एक गोधुली साँझबेला थियो । म बैठककक्षको झ्यालबाट बाहिर आँखा डुलाउँदै घरभित्र बसिरहेको थिएँ । दिमागमा धूलिचूर्णदेखि विस्तीर्ण व्योमसम्मका अनेकानेक तर्कना–तरेलीहरू गज्याङमज्याङ गर्दै आइजाइ गरिरहेका थिए ।
(त्यसो त अहिले म बसिरहेको शहरमा साँझ त हुन्छ तर गोधुली साँझ नै भन्न मिल्ने चाहिँ हुँदैन किनभने यहाँ त सबैतिर पक्की घर र पीच रोडबाहेक टाढाटाढासम्म कतै गाईबस्तु नै हुँदैनन्, छैनन्, अनि त्यसो भएपछि तिनलाई चराउने र साँझ हुँदो बग्रेल बस्तुभाउ हुलका हुल भएर बासस्थान फर्किंदै गर्दा धिपधिपाउँदो सूर्यकिरणभित्र धुलाम्मे वायुमण्डल बन्ने अवस्था पनि हुँदैन । त्यसो हुँदा यहाँ मैले केवल गाउँघरको परिवेश सम्झेर अत्याधुनिक शहरभित्र त्यस्तैत्यस्तै गोधुली साँझको कल्पना गरेको मात्र हो ।) । यस्तैमा केही किनमेल गर्न बजारतिर गएकी श्रीमतीजीको आफ्नोकाम सकाएर फर्किने स्वरूपमा गृहप्रवेश भयो ।
‘देख्नेबित्तिकै बिछट्ट मन परेको हुँदा यी दुइटा पोस्टर ल्याएकी छु । तपाईंलाई पनि पक्कै मन पर्नेछ,’ घरभित्र प्रवेश हुन पाएको छैन, श्रीमतीजीको आवाज बैठककक्षमा गुञ्जियो । (मैले आफैँलाई भनेँ, कति साह्रो हतारिएको होला नि !)
‘ए, हो र ? कुन चाहिँ परे त्यस्ता विशेष आकर्षक पोस्टर ?’ मेरा मन–मस्तिष्क जिज्ञासाको चुली चढे । ‘यी एउटा पोस्टर फ्रान्सेली धरहराको र अर्को चाहिँ गौतम बुद्धको हो ।’
‘उही ‘आइफल टावर’ के त ।’
युरोपेली मुलुक फ्रान्सको राजधानी पेरिसमा आजभन्दा एक सय पैतीस वर्ष पहिले (सन् १८८९ मा) निर्माण भएको आइफल टावर संसारकै एक महान आश्चर्य हो । सन् १७८९ मा सम्पन्न फ्रान्सेली क्रान्ति सय वर्ष पुगेको उपलक्ष्यमा निर्मित यो टावर समग्रमा तीन सय तीस मिटर वा एक हजार त्रियासी फिट (अर्थात्, कुनै एकासी तले भवन जत्तिकै) अग्लो छ । यसको रोचक पक्ष के हो भने यो टावर निर्माण भएको बीस वर्षपछि आफैँ ध्वस्त हुन्छ भनिएको थियो रे ! तर सय वर्षभन्दा धेरै समय भइसक्दा पनि यो अझै सबैका लागि उस्तै आकर्षणको उम्दा केन्द्र बनेर उभिएकै छ ।
आइफल टावरको पोस्टर–तस्बिर सुन्दर लाग्यो । आकर्षक महसुस भयो । सँगै के पनि थाहा भयो भने दुबै पोस्टर दुई फिट चौडा र तीन फिट लम्बाइका थिए ।
अर्को पोस्टर महात्मा बुद्ध ध्यान मुद्रामा बसेको तस्बिर थियो । बन्द आँखा र स्नेही मृदु मुस्कानसहित घुँडामाथि हत्केलाहरू राखेर बुद्ध विशिष्ट पद्मासन मुद्रामा थिए । ध्यान–चिन्तनमा लीन बुद्धको तस्बिर हेर्दैमा पनि मनलाई कताकता शान्ति मिले जस्तो र आफ्नै मन पनि नजाने कस्ताकस्ता बोझहरूबाट अनायास हलुका भए जस्तो लाग्यो ।
