काठमाडौं / उज्यालो पर्व तिहारको मुख्य दिन लक्ष्मीपूजा, घरघरमा धनकी देवी लक्ष्मीको पूजा गरिएको छ । बिहीबार साँझ हिन्दू धर्मावलम्बीहरुले आफ्नो घर, कार्यालय, उद्योग व्यवसायमा धनकी देवी लक्ष्मीको पूजा गरेका छन् । घर तथा कार्यालहरुमा विभिन्न रंग राखेर आकर्षक रंगोली बनाइएको छ । लक्ष्मीको पूजापछि घरको गेट तथा मूलढोका पनि खुला राख्ने गरिन्छ । तिहारलाई बत्तीको पर्वको रुपमा पनि लिइन्छ । त्यसैले अहिले हिन्दु धर्मावलम्बीहरूका घरहरूमा बत्तीको झिलिमिली छ । काठमाडौंमा पनि जताततै बत्तीले सिंगारिएको छ । काठमाडौंको आकाश तुवाँलोले ढाके पनि साँझको दृश्य सुन्दर छ ।










