शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

समृद्विको बाटो : हाम्रा उत्पादन, हाम्रै उपभोग !

समृद्विको बाटो : हाम्रा उत्पादन, हाम्रै उपभोग !

राजनीतिज्ञ र प्रशासकले निजी क्षेत्रलाई सामान आयात गर्न सहजीकरण गरेवापत् कमिसन लिनेजस्ता अघोषित अभ्यासहरु प्रचलनमा आए/भइरहेको छ । यस्ता अभ्यासले उद्यमशीलतालाई प्रश्रय गर्दैन ।


  • डा. गिरीधारी शर्मा पौडेल
  • भाद्र ४ २०८१, मंगलबार

यो लेख नेपालमा ‘हाम्रा उत्पादन, हाम्रै उपभोग’ को अभियान चलाइ देशमा उद्यमशीलताको विकास गरी औद्योगिकरणमा लैजान मद्दत होस भन्ने उद्देश्यले तयार गरिएको छ । यस लेखभित्र उद्यमशीलता र उद्यमीबारे ठाउँ विशेषका वुझाइ, नेपालमा उद्यमशीलताको खाँचो, नेपालमा उद्यमशीलता विकास नहुनाका कारण, नेपालमा उद्यमशीलताको विकास गर्न गर्नुपर्ने थप कार्यहरु, नेपालले औद्योगिकीकरणमा अन्य राष्ट्रले गरेका असल अभ्यासबाट सिक्नुपर्ने विषय, र आयात प्रतिस्थापनलाई औद्योगिकरणको प्रस्थान बिन्दु मानेर नेपालमा औद्योगिकीकरण गरी ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य प्राप्त गर्ने उपायबारे प्रष्ट पार्ने प्रयास गरिएको छ ।

१. उद्यमशीलता र उद्यमीबारे ठाउँ विशेषका बुझाइ
क. उद्यमशीलता
उद्यमशीलता कुनै नयाँ उत्पादनमुलक उद्योग तथा सेवा प्रदान गर्ने व्यवसाय, कम्पनी वा अन्य कुनै संगठन सुरु गर्ने प्रक्रिया हो । यो बजारमा मूल्यवान वस्तु तथा सेवाहरू प्रदान गर्ने व्यवसायहरू सिर्जना गर्ने नवीन विचारहरूको प्रयोग हो । यसले नयाँ व्यवसायहरूको लागि अवसरहरू पहिचान गर्ने र ती अवसरहरूको पूँजीकरण गर्न आवश्यक स्रोतहरू जम्मा गर्ने कार्य गर्दछ । यो उद्यमीले जोखिम लिने र व्यावसायिक वातावरणमा अनिश्चितता व्यवस्थापन गर्ने क्षमताको विकास पनि हो । आजकल उद्यमशीलतालाई एक लाभदायक व्यापार तथा उद्यम सिर्जना गर्ने प्रक्रिया को रुपमा बुझिन्छ । यसलाई नवीनता र रचनात्मकतामार्फत् अव्यवस्थित व्यवसायहरूमा मूल्य थप्ने प्रक्रिया पनि भनिन्छ । अर्को अर्थमा उद्यमशीलता व्यावसायिक उद्यमहरू सिर्जना गर्ने प्रक्रिया, नवीनताको चालक शक्ति, र आर्थिक विकासको इन्जिन हो ।

उद्यमशीलतालाई देश अनुसार भिन्न भिन्न रुपमा बुझिन्छ । दक्षिण अफ्रिकामा उद्यमशीलतालाई रचनात्मकता, नवीन ज्ञान र लचिलोपनलाई प्रोत्साहन गर्ने वातावरण सिर्जना गरेर नयाँ विचारहरूलाई आर्थिक अवसरमा रूपान्तरण गर्ने प्रक्रियाको रुपमा बुझिन्छ । मेक्सिकोमा उद्यमशीलता कुनै नयाँ कम्पनी सुरु गर्न चाहिने मानिसहरूको प्राविधिक, आर्थिक र नैतिक क्षमताको रुपमा बुझिन्छ । घानामा उद्यमशीलता धन कमाउनको लागि बिक्री गर्ने उत्पादनहरू उत्पादन गर्न चाहिने आर्थिक, प्राविधिक र मानवीय स्रोतहरूको संयोजनको रुपमा बुझिन्छ । फिलिपिन्समा उद्यमशीलतालाई सिर्जनात्मकता र नवीनतालाई अद्वितीय उत्पादनहरूमा रूपान्तरण गर्न जोखिम बहन गर्ने पहल र स्वैच्छिक कार्यको रुपमा बुझिन्छ । अमेरिकामा उद्यमशीलतालाई कुनै व्यक्ति वा व्यक्तिहरूको समूहले कुनै नयाँ उत्पादन वा प्रक्रियालाई बजारमा ल्याएर वा विद्यमान वस्तु, सेवा वा उत्पादन विधिमा पर्याप्त सुधार गरेर व्यावसायिक अवसरको उच्चतम दोहन गर्ने प्रक्रियाको रुपमा बुझिन्छ । भारत ऐतिहासिक रूपमा एक स्व–रोजगारको देश हो । तसर्थ भारतमा उद्यमशीलतालाई सुधार र परिवर्तनको स्रोत मानिन्छ जसले देशको उत्पादकत्व र आर्थिक प्रतिस्पर्धात्मकतामा सुधार ल्याउँछ भन्ने बिश्वास गरिन्छ । हाल भारतले ‘मेक इन इन्डिया’ र ‘स्टार्टअप इन्डिया’ जस्ता कार्यक्रमहरूमार्फत् उद्यमशीलतालाई प्रोत्साहन गरिरहेको छ । बंगलादेशमा उद्यमशीलतालाई स्वरोजगारसहितको रोजगारी, विकास र धन सिर्जनाको सेतु र नवप्रवर्तनको सर्जक तथा आर्थिक विकास र सामाजिक रूपान्तरण प्रक्रियाको रुपमा बुझिन्छ । जापानमा उद्यमशीलतालाई दीर्घकालीन सोच, गुणस्तर, सहकार्य, नवप्रवर्तन र जोखिमविरुद्धको अद्वितीय मिश्रणको रुपमा बुझिन्छ । यसले देशको व्यापार, संस्कृति र आर्थिक विकासलाई आकार दिन मद्दत गरेको विश्वास गरिन्छ । जापानमा उद्यमशीलताको संस्कृति भनेको दीर्घकालीन सोच र गुणस्तरप्रतिको प्रतिबद्धता हो । नेपालमा उद्यमशीलता कुनै नयां बस्तु तथा सेवा उत्पादन गर्ने प्रक्रिया हो ।

