देशमा संघीयता लागू भएपछि कसैलाई राम्रो भएको, कसैलाई नराम्रो भएको, संघीयता खारेज गर्नुपर्ने, अनावश्यक पालिका खारेज गर्नुपर्ने, केन्द्र र स्थानीय निकाय मात्र भए पुग्ने, स्थानीयलाई थप बलियो बनाउनुपर्ने र प्रदेश खारेज गर्नुपर्ने जस्ता आवाज गुञ्जिरहेको अहिलेको अवस्थामा संघीयताकै पक्ष वा विपक्षमा बोल्नु पनि सान्दर्भिक हुन्छ हुन्न थाहा छैन । यो विशुद्ध विवादको विषय बन्ने भएकाले अहिले यस आलेखमा त्यो सम्बन्धी बहस गर्ने सोंच छैन, भविष्यमा लामै बहस गरौंला । तर, अहिले यस आलेखमा पस्कन चाहेको विषयवस्तु भनेको संघीयता लागु भएपछि बनेका प्रदेश, जिल्ला र पालिकामध्ये नवलपुर जिल्लाका बारेमा थोरै परिचर्चा गर्न थालिएको छ । हालको नवलपुर जिल्लाको इतिहास हेर्ने हो भने यो जिल्ला राणाकालमा चितवन जिल्लाको उपजिल्लाका रुपमा थियो, पछि बुटवल जिल्लाको परासी खण्डको केही भागको रुपमा थियो, अनि नवलपरासी जिल्लाको रुपमा अस्तित्वमा आयो र पछि २०७१ सालमा मात्र हालको अलग्गै जिल्लाको पहिचानमा आएको हो ।
संघीयता सुरुमा मधेस केन्द्रित दलहरुको एजेण्डा थियो, पछि माओवादीको पनि बन्यो र क्रमशः वार्ताका माध्यमबाट देशलाई हिंसात्मक परिस्थितिबाट मुक्त गर्नका लागि बिस्तारै अन्य प्रायः दलहरु सहमत हुँदै गए र अनायासै देशलाई संघीय गणतान्त्रिक राज्य भनेर घोषणा गरियो । त्यतिमात्र भएन, देशलाई धर्मनिरपेक्ष राज्य भनेर समेत घोषणा गरी संसदबाट पारित गरियो जुन कानूनमा उल्लेख भयो । तत्पश्चात् यसका पक्ष विपक्षमा आवाजहरु आउन थाले । कसैलाई यो राम्रो लाग्यो र विजयोत्सव मनाइयो भने कसैलाई नराम्रो लागेर संविधान जलाउने र आन्दोलन गर्ने काम पनि लामै समय चल्यो । जे सुकै भएता पनि आखिर देश संघीयतामा गइ नै हाल्यो । अब देशका पुराना संरचनामा तोडफोड गरी कित्ताकाट गर्न थालियो र ऐतिहासिक फेरबदल पनि भयो । यही क्रममा हालको नवलपुर भनी जनबोलीमा रहेको जिल्ला गण्डकी प्रदेश अन्तर्गत रहने गरी उत्तरमा चिनको बोर्डर कोरोला नाका र दक्षिणमा भारतको त्रिवेणी सुस्तालाई कायम राख्दै २०७१ सालमा १३३१ वर्ग किमी. को जमिन छुट्याइ साविक नवलपरासी जिल्लाबाट टुक्र्याएर नवलपरासी बर्दघाट सुस्ता पूर्वको भाग भनी जिल्लाको सिमाना कायम गरियो र नामकरण समेत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) भनेर संविधानमा लेखियो । पूर्व नारायणगढ, पश्चिम दाउन्ने त्रिवेणी सुस्ता, उत्तर महाभारत पर्वत श्रृङ्खलासँगै कालीगण्डकी नदी र दक्षिण नारायणी नदीका बिचमा रहेको जिल्ला देशकै कान्छो जिल्लाको रुपमा नक्शामा कोरियो । रुकुम पूर्व र नवलपरासी पूर्व गरी यी दुईवटा जिल्लाहरु थपिएपछि देशमै ७७ जिल्ला कायम भएका हुन् ।

