बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तिमीबिनाको दसैं !

तिमीबिनाको दसैं !


  • हरिहर तिमिल्सिना
  • असोज २३ २०८१, बुधबार

दसैं त एउटा बहाना मात्रै थियो
तिमी मलाई देख्दा खुसी हुन्थ्यौ
म तिमीलाई देख्दा खुसी हुन्थें ।

दसैंमा सबभन्दा बढी हामी
एकअर्काका खुसी साटासाट गथ्र्यौं
यसपालिको दसैंमा मेरो खुसीमा
सबभन्दा बढी खुसी हुने
मेरो सबभन्दा प्रिय मान्छे
तिमी हुने छैनौ मसित
र म तिमीबिनाको
बेस्वादे दसैं मनाउँदै छु ।

तिमीलाई एउटा कुरा थाहा छ ?
घरमा सबै कुरा हुनु तर
आफ्नो सबैभन्दा प्रिय मान्छे नहुनु
योभन्दा पीडादायी जीवनमा के होला ?

यसपालि म घर पुग्दा
आँगनको डिलबाट मलाई पर्खिरहने
एकजोडी आँखा हुने छैनन
मलाई देखेपछि धर्तीमै जून ओर्लिए झैं
धपक्कै बल्ने एक थान अनुहार हुने छैन ।

टीका र जमरा लगाउने बेलामा
देवदूतका जस्ता औंलाहरू
मेरो निधारमा कहिल्यै सल्बलाउने छैनन्
अब त तिमी परदेशभन्दा पनि
धेरै पर पुगेका छौ
दूरदेश भन्दा पनि दूर पुगेका छौ ।

यसपालि पनि छोराछोरी परदेश हुनेहरू
बाढीपहिरोले घरबार लानेहरू
पसिनाको विनिमय गर्न लाहुर जानेहरू
यी कसैको घरमा पनि राम्रो दसैं आउँदैन सायद
परदेशीहरू त एकदिन फर्किएलान्
बाढी–पहिरो पनि एकदिन रोकिएला
तर बितेर गएका मानिसहरू
यो धर्तीमा कहिल्यै फर्किने छैनन्

तिमी गएपछि समयले
धेरै काँचुली फेरिसकेको छ
मानिसहरू धेरै फेरिइसकेका छन्
गाउँ र सहर नचिनिने भएका छन्
तर चाडबाड आएपछि
मुटुमा चसक्क घोप्न आउने
तीरजस्तो तिम्रो सम्झना
अझै पनि उस्तै छ ।

कसम ! दसैं आउँदै गर्दा
तिमीलाई बेहद सम्झिरहेको छु
दसैंको उपहार स्वरूप
केही दाना आँसु पठाएको छु
जहाँ छौ तिमी राम्ररी बस्नू है  !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->