शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

इश्वरलाललाई गाउँ नै रमाइलो

इश्वरलाललाई गाउँ नै रमाइलो

पावर, पहुँच र राजनीतिक आड भरोसामा केही समय दुर्गममा काम गरेर दशौं वर्ष धाक लगाएर खानेहरुका लागि उदाहरण हुन्– इश्वरलाल शाक्य ।


  • तारानाथ आचार्य
  • भाद्र ५ २०८१, बुधबार

इश्वरलाल गाउँमै छन् । स्थानीय तह गठन पछि गाउँ रोजेका उनी सधैं गाउँमै बसे । गाउँबाटै राष्ट्रसेवा गरिरहेका छन् उनी । उमेरले ६० वर्ष नजिक पुगेका उनको खुट्टा गाउँको उकाली–ओराली गर्दा काप्दैनन् । तमानखोलाले बनाएको गहिरो खोँच बोंगादोभानबाट तीन हजार मिटर उचाईमा रहेको बराहताल पुग्न उनी हिचकिचाउँदैनन् । बस्, उनका लागि त्यहाँ पुग्दा कोही कसैले सेवा पाउनु पर्यो । उनले त्यहाँ पुगेर सेवा दिने मौका पाउनु पर्यो । तमानखोलाको प्रमुख प्रशासकीय अधिकृत भएर उनी त्यहाँ पुगेको दुई वर्ष पुग्यो । यो बीचमा न उनी सरुवा हुन खोजे न कसैले उनलाई त्यहाँबाट सार्ने चेष्टा नै गरे ।

२०२५ सालमा सदरमुकाम बागलुङ बजारमा जन्मेका इश्वरलाल शाक्य बाबु कमलमान र आमा सावित्री शाक्यका छोरा हुन् । सानैदेखि स्थानीयतालाई प्राथमिकता राख्ने शाक्यले सधैं गाउँलाई माया गरें, गाउँ बस्न रुचाए, अनि गाउँकै सेवामा मन लगाए । मध्यम परिवारमा जन्मेका उनले दुःख सुख देशका ठुला शहरका विद्यालय र विश्वविद्यालयमा पढ्न सक्थे । तर, उनले जन्मेको ठाउँ छोड्न मानेनन् । बाउआमा बसेको गाउँ छोड्न मानेनन् ।

विद्यामन्दिर माध्यमिक विद्यालयमा मावि तहसम्म पढेका उनले घरछेउकै धौलागिरी बहुमुखी क्याम्पसबाट स्नातक गरे । घरकै आटोपिठोको सहाराले उनले पढे । २० वर्षकै उमेरमा उनी राष्ट्रसेवामा प्रबेश गरेका हुन् । सडक डिभिजन कार्यालय लुम्बीनिबाट सुरु भएको उनको जागिरे जीवनमा पहिलो कार्यलयमा चार महिनामात्रै काम गर्ने अवसर मिल्यो । चार महिना पछि उनी सडकबाट घरेलुमा सरे । घरेलु कार्यालय म्याग्दीमा हाजिर भएका शाक्य त्यसपछि हिमाली म्याग्दीका गाउँ डुल्न थाले । कार्यालयभन्दा कार्यक्षेत्रमा मन अड्याउने इश्वरलाल त्यहाँ पनि छोटो समय मात्रै बसे र गृह जिल्ला आए । सिंचाई डिभिजनमा काम गरे ।

देश संघीयतामा प्रबेश गर्यो । राज्यको पुनरसंरचना भयो । कर्मचारी समायोजनको चक्कर चल्यो । कर्मचारी समायोजनमा संघ रोजेका इश्वरलाल संयीयता कार्यान्वयन पछि संघको कार्यालयमा कामै गर्न नपाउने कर्मचारी हुन् । ‘हुनतः यहाँ घर भएर अन्यत्र गर्ने र कार्यालय प्रमुख नभएका अन्य साथीहरु पनि लामो समय काम गरेका हुनुहुन्छ तर स्थानीय तह गठन पछि गाउँमै लामो समय काम गर्ने बागलुङमा उहाँ नै हो जस्तो लाग्छ’ जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत खिम बहादुर बिकले भने ।

