शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

अनुसन्धानमुखी वैदिककाल : नवरात्र र दशैँको रौनकता

अनुसन्धानमुखी वैदिककाल : नवरात्र र दशैँको रौनकता


  • माधव चापागाईं
  • असोज २३ २०८१, बुधबार

नेपाली समाज विविधतामा एकता भएको समाज हो । विभिन्न जातजाति, भाषाभाषी र धर्म सम्प्रदायका मानिसहरूको साझा चौतारीका रुपमा रहेको हाम्रो समाज यति बेला बडादशैँको उमङ्गमा छ । बडादशैँ हिन्दु धर्मावलम्बीहरुको महान् चाड हो । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन घटस्थापना गरिन्छ । देवीलाई जौको जमरा प्रिय लाग्ने भएकाले यस दिन पञ्चमाटोमा जौ छरेर जमरा राखिन्छ । तिनै जमरा टीकाको साइतमा समृद्धिको प्रतीक स्वरुप ग्रहण गर्ने गरिन्छ । धार्मिक तथा साँस्कृतिक पर्व विजया दशमी सामाजिक सद्भाव, पारिवारिक मेलमिलाप र माया प्रेमको त्रिवेणीका रुपमा मानिन्छ । यस पर्वमा आफूभन्दा ठुला मान्यजनबाट दुर्गाभवानीको प्रसाद स्वरुप टीका लगाएर आशिर्वाद ग्रहण गर्ने परम्परा छ । पौराणिक ग्रन्थहरुमा असत्य माथि सत्यको विजय प्राप्त भएको खुशियालीबाट यस पर्वको प्रारम्भ भएको मानिन्छ । वैदिककालमा दानव महिसासुरको उद्दण्डताबाट पीडित बनेका देवगणहरुको रक्षार्थ दुर्गाभवानीले महिसासुरको बध गरि समाजमा शान्ति कायम गर्न सफल भएको विजयोत्सवका रुपमा यस पर्वलाई मनाउने गरिएको बुझिन्छ । समाजमा शोषित, पीडित र दुखमा परेकालाई शक्ति दिई अन्याय, अत्याचारलाई परास्त गरी सत्यको विजय गराउने मातृशक्तिको मुख्य रुप दुर्गामातालाई मानिन्छ । यसर्थ सम्पूर्ण मानव जगतकी मातृशक्तिका रुपमा परिचित महाकाली, महालक्ष्मी, महासरस्वती स्वरुपा दुर्गाभवानीको पुजा आराधना गरि यो पर्व हषोल्लासका साथ मनाउने गरिन्छ ।

घटस्थापनाको दिनदेखि नवमीसम्मलाई नवरात्र भनिन्छ । बडा दशैँमा नवरात्रको विशेष महत्व रही आएको छ । दुर्गा भवानीले महिसासुर लगायत तत्कालीन समाज परिवर्तनका बाधक अन्य दानवहरुको बध गरेको धार्मिक कथानुसार नवरात्रमा देवी दुर्गाका विभिन्न रुपको पुजाआराधना गरिन्छ । मार्कण्डेय पुराणान्तर्गत दुर्गा सप्तसतिमा वर्णन गरिएका दुर्गा भवानीका नौवटा रुप वर्णित छन् ।

प्रथमं शैलपुत्री च द्वितीयं ब्रम्हचारिणी
तृतीयं चन्द्रघण्टेति कुष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्धमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गा ः प्रकीर्तिता ः । अर्थात् नवरात्रको समयमा घटस्थापनादेखि दुर्गाभवानीलाई क्रमशः शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्धमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्रीका नामले पुजाअर्चना गरिन्छ । तसर्थ नवरात्रको यस पावन घडीमा देशभरका शक्तिपिठमा दुर्गाभगवतीका विभिन्न रुपहरुको पूजा, आराधना र उपासना गरिन्छ ।

नवरात्रमा दुर्गाभवानी र दानव महिसासुर बीचमा भएको युद्ध प्रकृति नियाल्दा दुर्गाले महिसासुरको उग्र व्यवहारलाई निस्तेज पार्न प्रत्येक दिन उत्पन्न हुने युद्ध परिवेशको अध्ययन गरी रणसङ्ग्राममा दानवको शक्ति नष्ट गरेको विषय धार्मिक ग्रन्थहरुमा वर्णित छ । यसर्थ अहिलेको वैज्ञानिक एवं अत्याधुनिक युगमा गरिने खोज अनुसन्धानमूलक कार्यको उपादेयताका रुपमा तत्कालीन समाज अगाडि बढेको बुझ्न सकिन्छ । नौ वटा रुप धारण गरी प्रकट भएकी हुनाले दुर्गामातालाई नवदुर्गा भनेर पुकारिन्छ ।

