पोखरा/कास्की जिल्ला फुटबल संघ २५ औं शौर्य सिमेन्ट आदर्श कप फुटबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको छ ।
आदर्श युवा क्लबको आयोजनामा लेखनाथको भण्डारढिककस्थित प्रस्तावित लेखनाथ रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा शसस्त्र प्रहरी बल गण्डकी मुख्यालयलाई २–१ गोलले हराउँदै च्याम्पियन बन्न सफल भएको हो । कास्कीलाई च्याम्पियन बनाउन संगम ठकुरी र अनुज भण्डारीले गोल गरे ।
कास्कीले दोस्रो हाफको मध्यतिर खेलमा फर्कँदै अन्ततः पुनरागमन जीतसहित च्याम्पियन बन्न सफल भएको हो । निर्धारित ४५ मिनेटको सकिएसँगै एक मिनेटको अतिरिक्त समय थप गरिएको थियो । कास्कीका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै सशस्त्रले १–० गोलको अग्रता लियो । कास्कीका डिफेन्डरले हेडरमार्फत् बल नियन्त्रण लिने प्रयास विफल हुँदा सशस्त्रका प्रविन साङताङले नियन्त्रणमा लिदैं वान भर्सेस वानमा लेफ्ट बार च्याप्दै गोल गरे । कास्कीलाई खेलमा फर्कन ४० मिनेटको समय लाग्यो । ८० औं मिनेटमा अनुज भण्डारीले हेडरमार्फत् गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । खेल सकिन चार मिनेट बाँकी रहँदा कर्नरबाट आएको बललाई सशस्त्रका गोलरक्षकले पन्च गर्दै बचाउ गर्दा रिवाउन्ड बलमा संगमले गरेको लोग्राउन्डेड भलि सटले सिधै जाली चुम्दा कास्कीले खेलमा पुनरागमन २–१ को अग्रता लिन सफल भएको थियो । त्यस लगत्तै सशस्त्रले केही राम्रा अवसर पाए पनि गोल गर्न नसक्दा हार व्यहोर्न बाध्य भएको हो ।
जीतसँगै कास्कीले नगद चार लाख २५ हजार पाँच सय २५ रुपैयाँसंगै च्याम्पियन शिल्ड हात पारेको हो । अग्रता जोगाउन नसक्दा हार व्यहोरेको सशस्त्रले दुई लाख २५ हजार पाँच सय २५ रुपैयाँ र शिल्ड हात पा¥यो ।
मंसिर २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी कास्कीका अनिष तामाङ घोषित भए । टोलिलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेको अनिषले नगद २५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक कास्कीका आयुष्मान गुरुङ घोषित भए । उत्कृष्ट डिफेन्डर सशस्त्रका सन्तोष श्रेष्ठ घोषित भए । उत्कृष्ट मिडफिल्डर कास्कीका अंकित गुरुङ, उच्च गोलकर्ता सशस्त्रका प्रविण साङताङ (कुल दुइ गोल), उत्कृष्ट प्रशिक्षक कास्कीका योगेन्द्र थकाली घोषित भए । गोर्खा जिल्ला फुटबल संघ अनुशासित टिम घोषित भयो । उनीहरुले समान १५÷१५ हजार रुपैयाँ हात पारे ।
कास्कीकै ऐतिहासिक आदर्श कप कोरोना महामारीका कारण ६ वर्ष हुन सकेको थिएन । क्लबले पुनः प्रतियोगितालाई ब्यूँयाउने प्रयास गर्दै २५ औं संस्करण सम्पन्न गरेको हो । प्रतियोगितामा गण्डकी प्रदेशभित्रका कुला ८ टिमको सहभागिता रहेको थियो ।





