काठमाडौं/पहिलो क्वालिफायरको खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिमले जनकपुरलाई आठ विकेटले हराएको हो ।
जनकपुरले सुदूरपश्चिमलाई १ सय ४० रनको लक्ष्य दिएकोमा १८.३ ओभरमा २ विकेट गुमाएर सुदुरपश्चिमले सहजै लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका विनोद भण्डारीले सर्वाधिक ५८ रन जोड्दा ब्रेण्डन मक्मुलनले २५, कप्तान दीपेन्द्र सिंह ऐरीले २० रन बनाए । जनकपुरका लागि किशोर महतो र ललितनारायण राजवंशीले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो । जनकपुका लागि जेम्स निशमले सर्वाधिक ४५ रन बनाउँदा अशुब कसांकारले २६, लाहिरु मिलन्थाले १२, आसिफ शेखले ११, हर्ष ठाकरले १२ र अरनिको यादवले ११ रन बनाए । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ३, सेफ अलि जेबले २ र अभिनास बोहोरा र स्कट कुग्गेलेइनले १÷१ विकेट लिए ।
फाइनलमा पुग्ने दोस्रो टिमको निर्णय अब कर्णाली याक्स र जनकपुर बोल्ट्सको खेलले निर्धारण गर्नेछ । दोस्रो क्वालिफायर खेलमा यी दुवै टिममध्ये जसले जित्छ उही फाइनलमा पुग्ने छ ।





