश दिन मनाइने दशैं चाडको बेला परेको थियो । हामीले ठाउँठाउँमा र नदीको बगरमा छाडिएका मोटरगाडीहरु देख्यौँ । ती गाडीहरुलाई बाटैमा छाडी भरियाहरु दशैंको चाड मनाउन गएका थिए । चाड सकिएपछि फेरि आएर उनीहरु गाडीलाई बोकेर लैजान्थे । हिजोआज गाडीलाई त्यसरी जतासुकै छाड्न सम्भव छैन । त्यसरी छाडेमा गाडीको एउटै पाटपुर्जा बाँकी रहँदैन (हागन सन् २०१७ः२०–२१ । विकेन्द्रीकरण र विकास प्रजातान्त्रिक सिद्धान्तको भूमिका । काठमाडौंः हिमाल किताब ।)
नेपालमा विकासको बहसमा आएको छ । तर, सधैं आलोचनात्मक मात्रै देखियो । तसर्थ विकासका लागि एउटा भावनात्मक एकता पनि जरुरी हो । जसका लागि केही कुराहरु अनिवार्य हुन आउँछन् । भाषा, संस्कृतिले एउटा भावनामा बाँधिनु पर्छ । नेपालीहरुमा विद्रोही भावनालाई तत्कालै स्वीकार्ने एउटा आम यर्थातता हो । यसको ‘रुटकज’लाई हेर्दा नेपालको राजनीतिक परिवर्तन लागि जनता जगाउन दिइएको प्रशिक्षण एउटा मुख्य हिस्सा हो ।
व्यवस्था परिवर्तनका निम्ति हाम्रा तीन पुस्ताले लडेरै बिताए । हरेक व्यवस्था परिवर्तनपछि विकासको आश्वासन बाँडिएका छन् । तर, विकास सुस्त छ । विकासको नाममा हाम्रा अघिल्ला पुस्ताहरुले धेरै बर्वादी मात्रै बेहोरेका छन् । जसका कारण व्यवस्था परिवर्तन पछिका शासकहरुप्रति जनता पुरै नकरात्मक बन्न पुगेका छन् । त्यसो हुनुमा उनीहरुले अघिल्लो शासक लक्षित जुन मनोविज्ञान सिकाइदिए सोही मनोविज्ञान पछिल्लो शासकहरुप्रति केन्द्रीत बन्ने गरेको छ ।
तसर्थ विकास भनेको के हो ? एउटा सरल भाषाको बुझाइबाट जनता सामु पुग्नु मुख्य उद्देश्य हो । विकास बारे मेरी डेशेनले भनिकी छन्– ‘विकास सामाजिक उत्थान, कल्याण तथा उत्पादकत्वमा बृद्धि, आधुनिकरण, सशक्तीकरण आदि आदि । सारांशमा विकास भनेको जाती कुरा हो । त्यसकारण यस्तो विकास बढी गाउँमा धेरै मात्रामा हुनु जरुरी छ । यसरी आम र सकारात्मक पदवालीमा विकासलाई परिभाषित गर्दा अथवा अझ ठोस् रुपले स्वास्थ्य, वातारण तथा रोजगारीका अवस्थाहरुको अझ राम्रो स्थिति, शैक्षिक अवसर आदि इत्यादि भनी यसलाई परिभाषित गर्दा यस सम्बन्धमा सहमत नहुने मानिस कमै मात्र फेला पर्लान् ।’ (डेशेन । २०६१ः१०६ । नेपालमा गरिबीको बहस । काठमाडौंः मार्टिन चौतारी ।)
त्यसैगरी विकास कहाँ हुनुपर्ने भन्ने विषयमा बीपी कोइरालाले उदाहरणसहित चिन्तन मनन् गरेका छन् । कोइरालाले २०३८ साल पुस १६ गते काठमाडौं खुलामञ्चमा उनको अन्तिम भाषणमा विकास आँकडामा देखिएर नहुने औंल्याएका थिए । ‘विकास कहाँ हुनुपर्ने हो ?’ उदाहरण पेश गर्दै कोइरालाले भनेका छन्– ‘एक–दुईवटा उदाहरण दिएर मेरो कुरा प्रष्ट पार्छु । अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ । त्यो समारोहभित्रको वातारण र बाहिर अड्याएका ठूला–ठूला महङ्गा मोटर गाडीहरु देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मनिस धेरै धनी भएछन् ।’

