बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

अज्ञानताको दोष मेटाउने पर्व ‘ऋषि पञ्चमी’

अज्ञानताको दोष मेटाउने पर्व ‘ऋषि पञ्चमी’


  • माधव चापागाईं
  • भाद्र २३ २०८१, आइतबार

आज ऋषि पञ्चमी अरुन्धतीसहित सप्त ऋषिको पुजा आराधना गरि मनाइदै छ । सप्त ऋषिको पूजा गर्ने पञ्चमीलाई ऋषि पञ्चमी भनिन्छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज ऋषि पुजन गरेर विधिवत रुपमा समापन हुँदै छ । भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने यो पर्व विशेषतः देवाधिदेव महादेवको पुजा आराधना, नाचगान र हर्षोल्लासका साथमा मनाइन्छ । यस पर्वले विभिन्न जातजाति, भाषाभाषी र भूगोलका नेपाली महिला दिदिबहिनीहरूलाई जोड्ने सेतुको काम गरेको छ । यो पर्व मुख्यतः नेपाल र नेपालीहरु पुगेका अन्य देशहरूमा पनि मनाइन्छ । यस पर्वमा विवाहिता महिलाहरुले आफ्ना श्रीमानको दीर्घायूको कामना गरि व्रत बस्छन् भने अविवाहित नारीहरुले सुयोग्य वर प्राप्तिको मनोकामना लिएर देवाधिदेव महादेवको व्रत उपासना गर्ने प्रचलन छ । पौराणिक कालदेखि चलिआएको यो परम्परामा विवाहपश्चात कर्म घरमा प्राप्त जिम्मेवारी, तनाव, दुख, पिर, व्यथाहरुलाई माइतीको आँगनमा गएर बिसाउने गरिन्थ्यो ।

आफू जन्मेको घर र माइतीलाई चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको सम्झनालाई कम गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा यो पर्वलाई लिंदै आइएको पाइन्छ । तीजमा महिलाहरू नयाँ नयाँ कपडाहरु र आभुषणले सुसज्जित भई रमाइलो गर्दै मीठा मीठा परिकारहरू खाने र तिजको तृतीया अर्थात् हरितालिका तिजका दिन व्रत बस्ने परम्परा छ । परन्तु महिनौं अघिको तडकभडक, धनसम्पत्तिको आडम्बर, दरका नाममा खाइने होलिवाइनको उत्सवलाई नेपाली समाजले पचाउन नसके अवस्था छ । पौराणिक कालमा हिमालयपुत्री पार्वतीले आराध्यदेव भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेको दिनलाई हरितालिका तीज भनिन्छ । व्रत पश्चात् मनोकामना पूर्ण भएको विश्वासका आधारमा यो व्रतले दीर्घकालीन रुप पाएको जनश्रूति छ ।

हिन्दू धार्मिक ग्रन्थ अनुसार भाद्र शुक्ल द्वितीयाका दिनदेखि सुरु भइ पञ्चमीमा अरुन्धतीसहित सप्त ऋषिको पुजा आराधना गरेर समापन गरिन्छ । तिजको प्रमुख दिनका रुप तृतीया तिथिलाई लिइए पनि यी सबै दिन उत्तिकै महत्वपूर्ण छन् । पौराणिक कालदेखि चल्दै आएको यस पर्वमा महिलो दिन अर्थात् द्वितीयाका दिन माइतीले छोरी÷चेलीलाई घरमा बोलाई मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवं सुखदुख साटासाट गर्ने गरिन्छ । यसै दिनबाट औपचारिक रूपमा तीज पर्वको आरम्भ भएको मानिन्छ । तृतियाका दिन व्रत बस्ने गरिन्छ भने गणेश चतुर्थीका दिन सिद्धी विनायक भगवान गणेशको पुजा आराधना गरिन्छ । तिज पर्वको अन्तिम अर्थात् ऋषिपञ्चमीका दिन महिलाहरुले सप्तऋषिको पूजा आराधना गरी मनाउँछन् । हरितालिका तीजको व्रत बसेका महिलाले बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनलाई सान्निध्यमा राखेर ‘‘आयुर्बलं यशोवर्चः प्रजाः पशुवसूनि च।ब्रह्मप्रज्ञां च मेधाञ्च त्वन्नो देहि वनस्पते !’’ यस मन्त्रद्वारा दतिवनको प्रार्थना गरेर ‘‘मुखदुर्गन्धिनाशाय रदनानां विशुद्धये । ष्ठीवनाय च गात्राणां कुर्वेऽहं दन्तधावनम् ।’’ यो मन्त्र उच्चारण गर्दै दतिवन टोक्ने वा दन्तधावन गर्नुपर्ने शास्त्रीय नियम छ । तत्पश्चात ‘‘अनेन दन्तान् संशोध्य स्त्रायात् मृत्स्नानपूर्वकम् । तिलामलककल्केन केशान् संशोध्य यत्नतः ।।’’ यस मन्त्रद्वारा अपामार्गको शुद्ध मृतिका शरीरमा लेपन गरी स्नान गर्नु र तिलको पीना अथवा अमला इत्यादि शुद्ध वस्तुले कपाल नुहाउनु पर्ने विधान छ । त्यसपछि शुद्ध वस्त्र पहिरेर भक्तिपूर्वक पतिव्रता अरुन्धतीले सहित भएका सप्तऋषि अर्थात् कश्यप, अत्रि, मरद्वाज, विश्वामित्र, गौतम, जमद्धि, र वशिष्ठ ऋषिको पुजा गर्नु पर्दछ ।