एउटा पोस्टरको मूल्य पच्चीस डलर रहेछ । तत्काल एउटा विचार आयो र गयो । नेपालमा पनि त बुद्धका विविध पोस्टर र तस्बिरहरू दुईचार सयदेखि आठ–दश हजारसम्ममा अनि मूर्तिहरू अझ बढी रुपैयाँमा पाइन्छन् त ।
‘धन्यवाद । ठीक समयमा ठीक विचार पलाएछ । र त यी पोस्टर हाम्रो घरभित्र आउन पाए,’ मैले यति मात्र भन्दा पनि कतै पढेको चिनियाँ दार्शनिक लाओत्सेको यो भनाइ मेरो स्मृति–पटलमा झलझली आइरहेको थियो, ‘अरूहरूलाई चिन्नु, जान्नु र बुझ्नु बुद्धिमान हुनु हो तर आफू स्वयंलाई चिन्नु, जान्नु र बुभ्mनु भनेको बुद्धत्व प्राप्त गर्नु हो ।’
मेरो सोचाइको धारा त्यसतर्फ मोडिएको थिएन, तैपनि लागिरहेको थियो, यहाँनिर त घरको एउटा भित्तामा झुन्ड्याएको तथागत बुद्धको तस्बिर हेर्दैमा कहाँको बुद्धत्व प्राप्त हुन सक्नु ? मलाई थाहा छ– बुद्ध मुक्तिदाता होइनन्, स्वयं उनले नै मुक्ति दिने होइनन् । उनी त केवल मार्गदाता हुन्, उनले त जीवनमा हाम्रा सामु देखा पर्ने समस्याहरूको निदान र समाधानका उपायहरू बताएका छन् । उनले बताएको वा सुझाएको बाटोमा हिँड्न सक्ने हो भने जीवन शान्त, सन्तुष्ट र समृद्ध बन्न सक्दछ ।
म अहिले किन बुद्धबारे घोत्लिँदै छु ? किनभने यतिबेला म अमेरिकामा छु । नेपालबाट झण्डै आठ हजार माइलको दूरीमा, अथवा, झण्डै साढे बाह्र हजार किलोमिटर टाढा । परदेशमा भएपछि त्यसै पनि स्वदेश र त्यहाँका तमाम कुराहरूको माया लागेर आइरहन्छ, आफैँ आफैँ सम्झनाका बिस्कुनहरू यत्रतत्र फिँजारिएकै हुन्छन् । त्यसमा पनि नेपालीका लागि संसार सामु शिर ठाडो पारेर भन्न सकिने कुरा नै पो कति छन् र ? उही गौतम बुद्ध ! उही सगरमाथा ! उही गोरखाली वीरता ! उही सुन्दर प्राकृतिक छटाबीच उभिएका हिमाली–पहाडी डाँडाकाँडा र जस्तासुकै मै हूँ भन्ने समेतलाई हाँक दिँदै पसारिएका ट्रेकिङ–मार्ग ! उही अभाव र पीडाबीच पनि उन्मुक्त हाँसो हाँस्न जानेका नेपाली अनुहार !
अनि यी सबै विशेषतामध्ये, नेपाल गएका भए पनि नगएका भए पनि, नेपालबाहिरका धेरैले चिन्ने भनेकै उही गौतम बुद्ध हुन् ।
यद्यपि, आश्चर्यको कुरा, त्यहीँ जन्मेका भए पनि नेपालमा बुद्धप्रति आम नेपाली जनमनको उतिविधि समर्पणभाव देखिँदैन । त्यहाँ त सनातनी वैदिक धर्मावलम्बीहरू नै बहुतायतमा छन् र त्यसले गर्दा विभिन्न देवी–देवताका मन्दिर औ थानहरूमा धाउने गरेकै बढी देखिन्छन् । त्यहाँ त बुद्ध केवल आफ्नोजन्मभूमि लुम्बिनी, मावल तिलौराकोट, काठमाडौंका स्वम्यम्भूनाथ र अन्य विभिन्न स्थानमा निर्मित चैत्य वा गुम्बा–स्तूपहरूमा, र, विभिन्न हिमाली वा हिमाल नजिकका जिल्लाहरूमा सञ्चालित गुम्बाहरूमा मात्र सीमित छन् ।