लेखक
दोस्रो उदाहरणमा कोइरालाले भनेका छन्– ‘त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौं) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरुको कोठामा गएँ । उनीहरु चार–पाँचजना एउटै कोठामा बसेका थिए, जसमा सुकुल बिछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो । उनीहरु त्यस्तैमा सुत्दा रहेछन् । बगलमा एउटा फोहोर होटल थियो, जहाँ उनीहरु खान्थे । होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वस्थ्यकर भोजन दिइँदैन । त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुईवटा नेपाल रहेछ । एउटा महँगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरीब नेपाल ।’ (कोइराला । २०५५ः६३ । विकास पत्रिकामा नेपाल पुकारबाट साभार गरिएको ।)
कोइरालाको यो भनाइले के प्रष्ट पार्छ भने नेपालको विकास मोडेलमा उतिबेलादेखि नै समस्या थियो । केही ठूला सहर, फराकिला बाटोलाई मात्रै विकास भन्न सकिन्न । त्यो फराकिलो सडक, ठूला सहरका गगनचुम्बी भवनहरु उत्पादनसँग जोडिन सक्यो कि सकेन ? भन्ने विषयले विकास भए÷नभएको निर्धारण गर्दछ । विकसित देशको विकास मोडेललाई मापदण्ड मानेर हामीले यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्ने मानसिकता नै विकासको सबैभन्दा बढी खतरनाक मानसिक भूत हो ।
मुलुकलाई चाहिने युवा, उत्पादन जनशक्ति अहिले लाखौं विदेशमा छन् । उनीहरुले सामाजिक सञ्जालका भित्तामा लेख्ने आक्रोश, विदेशको विकासको उदाहरण दिएर यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भन्ने सन्देशले झन् नकरात्मक धारणालाई बढ्वा दिएको छ । जुन कुरा नेपालमा विकासे मोडेल कस्तो हुनुपर्ने भन्ने अनुभूति नहुनु नै हो । कम्तिमा गाउँ पुगेको विकासले युवा शक्तिलाई त्यहीँ रोक्न नसक्नु नै अहिले त्यही युवाहरुको धारणाप्रति लोकरिझयाँइ हुनु स्भाविक हो ।
पहिले जस्तो कृषि उत्पादनमा निर्भर समाज छैन । पहिले नुनबाहेक सबै उत्पादन गाउँमै हुन्थ्यो । जसमा सिङ्गो परिवार नै एउटा उत्पादन समूहमा गाँसिन्थ्यो । टोल–छिमेकमा अर्मपर्म, औंचो–पैैंचो चल्थ्यो । एउटा परिवारमा दाइ–भाइहरुले अंशबण्डा गरे भने उनीहरुबीच उत्पादनमा प्रतिस्पर्धा हुन्थ्यो ।
जब, यातायातले गाउँमा पुग्यो, मान्छेले सुविधा पायो । सुविधाका लागि अवसर अनिवार्य हुनुप¥यो । गाउँमा अवसरको जुरेन । विकासले अवसर नजुराएपछि अवसरका लागि कोठामा भाडामा लिएर बस्न भने पनि गाउँबाट मान्छे सहर झरे । अनि गाउँ रित्तियो ।

गाउँ उक्लेको विकासमा घट्दो जनसंख्या
गाउँ कहाँ छ त ? भन्ने विषयमा बहस गर्न त्यति जरुरी छैन । मुलतः मध्यपहाडी लोकमार्ग दायाँ, बायाँ नै ठूला गाउँका नमूना हुन । मध्यपहाडी लोकमार्गसँगै लोकमार्गको दक्षिण–उत्तरका गाउँमा बाटाहरु पुगेका छन् । साना बजारहरु विस्तार भएका छन् । यद्यपि, लोकमार्गले छोएको २६ जिल्ला मध्ये २० जिल्लामा जनसंख्याको बृद्धिमा नकरात्मक देखिएको छ । मध्यपहाडीले नछुँदासम्म ती जिल्लामा जनसंख्याको बृद्धिदर सकरात्मक थियो ।