उद्यमशीलताबाट नाफाको लागि वस्तु वा सेवाहरू उत्पादन गर्न पूँजी, श्रम र सीपलाई एकत्रित गरिन्छ । विश्वका करिब ९० प्रतिशत रोजगारी उद्यमीले सृजना गरेको अनुमान छ । सामान्यतयाः नेपालजस्ता कम विकसित देशहरूको लागि उद्यमशीलता देश स्तरोन्नतिको एक महत्वपूर्ण माध्यम हो किनकि यस्ता देशहरुमा रोजगारीका सीमित अवसरहरू हुन्छन् । उद्यमशीलताले रोजगारी मात्र होइन देशको आर्थिक समृद्धिमा पनि महत्वपूर्ण भूमिका खेल्छ । उद्यमशीलतामार्फत् उत्पादन बढाइ नेपालको दीर्घकालीन राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ प्राप्त गर्न सकिन्छ ।

ख. उद्यमी
उद्यमी लाभ वा हानीसम्बन्धी जोखिमको स्वामित्व लिने र व्यवस्थापन गर्ने एक व्यक्ति हो । उद्यमी ती व्यक्तिहरू वा व्यवसायका मालिकहरू हुन् जसले नयाँ उत्पादन प्रक्रिया र बजारको पहिचान गरेर आर्थिक गतिविधिको सिर्जना वा विस्तारमार्फत् अर्थ उपाजर्न गर्दछन् । भारतमा उद्यमी एक त्यस्तो ब्याक्ति हो जसले विचारहरूलाई आर्थिक अवसरमा रूपान्तरण गरी नयां रोजगारीको सिर्जनामार्फत् उत्पादन र सेवाहरू प्रदान गरी आफूलाई धन कमाउँछ र सरकारलाई कर तिर्दछ । बंगलादेशमा उद्यमीहरू आर्थिक विकास र अर्थतन्त्रमा संरचनात्मक रूपान्तरण गर्न योगदान पु¥याउने व्यक्तिहरु हुन् भनि विश्वास गरिन्छ र यिनीहरुले सीमित स्रोतहरू कमबाट बढी उत्पादन हुने क्षेत्रमा प्रयोग गरी अर्थतन्त्रलाई चलयमान बनाउंछन् । जापानमा उद्यमीद्याई जापानी संस्कृति अनुसार उच्च जोखिम लिने व्यवहार भएका, वास्तविक काम गर्ने, उद्योग स्थापना र संञ्चालनका लागि इमान्दारिताका साथ काम गर्ने व्यक्तिको रुपमा चित्रण गरिन्छ । यहाँका उद्यमीहरू आंफ्ना कर्मचारीहरूलाई हुर्काउन वा पालनपोषण गर्न बढी ध्यान केन्द्रित गर्द्छन् । कोरीयामा कन्फ्युसियसवादमा आधारित धर्म र शिक्षा अनुसार कडा परिश्रम गर्ने, सामुदायिक वफादारीमा जोड दिने, कोरियाको सांस्कृतिक मूल्य मान्यतालाई सम्मान गर्दै बजारको जोखिम बहन गरी बस्तु उत्पादन गर्ने तथा सेवा प्रदान गर्ने ब्याक्तिलाई उद्यमी भनिन्छ । नेपालको सन्दर्भमा उद्यमी हुनु भनेको आफ्नो मालिक आफैं हुनु हो ।

विभिन्न देशमा पहिचान गरिएका उद्यमीहरूमध्ये ठूला कम्पनीका मालिक वा एकल कम्पनीका मालिक वा बहु कम्पनीका मालिक वा लघु, साना तथा मध्यमस्तरका उद्यमीहरु वा पारिवारिक व्यवसायका मालिक आदि हुन् । उत्पतिका हिसावले विश्वमा दुइथरीका उद्यमीहरु रहेका छन् । परिस्थितिले बाध्य पारेर जीवनयापन संञ्चालन गर्न आवश्यकताले सृजना भएका उद्यमी र बजारको मौकाले सृजना भएका उद्यमी गरी दुईथरीका उद्यमी हुन्छन् । आवश्यकताले सृजना गरेका उद्यमी दीगो हुँदैनन् र तिनीहरुले बजारमा थप रोजगार पनि सृजना गर्दैनन् । अर्कोतर्फ बजारको मौकाले सृजना गरेका उद्यमी मौरीझैँ परिश्रमी हुन्छन, यिनीहरुका व्यवसाय दीगो हुन्छन् र थप रोजगार पनि सृजना गर्दछन् । नेपाललाई बजारले दिएका मौका पहिचान गरी उद्यम स्थापना र संञ्चालन गर्ने उद्यमीको आवश्यकता परेको छ ।

२. नेपालमा उद्यमशीलता र उद्यमीको खाँचो
विश्वमा करिब १० प्रतिशत रोजगार सरकारी क्षेत्रले र ९० प्रतिशत रोजगार निजी क्षेत्रले सृजना गरेको अनुमान छ । विश्वका करिब दुई तिहाइ रोजगार साना तथा मझौला उद्यमहरुले मात्र उपलब्ध गराएका छन् । बेरोजगारीको समस्या जटिल भएका नेपालजस्ता अतिकम विकसित राष्ट्रको लागि उद्यमशीलता र उद्यमीको विकास नयाँ रोजगार सृजना गर्न, आयात प्रतिस्थापन गरी देशको अर्थतन्त्र मजबुत बनाउन, देशमा छाएको आर्थिक मन्दीलाई आशा र भरोसामा बदल्दै विदेश पलायन हुने तरखरमा रहेका युवालाई देशभित्रै स्वरोजगारका अवसर जुटाउन, देशमा खेर गइरहेका कच्चा पदार्थ प्रयोग गरी ग्राहस्थ माग बढी भएका उपभोग्य बस्तु तथा निर्माण सामग्री देशभित्रै उत्पादन गरी ती सामान किन्दा तिर्नुपर्ने विदेशी मुद्राको विदेश निकासी घटाउन, वर्षेनी बढदै गएको व्यापार घाटा कम गर्न र देशलाई औद्योगिकीकरणतर्फ लैजान उद्यमशीलता र उद्यमी दुबैको आवश्यकता छ ।

