पोखरा/पोखरा २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयले सातौँ डायमण्ड रनिङ कप खेलकुद प्रतियोगिता मंगलबारबाट सुरु भएको छ ।
विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्वविद्यार्थीबीच बिभिन्न विधामा खेलकुद आयोजना गरी पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको सीप तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड माविका निर्देशक माधवशरण उपाध्यायले बताएका छन् ।
सेभेन ए साइड फुटबलको पोस्टमा गोल हानेर कार्यक्रमको उद्घाटन गर्दै हंसपुर इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिकले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण भएको र सम्पूर्ण खेलाडीहरूलाई अनुशासनको पालना गर्न र लेखनाथमा शान्ति सुरक्षा कायम गर्नका लागि विद्यालय तथा विद्यार्थीहरूको तर्फबाट सामिप्यता तथा सहकार्य रहने बताए ।
विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले असोज १८ गते सम्म चल्ने खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेल प्रतिको चासो वढ्नुको साथै आत्मीता वढ्ने विश्वास दिलाएका थिए ।
त्यस्तै कार्यक्रममा व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, सल्लाहकार समितिका संजीव थापा, प्लस टु इन्चार्ज शिव लामिछाने, रवि अधिकारी,अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्ग, विद्यालय इन्चार्ज विकास लामिछाने, काउनसेलर दिनेश शर्मा लगायतले विद्यार्थीलाई पढाइको साथमा स्वच्छ र तन्दुरिस्तीका लागि खेलकुद अनिवार्य भएको विचार राखे ।
सातौँ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन मगंलबार छात्र तर्फ सेभेन ए साइड फुटबल, छात्र र छात्रा तर्फ भलिवल, क्रिकेट, टेबल टेनिस लगायतका खेलहरु खेलाईएको विद्यालयका खेलकुद शिक्षक सुभाष तामाङले जानकारी दिएका छन् । प्रतियोगिता सम्पन्न गर्न खेल संयोजक अनिल गुरुङको संयोजकत्वमा १० सदस्यीय समिति निर्माण गरिएको विद्यालयक शिक्षक दिनेश शर्माले जानकारी दिए ।
चार दिनसम्म चल्ने प्रतियोगितामा सेभेन ए साइड फुटबलमा २६ टिम, छात्रछात्रा भलिवलमा १० टिम, क्रिकेटतर्फ सात र टेबल टेनिसतर्फ छात्रछात्रा गरी ३५ जनाले सहभागिता जनाउने छन् । विजयीलाई असोज १८ पुरस्कृत गरिने छ ।