लेखक
यसरी बनेको नवलपुर जिल्ला केही फरक विशेषता भएको जिल्ला पनि रहेको छ । करीब ९९ किमी पूर्व पश्चिम राजमार्ग पर्ने यस जिल्लामा साविक नवलपरासी जिल्लाबाट अलग भई नयाँ जिल्ला बन्दा जिल्लाबासीमा निकै सुखद अनुभूति भयो र उत्सव पनि मनाइयो । किनकि नवलपरासी जिल्लाको सदरमुकाम परासीबाट सेवा लेनदेन गर्न भौगोलिक कारणले निकै तनावपूर्ण थियो । त्यो तनाव पूर्णरुपले हटेको र यस क्षेत्रका जनतालाई राहत महसुस भएकाले पनि संघीयता र राज्यको पुन ःसंरचना नवलपुरबासीका लागि तालुमा आलु फले सरह सुखद बनेको छ । यो जिल्ला भूबनावटका कारण तीन तल्ले जिल्लाको रुपमा पनि परिचित छ । यस जिल्लाको उत्तरी भेग महाभारत श्रृङ्खलाका कारण विकट भौगोलिक वातावरणले बनेको छ, मध्य खण्ड केही भित्री मधेस भागले बनेको छ भने दक्षिणी खण्ड केही समथर तराई भागले बनेको छ । यस जिल्लाको हरेक स्थानको हावापानी फरक खालको रहेको छ । उत्तरका भूभागमा बसोबास गर्नेहरुका लागि र पूर्व चितवनको सीमासम्म बसोबास गर्नेहरुका लागि साविक नवलपरासी जिल्ला र जिल्ला सदरमुकाम परासी निकै दुःखपूर्ण थियो । त्यही कारणले पूर्वी र पहाडी खण्डका व्यक्तिका लागि बनेको नवलपुर जिल्लाले निकै राहत दिएको अनुभव भएको छ । त्रिवेणी सुस्ता तर्फका विनयी त्रिवेणी पालिकामा पर्ने केही भूभागका लागि भने अहिले बनेको जिल्लाबाट केही सास्ती बेहोर्नु परेका कारण त्यताका बासिन्दा भने खुसी छैनन् । २०७८ को जनगणनाको तथ्यांक अनुसार ३१ लाख ८६४ जनसंख्या मध्ये धेरै ठुलो जनसंख्यालाई यस जिल्ला निर्माणले ठुलो खुसी र सहजता थपेकोमा चाहिँ कुनै शंका छैन । संघीयताको कार्यान्वयनसँगै यो जिल्लामा ४ वटा नगर र ४ वटा गाउँ पालिका गरी जम्मा ८ वटा पालिका छन्, ती मध्ये गैंडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका केही सुगम मानिएका ठाउँमा पर्छन् भने बुलिङ्टार, बौंदीकाली, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिका केही दुर्गम मानिएका ठाउँमा पर्छन् ।
नवलपुर जिल्ला विभिन्न दृष्टिकोणले आकर्षक जिल्ला पनि रहेको छ । देशको उत्तर र दक्षिण सिमाना चिन र भारतलाई छोएको जिल्ला हुुनु, देशकै मध्यभागमा पर्नु, पूर्वपश्चिम राजमार्गको सबैभन्दा लामो भाग ९९ कि.मी. र राजमार्गको ठिक मध्यविन्दु पर्नु, तीन तले जिल्ला र फरक हावापानी भएको जिल्लाको पहिचान हुनु, थारु, मगर, गुरुङ्ग लगायत विभिन्न जातजातिको बसोबास हुनु, प्रसिद्ध कालीगण्डकी तथा नारायणी नदीले घेरिनु, विश्वप्रसिद्ध तथा लोपोन्मुख एकसिँगे गैंडाको प्रमुख बासस्थान चितवन राष्ट्रिय निकुञ्जको आनन्द लिन सकिनु, जङ्गल सफारी मार्फत दुर्लभ पशुपन्छी र रमणीय प्राकृतिक वातावरणको आनन्द लिन सकिनु, १,९३६ मीटर अग्लो देवचुली डाँडा र टे«किङ् मार्गको व्यवस्था हुनु, प्रसिद्ध मौलाकालिका, दाउन्ने, देवघाटधाम, सिजी साश्वत धाम, अमलटारी घाट आदि पर्नु, देशकै नमुना अमलटारी होमस्टे लगायत अन्य पर्यटकिय होटलहरुको व्यवस्था हुनु आदि यस जिल्लाका मुख्य आकर्षण हुन् ।