३. नेपालमा उद्यमशीलता विकास नहुनका मुख्य कारणहरु
क. राज्यको प्राथमिकतामा नपर्नु
मल्लकालीन समयसम्ममा नेपालमा उद्यमशीलताको विकास राम्रैसँग भएको थियो । देशलाई चाहिने उपभोग्य बस्तु र निर्माण सामग्री देशभित्रै उत्पादन हुन्थे । त्यस समयको नेपालले आंफूलाई चाहिनेभन्दा बढी बस्तु उत्पादन गरेर उत्तरमा तिब्बत र दक्षिणमा भारतीय स–साना राज्यहरुमा व्यापार बिस्तार गरेको थियो । शाहकालीन शासनको पूर्बाद्धमा देशको ध्यान राज्य बिस्तार तथा नेपालको एकीकरणतर्फ गएकोले उद्यमशीलता राज्यको प्राथमिकतामा परेन र घरेलु हतियार उत्पादनबाहेक मल्लकालमा विकास भएको वस्तु उत्पादनको उद्यमशीलता क्रमस ह्रास हुंदै गयो । राणा शासनको समयमा शासकहरुको मुख्य ध्यान राज्य सत्ता हत्याउने र टिकाउनेमा सीमित रह्यो । यस समयका टाठाबाठाहरु मिहिनेत गरेर उद्यम चलाउनुभन्दा राणा शासकको चाकडी गरेर राज्यका महत्वपूर्ण पद हत्याउने र राणालाई खुसी पारेर सम्पत्ति आर्जन गर्नमा उद्यत रहे । यस समयमा नेपालको उद्यमशीलतामा थप क्षति भयो । राणा शासनपछिको एकदलीय पञ्चायती व्यवस्थाको मुख्य ध्यान राजनीतिक दलहरुलाई राजनीतिक गतिविधि संञ्चालन गर्न लगाएको प्रतिबन्ध टिकाइ राख्ने र स–साना पूर्वाधार विकासका कार्यक्रमहरु संञ्चालन गर्नमा केन्द्रीत रह्यो । यो शासनकालमा पनि उद्यमशीलताले प्राथमिकता पाएन । पञ्चायती शासनको उत्तरार्धतिर अर्थात् २०३० को दशकमा पञ्चायती शासकले विश्व समुदायसंग ऐक्यवद्धता जनाउँदै आधारभूत आवश्यकताको परिपूर्तिको अवधारणा अगाडि बढाए । यस समयमा मित्रराष्ट्रको सौजन्यमा सरकारीस्तरमा उपभोग्य बस्तु उत्पादन गर्ने केही उद्योगहरु स्थापना भए । सम्वत् २०४६ पछिको बहुदलीय व्यावस्थामा राज्यले स्थापना गरेका उद्योगहरुको निजीकरण गरियो र उद्यमशीलता राज्यको प्राथमिकतामा परेन । सम्वत् २०६२/०६३ को जनआन्दोलनको जगमा स्थापना भएको गणतान्त्रिक शासन व्यावस्था र यसका संञ्चालकहरुले पनि उद्यमशीलतालाई उपेक्षा नै गरिरहे । उद्यमशीलता राज्यको उच्च प्राथमिकतामा नपरेकोले विगत ३०० वर्षमा यसको उचित विकास हुन सकेन ।

ख. कमिसनमुखी अर्थतन्त्रको चरित्र
मुलतः नेपाली अर्थतन्त्रको चरित्र कमिसनमुखी बन्दै गएको छ । देशको लागि चाहिने उपभोग्य बस्तु र निर्माण सामग्री देशभित्रै उत्पादन गर्नुको सट्टा विदेशबाट आयात गर्ने र ती बस्तुको भन्सार राजस्वले राजनीतिज्ञले सरकार चलाउने, निजी क्षेत्रले बस्तुको हरेक प्रस्थान बिन्दुमा कमिसन लिइ व्यापार व्यवसाय गर्ने, राजनीतिज्ञ र प्रशासकले निजी क्षेत्रलाई सामान आयात गर्न सहजीकरण गरेवापत् कमिसन लिनेजस्ता अघोषित अभ्यासहरु प्रचलनमा आए÷भइरहेको छ । यस किसिमका अभ्यासले उद्यमशीलतालाई प्रश्रय गर्दैन । उद्यमशीलताको प्रवद्र्धन गर्न आयात प्रतिस्थापन नीति आवश्यक पर्दछ जुन नेपालमा चर्चा हुन्छ तर अभ्यासमा लगिँदैन । नेपालले गत आर्थिक वर्ष २०७९÷०८० मा मात्र १६ खर्ब, ११ अर्ब, ७३ करोडको बराबरको सामान आयात र १ खर्ब, ५७ अर्ब, १४ करोडको निर्यात गर्दा वार्षिक व्यापार घाटा १४ खर्ब, ५४ अर्ब, ५९ करोड भएको थियो । त्यस्तैगरी नेपालले १७१ देशबाट सामान आयात र १२४ देशमा सामान निर्यात गरेको थियो । आयात प्रतिस्थापनको नीति कडाइका साथ लागू नहुँदा देशको व्यापार घाटा चुलिँदै गएको छ ।

ग. बजार प्रतिस्पर्धा गर्न हीनताभाव बोकेको राज्य संयन्त्र
नेपाल दुई विशाल जनसंख्या र द्रूत गतिमा औद्यौगिकीकरण भइरहेका चीन र भारतजस्ता ठूला छिमेकी देशको बीचमा अवस्थित छ । जनसंख्याको ठूलो आकार र उच्च ग्राहस्थ माग भएकोले यी देशका उद्यमीहरुले बस्तुहरुको उत्पादन ठूलो परिमाणमा गर्दछन् । यी देशमा हुने ठूलो आकारका उत्पादनहरु कम लागतमा उत्पादन हुने र नेपालमा साना आकारमा उत्पादन हुने हुँदा नेपालमा उत्पादित बस्तुभन्दा छिमेकी देशका उत्पादनहरु सस्ता हुन्छन् । नेपालका राजनीतिज्ञ, प्रशासक र उद्यमीहरुमा नेपालका उत्पादन इकाइहरुको प्रभावकारिता बृद्धि तथा नयाँ प्रविधि अन्वेषण गरी उत्पादन लागत घटाइ नेपालका उत्पादन पनि प्रतिसपर्धी बनाउन सकिन्छ र छिमेकको ठूलो बजारले ठूलो अवसर दिन्छ भन्ने सोचको विकास भएन । उनीहरुमा संधै छिमेकीसँग प्रतिसपर्धा गर्न सकिदैन भन्ने हीनता भाव विकसित भयो । नेपालको राज्य संयन्त्रले नेपाल विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्दैन भन्ने भाष्य निर्माण गरेर भूमण्डलीकरणले दिएका अवसरहरु उपयोग गर्नेतर्फ लागेन र औद्योगिकीकरणतर्फ ध्यान दिएन । नेपालले तुलनात्मक लाभ र अवसर भएका बस्तुहरुको पहिचान र उत्पादन गर्नमा पर्याप्त प्रयत्न गरिएन । जसले गर्दा नेपालमा उद्यमशीलताको विकास जनअपेक्षा अनुसार भएन ।