सन् २०२१ को जनगणना अनुसार, नेपालको करीब तीन करोड जनसङ्ख्यामा केवल ८.२ प्रतिशत मात्र बुद्धमार्गीहरू छन् तापनि यो सङ्ख्या समग्र जनसङ्ख्यामा दोस्रो नम्बरमा पर्दछ । (नेपालमा पहिलो स्थानमा ८१.२ प्रतिशतसहित सनातनी हिन्दुहरू छन् । उता, विश्वव्यापी रूपमा भने एक प्रमुख विश्व–धर्मका रूपमा बौद्ध धर्म ६.६ प्रतिशतसहित पाँचौं धर्मको रूपमा स्थापित छ । विश्वस्तरमा पहिलो नम्बरमा क्रिश्चियन, दोस्रोमा इस्लाम, तेस्रोमा नास्तिक वा अनिश्वरवादी र चौथोमा हिन्दु धर्म छन्) । नेपालमा त बुद्ध जन्मस्थल लुम्बिनी, स्वयम्भू, बौद्धनाथ वा अन्य गुम्बातिर गैरबुद्धमार्गीहरू बेलाबखत घुम्न मात्र जाने गर्छन् ।
तर अमेरिकामा आप्रवासी नेपालीहरूको अवस्था फरक छ । यहाँ आइसकेर यतै बसोबास गर्न थालेका धेरैजसो नेपालीहरू नेपालमा भन्दा ‘अझ बढी धार्मिक’ बनेका देखिन्छन् । लगभग सबैले आफ्नोनिवास –घर वा अपार्टमेन्ट डेरा– मा देवी–देवताका तस्बिर वा सानाठूला मूर्ति सजाएर राखेका हुन्छन् । प्रायः हरेक बिहान अम्खोरामा धाराको साजी पानी फेर्ने, नयाँ पूmल र दुबो ल्याएर राख्ने अनि मधुरो मधुरो स्वरमा घण्टी बजाउँदै आजापूजा गर्ने प्रचलन पनि उत्तिकै देखिन्छ । बेलाबखत घरभित्र र घरबाहिर नै भए पनि धार्मिक–सांस्कृतिक कर्मकाण्डहरू पूर्ण निष्ठासाथ सम्पन्न हुने गरेको पनि उसैगरी देख्न पाइन्छ ।
मलाई राम्रो हेक्का छ, अमेरिकामा कतिजना साथी वा निकट परिचितहरूलाई फोनमा अभिवादन गर्दा उनीहरूले नेपालमा जस्तो ‘नमस्ते’ अथवा ‘हाय’ ‘हेलो’ आदि भनेका थिएनन्, बरु उनीहरूले त कसैले ‘साइराम जयदेवजी !’ भन्छन् त कसैले ‘ओम शान्ति’ अनि कसैले ‘हरिओम’, अझ कसैले ‘राधे राधे’ ! तर कसैले पनि कहिल्यै ‘नमो बुद्धाय’ वा ‘टासी डेलेक’ आदि केही भनेको सुनिनँ । यसो हुनुको कारण शायद कोही विशुद्ध बुद्धमार्गी परिचितसँग मेरो राम्रो परिचय नभएर पो होला भन्ने मलाई लागिरहन्छ ।
मलाई थाहा छ, बौद्ध धर्म अनात्मवादी र अनिश्वरवादी दर्शन हो । यसले उँचनीच, जातिभेद, रङ्गभेद वा छुवाछूत केही मान्दैन । तर यसले पुनर्जन्म भने मान्दछ । अर्थात्, यस दर्शनले आत्मा र ईश्वरको अस्तित्व स्वीकार गर्दैन । यसले भन्छ, ‘आत्मा भन्ने कुनै कुरा हुँदैन । बरु मानिसभित्र चेतनाको प्रवाह हुन्छ र त्यही चेतना–प्रवाहले गर्दा मानिसले सोच्न सक्दछ । संसारमा केही पनि नित्य छैन । सबै कुरा परिवर्तनशील छन् । तसर्थ निरन्तर परिवर्तन नै नित्य हो । यहाँ ईश्वर र ईश्वरीय सत्ता भन्ने पनि केही छैन, हुँदैन पनि ।’
अनि पुनर्जन्म मान्ने हुँदा बुद्ध दर्शनले भन्दछ, ‘मानिसको भौतिक देह नाश भए पनि ऊभित्रको चेतना मर्दैन । बरु देह नरहेपछि चेतना अर्को शरीरमा प्रवेश गर्दछ । त्यसकारण पुनर्जन्म हुन्छ । …यसो भएको हुँदा मानिसले आफ्नोमुक्तिको मार्ग आफैँले खोज्नु पर्दछ, आपूmलाई त्यसप्रति समर्पित गर्नु पर्दछ । तर त्यसका लागि अन्य कोही कसैमाथि भर पर्नु हुँदैन ।’