राष्ट्रि जनगणना २०५८ अनुसार मध्यपहाडीले छोएका जनसंख्या जिल्लाको कुल जनसंख्या ५५ लाख ८० हजार ३ सय ६८ थियो । २०६८ सालमा यो सङ्ख्यामा ०.६३ प्रतिशतले बृद्धि भएर ५९ लाख ४३ हजार १ सय ४६ पुग्यो । तर २०७८ को जनगणनाको तथ्याङ्क अनुसार अघिल्लो दशकको भन्दा पछिल्लो पटक घटेको छ । जसअनुसार जनसङ्ख्या बृद्धिदर –०.२८ प्रतिशत भएर ५७ लाख ७८ हजार ९ सय ५ मा सीमित हुन पुग्यो । अहिले यहाँ एक दशकमा १ लाख ६४ हजार १ सय ६१ जनाले जनसङ्ख्या घटेको देखिन्छ । (स्रोतः राष्ट्रिय जनगणनाको तथ्याङ्क २०४८, २०५८, २०६८ र २०७८ ।)
राष्ट्रिय जनगणनाको तीन पटकको उल्लेखित तथ्याङ्कलाई केलाउँदा गाउँमा जब विकास पुग्यो, अर्थात् राजधानी, सदरमुकाम बाटोले नजिक गरायो जनसंख्या बृद्धिमा नकरात्मक देखिनु ‘गाउँ पुगेको विकास’ले जनतालाई त्यहाँ अडाउन सकेन भन्ने पुष्टि नै हो ।
विकासको उच्चरुप समृद्धि हो । अहिले नारा समृद्धिको दिइएको छ । तर, त्यो नारामा मात्रै सिमित देखिन्छ । हामीले समृद्धिलाई बुझ्दा एक खुला अर्थव्यवस्थाद्वारा सञ्चालित हुनुपर्छ । जसले विचार र प्रतिभालाई गरिबीबाट बाहिर निस्किने दिगो मार्ग सिर्जना गर्दछ । र, समृद्धि सशक्त व्यक्तिहरूद्वारा निर्माण गरिन्छ, जसले समाजको भलाइका लागि योगदान गर्दछ र समाज सिर्जना गर्न आफ्नो भूमिका खेल्छ । यतिखेर समृद्धिका यी सैद्धान्तिक पक्ष उठान गरिरहँदा सुशासन, समान पहुँच, समावेशिताका आधारहरू यसका मापन हुन् । जुन कुरा विकासका पूर्वाधारले मात्रै निर्धारण गर्दछ ।
समृद्धिको कोरा नारा मात्रै लगाइरहँदा नेपाल समृद्धिको कुन सूचीमा पर्दछ त ? भन्ने एउटा तथ्यांक सार्वजनिक भएको छ । लेगातुम इन्स्टिच्युट बेलायतले फेब्रुअरी २०२३ मा प्रकाशित गरेको ‘प्रोस्परिटी इन्डेक्स– २०२३’ ले समृद्धिको हकमा नेपाललाई विश्वका १६७ देशमध्ये ११०औं स्थानमा सूचीकृत गरेको छ ।
सो सूचीको नम्बर १ मा डेनमार्क छ भने सबैभन्दा अन्तिममा साउथ सुडान छ । हाम्रो छिमेकी मुलुकमध्ये चीन ५४औं स्थानमा र भारत १०३औं स्थानमा छ । सूचीमा पहिचानका लागि तयार गरिएका समृद्धिका महत्वपूर्ण १२ खम्बाको आधारमा जनताको जीविकाको अवस्थाबाहेक अन्य सबैमा नेपालको अवस्था कमजोर नै देखिन्छ ।

भोट हाल्न पाँच वर्षमा एक पटक गाउँ पुग्ने, पुर्खाले मान्दै आएका कुलापूजा, देवाली, बाँकी रहेका भाइखलकको उचोनिचो काममा गएर गाउँमा भत्किएको आफ्नो खण्डहर घरहरुको फोटो राखेर बालापनका दिन सम्झिएँ भन्ने पुस्तालाई गाउँको विकासले छुँदैन ।

विकाससँगै मनोविज्ञान बदल्न जरुरी