घ. उद्यमशीलतामा बैदेशीक रोजगारीको छायाँ
सन १८१६ मा नेपाल र ब्रिटिस इन्डियाबीच सुगौली सन्धी भएपश्चात् नेपाली युवाहरुलाई ब्रिटिस सेना तथा पुलिसमा भर्ना हुने र रोजगारी गर्ने अबसर प्रदान ग¥यो । त्यस्तैगरी सन १९४७ मा भारत बेलायतबाट स्वतन्त्र भएपश्चात नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सम्झौताले नेपाली युवालाई भारतको सेना तथा पुलिसमा पनि भर्ति हुने र सेवा गर्ने अवसर प्रदान ग¥यो । सन १९९० मा विकसीत भूमण्डलीकरणको विश्व विकास अवधारणापश्चात नेपाली श्रमिकलाई खाडी राष्ट्र, दक्षिण पूर्वी एसियाली राष्ट्र, र हालका वर्षहरुमा युरोपियन श्रम बजारमा समेत रोजगारीका अवसर प्राप्त हुन थाले । सम्वत् २०७८ मा आइपुग्दा नेपालका २,१९०,५९२ व्यक्ति वैदैशिक रोजगारीमा संलग्न भए । जोस र जाँगर भएका युवाहरुले नेपालमा उद्यमतर्फ लाग्नुभन्दा वैदेशिक रोगगारीमा लाग्नु झन्झटमुक्त र सहज महसुस गर्न थाले । विश्वको श्रम बजारले नेपाली युवालाई वैदेशिक रोजगारीतर्फ आकर्षण ग¥यो र यसको छायाँ देशको उद्यमशीलतामा देखियो ।

ङ. सहयोगी सेवाहरुको कमी
देशमा उद्यमशीलता विकासको लागि सरकारीस्तरवाट प्रदान गर्ने सहयोगी सेवाहरु जस्तैः दक्ष जनशक्तिको बजारमा उपलब्धता,व्यवसाय दर्ता तथा नवीकरण गर्दा प्रशासनिक सहजीकरण, कर भुक्तानी प्रणालीमा सूधार, बस्तुहरुको मूल्य श्रृंखलाको विकास, बस्तुहरुको बिक्री वितरणमा बिचौलियाहरुको व्यवस्थापन, भरपर्दो बजार मागजस्ता सहयोगी सेवाहरुको पर्याप्त विकास नहुँदा देशमा उद्यमशीलताको अपेक्षित विकास हुन सकेन ।

४. उद्यमशीलता विकासको लागि गर्नुपर्ने थप कामहरु
हरेक व्यक्तिमा केही न केही सीप हुन्छ । कसैले आफ्नो सीप र क्षमता उद्यममार्फत् देखाउने अवसर पाउँछन् भने कसैले अवसर पाउँदैनन् । कतिपयले आफूभित्र लुकेको सीप कति छ भनि थाहा पनि पाउँदैनन् । उद्यमशीलता अनुकूल वातावरणमा मात्र फष्टाउँछ । तसर्थः यसको विकासको लागि निम्न अनुसारका कार्य गर्न आवश्यक देखिन्छ–

क. हाम्रा उत्पादन हाम्रै उपभोगको अभियानमार्फत् आयात प्रतिस्थापन गर्ने
नेपालले १७१ भन्दा बढी देशसँग बस्तुहरुको व्यापार गर्दछ । देशले उपभोग्य तथा निर्माणसम्बन्धी बस्तुहरुको आयात गर्दछ र न्यूनस्तरमा निकासी गर्दछ । तसर्थः अधिकांश देशसँग नेपालको व्यापार घाटा छ । नेपाललाई औद्योगिकीकरणमा लैजान सर्बप्रथम नेपालमै उत्पादन गर्न तुलनात्मक लाभ भएका बस्तुहरुको पहिचान गरी आयात प्रतिस्थापन गर्ने बस्तुहरुको सूची तयार गर्नुपर्दछ । देशभरलाई पुग्ने उत्पादन हुने बस्तुको आयात नगर्ने नीति लिनु पर्दछ । देशी उत्पादन उपभोग गर्न सार्वजनिक पदका व्यक्तिबाट सुरु गर्ने र देशव्यापी बनाउने । यसको लागि ‘हाम्रा उत्पादन हाम्रै उपभोग’को अभियान संञ्चालन गरी नागरिक शिक्षा प्रदान गर्ने । देशको सामथ्र्य बढदै गएअनुसार आयात प्रतिस्थापन गर्ने बस्तुहरुको सूची बढाउँदै लैजाने र क्रमशः देशलाई ग्राहस्थ मागले नेतृत्व गरेको औद्योगिकीकरणमा लैजाने । देशमा उत्पादित बस्तुहरुको संरक्षण भन्सार प्रणालीमार्फत गर्नु पर्दछ । ‘हाम्रा उत्पादन हाम्रै उपभोग’को अभियानले मूर्तरुप लिएपछि देशमा उद्यमशीलताको विकास हुन्छ र औद्योगिकीकरणले गति लिन्छ ।

लेखक

ख. विद्यालय र विश्व विद्यालयमा उद्यमशीलतासम्बन्धी पढाइ
उद्यमशीलताको राम्रो सुरुवातबिन्दु कक्षा ८ देखि विद्यालय र विश्वविद्यालय तहका हाम्रा शैक्षिक पाठ्यक्रममा पुनर्विचार गरी उद्यमशीलतालाई अनिवार्य विषयको रूपमा समावेश गराउनु हो । शैक्षिक संस्थामा हुर्कने सीप र उद्यमशीलताको मानसिकताले सृजनशीलतालाई प्रोत्साहित गर्न र युवाहरूलाई उद्यममा लाग्न प्रोत्साहन गर्दछ । तसर्थः उद्यमशीलतासम्बन्धी शिक्षा कक्षा ८ देखि बिद्यालय तह र विश्वविद्यालय तहका नियमित शैक्षिक कार्यक्रममा समावेश गरी पठनपाठन गर्नुपर्दछ । विद्यालय र महाविद्यालय वाहिर रहेका युवाहरुलाई औपचारिक तथा अनौपचारिक तालिम केन्द्र तथा सीप विकास केन्द्रमार्फत् उद्यमशीलतासबन्धी शिक्षा दिने । माध्यमिक विद्यालय र महाविद्यालयमा प्रबिधि कोरल्ने केन्द्र खोली विद्यार्थीहरुलाई देशको औद्योगिकीकरणको लागि चाहिने प्रबिधि अन्वेषण गर्न प्रोत्साहन गर्ने । नयाँ साना तथा मझौला उद्यम सुरु गर्न युवाहरुलाई नवप्रर्वतन र प्रतिस्पपर्धाको आधारमा बृहतस्तरमा सुरुपूँजी उपलब्ध गराउने । सुरुपूँजी उपलब्ध गराउदा युवालाई त्यसमा पनि महिला युवालाई विशेष प्राथमिकता दिने । नयाँ साना तथा मझौला उद्यमवाट उत्पादित वस्तुको बजारीकरणको लागि ‘हाम्रा उत्पादन हाम्रै उपभोग’ को अभियान चलाइ देशमा खपत गर्ने व्यावस्था गर्ने । नेपालको एउटा विश्वविद्यालयलाई उद्यमशील विश्वविद्यालयमा रुपान्तरण गर्ने र यस विश्वविद्यालयले उद्योगसँग सहकार्य गरी विद्यार्थीलाई उद्यम संञ्चालन गर्ने व्यवहारिक ज्ञान दिने व्यवस्था गर्ने । यसको लागि शिक्षाको पाठयक्रम परिवर्तनदेखि विद्यालय तथा विश्वविद्यालयका भौतिक संरचना परिवर्तन गर्ने, शिक्षाको दरबन्दी मिलान गर्ने, नयाँ शिक्षा ऐन जारी गर्ने, विज्ञान प्रविधिसम्बन्धी नयाँ ऐन ल्याउनेदेखि विद्यार्थीलाई पढ्दादेखि नै कुनै औद्योगिक प्रतिष्ठान वा उद्योगमा सिकाउन लैजाने व्यवस्था गर्नुपर्दछ । कक्षा कोठमा सिकेका सीपलाई व्यवहारमा उतार्नु जरुरी छ ।