बुद्धबारे पढ्नेहरूलाई थाहा छ– सिद्धार्थ गौतम परिवार र दरबारको विलासी जीवन सबै परित्याग गरी ज्ञानको खोजीमा उनन्तीस वर्षको उमेरमा मध्यरातमा निस्केका थिए । पछि छ वर्ष लामो कठोर तपस्या पश्चात् उनलाई भारतको बिहारस्थित बोधगयामा ‘मानिसमा तृष्णा, रोगव्याधि, बुढ्यौली र मृत्यु आदि तमाम दुःखहरूको मूलकारण अविद्या रहेछ’ भन्ने ज्ञान (बुद्धत्व) प्राप्त भयो । यो ज्ञानको प्राप्तिसँगै उनी पहिले जस्तो सिद्धार्थ गौतम रहेनन्, उनको ‘पुनर्जन्म’ भयो र उप्रान्त उनी ‘गौतम बुद्ध’ कहलिन थाले । ज्ञान प्राप्त गरेपछि बुद्धले बिहारकै सारनाथ भन्ने ठाउँमा आफ्नोधर्म र दर्शनसम्बन्धी पहिलो सार्वजनिक भाषण दिए । उनको त्यो पहिलो धर्मोपदेश भाषणलाई ‘धर्मचक्र प्रवर्तन’ भनियो ।
प्रचलित बौद्ध–शब्दावलीमा ‘जीवित अवस्थामा दुःखबाट मुक्ति पाउनुलाई ‘निर्वाण’ भनिन्छ’ भने ‘बुद्धत्व प्राप्त गर्ने ज्ञानी मानिसले मुत्युपश्चात् पाउने मुक्तिलाई ‘परिनिर्वाण’ भनिन्छ’ । यस कडीको अन्तिम शब्दका रूपमा, गौतम बुद्धको मृत्यु –जुन बिहारकै कुशीनगरमा भएको थियो– लाई ‘महापरिनिर्वाण’ भनिन्छ । अझ खासमा त बुद्ध दर्शनमा ध्यानयोगको ठूलो महत्व छ, विशेष गरी शान्त एवं स्थिर मस्तिष्कका लागि । ध्यानले बुद्धि निर्माण र विकास गर्छ तर ध्यान नगर्दा अज्ञानतामै रुमल्लिनु पर्ने हुन्छ । बुद्धवादीहरूका लागि ध्यान भनेको बुद्धत्व (इन्लाइटेनमेन्ट), ज्ञान (अवेकनिङ), मोक्ष वा मुक्ति (लिबरेशन) र निर्वाण प्राप्तिको मार्ग हो ।
ओह ! एउटा पोस्टर हेर्दैमा बुद्धबारे कतिविधि विचार आइजाइ गरिसकेछन् !
जुन बुद्धले ईश्वर छैन भन्दै मूर्ति पूजा अनावश्यक भनी सम्झाउँदै हिँडे, पछिल्ला धेरै समयदेखि उनी आफैँ पनि मूर्तिमा रूपान्तरित भइसकेर फरक–फरक मूल्य भएका कापी–किताबका आवरणमा, हुलाक टिकटमा, पोस्टकार्डमा, स्टिकरमा वा सानाठूला पोस्टरहरूमा प्रतिकृत हुँदै आएका छन् । (त्यस्तै एक पोस्टर हाम्रो घरमा आइपुगेको थियो । त्यसो त मलाई लाग्छ, बुद्धको मूर्ति वा पोस्टर भनेको अन्य देवीदेवताको जस्तो पूजाका लागि होइन बरु उनको स्मृति, श्रद्धा र सम्मानका लागि हो) । अझ अमेरिकामा त विभिन्न राज्यमा बसोबास गरिरहेका आप्रवासी नेपालीहरूमा नेपाली मन्दिर बनाउने होड नै छ, कसले कति ठूलो र कति राम्रो मन्दिर बनाउने भनेर । तर जे जस्तो जत्रोसुकै बनाए पनि उनीहरूले निर्माण गर्ने मन्दिरको नाम लगभग उस्तै हुन्छ, ‘श्री पशुपतिनाथ बुद्ध मन्दिर’ । ‘श्री पशुपतिनाथ बुद्ध टेम्पल’ ।
