स्याङ्जा/अर्जुन चौपारी गाउँपलिकाले कात्तिक १९ गतेबाट २९ गते सम्म युएईमा सञ्चालित यू–१९ विश्वकपका छनोटमा उपाधि जितेका स्याङ्जाका तीन खेलाडीलाई सम्मान गरेको छ ।
गाउँपालिकाले पुतलीबजार नगरपालिका १ का ज्योत्सिना मरासिनी, १३ का सीमाना केसी र कुसुम गोदारलाई जनही १५ हजार रुपियाँ नगद, सम्मान पत्र सहित दोसल्ला ओडाएर सम्मान गरिएको हो भने क्यान स्याङ्जाका अध्यक्ष दिवाकर थापालाई सम्मानपत्रले सम्मान गरिएको हो ।
पालिकाले दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सबको उद्घाटनमा बिहीबार तीन जना खेलाडी र क्यान अध्यक्ष थापालाई गाउँपालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, प्रकाशकिय अधिकृत कौशल पाण्डेले सम्मान गरेका हुन् । सम्मान गर्दै अध्यक्ष तिवारीले खेलाडी देशको गहना भएकाले सबैले खेल र खेलाडीको सम्मान गर्नुपर्ने बताए ।
खेलकुदको विकासमा गाउँपालिका हरपल सहयोग रहने पालिका अध्यक्ष तिवारीको भनाइ थियो । गण्डकीका चारमध्ये स्याङजाका तीन खेलाडीले सन् २०२५ जनवरी १८ देखि २ फेबु्रअरी सम्म मलेसियामा हुने विश्वकप खेल्ने इतिहास बनाएका थिए । सिनियर महिला क्रिकेट टोलीले विश्वकपमा स्थान पक्का गर्न नसकेको अवस्थामा यू–१९ टोलीले विश्वकपमा स्थान पक्का गरेको हो ।
मंसिर ८ गतेसम्म सञ्चालन हुने रनिङ शिल्ड तथा खेलकुद महोत्सबमा गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता रहेको छ । ४५ स्वर्ण, ४५ रजत र ४५ कास्क पदकको लागि प्रतिस्पर्धा हुने प्रतियोगितामा कक्षा –१ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको छ । खेलकुद महोत्सबमा कक्षा १ देखि कक्षा ५ सम्म चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य पतियागिता रहेको छ । यस्तै कक्षा ६ देखि कक्षा १२ सम्म दौड, हाइजम्प, लड्ढजम्प, त्रिपल जम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल रहेका छन् ।
कार्यक्रममा क्यानका अध्यक्ष थापाले विद्यालयबाट वल्र्डकपको यात्रा खेलाडीले तय गरेको बताए । महिला क्रिकेटमा पछिल्लो समय गण्डकी प्रदेशमा स्याङजाका खेलाडी दबदबा रहेको बताउदै केन्द्रमा समेत अब बर्चश्व रहने पनि उनको जिकिर थियो । कार्यक्रममा सम्मानित खेलाडी सीमाना केसी, वडा नं १ का अध्यक्ष रण, बहादुर थापा, लाल केसीलगायतले मन्तब्य राखेका थिए ।