ग. ग्राहस्थ मागले नेतृत्व गरेको औद्योगिकीकरण गर्ने
सबै प्रदेशमा कम्तिमा एक औद्योगिक क्षेत्र र एक विशेष आर्थिक क्षेत्र निर्माण गर्ने । यी औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापन गर्ने उद्यमीलाई एक विशेष सहायता प्याकेज बनाइ देशी तथा विदेशी उद्यमी र पूँजीलाई आकर्षित गर्ने । हाल संञ्चालनमा रहेका औद्योगिक क्षेत्रका समस्या समधान गरी स्थापित उद्योगलाई पूर्णक्षमतामा संञ्चालन गर्ने र नयां उद्योग स्थापना गर्न प्रोत्सान गर्ने । उद्योगग्राम घोषणा भएका नगरपालिका तथा गाउपालिकामा औद्योगिक पूर्वाधार निर्माण गरी उद्योग स्थापना र संञ्चालन गर्न स्थानीय जनतालाई आमन्त्रण गर्ने । वार्षिक बजेटले ग्राहस्थ माग उच्च भएका औद्योगिक बस्तु उत्पादन गर्न चाहिने औद्योगिक पूर्वाधार निर्माणमा प्राथमिकता दिने । औद्योगिकीकरणको पहिलो चरणमा देशमा खपत हुने बस्तुको उत्पादन गर्ने र दोस्रो चरणमा निर्यातयोग्य बस्तु उत्पादनमा प्राथमिकता दिने ।

घ. राज्य संयन्त्रमा उद्यमशीलता सम्बन्धमा सकारात्मक सोचको विकास
राज्यको नीति डोहो¥याउने राजनीति र यसका संञ्चालक राजनीतिज्ञ र राज्यका नीति कार्यान्वयन गर्ने प्रशासकहरुमा उद्यमशीलता प्रवद्र्धन गर्न सकारात्मक नीतिहरु निर्माण गर्ने र नवप्रवर्तनको माध्यमले नेपालमा तुलनाम्तमक लाभ भएका बस्तुहरु उत्पादन गर्ने तथा वर्तमान उत्पादन प्रक्रियामा सुधार गरी बजार प्रतिसपर्धामा जान सकिन्छ भन्ने सोचको विकास गर्नु पर्दछ । नेपालमा जवरजस्त विकास भएको भारत र चीनसँग बस्तुहरुको उत्पादन र बजारीकरणमा प्रतिस्पर्धा गर्न सकिँदैन भन्ने भाष्य र राज्य संयन्त्रमा झांगिएको हिनताबोधलाई सकारात्मक सोचमा बदली उद्यमशीलताको विकास गर्नु पर्दछ । देशमा तुलनात्मक लाभ भएका बस्तु पहिचान गरी औद्योगिकीकरणको प्रक्रिया सशक्त बनाउदै लैजानु पर्दछ ।

ङ. उद्यमशीलताको लागि दक्ष जनशक्ति उत्पादन गर्ने
दक्ष जनशक्तिको उपलब्धता दीगो व्यवसाय निर्माण गर्न र उद्यमीहरूको क्षमता विकास गर्न आवश्यक पर्दछ । मानव पूँजीमा योगदान गर्ने प्रमुख घटकहरूमा विद्यमान उद्यमहरू प्रमुख हुन् जसले श्रमशक्ति अर्थात्, अघिल्लो सान्दर्भिक कार्य अनुभव भएका उद्यमीहरू उत्पादन गर्दछन् । उद्यमको लागि जनशक्ति उत्पादन गर्ने माग उन्मुख शैक्षिक, प्राविधिक, र व्यावसायिक प्रशिक्षण संस्थाहरू र विश्वविद्यालयहरू मुख्य हुन् । यी शैक्षिक संस्थाहरुको अप–स्केलिङ र आधुनिकीकरण गरी दक्ष श्रमिकको माग र आपूर्तिबीच तालमेल मिलाउनु पर्दछ ।

च. ज्ञानमा आधारित सेवामूलक उद्योगलाई प्रोत्साहन गर्ने
नेपालमा तुलनात्मक लाभ भएका सेवा उद्योगमध्ये पर्यटन र सूचना तथा संञ्चार प्रमुख हुन् । यर्पटनलाई प्रवद्र्धन गर्न नेपालको प्राकृतिक सौन्दर्यताबारे अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउने, कन्फेरेन्स पर्यटनको प्रर्वद्धन गर्ने, पर्यटन पूर्वाधारको विस्तार र सुदृढीकरण गर्ने, संगठित टुर प्याकेजहरु वनाइ पर्यटकको नेपाल बसाइ लम्ब्याउने, निर्माण भएका पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित गर्ने, निजगढ विमानस्थलको निर्माण सम्पन्न गरी प्रयोगमा ल्याउने, र राष्ट्रिय राजमार्गको दायाँबायाँ होटेल,रेष्टुराँ, विश्रामस्थल, मनोरजनस्थल आदिको निर्माण गरी गुलजार बनाउने । सूचना तथा संचारसम्बन्धी सेवा उद्योगको विस्तार नेपालको अर्को उच्च तुलनात्मक लाभ भएको क्षेत्र हो । नेपालको सूचना संचार क्षेत्रले उत्पादन गरेको विज्ञहरुलाई थप प्राविधिक तालिम प्रदान गरी उनीहरुको सीप अन्तर्राष्ट्रिय वजारमा प्रतिसपर्धा गर्नसक्ने वनाउने, सूचना प्रविधि ज्ञान केन्द्रहरुको स्थापना गरी यस्ता केन्द्रहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका आइटी कम्पनीलाई व्यावसाय संञ्चालन गर्न आमन्त्रण गर्ने, सूचना प्रविधि ज्ञान केन्द्रमा विद्यार्थीलाई एकैपटक पढने, सीप सिक्ने, र कमाउने अवसर प्रदान गरी १२ कक्षा सकेपछि विदेश जाने प्रवृत्तिलाई निरुत्साहन गर्ने र नेपाली प्राबिधिकले निर्माण गरेका सफ्टवयर निकासी गरी विदेशी मुद्रा आर्जन गर्न सबै कानूनी प्रक्रिया पुनरावलोकन गरी सहजीकरण गर्ने जस्ता कार्य गर्नुपर्दछ ।