योजना आयोगको पहिलो पञ्चवर्षीय योजनाका किन आवश्यक भयो भनेर २००५ भदौ ११ गते श्री ३ मोहनशम्शेरले आफ्नो भाषणमा भनेका थिए– ‘मैदान, झर्ना, ताल, जङ्गल, खोला अनगिन्ती भएका, कस्तुरी, गैंडा, कुट, सूर्ती, धान, ऊन, कपास, सनपाट, सिसा, तामा, आँप, सुन्तला जताततै पाइने हिमाल–मधेस जोडिएको सर्दी–गर्मी मिलेको यस्तो देशको सेवा गरी सिङ्गार्न–सपार्न कसलाई इच्छा नहोला ? नेपालको आर्थिक अवस्थाको उन्नति गराउन उपर्युक्त प्राकृतिक धनको सदुपयोग हुनुपर्दछ । त्यसैले यो आर्थिक योजना समिति खडा गर्नुपरेको हो ।’
पहिलो पञ्चवर्षीय योजनामा प्रस्ताव गरिएको उल्लेखित खण्ड नै अहिलेसम्म केही विकासे भाषामा फेरवदलसहित विकासे योजना बनेका छन् । त्यसको दीर्घकालीन योजना कहिल्यै बनेन । जसका कारण विद्रोही मनोविज्ञानबाट समाज अघिबढ्न खोज्यो । विकासको कुन चरणमा के योजना र माटो सुहाँदो हुनुपर्छ भन्ने ज्ञानबाट पहिले भएन भने विकासले बाटो बिराउँछ । अहिले सहरदेखि गाउँसम्म असारे बजेटमा गरिने धमाधम भौतिक विकासको उदाहरण देखिनु विकासमा दीर्घ सोचको अभाव नै हो ।
यो तीन दशमा गाउँ किन खाली भयो ? जनसंख्या बृद्धिदरमा किन नकरात्मक देखियो ? यसको उत्तर सहजै छ । कृषिमा आधुनिकीकरण नहुनु । उत्पादित सामानले बजार नपाउनु । उत्पादन खर्चालु हुनु । उत्पादित बस्तु बेचबिखनबाट जिविकोपार्जन नहुने देखेपछि बसाइँसराइले तीब्रता पायो । उत्पादन निर्वाहमुखी मात्रै देखिन्छ । विकास पुगेपछि गाउँको उत्पादन सहरमा पुगोस् भन्ने हो । तर, सहरका सस्ता बस्तु गाउँमा पुगे । गाउँमा उत्पादन हुन छोडे ।
औद्योगिकीकरण, उत्पादित बस्तुको बहुउपयोगी उत्पादन गरे मात्रै गाउँमा रोजगारीको सृजना र अबसर प्राप्त हुने हो । तब मात्रै बसाइँसराइ रोकिन्छ । भोट हाल्न पाँच वर्षमा एक पटक गाउँ पुग्ने, पुर्खाले मान्दै आएका कुलापूजा, देवाली, बाँकी रहेका भाइखलकको उचोनिचो काममा गएर गाउँमा भत्किएको आफ्नो खण्डहरु घरहरुको फोटो राखेर बालापनका दिन सम्झिएँ भन्ने पुस्तालाई गाउँको विकासले छुँदैन ।
त्यस अर्थमा हामीले विकास समृद्धिका लागि गर्नुपर्ने धेरै काममध्ये सुशासन पहिलो शर्त हो । जसका लागि समावेशी समाज, सशक्त सचेत जनता, अर्थतन्त्रको आधार तयार गरेर भ्रष्टाचार नियन्त्रण, अनियमितता र बेथितिका विरुद्ध पारदर्शीता हुनुपर्छ भन्ने चेत खुल्न जरुरी छ । विकासको वास्तविक अनुभूति समृद्धि हो । ‘मैले गर्दा यो विकास भएको हो’ भनेर दल विशेषका जनप्रतिनिधिले भन्ने एउटा आम संस्कार छ । त्यसलाई बदल्न जरुरी छ । विकास कहाँ र कोप्रति लक्षित हो भनेर जनतालाई अनुभूत गराउन सक्नुपर्छ । जनताको मनोविज्ञान बदल्न सक्ने गरी सरकारले विकासको योजना र कार्यन्वयन नगरेसम्म ‘विकास र समृद्धि’का नारा जनता झ्क्याउने गुलियो ‘जहर’ मात्रै सावित भएको वास्तविक तथ्यहरुले पुष्टि गरेको छ ।

(खोज पत्रकारितामा विशेष दख्खल राख्ने मगरको सशस्त्र द्वन्द्वकालको रिपोर्टिङ अनुभव समेटिएको ‘अंश’ नामक पुस्तक प्रकाशित छ । स..)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->