नवदुर्गा भवानीको पहिलो रुप शैलपुत्री हो । ६ वटा हातमा शंख, चक्र, गधा, पद्म, त्रिशुल र डम्बरु लिएर महिसासुर दानवको बध गर्न प्रकट भएकी शैलपुत्रीले सोहि दिनबाट बध गर्ने वा नगर्ने भनेर अनुसन्धान सुरुवात गरेको बुझिन्छ । यस दिन नवदुर्गाको प्रसन्नताका लागि पाठ पारायण गरिन्छ । दुर्गाले ब्रम्हचारिणी अर्थात् तपश्विनीको रुप धारण गरेको दोस्रो दिनमा ध्यान दृष्टिद्वारा दानवको बध गर्नै पर्ने स्थिति सिर्जना भएको हो ? वा होइन ? भनी जप र ध्यानमार्फत् परिस्थितिको सुक्ष्म अध्ययन गरेको पाइन्छ । दुर्गा भवानीले ध्यानद्वारा आत्मज्ञान प्राप्त गर्ने कार्य यस दिनमा गरिएको हुनाले यस दिनलाई आफ्नो आत्मज्ञान प्राप्त गर्ने दिनको रुपमा लिइन्छ । नवदुर्गाको तेस्रो रुप चन्द्रघण्टा हो । चन्द्रको अर्थ फैलाउनु र घण्ट भन्नाले सञ्चार गर्नु हुन्छ । यसर्थ चन्द्रघण्टाको समष्टि अर्थ कुनै पनि समाचारको प्रचारप्रसार गर्नु भन्ने बुझ्न सकिन्छ । दुर्गाले दानव बध कार्यको निर्णयार्थ यो रुप लिएर सकरात्मक र नकरात्मक सन्देशको छानविनका लागि अन्य देविदेवतासँग छलफल गर्ने काम यस रुपमा गरिएको छ । यस कारण सम्पूर्ण शक्तिपिठहरुमा सन्देश बाहकको रुपमा घण्ट राख्ने प्रचलन छ । कुष्माण्डा देविको रुप धारण गरि ब्रम्हाण्ड उत्पन्न गरेर महिसासुरलाई देवता आमन्त्रित छलफलमा उपस्थित गराउन शक्तिशालिनी र शान्तिदायनीको रुप लिएकी हुनाले नवरात्रको चौथो दिन शक्तिपिठहरुमा दर्शन र पुजा आरधना गर्नाले अक्षम्य शक्ति प्राप्त हुने जनविश्वास रहि आएको छ । देवीले सेनाहरुको उत्पति गराएर सत्य र असत्य छुट्याउने सन्देश प्रवाह गर्ने काम स्कन्दमाताको रुपमा गरेकी छिन् । महिसासुरले शस्त्रास्त्र र जल, थल, नभ कतै पनि आफ्नो मृत्यु नहोस् भनी भगवान विष्णुबाट प्राप्त वरदानलाई असम्भव तुल्याउन कात्ययानी स्वरुपा देविले आफ्ना सम्पुर्ण इन्द्रियहरुलाई महिसासुरको बधका लागि तयार गरेकी छिन् । उनको यहि रुपमा महिसासुरको मृत्यु कसरी ? र के बाट गर्ने ? भनि निश्चित गरिएको हुनाले यस दिन देविको पुजा गर्नाले नयाँ नयाँ ज्ञान प्राप्त हुने विश्वास छ । हातमा त्रिशुल र तरवार तथा मुसल र दण्ड बोकेकी, सबैलाई पराजित गर्ने क्षमता भएकी, कालरात्री स्वरुपा देविले छैटौं दिनसम्म दानवहरुको सत् असत् छुट्याई बध गर्ने निश्चय गरेकी थिइन् । विष्णुको वरदानले युक्त महिसासुर दानवलाई आफ्नो काखमा राखि नङद्वारा बध गरी असत्य माथि सत्यको विजय गरेकी हुनाले महाअष्टमीको दिन शक्तिपिठहरुमा बली दिने चलन रहि आएको छ । तत्पश्चात् महागौरीको स्वरुप लिई समाजमा शान्तिको सन्देश प्रवाह गर्दै पृथ्वीमा सितलता दिएर आफूले गरेको बधको क्षय गर्ने काम गरेकी छन् । दायाँ हातमा स्वस्तिक र कमल तथा बायाँ हातमा अमृतघडा लिएर अष्ट सिद्धिको महावाणि प्रदान गर्ने सिद्धिधात्री स्वरुपा देविले कार्य सिद्धि, यज्ञ पूर्ण वा शुद्ध गर्ने काम गरेकी छन् । तसर्थ नवमीको दिन दुर्गाका शक्तिपिठहरुमा पुजा आरधना गर्नाले यज्ञ पूर्ण एवं सिद्धि प्राप्त हुने विश्वास रहिआएको छ ।

यसरी अन्याय, अत्याचारका विरुद्धमा लडेर शोषित, पीडित र दीन दुखीहरुका उपर कृपा दृष्टि दिदै समतामूलक समाज निर्माणको अभियान वैदिक कालदेखि नै हुने गरेको तथ्य यी यावत् दृष्टिकोणबाट उजागर हुन्छ । तसर्थ हिन्दु धर्ममा वैज्ञानिकताका भावहरु सर्वत्र जागृत छन् जसको गहन रूपमा खोज अनुसन्धान गरिनु पर्ने देखिन्छ । नवदुर्गा भवानीले असत्य माथि सत्यको विजय, दानवता माथि देवताको र अमानवता माथि मानवताको विजय प्राप्त गरी समाजमा शान्ति स्थायित्व कायम गरेकी हुनाले यो समय दुर्गाभवानीको पुजा आराधना गर्ने सर्वश्रेष्ठ समयको रुपमा लिइन्छ । समग्रमा नवरात्रमा नवदुर्गाको पुजा, आरधना र उपासना गर्नाले सुख, शान्ति, समृद्धि, आयु आरोग्यता, विद्याबुद्धि, मानसम्मान, कार्य सिद्धि र आर्थिक उपार्जन हुने विश्वास गरिन्छ ।

यस वर्षको विजया दशमीको प्रारम्भ स्वरुप असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत जुराएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले टीकाको साइत आश्विन २६ गते बिहान ११ बजेर ३६ मिनेटमा उत्तम रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->