छ. उद्यमशीलता प्रर्बद्धन गर्न सरकारी नीति, नियम तथा कानूनहरु अनुकुल बनाउने
सरकारी नीति, देशको शैक्षिक पद्धति, राष्ट्रिय स्रोत, देशको संस्थागत क्षमता, जनताको साहस र क्षमता आदि उद्यमशीलता विकासका महत्वपूर्ण पक्ष हुन् । तसर्थ उद्यमशीलता विकासको लागि विशेष गरी महिला र युवाहरूलाई वित्तीय स्रोत र शिक्षाको बारेमा प्रशिक्षण दिनु पर्दछ । उद्यम स्टार्ट–अप गर्न साना तथा लघु उद्यमीहरुका लागि वित्तीय उपकरणहरूको विविधिकरण गर्ने नीति लागू गर्नु पर्दछ । यसको लागि बजारमा आधारित वित्तपोषणलाई प्रवद्र्धन गर्ने र निजी स्रोतहरूको सदुपयोग गर्दै निजी क्षेत्रको लागि जोखिम न्यूनीकरण तथा साझेदारी गर्ने संयन्त्रहरूको विकास गर्नुपर्छ । नयां व्यवसाय सुरु गर्ने परी लगानीकर्ताहरूका लागि स्टार्ट अफ पूँजीको व्यवस्था, कर प्रोत्साहन र वित्तीय बीमाको व्यवस्था गर्नु पर्दछ । देशको कानून उद्यमको लागि सहयोगी हुनुपर्छ र राज्यले अनुकूल वातावरण सिर्जना पनि गर्नु पर्दछ । नेपाल छिटै न्यून–मध्यम आय भएको देशको स्तरमा पुग्ने र ‘समृद्ध नेपाल र सुखी नेपाली’को दीर्घकालीन लक्ष्य पूरा गर्ने लक्ष्यका साथ अगाडि बढ्दै गर्दा उद्यमशीलता समृद्धिको एक मुख्य संवाहकको रुपमा देखिएको छ र यसले नेपालका युवाहरूको भविष्य परिवर्तन गर्ने सपना देखाएको छ । देशको दीर्घकालीन लक्ष्य प्राप्त गर्न सरकारले युवाहरूलाई व्यापक रुपमा सीपमूलक तालिम संञ्चालन गरी उद्यम संञ्चालन गर्ने सीप र ज्ञान दिनु पर्दछ । युवाहरुलाई लगानीमा पहुँच सजिलो बनाउनु पर्दछ । नागरिक र निजी क्षेत्रले एकअर्कासँगको सहकार्य गरी ज्ञान आदानप्रदानलाई सहज रुपमा प्रवर्द्धन गर्नु पर्दछ । देशका नीति तथा कानूनहरूले व्यवसाय सिर्जनालाई बढावा दिनु पर्दछ । सहज र पारदर्शी व्यवसाय दर्ता प्रक्रियाहरू, निष्पक्ष कर नीतिहरू, बैंक खाता खोल्ने र वित्तीय कारोबार गर्न तथा सक्रिय रूपमा उद्यमशीलतालाई बढावा दिने नीतिहरु बनाउनु पर्दछ । माथि–तल र तल–माथिका दृष्टिकोणहरू संयोजन गर्न प्रष्ट नीतिगत व्यवस्था हुनुपर्दछ र उद्यमशीलता प्रवद्र्धन गर्न प्रभावकारी नियमहरूको एक एकीकृत प्रारुप बनाइ कार्यान्वयन गर्नु पर्दछ ।

ज. वित्तीय स्रोतको व्यवस्था गर्ने
कुनै पनि नयाँ व्यवसाय सुरु गर्न र संञ्चालनमा रहेका उद्यमहरुको क्षमता बृद्धि गर्न खोज्ने उद्यमीहरूको लागि वित्तीय स्रोतहरूमा सहज पहुँच महत्वपूर्ण हुन्छ । वित्तीय सहयोग र सेवाहरूको विविधता उद्यमशीलता विकासको महत्वपुर्ण पाटो हो । उद्यम विकासका विभिन्न चरणहरूमा उद्यमीहरूका लागि वित्तीय सेवाहरू पहुँचयोग्य, उपयुक्त, र पर्याप्त हुनुपर्दछ । केही उद्यमीहरूको लागि, ऋण सबैभन्दा उपयुक्त हुन सक्छ । अरूको लागि, बीउपूँजी र परी लगानीकर्ताहरू सहायक हुन सक्छन् । केही उद्यमका लागि, परिवार र साथीहरू, क्राउडसोर्सिङ, र अन्य वित्तीय संस्थाहरू जस्तै वाणिज्य बैंक, विकास बैंक,लघुवित्त र वित्तीय सहकारीहरूले मुख्य भूमिका खेल्न सक्छन् ।

झ. उद्यमशील संस्कृतिको विकास गर्ने
नेपालमा उद्यम स्वरोजगारको माध्यम हो भन्ने संस्कृतिको पूर्ण विकास भएको छैन । तसर्थः उद्यमशीलतालाई फराकिलो समाजिक परिवेशमा बर्णन गर्ने र उद्यममा लागेका ब्याक्तिको सम्मान गर्ने संस्कृतिको विकास गर्नु पर्दछ । उद्यमशीलताको वैधानिकता र सकारात्मक वर्णन गर्नु पर्दछ । उद्यमशीलतालाई दुवै पुरुष र महिलाको लागि एक व्यवहार्य भविष्य मार्गको रुपमा चित्रण गर्नु पर्दछ । उद्यमीहरूको सकारात्मक प्रतिष्ठा बढाउनु पर्दछ । जनतामा उद्यमशीलतासम्बन्धी सफलताका कथाहरू प्रसारण गरी उद्यमीलाई उत्प्रेरण दिनु पर्दछ ।

ञ. सहयोगी सेवाहरु उपलब्ध गराउने
उद्यमशीलता प्रवद्र्धन गर्न उद्यमीहरूलाई विभिन्न सहयोगी सेवाहरू जस्तै माग–संचालित र पहुँचयोग्य गैर–वित्तीय व्यवसाय विकास सेवाहरू जस्तैः व्यवसाय व्यवस्थापन तालिम, क्षमता निर्माण, मार्गदर्शन र प्रशिक्षण, भौतिक र प्राविधिक पूर्वाधारको विकास, लेखा र कानूनी सल्लाह, सूचना प्रविधि, डिजाइन समर्थन, र क्षेत्र–विशेष समर्थन सेवाहरु जस्तैः पशु चिकित्सा, र कृषि विस्तार सेवाहरू जस्ता सहयोगी सेवाहरू आबश्यक पर्दछन् । नेपालमा संघ, प्रदेश, र स्थानीय तहले समन्वत्मक व्यवस्था गरी उद्यमीहरुलाई यी सहयोगी सेवाहरु उपलब्ध गराउनु पर्दछ ।

