काठमाडौं/चितवन राइनोजलाई २१ रनले हराउँदै कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जितका लागि १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा १ सय ५४ रनमा समेटियो ।
हारसँगै चितवन एनपिएलबाट बाहिरिएको छ । फाइनल पुग्न विजेता कर्णालीले पहिलो क्वालिफायरको पराजित टोलीसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा आजै लिगको शीर्षटोली सुदूरपश्चिम रोयल्स र दोस्रो टोली जनकपुर बोल्ट्सबिच प्रतिस्पर्धा हुँदैछ ।
चितवनका लागि रवि बोपराले सर्वाधिक ५३ रन बनाउँदा कप्तान कुशल मल्लले २१, विपिन रावलले १८, लक बेनकेस्टनले १६ र शरद भेषवाकरले १० रन बनाए ।
बलिङमा कर्णालीका जिसन मक्सुदले तीन, सोमपाल कामी र नन्दन यादवले दुई÷दुई तथा विपिन शर्माले एक विकेट लिए ।
कर्णालीका लागि ओपनर जयकिशन कोल्छावालाले ५३, विलियम बसिस्टोले बोसिस्टोले ५२, चादविक वाल्टनले ४६ र जिसन मक्सुदले १४ रन जोडे । बलिङमा चितवनका सोहिल तन्विरले दुई, सरद भेषवाकार, रवि बोपरा र कप्तान कुशल मल्लले एक÷एक विकेट लिए ।