यस जिल्लाको सदरमुकाम कावासोती नगरपालिका जुन जिल्लाकै मध्यभागमा अवस्थित छ । यो नगरपालिकामा जिल्लाकै नमुना सदरमुकाम रहेको र मालपोत, नापी, राजस्व, यातायात, अस्पताल, क्याम्पसहरु लगायत दर्जनौं कार्यालयहरु स्थापित भएकाले पनि विशेष रहेको छ । पूर्वपश्चिम राजमार्गमा पूर्वमा नारायणगढबाट ३१ कि.मी. र पश्चिम बुटवलबाट ८५ कि.मी. मा अवस्थित यस पालिकामा जम्मा १७ वटा वडाहरु रहेका छन् र ११४ वर्ग किलोमीटर क्षेत्रमा फैलिएको छ । यहाँको जनसंख्या दिनानुदिन बढ्दै गइरहेको पनि छ । २०७२ को जनगणनाको प्रतिवेदन अनुसार जनसंख्या ८६,८२१ रहेता पनि उक्त जनसंख्यामा बसाइसराइका कारण वृद्धि भइरहेको अनुमान गर्न सकिन्छ । आर्थिक मन्दि आउनु अघि वा कोरोनाको कहर आउनु अघि निकै चहलपहल र विकास निर्माणले तिव्रता लिएको यस पालिकामा आर्थिक मन्दिका कारण केही सुस्तता र चहलपहलमा कमी भएको छ तैपनि अन्य स्थलहरुमा भन्दा सदरमुकाम भएका कारण चहलपहल बढ्दो छ । यो पालिकामा पनि अधिकांश व्यक्तिहरु कृषिमा (५७ प्रतिशत) आधारित छन् भने रोजगार (१९.८३ प्रतिशत) र व्यापार (१४.९४ प्रतिशत) मा पनि क्रमशः वृद्धि हुँदै गइरहेको देखिन्छ ।
यो जिल्लाको सदरमुकाम नमुना सदरमुकाम भनी घोषणा गरिएको छ तापनि हालसम्म नमुनायोग्य काम हुन नसक्नु बिडम्बना बनेको छ । २०७६ वैशाख २० गतेका दिन तत्कालीन प्रधानमन्त्री केपी.ओलीले व्यापक तामझामकाबीच उद्घाटन गरेको नमूना सदरमुकामको काम हुन नसक्नु र प्रत्येक वर्ष छुट्याइएको बजेटसमेत फ्रिज हुनु दुखको कुरा हो । हालसम्म नमुना सदरमुकामका लागि भनेर १७६ बिगाहा जग्गा सरकारको नाममा ल्याइएको छ र २६ अरब रुपैयाँ खर्च लाग्ने अनुमान गरी डीपीआर समेत तयार भएको छ । नमूना सदरमुकाममा जिल्लाका सबै कार्यालयहरु एउटै कम्पाउण्डभित्र देख्न पाइने र सेवाग्राही अलमल हुनुनपर्ने गरी डीपीार तयार भएको छ । खुला ठाउँ, खेल मैदान, बगैंचा र अत्याधुनिक सरकारी भवनहरु यसमा निर्माण हुने परिकल्पना गरिएको छ । हालसम्म कागजमा मात्र सीमित रहेको यो योजना अनुसार यदि सबै संरचना बन्यो भने यो सदरमुकाम साँच्चै हेर्न लायक र गौरवपूर्ण हुनेछ, जुन नवलपुरको समेत सान हुनेछ । तर त्यो दिनको पर्खाइमा अझै कति कुर्नुपर्ने हो र कतिवटा आन्दोलन गर्नुपर्ने हो भन्ने चाहिँ रहस्यमै छ ।