ट. सरकार र निजी क्षेत्रको सहकार्यमा उत्पादित बस्तुको बजार व्यवस्था गर्ने
उद्यमशीलता तथा उद्यम फष्टाउन बजारको उपलब्धता र पहुँच महत्वपूर्ण हुन्छ । उद्यमशीलताको विकास हुन उद्यमले उत्पादन गरेका नवीन उत्पादन तथा सेवाहरू खरिद बिक्री र वितरण गर्न इच्छुक ग्राहकहरूको उपलब्धता महत्वपूर्ण हुन्छ । स्थानीय माग कम भएका ठाउंमा राज्यको सरकार र निजी क्षेत्रको सहकार्यमा क्षेत्रीय वा अन्तर्राष्ट्रिय बजारमा पहुँचको बिस्तार गर्नु पर्दछ । साथै, उद्यमीहरूलाई बजारको मागसँग अन्तरक्रिया गर्न र बजारका चुनौती तथा अवसरहरूको खोज गर्न सघाउनु पर्दछ । यसबाहेक, बजारका प्रवृत्तिहरूबारे जानकारी उपलब्ध गराउने, बजारको माग र आपूर्तिबीच सन्तुलन कायम गरी उत्पादित बस्तु तथा सेवाको लागि प्रयाप्त बजारको व्यावस्था गर्न सघाउनु पर्दछ ।

५. औद्योगिकीकरणमा गरेका असल अभ्यासबाट सिकाइ गर्ने
नेपालले दक्षिणपूर्वी एसियाका चार साना बाघ राष्ट्र जस्तैः दक्षिण कोरिया, ताइवान, सिङ्गापुर र हङकङले आंफ्ना देशलाई औद्योगिकीकरण गर्दा विकास गरेका असल अभ्यासबाट सिकाइ गर्दै देशलाई औद्योगिकीकरणमा लैजान उपयुक्त देखिन्छ ।

क. दक्षिण कोरियाका असल अभ्यासहरु
दक्षिण कोरियामा द्रूत औद्योगिकीकरण हुनमा योगदान गर्ने प्रमुख असल अभ्यासहरुमा विदेशीहरुलाई कोरियामा लगानीको लागि आमन्त्रण र उनीहरुको आगमन, व्यावसाय संञ्चालनको उपयुक्त वातावरण निर्माण, लगानी र अनुसन्धानलाई प्रोत्साहन, सन १९७० र १९८० को दशकमा भएको जनसंख्या बृद्धि, सन १९५० को दशकमा भएको भूमिसुधार कार्यक्रम र शैनिक (शासक) राष्ट्रपित पार्क जुङ हिको शासनकालमा (सन १९६१ देखि सन १०७९) उनले लिएको सरकारी क्षेत्रले नेतृत्व गरेको औद्योगिकीकरण, उद्योगहरुमा सघन श्रमको प्रयोग र निर्यातमुखी व्यापारको नीति मुख्य छन् । सन १९६५ देखि सन् १९९० बीचको २५ वर्षे अवधिमा दक्षिण कोरिया कृषिप्रधान राष्ट्रबाट औद्योगिक राष्ट्रमा रुपान्तरण भएको थियो । सन १९६०÷०६२ मा कोरियाको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ४५ प्रतिशत बाट घटेर सन २०२२ मा २ प्रतिशतमा झरेको छ । आर्कोतर्फ उद्योग क्षेत्रको योगदान सन २०६५ मा ९ प्रतिशत रहेकोमा बढेर सन २०२२ मा ३१.३७ प्रतिशत पुगेको छ । त्यस्तैगरी प्रतिव्यक्ति आय सन १९६२ मा १२० डलर बाट बढेर सन २०२२ मा आउँदा ३६,१९० डलर पुगेको छ ।

ख. ताइवनाका असल अभ्यासहरु
ताइवानको औद्योगिकीकरण दोस्रो विश्वयुद्धपछि जापानको उपनिवेशबाट स्वतन्त्र भएपश्चात् सन १९५० र १९९० को बिच ४० वर्षको अवधिमा भएको देखिन्छ । सन १९५० पछि औद्योगिकीकरणको तीव्र विकासमा ताइवानले विकास गरेका अशल अभ्यासहरुमा सन १९५० को दशकको भूमिसुधार कार्यक्रम, अमेरिकी सहयोग प्याकेज, कृषिमा यान्त्रिकरण, सन १९८० को दशकको उच्च बचत, श्रमिकको उत्पादकत्वमा बृद्धि, सरकारी उद्योगको निजीकरण, प्रभावकारी सरकारी योजना, विदेशी लगानीमा बृद्धि, र ताइवानी उद्योगहरुलाई ज्ञानमा आधारित उद्योगहरुमा रुपान्तरण, पुराना पुस्तक पढेरै भएपनि ज्ञान आर्जन गर्ने जनातको बानी जस्ता असल अभ्यासहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । औद्योगिकीकरणको सुरुमा सन १९५० मा ताइवानले आयात प्रतिस्थापनको नीति लियो । देशमा उत्पादन हुने बस्तुको आयातमा उच्च कर लगाएर घरेलु उत्पादनको संरक्षण ग¥यो । सुरुमा चिनी, कपडा, जुत्ता, चप्पल ,खेलकुदका सामान, र ससाना विद्युतीय उपकरणको उत्पादन, उपभोग र निकासी ग¥यो । सन् १९७० मा ताइवानले निकासीले नेतृत्व गरेको औद्योगिकीकरणको नीति लियो र यसपछि ताइवानले इलेक्ट्रिक सामन उत्पादनतर्फ अघि बढ्यो र रेडियो, कम्प्यूटर, साइकल र पानिजहाज बनाउने कारखाना, स्टिल कारखाना आदिको स्थापना ग¥यो र यिनका उत्पादन निकासी ग¥यो । हाल ताइवान विश्वको धेरै कम्प्यूटर र कम्प्यूटर माइक्रोचिप उत्पादन गर्ने देशमध्य एक प्रमुख देश हो । ताइवानको अर्थतन्त्र छोटो समयमा बृद्धि भएको देखिन्छ । सन २०५२ मा कुल गाहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ प्रतिशत थियो भने उद्योग क्षेत्रको योगदान सामान्य थियो । उद्योग क्षेत्रले क्रमस गतिलिन थाल्यो र सन २०२२ मा आइपुग्दा ताइवानको कुल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रले २ प्रतिशत, उद्योग क्षेत्रले ३६.८ प्रतिशत र सेवा क्षेत्रले ६१.२ प्रतिशत हिस्सा ओगटेका छन् । ताइवानको प्रतिव्यक्ति ग्राहस्थ उत्पादन पनि औद्योगिकीकरणसँगै उल्लेख्य रुपमा बृद्धि भएको छ । सन २०५२ मा प्रतिब्याक्ति कुल ग्राहस्थ उत्पादन २१३ अमेरिकी डलरबाट बढेर सन २०२२ मा ३२,७५६ पुगेको छ । त्यस्तैगरी प्रतिव्यक्ति राष्ट्रिय आय ३४,७४५ डलर पुगको छ ।