भुगोलका हिसाबले दुर्गम मानिन्छ जिल्लाको पश्चिम क्षेत्र । पश्चिम क्षेत्रमा पनि कठिन भुगोललाई छिचोलेर विकासको व्यग्र्र आशा बोकेका पालिका हुन् निसीसखोला, तमानखोला । जहाँ पूर्वाधार मात्रै होईन हरेक क्षेत्रको विकासका लागि निकै मेहनत गर्नुपर्ने छ । स्थानीय नै हुने भएकाले जनप्रतिनिधि त हुने नै भए तर, कर्मचारी यी भुगोलमा जान चाहदैनन् । दुर्गमको नाम दिन्छन् । काम गर्नै नसकिने बहाना बनाउँछन् । तर, इश्वरलाल पाँच वर्षदेखि तिनै भुगोलमा रमाईरहेका छन् । समायोजन पछिको पहिलो तीन महिना जिल्ला समन्वय समिति पर्वतमा काम गरेका उनलाई त्यसपछि डडेलधुरा पठाईयो । परशुराम नगरपालिका डडेलधुरामा तीन वर्ष काम गरेपछि उनी गृह जिल्ला फर्के । दुर्गम डडेलधुराको अति दुर्गम नगरपालिकामा काम गरेर फर्केपनि उनले जिल्ला फर्केपछि सुगम कार्यालय भने पाएनन् ।

इश्वरलाल बागलुङ आउँदा पश्चिमकै बाटो आए । जिल्लाको सुदुर पश्चिममा रहेको निसीखोलाबाट प्रबेश गरेका उनले तीन वर्ष उतै बिताए, जनताको सेवा गरे । ‘जहाँ काम गरेपनि राष्ट्रसेवा हो, विधिमा रहेर काम गर्ने हो, जनताकै काम गर्ने न हो’ शाक्य भन्छन्, ‘अब समयनै कति बाँकी छ र, जागिरे जीवनको बाँकी समय दुर्गममै बिताउँदा पनि मलाई आपत्ति छैन् ।’ जागिरे जीवनको उत्तरार्धमा रहेका उनलाई शहरको सोख छैन् । निसीखोलामा काम गरेर तमानखोला पुगेका अर्का कुनै कर्मचारी उदाहरण छैनन् । तर, उनी तीन वर्ष लामो समय दुर्गम मानिने निसीमा बसेर पनि सहजै अर्को दुर्गम तमानखोला पुगे । जिल्लाका दुरदराजमा रहेका स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर जानेहरु बिरलै तीन वर्ष बिताउँछन् । तर, उनी दुई वटा पालिकामा पाँच वर्ष बसेर काम गरे ।

स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत भएर लामो समय बिताउनेमा जिल्लामा चुर्ण बहादुर कार्की, जीत बहादुर राना लगायतको नाम आउँछ । तर, इश्वरलाल पाँच वर्ष दुर्गममै बिताउने एक्ला हुन् । इश्वरलाल बजारमा जन्मे, बजारमै हुर्के उनको जन्मठाउँ बजार हो । तर, उनी जागिरे जीवनको उत्तरार्धमा गाउँमा छैन् । अवकाश हुने बेला शहरका कार्यालयमा आरामको काम खोजे पनि उनले वरियताका आधारमा पाउँछन् । तर, उनलाई गाउँ नै रमाईलो छ, गाउँकै उकालो ओराली प्यारो छ । पावर, पहुँच र राजनीतिक आड भरोसामा केही समय दुर्गममा काम गरेर दशौं वर्ष धाक लगाएर खानेहरुका लागि उदाहरण हुन् उनी । निसी र तमानमा पाँच वर्ष समय बिताउँदा उनले कसैको मन दुखाएका छैनन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->