ऋषिपञ्चमी व्रत महिलाहरुले मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको छ । शास्त्रअनुसार मासिक धर्म अर्थात् रजस्वलामा जानअञ्जान भए गरेका त्रुटिहरुको पापबाट मोक्ष प्राप्त गर्न यस दिनलाई उत्तम ठानिएको छ । भविष्य पुराणमा ‘‘ब्राह्मणः शासनात् पार्थ ! चातुर्वर्णेन सर्वदा’’ अर्थात् मानव जातिको अमुल्य जीवन प्राप्त गरेका चारवटै वर्ण (ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र) का मानिसले सदासर्वदा रजस्वला स्त्रीलाई चार दिनसम्म त्याग गर्नु भन्ने आज्ञा भएको पाइन्छ । रजस्वला स्त्रीहरु आफ्नो रजोधर्मका समयमा.. प्रथमेक्हनि चाण्डाली द्वितीये ब्रह्मघातिनी । तृतिये रजकी प्रोक्ता चतुर्थेक्हनि शुद्दयति । नारीलाई रजस्वलाको प्रथम, द्वितीय, तृतीय र चतुर्थ दिन क्रमशः चाण्डाल्नी, ब्रह्मघातिनी, धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने मान्यता शास्त्रमा छ । ‘अज्ञानाज्ज्ञानतोवापि जातसंसर्गपातकम् ।’ त्यस अवस्थामा जतिसुकै शुद्धतामा रहन्छु भनेता पनि ज्ञान अज्ञानले अवश्य संसर्ग जन्य दोषको भागिदार ती नारी हुन्छिन् । तसर्थ यस दिन विधिपुर्वक पूजा गर्नाले रजस्वलाजन्य दोष निवारण हुने शास्त्रीय मान्यता छ । यस दिन खनजोत नगरी र नरोपी उम्रेका अन्न र कन्दमूल खाएर एक छाक हविष्य बस्नुपर्छ ।

‘‘कुरुते या व्रतं नारी सा भवेत् सुखभोगिनी । रूप लावण्ययुक्ता सा पुत्र त्रादिसंयुता’’ अर्थात् विधिपुर्वक यो व्रत गर्ने महिलाहरु पारिवारिक सुख समृद्धि, धनधान्यले सम्पन्न हुने गर्दछन् । उनीहरुले यस व्रतको प्रभाव स्वरूप अत्यन्त सुखदायी जीवन प्राप्त गर्ने धार्मिक विश्वास छ । “इह लोके सुखं भुक्त्वा परत्रञ्च परां गतिम् । एतत्ते कथितं राजन् । त्रतानामुत्तमं व्रतम् ।।’’ यस लोक र परलोकमा समेत उत्तम गति प्रदान गर्ने भएकाले नारीहरुका स्पर्शापर्श दोष निवारण महत्त्वपूर्ण छ । ‘‘सर्वसम्पत्प्रदं चैव नारीणां पापनाशनम् । धनं यशञ्च स्वर्गश्च पुत्रानपि युधिष्ठिर !’’ यस व्रतको प्रभावले धनधान्य, यश, आयुआरोग्यता र गृह शान्तिसहित सन्तान अभिवृद्दिको मनोकामना पुर्ण हुने धार्मिक विश्वास छ ।

प्राचीन कालमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारेर हत्या गरेको कारण उनलाई ब्रह्म हत्याको पाप लाग्न पुग्छ । यस पापबाट दुखी बनेका इन्द्रले ब्रह्मा जिलाई आफ्नो दुख र दुखको कारण सुनाउँदा ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए । यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास पुराणमा वर्णित छ । रजस्वला भएका बेलामा अन्य व्यक्ति वा वस्तुमा छोइदा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने कुरा शास्त्रमा उदृत छ । जुन कुरालाई वैज्ञानिक दृष्टिले हेर्दा पनि जायज उत्तम छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको हुनसक्ने विश्वास गरिन्छ । यसका विषयमा आधुनिक विज्ञान र स्वास्थ्यका दृष्टिकोणबाट समेत थप अध्ययन अनुसन्धान गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->