(यद्यपि पचास राज्य भएको अमेरिकामा धेरैजसोमा जापान, चीन, मंगोलिया, लाओस, भियतनाम, कम्बोडिया आदि अनेक देशका आप्रवासीहरूले सयौं एकड जग्गा ओगटेर आकर्षक बुद्ध मन्दिर (अथवा, चैत्य वा स्तूप) हरू बनाएका छन्) ।
मन्दिरको नाम यसरी राखिनुको एउटै कारण छ– देवाधिदेव महादेव पशुपतिनाथ अमेरिका समेत पश्चिमी गोलाद्र्धमा खासै परिचित छैनन्, हुन सकेका पनि छैनन् (शायद यतातिर भ्रमण गर्ने उस्तो साइत परापूर्वकालदेखि नै उनलाई कहिल्यै जुरेन) । बरु छैटौं शताब्दी ईसापूर्वमा जन्मेका महात्मा बुद्ध आफ्नोजन्मभूमि नेपाल र कर्मभूमि भारतका सिमाना नाघेर देश–देशावरहरूसम्मै चिनिएका छन्, पढिएका पनि छन्, र, अनुशरण पनि गरिएका छन् । यसरी आपूmहरूलाई हिन्दु भनेर चिनाउनकै लागि बुद्धको नाम पशुपतिनाथसँग जोडेर राख्ने गरिएको हो । यससँगै, खासगरी ‘बुद्ध नेपालमै जन्मेका हुन्’ भन्ने देखाउन र उनी विश्व–सम्पदा (वर्ल्ड हेरिटेज) का रूपमा फेरिइसकेको भए पनि पुण्यभूमि लुम्बिनीले गर्दा यी शाक्यमुनीको नाममाथि नेपालकै ‘स्वामित्व’ छ भन्ने देखाउनका लागि पनि यसो गरिएको हो ।
मलाई लाग्छ, बुद्ध कुनै सिमानाभित्र सीमित भएर रहन सक्दैनन् । उनलाई कतै सानोतिनो भूगोलभित्र सङ्कुचित पार्न सकिँदैन । त्यसकारण उनी परदेशमा नेपालका राष्ट्रिय पहरेदार हुन्, नेपाली राष्ट्रियताका प्रतीक हुन्, नेपालीपनका मौन धरोहर हुन् । उनलाई मूर्तिमा दर्शन गर्नु अथवा पोस्टरमा हेर्नु मात्र पनि चानचुने कुरा हुन सक्दैन । उनी जे जस्तो रूप–रङ्गमा भए पनि उनको सादगी, उनको भव्यता र उनको दिव्यता कम हुनै सक्दैन ।
बुद्ध मानवतावादी थिए, हुन् । उनले व्यक्ति आफूले आफैँलाई माया गर्नु पर्छ भन्ने पनि सिकाए । उनले भने, ‘तिमीले तिमी स्वयंलाई भन्दा बढी माया गर्नुपर्ने अर्को मानिस को रहेछ भनेर समग्र विश्वमा खोज तर त्यस्तो मानिस कहीँ कतै भेटिने छैन । किनभने त्यो मानिस त तिमी आफैँ हौ जसलाई तिमीबाट यो दुनियाँमा सबैभन्दा बढी माया र स्नेह चाहिएको छ । तिम्रो प्रेम अनि स्नेहको सबैभन्दा ‘डिजर्भिङ क्यान्डिडेट’ त तिमी आफैँ हौ ।’
बुद्धको पोस्टरबारे यति धेरै लहर सोचिसकेपछि अहिले मलाई लागिरहेछ– आँखा चिम्लेर पद्मासनमा बसेका बुद्ध स्वयंले मलाई के भनिरहेका होलान् ? मलाई केही नयाँ सन्देश वा प्रवचन दिनुपर्ने निष्कर्ष निकालेर पो बसिरहेका छन् कि ? अथवा, मलाई आफ्नो‘परम सूत्र’ दिँदै भनिरहेछन्, ‘अप्प दीपो भव ।’ अर्थात्, आफ्नोदीपक वा आफ्नोउज्यालो आफैँ बन । आफ्नोमनलाई नियञ्त्रणमा राख, आफ्नोअधीनमा राख र यदि यो महत् कार्य गर्न सक्यौ भने शान्ति –अर्थात्, बुद्धत्व– प्राप्त गर्न सफल हुन्छौ । … हरेक कुरामा शङ्का गर, प्रश्न गर अनि आफ्नोसत्य आफैँले पत्ता लगाऊ … ।