ग. सिङ्गापुरले विकास गरेका असल अभ्यासहरु
सिङ्गापुर सन १९५९ देखि १९९० सम्म जम्मा ३१ वर्षको अवधिमा अर्थात् लि क्वयानको प्रधानमन्त्रित्व कालमा औद्योगिक राष्ट्रको दर्जामा स्तरोन्नति भएको थियो । सिङ्गापुर छिटो औद्योगिक राष्ट्रमा रुपान्तरण हुनमा सिङ्गापुरले विकास गरेका असल अभ्यास हरुमा लिको देशलाई औद्योगिक राष्ट्रमा रुपान्तरण गर्ने दृढ इच्छाशक्ति भएको राजनीतिक नेतृत्व, दक्षिण–पूर्वी एसियाको रणनीतिक भूगोलमा यसको अवस्थिति, स्थिर सरकारी नीति, निजीक्षेत्र मैत्री सरकारी संयन्त्र, राज्यद्वारा औद्योगिक पूर्वाधारको निर्माण, कानूनको शासन, विश्वविद्यालयका उत्कृष्ट विद्यार्थीलाई सरकारी सेवामा ल्याउने गुणवत्ता सरकारी नीति, निर्यातमूलक उद्योगको स्थापना र संञ्चालनमा जोड दिने सरकारी नीति, एसेम्बल उद्योगको स्थापना र संञ्चालनमा जोड, र चाइनिज मुलका व्यापारीमा पुस्तान्तरण हुँदै आएको उद्यमशीलता प्रमुख छन् । सन् १९६२ मा सिङ्गापुरको प्रतिब्याक्ति आय जम्मा ४९० अमेरिकी डलर थियो । यो २८ वर्षको अवधिमा अर्थात् सन १९९० मा बढेर ११,४५० डलर, सन २००० मा २३,६८० डलर र सन २०२२ मा ६७,२०० डलर पुगेको छ ।

घ. हङकङले विकास गरेका असल अभ्यासहरु
हङकङमा सन १९६१ देखि १९९० को बीचमा उच्चस्तरको औद्योगिकीकरण र विकास भएको थियो । यस प्रकारको उच्च विकास हुनमा हङकङले विकास गरेका असल अभ्यासहरुमा बेलायती शासनकालमा विकास भएको खुल्ला बजार अर्थतन्त्र, सरकारको न्यून कर प्रणाली, सामान्य करसहितका ठूला व्यापारी बन्दरगाहको निर्माण र संञ्चालन, छिमेकी देशबाट सस्तो दरमा सीपयुक्त श्रमको आपूर्ति, सूचना संञ्चारको उच्च विकास, उच्च गतिमा विकास भएको र भरपर्दो वित्तीय बजार, पश्चिमा देशमा विकास भएका प्रविधिको सहज आयात, बैकहरुको निम्न व्याज दर, व्यवसायीहरुमा पुस्तान्तरण भएको चिनियाँ उद्यमशीलता, ठूलो जनसंख्या भएका देशहरु चीन, जापान, भियतनाम, इन्डोनएसियाबीचको भौगोलिक अवस्थिति, श्रममा विश्वास गर्ने कन्फुसियस दर्शनशास्त्रको प्रभाव आदि प्रमुख छन् । सन १९९७ मा हङकङ चीनको अधिनमा गएपछि पनि व्यक्तिगत तथा कर्पोरेट आयमा लाग्ने कर विश्वमै न्यून रह्यो र बजारलाई सरकारले हस्तक्षेप गरेन जसले गर्दा उपनिवेशिक समयमा उच्च गतिमा विकास भएको औद्योगिकीकरणको गति अबिछिन्न चलिरह्यो । सन १९६१ र १९९० को बीचमा हङकङको कुल ग्राहस्थ उत्पादन १८० गुणाले र प्रतिब्याक्ति आय ८७ गुणाले बढेको थियो। सन १९६१ मा कुल ग्राहस्थ उत्पादन १.३२ अरब अमेरिकी डलरबाट बढेर सन २०२२ मा ३६० अरब अमेरिकी डलर र प्रतिव्यक्ति आय सन १९६१ को ४३७ डलरबाट बढेर सन २०२२ मा ४८,९८४ डलर पुगेको थियो ।

६. उद्यम सुरु गर्नुपूर्व गर्नुपर्ने तयारीहरु
आफूले जानेको सीप, काम वा व्यवसाय के हो ? त्यो यकिन गर्ने । आफूलाई गर्न मन लागेको र गर्नसक्ने कामको लागि आवश्यक सीप, ज्ञान जान्नको लागि कुनै तालिम लिने वा कोही पुराना उद्यमीसँग सरसल्लाह गर्ने । आंफूले गर्न लागेको उद्यमको बारेमा परिवार र संगीसाथीसँग सरसल्लाह गर्ने । उद्यम स्थापना पूर्व उद्यमसम्बन्धी के कस्ता कानून छन्, ती सबै राम्रोसँग अध्ययन गर्ने । उद्यमको लागि लाग्ने लगानी, त्यसबाट हुने आम्दानी र खर्चको अनुमानित हिसाब निकाल्ने । उद्यम सुरु गर्न आवश्यक लगानीको स्रोत यकिन गर्ने । उद्यमको परियोजना विश्लेषण गर्ने र व्यावसायिक योजना बनाउने । नयाँ उद्यम अथवा व्यवसायको स्थापना र संञ्चालन गर्न पूर्वतयारीका विभिन्न चरणहरु पार गर्नुपर्छ ।

तयारीका मुख्य ७ चरणहरुमध्ये बजार अनुसन्धान गरी उद्यम संञ्चालन गर्ने सोचलाई परिष्कृत गर्ने, बिस्तृत आयोजना प्रस्ताव तयार गर्ने, व्यवसाय संञ्चालनको लागि आवश्यक प्राविधिक तथा वित्तीय स्रोतको व्यवस्था गर्ने, कानूनी प्रक्रिया पूरा गरी व्यवसाय दर्ता गर्ने, बित्त, लेखा र करबारे योजना बनाउने, ट्रेडमार्क लिने र उपज तथा सेवा ब्रान्डिङ गर्ने र अन्तिममा उत्पादनमुलक उद्योग तथा सेवामूलक व्यवसाय संञ्चालन गर्ने ।

७. निष्कर्ष
नेपालमा ‘हाम्रा उत्पादन हाम्रै उपभोग’ को अभियानमार्फत् उद्यमशीलताको विकास गर्ने र आयात प्रतिस्थापनालाई औद्योगिकरणको प्रस्थानबिन्दु मानेर अन्य देशले औद्योगिकीकरणमा गरेका असल अभ्यासबाट सिकाइ गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य प्राप्त गर्न देशले सबै नागरिकको योगदान अपेक्षा गरेको छ ।

Email : giridharisp@gmail.com

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->